आलेख: यस्तो छ अमेरिकामा नेपालीको अवस्था

वाशिङ्टन डिसी। विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने अमेरिकामा मात्र ४ लाख ६० हजारभन्दा बढी छन् । यो सङ्क्रमणले १६ हजार अमेरिकीको ज्यान लिइसकेको छ । लगभग विश्वका नागरिककै बसोवास रहेको यस संयुक्त राज्यमा द्रुत गतिमा फैलिएको यो भाइरसको सङ्क्रमणले लगभग संसारका नागरिकमा नै चिन्ता छाएको छ । यो महामारीबाट अमेरिकामा बसोवास गर्ने नेपाली पनि नराम्ररी प्रभावित बन्न पुगेका छन् । यसबाट यहाँका नेपाली तथा नेपालमा रहेका उनीहरुका आफन्त पनि चिन्तित छन् । अहिलेसम्म अमेरिकामा रहेका करिब ५०० नेपालीभाषी वा नेपाली मूलका नागरिक सङ्क्रमित भएको अनुमान गरिएको छ । तर यो तथ्याङ्क कुनै अस्पतालबाट प्राप्त एवं स्वतन्त्र रुपमा पुष्टि भएको भने होइन । यहाँको नेपाली दूतावास, नेपाली समुदायका विविध सामाजिक सङ्घसंस्था, नेपालीको बसोवास रहेका विविध समुदाय आदिबाट प्राप्त तथ्याङ्कका आधारमा यहाँ करिब ५०० नेपालीमा सङ्क्रमण देखिएको अनुमान गरिएको छ । कोरोना भाइरसको यस प्रकोपका कारण अमेरिकामा स्थायी तथा अस्थायी बसोवास गर्दै आएका नेपालीहरुको दैनिकी गएका केही हप्तादेखि पूर्णरुपमा फेरिएको छ । अर्कातर्फ हरेक बिहान सूर्याेदयसँगै नेपालमा रहेका आफन्तहरु कुनै अप्रत्यासित एवं दुःखद खबर सुन्नुपर्ने हो कि भनेर चिन्तित रहेको पनि बताउने गरेका छन् । अमेरिकी शहर न्युयोर्कको रिजउडमा विगत दुई दशकदेखि बस्दै र व्यवसायमा सञ्चालन गर्दै आएका वेद खरेल आफ्नो अमेरिका बसाइँको अवधिमा यस्तो होला भनेर कल्पनासमेत नगरेको बताउँछन् । खरेलले भने, “बिहान सबेरै उठेर आफ्नो व्यवसायको अनुगमन तथा सहयोगका लागि हिँड्नुपर्ने मेरो दैनिकी अहिले घरभित्रै बस्ने, साथीभाइसँग कुराकानी गरी नेपाली समुदाय तथा अमेरिकाको पछिल्लो अवस्थाका बारेमा कुराकानी गर्ने र परिवारसँग समय बिताउने भएको छ । खरेलले अन्य न्युयोर्कवासी जस्तै विगत १४ दिनदेखि व्यवसाय पूर्णरुपमा बन्द गरेर घरभित्रै बसेका छन् । खरेलले भन, “न्युयोर्कमा नेपालीहरुको बसोवासको जनघनत्व बढी भएको ज्याक्सन हाइट, उडसाइड, सन्नि साइड क्षेत्रमा सङ्क्रमित नेपालीहरु हुनुहुन्छ तर उनीहरु कतिजना हुनुहुन्छ भन्ने तथ्याङ्क हामीसँग छैन । यस विषयमा उही साथीभाइ र आफन्तबाट जानकारी लिने मात्र काम भएको छ । ज्याक्सन हाइटकै सेरोफेरोमा रहेको एल्मष्र्ट हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीको चाप र कतिपयको मृत्युसमेत यही अस्पतालमा भएका समाचार आउने गरेका छन् । यो अस्पताल नेपालीको बढी बसाइँ रहेको क्षेत्रबाट नजिकै पर्छ । यसरी अमेरिकाको ‘इपिसेन्टर’ (मुख्य प्रभावित क्षेत्र) अहिले न्युयोर्क हो भने न्युयोर्कको पनि यो क्षेत्रलाई इपिसेन्टरका रुपमा लिइन्छ । त्यसकारण पनि यहाँ धेरै नेपाली सङ्क्रमणमा परे होलान् भन्ने धेरैको अनुमान छ । न्युयोर्कको क्विन्समा बस्दै आएका रुद्र मगर अमेरिका बस्न थाल्नुभएको १३ वर्ष भयो । उनको हरेक हप्ताको व्यस्त दैनिकी र त्यो व्यस्तताले दिएको आर्थिक समृद्धि अहिले बन्दकोठामा सीमित छ । उनलाई अमेरिकामा १३ वर्ष बितेको थाहा भएन तर अहिले भन्छन्, “मलाई त अमेरिका आएको अस्ति जस्तो लागेको थियो तर समय निकै द्रुत गतिमा अगाडि बढेको रहेछ, अहिलेको अवस्थामा काम बन्द गरेर घरभित्रै बिताएको दुई हप्ताले धेरै पछि फर्किएर सोच्न बाध्य बनाएको छ, यो दुई हप्ता मलाई दुई वर्ष जस्तो लागिसकेको छ ।” आफ्नो अमेरिका बसाइँमा यस्तो अत्यासलाग्दो अवस्था कहिल्यै महसुस नगरेको उनी बताउँछन् । लामो समयदेखि न्युयोर्क बस्दै आएका सामाजिक अभियन्ता सूर्य लम्साल कोरोना भाइरसका कारणले सङ्क्रमित भएका नेपाली अत्यधिक भएको र उनीहरु आफ्नो साथीभाइलाई समेत भन्न नरुचाउने कारणले तथ्याङ्क सङ्कलन गर्न कठिनाइ भएको बताउँछन् । यसले गर्दा आवश्यक मानिसलाई सहयोग गर्नसमेत नसकेको उनको भनाइ छ । अहिले यो महामारीमा सरकारी निकायबाट पाइने सुविधा कसरी लिन सकिन्छ भनेर सरकारी अधिकारीहरुसँग कुराकानी गर्दै आएको उनले बताए । लम्सालले भने, “हामीहरुले यहाँका जनप्रतिनिधिहरुसँग समेत छलफल गरेका छौँ र अप्ठेरोमा परेका नेपालीलाई के कसरी सहयोग गर्न सकिन्छ भनेर योजनाहरु बनाएका छौँ ।” एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटा आगामी १० दिन कोभिड–१९ को कारणले अमेरिकामा असर गर्ने समयको उच्च समय भएकाले स्वास्थ्य विभाग र स्थानीय सरकारले जारी गरेका निर्देशनहरु पालना गर्न अनुरोध गर्छन् । यहाँका सरकारी स्वास्थ्य निकायहरुले यो अवधिलाई अमेरिकामै उच्च विन्दुमा पुग्ने समयका रुपमा लिएका छन् । एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाहले भने, “हामीहरुले समुदायमा अत्यावश्यक सेवा लिन चाहनेहरुलाई आर्थिक सहायता, स्वास्थ्य उपकरण र खाद्यान्नसमेत सहयोग गरिरहेका छौँ, यसका लागि हामीहरुको च्याप्टरले पनि समन्वय गरिरहेको छ ।” न्युयोर्कमा बस्ने हरेक नेपालीले कुनै न कुनै रुपमा यो महामारी आफ्नो मानसपटलमा कैद गरेका छन् । कहिल्यै नसुत्ने शहरका रुपमा विश्वभर चर्चित न्युयोर्क शहरमा देखापरेको सन्नाटाबीचको त्रास व्यवस्थापन गर्न नेपाली समुदायलाई पनि उत्तिकै चुनौती रहेको छ । अहिले न्युयोर्क राज्यमा मात्र नभई अमेरिकाभर बसोवास गर्ने नेपालीको मनोवैज्ञानिक त्रास अत्यधिक रहेको छ । तसर्थ कतिपय मनोचिकित्सकले समेत उनीहरुलाई सहजीकरण गरिरहेका छन् । न्युयोर्कमा करिब ४० हजार नेपाली बसोवास गर्दै आएको अनौपचारिक तथ्याङ्क छ । न्युयोर्कवासी नेपालीहरु त्रास, सन्त्रास र छिटो यो महामारीको अन्त्य हुने विश्वासका साथ व्यग्रतापूर्वक दिनहरु व्यतित गरिरहेका छन् । न्युयोर्कमा बस्दै आउनुभएका एनआरएन न्युयोर्क च्याप्टरका सभापति रामहरि अधिकारीको दैनिकी पनि अहिले पूरै फेरिएको छ । अधिकारीसहितको २६ जनाको टोलीले अहिले बिरामी भएर अत्यावश्यक सामानसमेत खरिद गर्न नसकेको अवस्थामा रहेका नेपालीलाई सहयोग गर्दै आएको छ । “अहिलेसम्म हामीहरुले करिब १५० जनालाई अत्यावश्यक वस्तुहरु उपलब्ध गराएका छौँ, अरु संस्थाका साथीहरुले पनि यसैगरी सहयोग गर्नुभएको छ”, अधिकारीले भने । विश्वभर जनघनत्व बढी भएका शहरको नियतिजस्तै न्युयोर्कमा पनि सानो क्षेत्रफलको अपार्टमेन्टमा एक अर्कामा मिलेर बस्नुपर्ने बाध्यता छ । यो नियतिबाट न्युयोर्कमा बसोवास गर्दै आएका अधिकांश त अभ्यस्त भएका पनि छन् । तर महामारीका कारणले संयुक्त आवास प्रक्रियाको सकारात्मकभन्दा पनि नकारात्मक पक्षमा धेरैको ध्यान गएको भोगाई रहेको छ । एउटै अपार्टमेन्ट बस्ने ४ देखि ६ जनामध्ये कसैलाई कोरोना भाइरसको सङ्क्रमण भइहालेको अवस्थामा कोठामा एक्लै अर्थात् एकान्तवासमा राख्न पनि उत्तिकै समस्या रहेको छ । न्युयोर्कमा रहेका नेपालीको आकर्षक कमाइ हुने विषयमा विभिन्न एप्सअन्तर्गत गरिने कामहरु रहेका थिए । यस्ता एप्समा उपलब्धता देखाइएको अवस्थामा काममा जान पाइने नत्र आफूखुशी पारिवारिक, सामाजिक काममा सहभागी हुन पाइने हुन्थ्यो । ती काम नेपालीबीच आकर्षक पनि थिए । तर यस्तो काम मानिससँग प्रत्यक्ष भेटघाट गर्नुपर्ने र एक अर्काको दूरी ६ फिटभन्दा निकै कम हुने भएकाले पनि यस्तो काम कोरोनाका कारणले जोखिममा परेको हो । खासमा न्युयोर्कमा सङ्क्रमण बढ्नुको कारण मानिसबाट मानिसमा सर्ने यो भाइरस मानिसहरुको भीडभाड बढी हुने स्थानमा काम गर्नु, सार्वजनिक यातायातको उपयोग गर्नु र एउटै घर या अपार्टमेन्टमा बढी मात्रामा मानिस बस्ने गर्नाले हो । केही भने आफूलाई सङ्क्रमण भइसकेपछि समुदायमा अपहेलना झेल्नुपर्ला भनेर पनि थाहै नदिएर बसेका कारण सङ्क्रमित बढेको न्युयोर्कमा बस्दै आएकाहरुको भनाइ छ । यो आलेख तयार पार्दासम्म कोरोनाकै कारण नेपालीहरु अनिल लिम्बू, सोनाम लामा, थोक्मे विष्ट, अजयमान छोचुङ र निमा तेम्बा शेर्पाको निधन भइसकेको छ । यी दुःखद खबरहरुका बीच पनि कतिपय नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भए पनि उपचारपछि नेगेटिभ रिपोर्टका साथ अहिले आराम गरी बसिरहेका छन् । सङ्क्रमितमध्ये धेरै अहिले क्वारेन्टाइनको चौध दिनको बसाइँ पूरा गरी विस्तारै आफूलाई सङ्क्रमणबाट सुरक्षित बनाएका छन् । तर अझै पनि आगामी १० देखि १४ दिनसम्म घरभित्रै वस्न स्थानीय सरकारी अधिकारीहरुले अनुरोध गरिरहेका छन् । अहिले न्युयोर्कमा कोरोना भाइरस कहाँबाट भित्रियो भन्ने खोजीनीति शुरु भएको छ । बुधबार मात्र प्रकाशित एक प्रतिवेदनले न्युयोर्कमा कोभिड–१९ को सङ्क्रमण युरोपबाट भित्रिएको देखाएको छ । न्युयोर्क विश्वको प्रमुख पर्यटकीय गन्तव्य भएका कारण विश्वका विभिन्न देशबाट दैनिक करिब एक लाख मानिस न्युयोर्क उत्रिने गरेको तथ्याङ्क रहेको छ । अमेरिकामा नेपालीहरुको बढी बसोवास रहेका स्थानहरु जस्तैः क्यालिफोर्निया, टेक्सास, मेरिल्याण्ड, कोलोराडो, न्यूजर्सी, न्यूह्याम्पसयर, कनेक्टिकट, भर्जिनियालगायतका राज्यमा कतिपयले घरबाटै काम गरिरहेका छन् । तर घरबाट नमिल्ने प्रकृतिका काममा रहेकालाई भने समस्या परेको छ । कतिपय प्रकृतिका काममा काम छोड्नुपर्ने अवस्था नरहे पनि कैयौँ नेपालीले भने काम छोडेरै बस्नु परेको अवस्था छ । अत्यावश्यक सेवाअन्तर्गत परेका पेशा तथा व्यवसायमा रहेका नेपालीले कामलाई निरन्तरता दिन पाइरहेका छन् । रासस

पुटिन, ट्रम्प र राजा सल्मानबीच विश्व तेल बजारलाई स्थिरता दिने सहमति

मस्को। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राजा सल्मानबीच विश्वको खनिज तेलको बजार व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ । उनीहरुबीच विश्वको तेल बजारको पछिल्लो अवस्थाका बारेमा खुला छलफल भएको रसियाली राष्ट्रपतिको प्रेस सेवाले शुक्रबार जनाएको छ । प्रेस सेवाको वक्तव्यमा भनिएको छ, “रसियाली राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति र साउदी राजासँग टेलिफोनमा कुराकानी गरे ।” छलफलका क्रममा ओपेक समेतको सहभागितामा मन्त्रीस्तरीय बैठक आयोजना गर्न सहमति पनि भएको छ । उनीहरुबीच तेलको मूल्यमा आएको उतारचढाव र यसबाट विश्व अर्थतन्त्रमा सिर्जित नकारात्मक असरलाई कम गर्न तथा विश्वको तेल व्यापारलाई स्थिरता प्रदान गर्न सबै पक्षबीच समान धारणा रहेको पनि प्रेस सेवाले जनाएको छ । कोरोनाभाइरसको संक्रमण फैलिएसँगै विश्व बजारमा तेलको माग घट्नुका साथै तेलको मूल्यमा पनि भारी गिरावट आएको छ । अमेरिकाले मुख्य तेल उत्पादक राष्ट्रहरु रुस र साउदी अरेबियाबीच जारी अस्वस्थ प्रतिस्पर्धाका कारण तेलको मूल्यमा अस्थिरता आएको बताउँदै दुबै देशमाथि उत्पादनमा कटौती गर्न दबाब दिँदै आएको छ । यसैबीच, तेल उत्पादक राष्ट्रहरुको समूह (ओपेक) र रसियाबीच आगामी मे र जुन महिनाका लागि प्रतिदिन एक करोड ब्यारेल तेल कटौती गर्न बिहीबार सहमति भएको ओपेकले जनाएको छ । अमेरिकी टेलिभिजन सिएनएनका अनुसार जुलाईदेखि डिसेम्बरको अवधिमा ८० लाख ब्यारेल प्रतिदिन तथा सन् २०२१ को जनवरीदेखि स्न २०२२ को अप्रिलसम्म प्रतिदिन ६० लाख ब्यारेल तेल उत्पादनमा कटौती गरिने छ । इरान, लिबिया र भेनेजुएलामाथि अमेरिकी प्रतिबन्धहरुका कारण पहिल्यै तेल उत्पादनमा असर परेको भन्दै यी मुलुकको तेल उत्पादनमा कटौती हुने छैन । साउदी अरेबियाको अग्रसरतामा भएको ओपेकको बिहीबारको बैठकमा सदस्य मुलुकहरुबीच टेलिकन्फेरेन्स मार्फत बैठक भएको साउदी अरेबियाले जनाएको छ । (रासस–एएनआई)

भारतमा कोभिड १९ का संक्रमितको संख्या छ हजार नाघ्यो

मुम्बइ। भारतमा बिहीबार पनि कारोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको १२ घन्टायता यहाँ ५४७ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार विहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या ६ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ शुक्रबार बिहानसम्म ६ हजार ४१२ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रबार पनि यो क्रम जारी नै छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको जानकारीअनुसार यहाँ गएको १२ घन्टामा मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै पाइएको छ । गएको १२ घन्टामा यहाँ ३० जनाको ज्यान गएको सो मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १९९ पुगेको भारतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १ हजार ३६४ जना पुगेको शुक्रबार विहान प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । ती मध्येका धेरै संक्रमितहर बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् । यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका संक्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ५०४ जना संक्रमित भने उपचार पछि निको भएर घर फर्र्किएका छन् । मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार यहाँ ५ हजार ७०९ जना कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९९ जना पुगेको पुष्टि भारतको स्वास्थ्य मन्त्रालयले गरेको छ । महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ८३४ पुगेको छ । त्यसपछिका बढी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको संख्या ७२० रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस-एएनआई