करिब छ अर्ब लगानीमा मुग्लिन–पोखरा सडक चार लेनको बनाइने
काठमाडौं । दुई लेनको मुग्लिन–पोखरा सडक अब चार लेनको बन्ने भएको छ । सरकारले पाँच अर्ब ९० करोड रुपैयाँको लगानीमा उक्त राजमार्गलाई चार लेनकाे बनाउने भएको हो । राजमार्गलाई विस्तार गर्न यशियाली विकास बैंक (एडिबी)ले १९ करोड ५० लाख रूपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ । एडिबीको प्रधान कार्यालय मनिलाबाट जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले बैंकले उक्त ऋण रकम स्वीकृत गरेको हो । भारत र बङ्गलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रुपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पुर्याउन सजिलो मात्र नभई ढुवानी खर्चमा समेत कमी आउने विश्वास बैंकले लिएको छ । ८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने आठ किलोमिटर आबुखैरनी–मुग्लिन खण्ड त्यसपछि निर्माण गरिनेछ । एडिबीका अनुसार आगामी पाँच वर्षभित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य छ । रासस
राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन
सान्टीयागो । चिलीमा राष्ट्रपतिको राजिनामा माग्दै दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन् । राष्ट्रपति सेबास्टेन पिनेराले राजिनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन कानकारीहरुका नेताले परिवर्तनका लागि प्रदर्शन गर्दै आएकाले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरेका छन् । सहभागीहरुले जातीय र राष्ट्रिय झण्डाका साथै लोकप्रिय र स्वदेश गानहरु समेत गाउने र प्रदर्शन गर्ने गरेका थिए । ल्याटीन अमेरिकी यस मुलुकमा केही समयदेखि हिंसात्मक आन्दोलन भइरहेको छ । सान्टीयागोका गभर्नर कार्ल रविलारले ट्वीट गर्दै, “यो ऐतिहासिक दिन हो, शान्तिपूर्ण प्रदर्शन भएको छ भने नयाँ चिलीको सपना पुरा गर्ने आधार तयार हुदैछ ।” देशभरीमा दश लाखभन्दा बढी प्रदर्शनकारी आन्दोलनमा सहभागी भएका थिए । प्रदर्शन चर्किदै गएपछि सान्टियागो राज्यमा अघिल्लो शुक्रबार संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलिपल्ट चिलीका राष्ट्रपतिले अहिलेलाई १५ दिनका लागि संकटकालको घोषणा गरे । संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको अधिकारीले बताएका छन् । अघिल्लो शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनमा आक्रमण गरेर क्षति पुर्याएका थिए । रासस/एएफपी
चिनियाँ र ब्राजिलियन राष्ट्रपति भेटवार्ता, थप आर्थिक साझेदारीको सहमति
बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङ र ब्राजिलका राष्ट्रपति जेयर मेसिया बोल्सोनारोबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ । हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका ब्राजिलका राष्ट्रपति बोल्सोनारो र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच शुक्रबार बेइजिङस्थित ‘ग्रेट हल अफ दि पिपुल’मा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति सिले सो अवसरमा विश्वमा धेरै कुराहरु परिवर्तन हुदै गएको भए पनि चीन र ब्राजिलबीचको सम्बन्ध भने स्थिर र सुमधुर रुपमा अघि बढिरहेको धारणा राखेका थिए । त्यस अवसरमा द्धिपक्षीय हित, आपसी सहयोग र समझ्दारीका साथै चीन र ब्राजिलबीचको आर्थिक लगानी र व्यापार प्रवर्धनका विविध विषयमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङले विकासका सम्भावना र अवसरहरुको सामुहिक रुपमा खोजी गरी आपसी हितका लागि लगानी, आपसी सम्बन्धको प्राथमिकता एवम् चीन ब्राजिल बृहत राणनीतिक साझेदारिताको विकासका क्षेत्रमा जोड दिए । उनले लगानीका साझा र नयाँ क्षेत्रहरुको खोजी गर्नुपर्ने, साझा चासो र फाइदाका क्षेत्रमा लगानी गर्नुपर्ने तथा द्धिपक्षीय व्यापार अभिबृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिएका जनाएका छन् । उनले उर्जा, कृषि, खानी उपजका साथै पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि चीन तयार रहेको भन्दै हालको तुलनामा अझै धेरै ब्राजिलियन सामानहरु आयात गर्न चीन तयार रहेको धारणा राखेको जनाए । त्यस अवसरमा दुवै देशका राष्ट्रपतिले दुई देशको सम्बन्ध इतिहासदेखि नै असल र सुदृढ रही आएको धारणा व्यक्त गरेका थिए । रासस/सिन्ह्वा