शहरका सबै ट्याक्सीमा सिसि क्यामेरा जडान
काठमाडौं । दुबईको सडक तथा यातायात विभागले शहरका सबै ट्याक्सीमा चालक (ड्राइभर)लाई अनुगमन र निगरानी गर्न सिसि क्यामेरा जडान गरेको छ । ट्याक्सी चढेको समयमा चालकले कुनै नियमको उल्लंघन गरेमा वा कुनै यात्रुले उजूरी गरेमा प्रहरीले तत्काल सिसि क्यामराको सहयोगमा चालकका गतिविधिको विश्लेषण गर्नेछ । कुनै व्यक्ति वा यात्रु ट्याक्सीमा चढ्नासाथ त्यहाँ जडित सेन्सरले स्वचालित रुपमा फुटेज लिन थाल्ने गल्फ न्यूजले जनाएको छ । दुबई शहरमा हाल १० हजार ६८४ वटा ट्याक्सी सञ्चालनमा छन् । दुबई सडक तथा यातायात विभागका निर्देशक खालिद अल अवादीले ट्याक्सी चालकको व्यवहारमा सुधार ल्याउन र ग्राहकका गुनासोहरु सम्बोधन गर्न नयाँ व्यवस्था निकै उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । नयाँ प्रणाली जडानको कार्य सन् २०१७ मा शुरु भएको र हाल दुबई शहरका सबै ट्याक्सीमा जडान भइसकेको पनि उनले जानकारी दिए । दुबईले हाल “खुशी जनता” र स्मार्ट सिटी अभियान सञ्चालन गरिरहेको छ । रासस
२२ करोड डलरमा कारखाना स्थापना, साढे तीन हजारले रोजगार पाउने
इथियोपिया । चीनको विशाल टेक्स्टाइल कम्पनी उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड अमेरिकी डलर लगानीमा कारखाना स्थापना गरेको छ । कम्पनीले अफ्रिका समेतका अन्य मुलुकमा कपडा निर्यात गर्ने मुख्य उद्देश्यका साथ उक्त कारखाना स्थापना गरेकाे हाे । इथियोपियाको पूर्वी डायर डावा शहरमा स्थापना गरिएको उक्त नवनिर्मित कारखानाको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ । कम्पनीले यहाँबाट उत्पादित सम्पूर्ण लत्ताकपडा र टेक्स्टाइल शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने जनाएको छ । यहाँबाट उत्पादित सामग्री खासगरी युरोप, उत्तर अमेरिका र एसिया समेतका मुलुकमा निर्यात गर्ने कम्पनीको तयारी छ । उक्सी टेक्स्टाइलका महाप्रबन्धक झाङ शेङमिङले कारखानाले तीन हजार ५०० लाई रोजगारी उपलब्ध गराउन सक्ने बताएका छन् । रासस
हिंसात्मक प्रदर्शनपछि चिलीमा राष्ट्रपतिद्धारा संकटकालको घोषणा
सान्टियागो, चिली । चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपतिले संकटकालको घोषणा गरेका हुन् । संकटकालघोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन् । शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनहरुमा आक्रमण गरेर क्षति पु¥याएका छन् । प्रदर्शनकारीको तोडफोडका कारण कम्तीमा १६ ओटा बस र दर्जनौ स्टेशनहरु क्षतिग्रस्त भएका छन् । मध्यरातमा राष्ट्रपति सेबास्टीअन पिनेराले संकटकाल लागु गरिएको घोषणा गरे। उनले अहिलेलाई १५ दिनका लागि मात्रै संकटकाल लागु हुने उल्लेख गरेका थिए । रासस/एएफपी