टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने, ५२ करोड डलर ऋण प्राप्त

शाङ्घाई । विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनियाँ बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ । यो कारखाना शाङ्घाई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पुँजी जुटाउन बेइजिङसँग वार्ता गरिरहेको थियो । टेस्ला कम्पनी विश्वकै सबैभन्दा ठूलो विद्युतीय कार निर्माता हो । चीनको कारखानामा टेस्लाले मोडेल ३ का सेडान कारहरु उत्पादन गर्नेछ । प्रारम्भमा यहाँबाट सातामा ३ हजार कार उत्पादन हुनेछन् भने वार्षिक पाँच लाख थान कार उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । कार उत्पादन यसै वर्षको अन्त्यदेखि हुनेछ । टेस्लाका प्रमुख कार्यकारी एलन मस्क गत जनवरीमा चीनको भ्रमण गरेका थिए । चीनमा रहँदा उहाँले कार उत्पादन कारखाना स्थापना र सञ्चालनका लागि स्थानीय चिनीया बैंकहरुसँग पूँजीका लागि छलफल गरेका थिए । टेस्लाले चिनियाँ औद्योगिक तथा बाणिज्य बैंक, चाइनिज कन्स्ट्रक्सन बैंक, कृषि बैंक र शाङ्घाई पुदोङ विकास बैंकबाट ५२ करोड १० लाख ऋण रकम प्राप्त गरेको छ । टेस्लाको उक्त घोषणासँगै न्यूयोर्क शेयर बजारमा दुई प्रतिशतभन्दा बढीले सेयर कारोबार भएको छ । चीन विश्वकै सबैभन्दा ठूलो कार बजार हो र वर्षौंदेखि कारको बिक्री निरन्तर बढ्दो छ । तर सन् २०१८ मा २।८ प्रतिशतले कार बिक्री घटेको चिनीया अधिकारीहरुले जनाएका छन् । विद्युतीय कारको बिक्रीमा भने निरन्तर सुधार आएको छ । गत वर्ष विद्युतीय सवारी साधनको बिक्रीमा ६२ प्रतिशतले वृद्धि भएको छ ।चीनमा विद्युतीय कार उत्पादनमा बीएआईसी, बीवाईडी र जोट्ये पनि अग्रणी स्थानमा छन् । रासस/एएफपी

विश्वका ६ देशले महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिन्छन्, ती कुन हुन् ?

महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिने मुलुकहरू अहिले पनि औंलामा गन्न सकिन्छन्,जम्माजम्मी छ वटा । विश्व बैंकको नयाँ विश्लेषण वीमिन, बिजनेश र ल अर्थात महिला व्यवसाय र कानुन नाम दिइएको प्रतिवेदनमा भनिएको छ महिला र पुरुषबीच पूर्ण समानता १८७ देशमध्ये जम्माजम्मी ६ देशमा छ । वाशिङटनमा मुख्यालय रहेको विश्व बैंकले १० वर्षको तथ्याङ्क आर्थिक र कानुनी असमानता लगायत आवतजावतमा रहेको स्वतन्त्रता, मातृत्व, घरेलु हिंसा र सम्पत्ति व्यवस्थापन अधिकार जस्ता विषयको आधारमा जाँच गरेको थियो । बेल्जियम, डेनमार्क, फ्रान्स, लाट्भिया, लक्जमबर्ग र स्वीडेनमा मात्र ती क्षेत्रमा महिला र पुरुषलाई समानता रहेको पाइयो । विश्वव्यापी रुपमा महिलाहरूले पुरुषको तुलनामा ७५ प्रतिशत मात्र अधिकार उपभोग गर्न पाउँछन् । क्षेत्रगत आधारमा भिन्नता विभिन्न क्षेत्रहरूले विभिन्न अङ्क पाएका छन् युरोप र मध्य एशियाले ८४.७५ पाएका छन्। मध्य पूर्व र उत्तर अफ्रिकाले पाएको अङ्क ४७.३५ छ । अमेरिकामा ८३.७५ प्रतिशत समानता छ। त्यो भनेको अमेरिका माथिल्ला ५० मुलुकभित्र पर्दैन । साउदी अरेबिया जहाँ महिलालाई नियन्त्रण गर्ने अनेकथरी कानुन छन्, सूचिको सबभन्दा अन्तमा परेको छ जसले २५.६५ अङ्क मात्र हात पारेको छ । लाट्भिया महिला र पुरुषलाई समान अधिकार प्राप्त छ मध्ये एक मुलुक हो, पहिलो काम हात पारेकी २५ वर्षीया या कामकाजी आमा जसले काम र बच्चाको रेखदेखको सन्तुलन मिलाउनुपर्छ, अथवा अवकाश लिने समय पुग्न लागेकी महिला या महिलाले लिने आर्थिक निर्णयहरू कसरी कानूनले प्रभावित पारेका हुन्छन् भन्ने तथ्यहरूमाथि विश्लेषण गरिएको थियो, विश्व बैंककी अन्तरिम अध्यक्ष क्रिस्टालिना जिओर्जीभाले जारी गरेको विज्ञप्तिमा भनेकी छन् । कैयौं नियम कानुनहरूले महिलालाई कार्यक्षेत्रमा प्रवेश गर्न या व्यवसाय शुरु गर्न रोक्ने गरेका छन् । ती भेदभावले महिलाहरूको आर्थिक समावेशिता र श्रम क्षेत्रमा सहभागितामाथि दुरगामी प्रभाव पार्न सक्छन् । प्रतिवेदनमा कैयौं देशले अगाडि सारेका सकारात्मक कदमहरूलाई प्रमुखता साथ प्रस्तुत गरिएको छ । विश्व ब्याङ्कका अनुसार गत दशकमा १३१ वटा मुलुकले २७४ वटा सुधारवादी कानुनहरू कार्यान्वयनमा ल्याएका छन् जसले लैंगिक समानता बढाएको छ । कार्यक्षेत्रमा महिलालाई सुरक्षा रिपोर्टमा भनिएको छ, ३५ देशहरूले कार्यक्षेत्रमा महिलामाथि हुने यौन हिंसाबाट जोगाउन कानुन कार्यान्वयनमा ल्याए। त्यसबाट एक दशक अघिको तुलनामा करिब दुई अर्ब महिलाहरूलाई संरक्षण मिल्न पुग्यो । सब सहारान अफ्रिका क्षेत्रमा रहेका संसारका असाध्यै गरिब मुलुकहरूमा गत एक दशकमा लैंगिक समानताका सबभन्दा धेरै सुधारहरू शुरु गरिएका छन् । विश्व ब्याङ्कको रिपोर्टमा महिलाले भर्खर काम खोज्ने महिलादेखि, व्यवसाय सञ्चालन हुँदै पेन्सन पाउने अवस्थाका गरी कार्यालयमा विताएको जीवनका सूचकाङ्कहरू विश्लेषण गरिएको थियो । रिपोर्टमा ३३ वटा देशले बच्चा जन्मँदा बाबुलाई छुट्टी दिन शुरु गरेको कुरालाई उल्लेख गरेको छ र घरेलु हिंसा विरुद्ध ४७ देशले कानुन पारित गरेको बताएको छ । क्रिस्टालिना जिओर्जीभा भन्छिन्, लैंगिक समानता प्राप्त गर्नु भनेको कानुन परिवर्तन गर्नु मात्रै होइन भन्ने हामीलाई थाहा छ। कानुनहरूको अर्थपूर्ण कार्यन्वयन हुनुपर्छ, त्यसो गर्न निरन्तरको राजनीतिक इच्छाशक्ति, समाजमा महिला र पुरुषको नेतृत्व र जरा गाडेर बसेका सांस्कृतिक परम्परा र प्रवृत्तिमा परिवर्तन आवश्यक छ । अन्ततः तथ्याङ्कले हामीलाई देखाएका छन् कि कानु‍नले महिलालाई हाम्रो क्षमता प्राप्ती गर्ने काममा रोकावट औजार बन्न सक्छन् भन्ने तथ्याङ्कले देखाएको छ । (बीबीसीबाट)

व्यक्तिगत खाताबाट मोदीले सरसफाई मजदुरलाई दिए २१ लाख

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुम्भ क्षेत्रका सरसफाइ मजदुरका लागि व्यक्तिगत रुपमा २१ लाख भारतीय रुपैयाँ सहयोग गरेका छन् । उनले कुम्भ सफाइ कर्मचारी सञ्चय कोषको नाममा आफ्नो व्यक्तिगत खाताबाट २१ लाख रुपैयाँ सहयोग गरेका हुन् । कुम्भ क्षेत्रमा सरसफाइ गर्न खटिएका कर्मचारीहरुको कल्याण र सहयोगका लागि उनले दिएको रकम प्रयोग हुने अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री मोदीले यसअघि गत फेब्रुअरी २४ तारिखका दिन सरसफाइ मजदुरहरुसँग अन्तरक्रिया गरेका थिए । उनले केही मजदुरहरुको खुट्टा धोइदिएर रुमालले पुछी ढोगेर सम्मान पनि व्यक्त गरे । उनको त्यो व्यवहार विश्वव्यापी चर्चाको विषय बनेको छ । त्यतिबेला प्रधानमन्त्री मोदीले कुम्भ सरसरफाइ मजदुरहरुलाई ‘वास्तविक कर्मयोगी’ को संज्ञा दिए । प्रधानमन्त्री मोदीले यस बाहेक अरू पनि धेरै ठाउँमा व्यक्तिगत सहयोगको घोषणा गर्दै आएका छन् । उनले केहीदिन पहिले आफूले दक्षिण कोरियामा प्राप्त गरेको शान्ति पुरस्कारको रकम पनि नामामी नदीको सफाइका लागि दिने घोषणा गरेका थिए । गुजरात राज्यका मुख्यमन्त्री भएका बेला कार्यकाल सकिनै लाग्दा उनले राज्यका कर्मचारीहरुको छोरीको शिक्षाका लागि भन्दै आफ्नो व्यक्तिगत २१ लाख भारतीय रुपैयाँ सहयोग गरेका थिए । रासस/एएनआई