भेनेजुएलाली तेलमाथिको अमेरिकी प्रतिबन्ध, भेनेजुएलाको अर्थतन्त्रमा असर

वासिङ्टन । भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ । बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो । संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राज्य नियन्त्रित पेट्रोलिओस डी भेनेजुएला (पीडीभीएसए) वा भेनेजुएला सरकारको ५० प्रतिशतभन्दा बढी लगानी रहेका कुनै पनि निकायबाट तेल आयात गर्नेहरुमाथि कार्यवाही गर्नेछ । राष्ट्रपति मदुरोलाई विस्थापित गरी विपक्षी नेता हुँवा गुएइदोलाई राष्ट्रपतिमा स्थापित गर्ने अमेरिकी ट्रम्प प्रशासनले स्पष्ट गरिसकेको छ । विपक्षी नेता गुएइदोलाई अमेरिका, युरोपेली मुलुकहरु सहित अधिकांश दक्षिण अमेरिकी देशहरुको समर्थन छ । सङ्कट आउनुअघि भेनेजुएलाले प्रतिदिन पाँच लाख ब्यारेल तेल संयुक्तराज्य अमेरिका निकासी गरिरहेको थियो । अमेरिका नै भेनेजुएलाको सबैभन्दा ठूलो तेलको ग्राहक मुलुक हो । आइतबारदेखि प्रतिबन्ध लागू हुने भएपनि संयुक्तराज्य अमेरिका र भेनेजुएलाबीचको तेल व्यापारमा केही महिनादेखि तिब्र रुपमा कमी आइसकेको छ, अन्तर्राष्ट्रि कानुनका विज्ञ मारिआनो डी अल्बाले बताए । तरपनि प्रतिबन्धको असर भेनेजुएलाको अर्थतन्त्रमा पर्नेछ । भेनेजुएलासँग तेलको कारोबार गर्ने अरु कम्पनीमाथि पनि अमेरिकाले निगरानी गर्नेछ जसबाट भेनेजुएलामाथि थप दबाब सिर्जना हुनेछ । ऊर्जा खपतमा अग्रणी मानिएको भारत सन् २०१७ मा तेस्रो ठूलो आयातकर्ता मुलुक हो । पहिलो र दोस्रो स्थानमा संयुक्तराज्य अमेरिका र चीन रहेका छन् । तर, भारतीय कम्पनीहरुले अमेरिकी प्रतिबन्धसँगै तेल खरिदमा कमी गर्न थालिसकेका छन् । मदुरोको शासनलाई समर्थन जनाएका चीन र रुसले भेनेजुएलालाई आर्थिक तथा राजनीतिक मद्दत गरिरहेका छन् । इरानबाट तेल खरिद गर्न रोकिएसँगै विश्व बजारमा तेलको मूल्यवृद्धि हुन थालिसकेको छ । भेनेजुएलाको लडखडाएको अर्थतन्त्रमा तेल नै जीवनरक्षक हो । भेनेजुएलाको कूल निर्यातको झण्डै ९६ प्रतिशत तेल निकासीबाट आम्दानी हुने गर्दछ । रासस/एएफपी

ट्रम्पले दिए जापानलाई दबाब, ‘अमेरिकी कारखानामा लगानी बढाउनू’

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कार निर्माता कम्पनीहरुलाई अमेरिकामै बढी कार उत्पादन गराउन प्रधानमन्त्री शिन्जो आबेलाई दबाब दिएका छन् । दुबै नेताबीच भएको छलफलसम्बन्धी जापानका लागि अमेरिकी राजदूतको दस्ताबेजमा उक्त कुरा उल्लेख छ । यही छलफलपछि जापानी कार निर्माता टोयोटा मोटर कर्पोरेशन समेतका प्रमुख कार निर्माता कम्पनीहरुले अमेरिकी कार निर्माण प्लान्टमा बढी लगानी गर्ने घोषणा गरेका छन् । जापानका लागि अमेरिकी राजदूत विलियम ह्यागर्टीले भने, “अमेरिकी कार प्लान्टमा लगानी बढाउने बारेमा छलफल भएको छ, र मेरो विचारमा राष्ट्रपति ट्रम्प पनि यस्तो हुनेमा निकै आशावादी हुनुहुन्छ किनभने अर्थतन्त्रको वर्तमान परिदृश्यमा यो निकै उपयुक्त विकल्प हो ।” राष्ट्रपति ट्रम्पले जापानी कार निर्माताहरुलाई संयुक्तराज्य अमेरिकामा बढी रोजगारी सिर्जना गर्न आग्रह गरिरहेका छन् । ह्वाइट हाउसले राष्ट्रिय सुरक्षा भन्दै जापान, युरोपेली मुलुकहरु समेतबाट आयात हुने सवारी साधनमा २५ प्रतिशतसम्म करवृद्धि गर्ने चेतावनी दिइसकेको छ । शुक्रबार राष्ट्रपति ट्रम्पले आगामी मे महिनामा टोकियोको भ्रमण गर्नुअघि नै नयाँ द्विपक्षीय व्यापार सम्झौता हुने विश्वास पनि व्यक्त गरे । तर, राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आबेबीच व्यापारिक स्वार्थका कतिपय विषयमा सहमति जुट्न सकेको छैन । राजदूत ह्यागर्टले राष्ट्रपति ट्रम्प आगामी जुनमा जापानको ओशाकामा आयोजना हुने औद्योगिक राष्ट्रहरुको बैठक (जी–२०)मा सहभागी हुने सम्भावना रहेको बताए । रासस/एएफपी

सोनी कम्पनीको नाफा ८ अर्ब २० करोड डलर, कसरी बढ्यो आम्दानी ?

टोकियो । जापानको विद्युतीय सामग्री उत्पदक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको कम्पनीले जनाएको छ । मार्चको अन्त्यसम्म वार्षिक खूद नाफा ८ अर्ब २० करोड अमेरिकी डलर (९१६ अर्ब जापानी येन) पुगेको छ । सञ्चालन नाफामा करिब २२ प्रतिशत वृद्धि भई ८९४ अर्ब जापानी येन भएको छ । कम्पनीको बिक्रीमा १.४ प्रतिशत वृद्धि भई ८९४ अर्ब यान पुगेको छ । कम्पनीको नाफा वृद्धि हुनुमा मुख्यतः अनलाइन खेल, सेवा र नेटवर्क व्यवसायमा भएको प्रगति रहेका छन् । प्लेस्टेसनबाट प्रयोगकर्ताले सोनीका म्युजिक र भिडियो सेवा लिन सक्ने व्यवस्था छ । रासस/एएफपी