चितवनमा रातको समयमा हिँडडुल गर्न रोक
चितवन । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । बैठकले रातको समयमा सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार राजनीतिक दल सङ्घसंस्थालगायत सबैले २५ जनाभन्दा बढी मानिस भेला भएर गरिने बैठक, आमसभा, साधारणसभालगायतका कार्यमा रोक लगाइएको छ । चियापसलमा बसेर चिया खाने प्रवृत्तिलाई निरुत्साहित गर्ने र खाजाघर तथा राजमार्ग क्षेत्रका पसललाई प्याकेटमा खाना खाजा प्याक गरी प्रदान गरिने ‘टेक अवे’ सेवा सञ्चालन गर्ने, राति ९ बजेपछि बिहान ५ बजेसम्म सेवाग्राहीलाई दिने सेवा बन्द गर्ने निर्णय भएको छ । अन्य जिल्ला तथा छिमेकी मुलुकबाट अनुमतिबिना जिल्लामा प्रवेश गर्न सक्ने मानिसका कारण कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेको देखिएको बैठकको निष्कर्ष छ । त्यसरी प्रवेश गर्न नदिन जिल्ला प्रवेश गर्ने नाकाहरुमा हुने गरेको जाँचलाई थप प्रभावकारी बनाई निरन्तरता दिने र विदेशबाट आउने नेपालीलाई होल्डिङ सेन्टरमार्फत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी क्वारेन्टिनमा पुर्याउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले आफ्नो क्षेत्रमा मानिसले मास्क लगाए नलगाएको, सार्वजनिक स्थानमा भौतिक दूरी कायम गरे नगरेको, बैंक तथा वित्तीय संस्था, चिया पसल, होटल, सार्वजनिक यातायात, व्यापारिक मल, सरकारी कार्यालयमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरे नगरेको कडाइका साथ अनुगमन गर्ने निर्णय गरेको छ । यी सँगै उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुमा बाहिरबाट कामदार ल्याए/नल्याएको र कामदारहरुको स्वास्थ्य सुरक्षामा उचित ध्यान दिए नदिएको अनुमगन गर्न स्थानीय तहमा सम्बन्धित वडाका वडाध्यक्षको संयोजकत्वमा प्रहरीको समेत सहभागिता रहने गरी अनुमगन समिति बनाई अनुगमन गर्ने निर्णय गरिएको प्रजिअ भट्टराईले जानकारी दिए । यसैगरी साविकदेखि नै व्यवस्थापन हुँदै आएका सार्वजनिक क्वारेन्टिनहरुलाई थप व्यवस्थित बनाउने निर्णय गर्दै सार्वजनिक क्वारेन्टिनमा बस्न नसक्ने बिरामी, ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका र अशक्त व्यक्तिलाई मात्र घरमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सक्ने अवस्था भएको सुनिश्चित गरी होम क्वारेन्टिनमा राख्न दिइने भएको छ । बैठकले जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र स्वाव सङ्कलन गर्ने, कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय रेडियोबाट सूचना सम्प्रेषण, माइकिङलगायतका कार्य गरी जनचेतना अभिवृद्धि गर्ने निर्णय गरेको छ । सबै उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुलाई अर्को सूचना नभएसम्मका लागि स्थानीय तह र प्रशासन कार्यालयको पूर्वस्वीकृति बिना बाहिरबाट कामदार नल्याउन, हाल कार्यरत रहेका अन्य जिल्ला र छिमेकी मुलुकका कामदारहरुको यथार्थ विवरण फरक नपर्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा अनिवार्यरूपमा पेश गर्न निर्देशन दिने निर्णय गरेको प्रजिअ भट्टराईले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमण देखा परेका स्थानहरुमा तत्काल कन्ट्याक्ट ट्रेसिङ र समुदायस्तरमा पिसिआर परीक्षण वढाउने निर्णय गरिएको छ । आम नागरिकमा कोभिडङ१९ बाट बच्न अपनाउनु पर्ने मास्कको प्रयोग, सामाजिक दूरी र जथाभावी हिडडुल रोक्न जनचेतना जगाउने निर्णय भएको उनले बताए ।
डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए । उनले भने, “हामी घटनास्थलमै घाइतेको उद्धार गरिरहेका छौँ, घाइतेको सङ्ख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौँ ।” बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । रासस
स्याङ्जाको गरिमा र पोखराको सांग्रिलाको ९ वर्षे यात्राः पुँजी वृद्धि र लाभांश वितरणमा यस्तो छ प्रतिस्पर्धा
काठमाडौं । काठमाडौं उपत्यका बाहिर कार्यक्षेत्र बनाएर स्थापना भएका गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक अहिले काठमाडौंको लाजिम्पाट र बालुवाटारमा केन्द्रीय कार्यालय स्थापना गरेर देशव्यापी बैंकिङ सेवा प्रदान गरिरहेका छन् । एउटै बेल्टमा, करिब एकै समयमा स्थापना भएका यी दुबै बैंक अहिले राष्ट्रियस्तरका विकास बैंकमध्ये राम्रा बैंकमा गनिन्छन् । सांग्रिला डेभलपमेन्ट बैंक २०६३ सालको कात्तिकदेखि संचालनमा आएको हो भने गरिमा विकास बैंक २०६४ सालको कात्तिकदेखि संचालनमा आएको हो । स्याङ्जामा स्थापना भएको गरिमा र पोखरामा स्थापना भएको सांग्रिला विकास बैंकको पुँजी बृद्धिमा के कस्तो प्रतिस्पर्धा चल्यो र सेयरधनीलाई के कति लाभांश दिए भन्ने बारेमा यहाँ विश्लेषण प्रस्तुत गर्न खोजिएको छ । सांग्रिला डेभलपमेन्ट बैंक नेपालगञ्ज केन्द्रीय कार्यालय रहेको तत्कालिन बागेश्वरी डेभलपमेन्ट बैंकसँग मर्ज गरेपछि राष्ट्रियस्तरको विकास बैंक बनेको हो । सांग्रिलाले २०७४ को असार अन्तिमतिर कममस डेभलपमेन्ट बैंकलाई अक्वायर पनि गरेको थियो । सो बैंकको शाखा संख्या देशभर अहिले ९१ वटा छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुभवी बैंकर सुयोग श्रेष्ठ छन् । उनी विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका कोषाध्यक्षको जिम्मेवारीमा पनि छन् । बैंकको संचालक समितिको नेतृत्व अच्युतप्रसाद प्रसाईले संहालेका छन् । गरिमा विकास बैंक निलगिरी विकास बैंकसँग मर्जर भएपछि २०७२ सालमा राष्ट्रियस्तरको विकास बैंक भएको हो । गरिमामा सुभेक्षा विकास बैंक पनि मर्ज भएको छ । गरिमा विकास बैंक शाखा संजाल पनि ९१ वटा नै छन् । गरिमाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी खारिएका बैंकर गोविन्द प्रसाद ढकालले संहालिरहेका छन् । उनी डेभलपमेन्ट बैकर्स एसोसिएसन नेपालका अध्यक्ष पनि हुन् । बैंकको संचालक समिति अध्यक्षको जिम्मेवारी चन्द्रकान्त बरालले संहालिरहेका छन् । आर्थिक वर्ष २०६७/६८ मा गरिमा विकास बैंकले १८ प्रतिशत नगद लाभांश दिएको थियो । सो समयमा बैंकको चुक्ता पुँजी २० करोड रुपैयाँ थियो । सो आर्थिक वर्षमा चुक्ता पुँजी २० करोड रुपैयाँ भएको सांग्रिलाले १० प्रतिशत नगद लाभांश दिएको थियो । आर्थिक वर्ष २०६८/६९ मा गरिमाले १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिएको थियो । सांग्रिलाले भने ११ प्रतिशत नगद लाभांश दिएको थियो । आर्थिक वर्ष २०६९/७० मा गरिमा पुँजी २२ करोड रुपैयाँ पुगेको थियो भने २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिएको थियो । सो वर्ष ३२ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको सांग्रिलाले भने १९.१७ प्रतिशत नगद लाभांश दिएको थियो । आर्थिक वर्ष २०७०/७१ मा सांग्रिलाको चुक्ता पुँजी ३२ करोड रुपैयाँ थियो भने १५ प्रतिशत बोनस सेयर र ६.३ प्रतिशत नगद लाभांश दिएको थियो । यस्तै, ३७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी पुगिसकेको गरिमाले भने सो आर्थिक वर्षमा २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश दिएको थियो । आर्थिक वर्ष २०७१/७२ मा गरिमाको पुँजी ५६ करोड १० लाख रुपैयाँ पुगेको थियो भने सेयरधनीलाई सो वर्ष २० प्रतिशत बोनस सेयर दिइएको थियो । यस्तै, ७३ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी पुगिसकेको सांग्रिलाले भने सो आर्थिक वर्षमा २०.८५ प्रतिशत बोनस सेयर दिएको थियो । आर्थिक वर्ष २०७२/७३ मा गरिमाको चुक्ता पुँजी ८८ करोड ८१ लाख रुपैयाँ थियो भने २० प्रतिशत बोनस दिइएको थियो । सोही आर्थिक वर्षमा सांग्रिलाको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ पुगेको थियो भने बोनस सेयर र नगद लाभांश गर िकरिब १७ प्रतिशत डिभिडेन्ड सेयरधनीले पाएका थिए । आर्थिक वर्ष २०७३/७४ मा गरिमा विकास बैंकको पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्यो भने उसले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दियो । सोही आर्थिक वर्षमा १ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको सांग्रिलाले भने २.५ प्रतिशत बोनस सेयर ९.३ प्रतिशत नगद लाभांश दिएको थियो । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा गरिमाको पुँजी २ अर्ब ५३ करोड रुपैयाँ पुग्यो भने सो वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र ३.७५ नगद लाभांश दियो । प्रतिस्पर्धामा सँगै आइरहेको सांग्रिलाले सो वर्ष मर्जरबाट पुँजी थप गर्दै चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ कटायो भने ४ प्रतिशत बोनस सेयर र ५.४५ प्रतिशत नगद लाभांश दियो । आर्थिक वर्ष २०७५/७६ मा गरिमाको चुक्ता पुँजी २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने उसले १६.१५ प्रतिशत बोनस सेयर र ०.८५ नगद लाभांश दिएको छ । सो वर्ष २ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी पुगेको सांग्रिलाले भने ८.९५ प्रतिशत नगद लाभांश दिएको थियो । नेपाल राष्ट्र बैंकले मर्जर एक्वीजीसनको माध्यमबाट बैंक तथा वित्तीय संस्थाको संख्याको संख्या कम गर्न पहल थालेपछि धेरै विकास बैंकको अस्तित्व सकिएको छ । स्याङ्जा र पोखरामा केन्द्रीय कार्यालय स्थापना गरेर तोकिएका जिल्ला कार्यक्षेत्र गरी कारोबार सुरु गरेका यी दुबै बैंक काठमाडौं आएर पनि अब्बल प्रमाणित गरी एक अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । अबका दिनमा यी दुबै बैंकले के कस्तो रणनीतिका साथ व्यवसाय विस्तार गर्ने र सेयरधनीलाई लाभांश दिन सक्नेछन् भन्ने थाहा पाउन भने प्रतिक्षा नै गर्नुपर्ने भएको छ ।
समाज लघुवित्तको आईपीओ भदौ ४ गतेदेखि भर्न पाइने, कति दिने आवेदन ?
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ आगामी ४ गतेदेखि भर्न पाइने भएको छ । संस्थाले सो दिनदेखि ८६ लाख रुपैयाँ बराबरको अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ८६ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कूल ८६ हजार कित्ता साधारण सेयर मध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ १८ गते हुनेछ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि आईपीओ जारी गर्दै
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी भदौ ४ गतेदेखि ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले गत साउन १६ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।
नेपाल बैंकले सरकारलाई दियो ३ करोड ४६ लाख रुपैयाँ
काठमाडौं । नेपाल बैंकले सरकारलाई ३ करोड ४६ लाख रुपैयाँ बराबरकाे आर्थिक सहयोग गरेको छ । बैंकले नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी उक्त सहयाेग गरेकाे हाे । बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्री डा.युवराज खतिवडालाई सो मात्राको रकमको चेक हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसका कारणबाट सृजना हुन सक्ने जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि तथा मौद्रिक नीतिमा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकबाट भएको निर्देशन अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको उक्त रकम सरकारलाई हस्तान्तरण गरेको हो । उक्त चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए । उनले बैंकको कार्यसम्पादनमा आएको सुधारको प्रशंसा गर्दै आगामी दिनहरुमा बैंकलाई अझ प्रतिस्पर्धी बनाउदै लैजान र बैंकको थप प्रगतिका लागि शुभकामना दिएका छन् । उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदमहरुमा बैंकको सदैव साथ रहने र कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सवै भन्दा पहिला सहयोगको घोषणा गरेको बताए । बैंकले हालसम्म संघिय सरकारको कोषमा ४ करोड ४६ लाख रूपैयाँ र प्रदेश सरकारलाई ५ लाख रूपैयाँका दरले ३५ लाख गरी कुल ४ करोड ८१ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरिएको उनले जानकारी गराए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिवद्ध रहेको र यस कार्यमा नेपाल सरकारबाट निरन्तर सहयोग पाइरहने विश्वास व्यक्त गरेका छन् ।
अख्तियार प्रमुख घिमिरेलाई काेराेना देखियाे
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई पनि कोरोना संक्रमण भएको छ। घिमिरेमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ। उनी एक साताभन्दा बढी समययता कार्यालयसमेत आएका थिएनन्। स्रोतका अनुसार घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो। केही सातायता अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ।
७५ करोडको साधारण सेयर निष्काशन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ७५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । सिटिजन लाइफले सार्वजनिक निष्काशनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता–पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता भईसकेको । सर्वसाधारणका लागि छुट्टाईएको रकम रु ७५ करोड निकट भविष्यमा सर्वसाधारणलाई शेयर जारी गरी कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्दैछ । सिटिजन लाइफ गत आ.व. २०७६/७७ मा आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सो मा १६४ प्रतिशतले र कुल बीमा शुल्क आर्जनमा ६९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ ले वृद्धि गरी ४९ करोड ६१ लाख र लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धि गरी ३३ करोड ८३ लाख रुपैयाँ पु¥याउन सफल भएको छ ।