पाउरोटीको मूल्य वृद्धिको विरोधमा प्रदर्शन, २२ जनाको मृत्यु

खार्तुम, सुडान । सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका छन् । सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै आक्रोसित प्रदर्शनकारीले केही दिनदेखि सुडानमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले वृद्धि गरिएको मूल्य तत्काल हटाउन माग गर्दै आएका छन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेको छ । मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापीरुपमा प्रदर्शन भइरहेको समाचारमा जनाइएको छ । खार्तुम शहरको मुख्य सडक ओम्डुम्यानमा स्वतन्त्रता र शान्तिका लागि न्याय र क्रान्ति एकमात्र विकल्प भन्दै प्रदर्शन गरिरेहका सर्वसाधारणमाथि प्रहरीले अश्रु ग्याँस हानेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएका झडपमा सयौँ प्रदर्शनकारी घाइते भएका छन् । खार्तुम शहरमा त्यहाँका राष्ट्रपति ओमार अल बशरविरुद्ध जारी यस प्रदर्शनमा हजारौँको सङ्ख्यामा समर्थकहरू सहभागी भएका छन् । गैरकानूनी रुपमा ओम्डुम्र्यान सडकमा जम्मा भएका प्रदर्शनकारीहरूलाई तितरबितर पार्नको लागि प्रहरीले अश्रु ग्याँस हानेको प्रहरी प्रवक्ता हासिम अब्देलरहिमद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । यसैगरी चिकित्सकहरूद्धारा प्रकाशित विज्ञप्तिमा अस्पतालभित्रै प्रहरीले अश्रु ग्याँस र गोली प्रहारसमेत गरेको बताइएको छ । स्वास्थ्य अधिकारीहरूले अन्य असी जना पनि गोली लागेर घाइते भएको र उनीहरूको उपचार भैरहेको जनाएका छन् । अहिलेको आन्दोलनलाई सन् १९८९ मा राष्ट्रपति ओमार अल बशिरले शक्ति हत्याए यताको सबैभन्दा गम्भीर नागरिक असन्तोषका रुपमा लिइएको छ । प्रदर्शनकारीहरूले सत्ता परिवर्तनको माग गरिरहेका छन् । विद्यालयहरू बन्द छन् भने पत्रिकाहरूलाई पनि प्रकाशन नगर्न आदेश दिइएको छ । केहि घण्टासम्म इन्टरनेट पनि बन्द थियो । प्रदर्शनकारीहरूले सामाजिक संजालका वेबसाइटहरू मार्फत आन्दोलनका सहभागी हुन मानिसहरूलाई आह्वान गरिरहेका छन् । सन् २०११ मा दक्षिण सुडान स्वतन्त्र भएपछि ठूलो मात्रामा तेल राजस्व गुमाउनु परेको र त्यसको परिणाम स्वरुप इन्धनमा दिइंदै आएको सहुलियत कटौती गर्न राष्ट्रपति बाध्य भएको बताइएको छ । सन् २०१२ मा पनि केहि इन्धन सहुलियत कटौती हुँदा केहि हप्तासम्म विरोध प्रदर्शनहरू भएका थिए । रासस\एएफपी

जागुअर ल्यान्ड रोभरले ५ हजार कर्मचारी हटाउने, बेलायतको प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने त्रास

काठमाडौं । बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले कम्तीमा पाँच हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ । चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने (ब्रेक्जिट) सम्झौताका कारण कम्पनीले कर्मचारी कटौती गर्ने तयारी गरेको हो । बेलायतको लोकप्रिय कार निर्माता यस कम्पनीमा ४० हजारभन्दा बढी बेलायती कार्यरत उक्त कम्पनी भारतीय टाटा मोटर्सको स्वामित्वमा रहेको छ । कम्पनीको लगानीमा करिब ३ अर्ब २० करोड कटौती गर्ने प्रस्तावका कारण कर्मचारी कटौती हुन लागेको हो । कम्पनीका कारको बिक्री चीनमा ह्वात्तै घटेको छ भने ब्रेक्जिटपछि बेलायतको प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने त्रास पनि बढेको छ । मार्च २०१९ मा बेलायत युरोपेली युनियनबाट बाहिरिए पनि युरोपेली युनियनमा कम्पनीको एउटा प्लान्ट रहनेछ । गत अक्टोबरमा ल्यान्ड क्रुजरले पश्चिमी स्लोभाकीयाको नीट्रामा एक अर्ब ६० करोड लागतमा नयाँ प्लान्ट स्थापना गरेको छ । रासस/ एएफपी

सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी २९ प्रतिशतले घट्यो, बिक्री १० प्रतिशतले कमी

सियोल । सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ । विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो । चिनियाँ स्मार्टफोन निर्माताहरुबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ । गत अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीको सञ्चालन खर्च करिब ९ अर्ब ८० करोड अमेरिकी डलर हुने अपेक्षा गरिएको थियो । यो अघिल्लो वर्षको तुलनामा २८ दशमलब ७ प्रतिशतले कमी हो । गत साता पनि आइफोन समेतका विद्युतीय उपकरण निर्माता एप्पल कम्पनीको बिक्री घटेको रिपोर्ट सार्वजनिक भएको थियो । अमेरिका–चीनबीचको व्यापार युद्धसँगै एप्पलले चीनमा आफ्ना उत्पादनको बिक्रीको प्रक्षेपण घटाएको थियो । विश्वमै सबैभन्दा बढी स्मार्टफोन र मेमोरी चिप्सको उत्पादन गर्ने सामसुङले हालैका वर्षमा उच्च नाफा आर्जन गरिरहेको थियो । कम्पनीका केही उत्पादनमा समस्या देखिए पनि सामसुङको बजारमा कुनै असर परेको थिएन । सामसुङका अनुसार यस अवधिमा बिक्रीमा १० प्रतिशतले कमी आएको छ । कम्पनीले खासगरी मेमोरी चिप्सको बिक्रीमा आएको कमीले नाफा कम भएको जनाएको छ । मेमोरी चिप्सको व्यापारमा देखिएको कठिन परिस्थितिका कारण सन् २०१९ को पहिलो चौमासिकमा कम्पनीको आम्दानीमा कमी आउनेछ । दक्षिण कोरियाको अर्थतन्त्रमै प्रभाव पार्ने सामसुङ इलेक्ट्रोनिक्सको बजार खुम्चिएसँगै शेयर बजारमा पनि प्रभाव परेको छ । मङ्गलबार सामसुङको शेयर कारोबारमा शून्य दशमलब ५ प्रतिशतले कमी आएको छ । गत साता एप्पलले अक्टोबर–डिसेम्बरको अवधिमा ८४ अर्ब डलर आम्दानी गर्ने अपेक्षा गरेको बताएको थियो । वर्षको शुरुमा एप्पलले यस अवधिमा ८९ देखि ९३ अर्ब डलर आम्दानी गर्ने प्रक्षेपण गरेको थियो । एप्पलले चीन र अन्य उदीयमान अर्थतन्त्र भएका मुलुकमा आएको मन्दीले कम्पनीको आम्दानीमा प्रभाव परेको जनाएको छ । रासस\एएफपी