सन् २०२० मा भन्दा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु

न्युयोर्क । सन् २०२० को अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको पाइएको छ । सन् २०१९ को अन्त्यमा चीनको हुबे प्रान्तको वुहान शहरबाट कोभिड १९ को भाइरस देखा परेको थियो । त्यसपछि सन् २०२० मा यो भाइरस विश्वभर पुगेको थियो । तर गत वर्षको भन्दा पनि यस वर्ष यो भाइरसबाट विश्वमा धेरै नागरिकको ज्यान गएको पाइएको एक समाचारमा जनाइएको छ । अमेरिकाको वाल स्ट्रिट जर्नलले यो समाचार दिएको हो । अघिल्लो वर्षको भन्दा यस वर्षको छ महिनायता नै विश्वमा कोभिडबाट धेरै मानिसको ज्यान गएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्टअनुसार यस वर्षको छ महिनामा मात्र १८ लाखभन्दा बढी मानिसको विश्वमा कोभिडको संक्रमणबाट नै मृत्यु भएको छ ।सो विश्वविद्यालयले विश्वका कैयौं देशमा अहिले खोपको आविष्कार भएर खोप लगाउने थालिएको भए पनि यस वर्ष लागेपछि मानिसहरुको ज्यान जाने क्रम भने रोकिएको छैन भनेको छ । कोभिडबाट भएको यो मृत्युको संख्या हेर्दा अहिले पनि संसारका कैयौँ स्थानमा कोभिडको महामारीले मानिसको ज्यान लिने क्रम भने नरोकिएको देखिएको सो विश्वविद्यालयले जनाएको छ । रासस/सिन्ह्वा

भारतको अर्थतन्त्र सन् २०२२ मा ९.३ प्रतिशतले वृद्धि हुने मुडिजको प्रक्षेपण

सिंगापुर । भारतको अर्थतन्त्र सन् २०२२ मार्चको अन्त्यसम्ममा कूल गार्हस्थ्य उत्पादनमा सुधार आई ९.३ प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ । विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले कोरोनाभाइरस महामारी (कोभिड-१९) को दोस्रो लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले पुनः गति लिने जनाएको छ । सन् २०२० मा कोभिड-१९ का कारण व्यापक गिरावट आएको अर्थतन्त्र कोभिडको संक्रमण कम देखिनासाथ सक्रिय भएको थियो । मुडिजका अनुसार भारतमा लगानीको वातावरण अझै सुधार आउन सकेको छैन । खासगरी भारतमा अर्थतन्त्रको वृद्धि तुलनात्मक रुपमा न्यून भएको, कमजोर सरकारी वित्त प्रणाली र वित्तीय क्षेत्रका जोखिम बढ्दो क्रममा रहेको मुडिजको भनाई छ । भारतका यी परम्परागत समस्याबीच कोभिडको दोस्रो लहरले भारतीय अर्थव्यवस्थामा थप जटिलता थपेको मुडिजले जनाएको छ । लकडाउन समेतका प्रतिबन्धका कारण आर्थिक गतिविधि सुस्त हुन सक्ने चेतावनी दिएको मुडिजले कोभिडको पहिलो लहरको झैं यसपटक अर्थतन्त्रलाई गम्भीर प्रभाव नपार्ने प्रक्षेपण गरेको छ । राजश्वमा हुने सामान्य गिरावट र कोभिडसँग सम्बन्धित क्षेत्रमा परिचालित हुने खर्चले सरकारी कोषमा कूल गार्हस्थ्य उत्पादनको ११.८ प्रतिशत भार थपिने छ । भारतले गत मे १ देखि तेस्रो चरणको खोप अभियान थालनी गरिसकेको छ जसमा १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई समेटिएको छ । तर, मे महिनाको अन्त्यसम्ममा कूल जनसंख्याको करिब १५ प्रतिशतले मात्र कम्तीमा एक डोज खोप लगाउन पाएका छन् । खोपको कमी र स्रोतसाधनको अभावले खोप अभियानलाई सहज रुपमा विस्तार गर्न कठिनाई भइरहेको पनि मुडिजको भनाई छ । मुडिजले कोभिडको दोस्रो लहर जुन महिना भन्दा लामो अवधिसम्म जारी रहे र खोप अभियानमा अपेक्षित प्रगति नभए भारतको अर्थतन्त्रमा दिर्घकालीन असर पर्ने जनाएको छ । रासस-एएनआई

फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट ल्याईंदै, सातवटै प्रदेशमा स्थापना गर्ने तयारी

फाइल फाेटाे काठमाडौं । कोभिड-१९ महामारीलाई सम्बोधन गर्न नागरिक समाज तथा निजी क्षेत्रका प्रतिष्ठित संघ/संस्थाहरुको अभियानद्वारा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर ल्याईंने भएकाे छ । कोभिड-१९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गरी बृहत नागरिक समाजको पहलमा ल्याइएकाे उक्त अक्सिजन जेनेरेटर युनिट नेपालमा छिट्टै नै आइपुग्ने क्रममा छन् । अमेरिकी नेपाल मेडिकल फाउन्डेशन, बतास फाउन्डेशन फाउन्डेशन, क्रिएसन, ह्युमानिटी फोउन्डेसन नेपाल, मिसन रिबिल्ड नेपाल, जगदम्बा स्टील, र स्याकार ट्रेड कम्पनी प्रा लिको संयुक्त सहकार्यमा र अन्य थुप्रै संघ-संस्थाहरुको सहयोगमा अक्सिजन संकटको चुनौतिलाई सामना गरि नेपालको क्षमतालाई बलियो बनाउनको लागि यो कार्यको सुरुवात गरिएको हो । कोभिड-१९ को महामारीको सम्बोधनका लागि बृहत नागरिक समाजको नेतृत्वमा गरिएको यो एक सबैभन्दा ठूलो पहल हो । कोभिड-१९ को दोश्रो लहरलेगर्दा अघिल्लो एक हप्ता मै १०१० जना को ज्यान गएको छ । भाइरसको गम्भीरता त छँदै छ, धेरै बिरामीहरु अक्सिजनको अभावले गर्दा पनि उच्च जोखिममा छन्। यस्तो परिस्थितिमा अक्सिजनको आवश्यकता परेको समयमा अक्सिजन सिलिंडर मात्र नभएर अक्सिजन जेनेरेटर युनिटहरुको पनि खाँचो छ । कोभिड-१९को प्रकोप बढेकै कारण अवस्थित अक्सिजन जेनेरेटर पूरा प्रयोग मा आए तापनि अक्सिजनको अभाव अझै बढ्दो छ । एउटा अक्सिजन जेनेरेटरले २४ घण्टामा १५ वटा ४७ लिटरको सिलिन्डर भर्ने र ५० वटा बेडमा सेवा दिन सक्छ । १० वटा अक्सिजन जेनेरेटरले एक मिनटमा ३७५ लिटर अक्सिजन उत्पादन गर्छ । त्यसैले १० वटा अक्सिजन जेनेरेटर युनिट स्थापना गरेमा एकदिनमा ६५० संक्रमितहरुलाई सेवा प्रदान गरि जीवन रक्षा गर्ने तथ्यांक देखिन्छ । नोभिएरको को ई.एन. प्रिमिएम आर.एक्ष. २७० अक्सिजन जेनेरेटर, नेपालको सात वटै प्रदेशमा स्थापना गरिनेछ । जेनेरेटर संचालनको लागि जुन स्थानबाट सबैभन्दा छिटो गर्न सकिन्छ त्यहाँबाट अक्सिजन उत्पादन प्रणालीको सुरुवात गरिनेछ । अक्सिजन जेनेरेटर एकपटक हस्तान्तरण भए पश्चात तोकेको स्थानसम्म लागिसकेपछि जडानका लागि तीन दिन लाग्नेछ । अक्सिजन जेनेरेटर युनिटहरु नेपालमा आइपुग्ने क्रममा छ । यी अक्सिजन प्लान्टहरुले कोभिड-१९ को दोस्रो लहरको संकटमा तत्काल राहत प्रदान गर्नुका साथै नेपालको समग्र स्वास्थ्य प्रणालीमा सहयोग पुर्याउने छ । अक्सिजन फर नेपाल, कोभिड-१९ को दोस्रो लहरको संकटलाई सम्बोधन गर्ने सबैभन्दा ठूलो नागरिक समाज अभियान हो, जहाँ नेपाल र बिदेशमा रहेका संघ-संस्था र नागरिकहरु एउटै छातामुनि भेला भएका छन् । यस अभियानका साझेदारहरुले तत्कालिन अक्सिजन संकटलाई समाधान गर्न नेपालको सात वटै प्रदेशमा १० वटा अक्सिजन अक्सिजन जेनेरेटर युनिटहरु स्थापना गर्नेछन् । स्याकार ट्रेड कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योति भन्छन्,’ज्योती ग्रुप अन्तर्गत स्याकार ट्रेडिङ कम्पनी अक्सिजन फोर नेपालमा अरु एन. जी. ओ. र निजी कम्पनीसँग सन्लग्न भएर एस महामारीको बेलामा नेपाली जनतालाई राहत दिनको लागी १० वटा अक्सिजन प्लान्ट दिने भएका छौं । एस स्याकार ट्रेडिङ कम्पनीको सिद्धान्त मा बसेर हामी हाम्रो समुदाय,समाज र राष्ट्रको लागी परिआएको बेला सधै सहयोग गर्न प्रतिबद्ध छौं ।’ ‘सानो सानो हातेमालोबाट सुरु भएको यो अभियानले आँटे जत्रो व्यापक चुनौती पनि सामना गर्न सकिन्छ भन्ने महत्वपूर्ण पाठ दिएको छ । सरकारी निकायको मुख ताकेर किंकर्तव्यविमूढ बस्नुभन्दा नीजि साझेदारीमा ठोस परिवर्तनवाहक बन्न हामी हरेक सक्षम रहेछौ । सबैको ऐक्यवद्धताले नै यो अभियान सफल भएकाले म सबै संस्था तथा व्यक्तिहरू, विशेष गरेर कोभिड अलायन्स फर नेपाल र सि–१९ आर ए टिलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु, क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने ।