एसियाली पूर्वाधार बैंकले आसियानका छ परियोजनामा एक अर्ब अमेरिकी डलर लगानी गर्ने
नानिङ, चीन । चीनको अग्रसरतामा खुलेको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले दक्षिण पूर्वी एसियाली मुलुक (आसियान) का छ परियोजनामा एक अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको छ । बैंकका अध्यक्ष जिन लिक्वुनले चीन, आसियान मुलुकहरु र अरु एसियाली मुलुकबीचको अन्तरदेशीय सम्पर्क सञ्जाल प्रबद्र्धन गर्न बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विगत चार वर्षमा एआइआइबीले आसियानका छ वटा मुलुकका १० वटा परियोजनामा करिब एक अर्ब डलर लगानी गरिसकेको पनि अध्यक्ष जिनले जानकारी दिए । आसियान क्षेत्रमा पारस्परिक सञ्जाल सम्पर्क बढाउन बेल्ट एन्ड रोड अभियानको भूमिकाका बारेमा चर्चा गर्दै अध्यक्ष जिनले आसियानका सदस्य मुलुकहरुले यस कार्यक्रमबाट बढी लाभ लिन सक्ने बताए । बेइजिङमा मुख्यालय रहेको यो बैंक चीनको अग्रसरतामा स्थापना गरिएको पूर्वाधार विकास बैंक हो । सन् २०१६ देखि कारोबार थालेको यस बैंकका हाल १०० मुलुक सदस्य छन् । बैंकले हालसम्म आफ्ना सदस्य १८ मुलुकका ४६१ परियोजना स्वीकृत गरी ८ अर्ब ५० करोड अमेरिकी डलर लगानी गरिसकेको छ । रासस/सिन्ह्वा
जर्मनीको आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
बर्लिन । जर्मनीमा सन् २०१९ को दोस्रो त्रैमासिकसम्ममा यहाँ प्रयोग हुने कुल विद्युतको ४६ प्रतिशत उत्पादन नवीकरणीय उर्जाबाट भएको तथ्याङ्क जर्मनीको संघीय तथ्याङ्क कार्यालय डेस्टाटिसले सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ । डेस्टाटिसका अनुसार जर्मनीको उत्पादित विद्युतमध्ये ५६ करोड किलोवाट विद्युतको स्रोत नवीकरणीय उर्जा रहेको छ । यो अघिल्लो बर्षको यही समयभन्दा ६.३ प्रतिशतको वृद्धि हो । अघिल्लो आर्थिक बर्षको अन्त्यसम्ममा सवैभन्दा बढी ४३.८ प्रतिशत विद्युतको स्रोत प्राकृतिक ग्यास रहेको थियो भने दोस्रो धेरै १३.६ प्रतिशत हावाबाट निकालिएको थियो । जर्मनीको २९ प्रतिशत हिस्सामध्ये महत्वपूर्ण विद्युतीय उर्जाको स्रोत कोइला रहेको छ भने हावाबाट २० प्रतिशत, फोटोभोल्टायिक्सबाट १३ प्रतिशत र आणविक शक्तिबाट १२ प्रतिशत रहेको डेस्टाटिसले जनाएको छ । जर्मनीमा नवीकरणीय उर्जाको हिस्सा गत बर्ष ४१ प्रतिशत रहेको र यसबर्ष पनि ६.३ प्रतिशतको वृद्धि भएको भएपनि सन् २०३० सम्म जर्मनीमा नवीकरणीय उर्जाको विद्युत उत्पादनमा योगदान पुर्याउने लिइएको राष्ट्रिय लक्ष्य ६५ प्रतिशतभन्दा यो अझै निकै निम्न उत्पादन भएको सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । जर्मनीमा गत बर्ष विद्युतीय उत्पादनबाट तीन अर्ब ११ करोड टन हरितगृह ग्यास उत्सर्जन भएको उल्लेख छ । जर्मनीमा विद्युतबाट जति धेरै कार्बन उत्सर्जन अन्य कुनै स्रोतबाट नहुने पनि बताइएको छ । जर्मन सरकारको जलवायु मन्त्रालयले विभिन्न उपायबारे निर्णय लिँदै यहाँको कार्बन उत्सर्जनलाई सन् १९९० को तुलनामा ४० प्रतिशतले घटाउने लक्ष्य लिएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच तथ्याङ्क सार्वजनिक गरेपछि बसेको बैठकमा जर्मनीको सत्ताधारी दलहरू (सीडीयू, सीएसयू र एसपीडी)को गठबन्धनले जर्मनीमा कार्बन उत्सजर्नमा यातायात क्षेत्रको प्रभाब तथा वैकल्पिक इन्धन र ट्रेनको कर कटौति साथै भवनहरूको उर्जा क्षमताका बिषयमा छलफल गरेको थियो । २ रासस÷सिन्ह्वा
फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन
मेन्लो पार्क, अमेरिका । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ । निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय ओटा निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरणहरु चोरी हुनेगरी भएको क्याम्ब्रीज काण्डपछि फेसबुकले एप्सहरु निलम्बन गरेको हो । फेसबुकले सबै एप भने जोखिमपूर्ण नभएको स्पष्ट पारेको छ । सन् २०१८ मा केम्ब्रिज एनालिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको विवरण चोरेको तथ्य बाहिरिएको थियो । फेसबुकले निलम्बनमा परेका एप तथा शङ्कास्पद निर्माताबारे भने जानकारी दिएको छैन । निलम्बनमा पर्दैमा एपले मानिसहरूलाई जोखिममा पारेको निश्कर्ष निकाल्न भने नमिल्ने फेसबुकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । फेसबुकबाट लिएको विवरण अरूलाई दिएको वा मानिसको परिचय खुल्नेगरी सार्वजनिक गरेको पाइएपछि केही एपलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । रासस/एएनआई