काठमाडौं । जर्जिया मेलोनी दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहने प्रधानमन्त्री बनेकी छन् । यो उपलब्धिका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेलोनीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत मेलोनीलाई बधाई दिँदै उनको उपलब्धिले इटालीका जनताले उनको नेतृत्वप्रति गरेको विश्वास र भरोसा प्रतिबिम्बित गर्ने बताएका छन् ।
मोदीले लेखेका छन्, ‘मेरी मित्र तथा प्रधानमन्त्री जर्जिया मेलोनीलाई दोस्रो विश्वयुद्धपछि लगातार सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहने प्रधानमन्त्री बन्नुभएकोमा बधाई ।’
उनले भारत र इटालीबीचको विशेष रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन मेलोनीको मित्रता र सहकार्यको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।
‘दुवै देशका जनताको अझ राम्रो र समृद्ध भविष्यका लागि आगामी दिनमा पनि उहाँसँग मिलेर काम गर्न म उत्सुक छु,’ मोदीले भनेका छन् ।
साथै उनले मेलोनीको आगामी कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।
यसअघि मेलोनीले पनि सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो नेतृत्वमा रहेको सरकार इटाली गणतन्त्रको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकार बनेको बताएकी थिइन् ।
उनले यस उपलब्धिलाई आफूले गहिरो कृतज्ञता र जिम्मेवारीको भावनाका साथ स्वीकार गरेको बताएकी छन् ।
मेलोनीका अनुसार स्थिरता देखावटी रूपमा प्रस्तुत गरिने कुनै रेकर्ड नभई देशलाई योजना बनाउन, निर्णय लिन, प्रतिबद्धता पूरा गर्न र सम्मान हासिल गर्न सक्षम बनाउने अवस्था हो ।
उनले लेखेकी छन्, ‘स्थिरता कुनै प्रदर्शन गर्नुपर्ने रेकर्ड होइन, बरु देशलाई योजना बनाउन, निर्णय लिन, वाचा पूरा गर्न र सम्मान पाउन सक्षम बनाउने अवस्था हो ।’