बेलायती सरकारले लकडाउन नियमहरू कडा बनायो

काठमाडौं । बेलायतको लेस्टर शहरमा कोरोना भाइरसका घटना बढेपछि बेलायती सरकारले उक्त शहरमा स्थानीय लकडाउनको नियम कडा पार्ने घोषणा गरेकाे छ । संक्रमणको प्रसारको गतिलाई ध्यानमा राख्दै सरकारले यस शहरमा नयाँ प्रतिबन्धहरू लगाएको छ । यसको मतलब यो हो कि अब यस शहरमा पब, रेस्टुरेन्ट, र नाई पसलहरू आदि खोल्नको लागि यसले समय लिन सक्दछ । हालसम्म बेलायतमा ३ लाख ११ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने मृत्यु हुनेको संख्या ४३ हजार ५ सय ७५ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टा यता ८ जनाभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् भने २५ जनाभन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  

चीनमा वर्षाको कहर, १२ जनाको मृत्यु

बेइजिङ । चीनको दक्षिणमा अवस्थित सिचुवान प्रान्तमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । वर्षादको मौसम भएका कारण ठूलो संख्याका मानिसको उद्धार गर्नु पर्ने अवस्था सिर्जना भएको प्रान्तीय अधिकारीहरुले जनाएका छन् । सिचुवानको मियानिङ काउन्टीमा भएको भारी वर्षाका कारण पुलहरु र राजमार्गमा क्षति पुग्नुका साथै केही सवारी साधन बाढीले बगाएको छ । स्थानीय उद्धारकर्मीका अनुसार मियानिङमा अरु १० जना बेपत्ता भएका छन् भने सात हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । दक्षिणी चीनमा जुन महिना शुरु भएलगत्तै भारी वर्षा भइरहेको र त्यसबाट सिर्जित बाढी र पहिरोले मानिसको मृत्यु हुनेक्रम बढेको छ । विपद व्यवस्थापन मन्त्रालयका अनुसार हालसम्म ७८ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले धनसम्पत्तिको क्षति, सडक अबरोध र अन्य किसिमका अबरोधका कारण दक्षिणी चीनका झण्डै १ करोड २० लाख मानिस प्रभावित भएको जनाएको छ । मन्त्रालयले करिब ७ लाख २० हजार मानिसलाई सुरक्षित स्थलमा स्थानान्तरित गरिएको बताएको छ । बाढी, पहिरोका कारणबाट दक्षिण चीनमा हालसम्म करिब ३ अर्ब ६० करोड डलर बराबरको क्षति पुगिसकेको पनि मन्त्रालयले जनाएको छ । स्थानीय टेलिभिजनमा प्रसारित फुटेजहरुमा पूरै गाउँ र खेती जलमग्न भएको देखिएको छ । चोङकिङ महानगरमा पनि पानीको सतह खतराको स्तरभन्दा झण्डै पाँच मिटर माथि देखिएको छ, र यो पछिल्ला वर्षको उच्चत्तम रेकर्ड हो । चीन सरकारले बाढी पीडित नागरिकको उद्धार र राहतका लागि ठूलो बजेट विनियोजन गरेको जनाएको छ ।  रासस/एएफपी

आतंककारीले गाेली चलाउँदा पाकिस्तानमा ९ जनाकाे मृत्‍यु

काठमाडौं । आतंककारीले गाेली चलाउँदा पाकिस्तानमा ९ जनाकाे मृत्‍यु भएकाे छ ।कराचीस्थित पाकिस्तानकाे स्टक एक्स्चेन्जको भवनमा आक्रमण हुँदा ९ जनाकाे मृत्‍यु भएकाे हाे । उक्त स्थानकाे स‌ंचारमाध्यमले आक्रमणमा ९ जनाले ज्यान गुमाएकाे जनाएकाे छ । ज्यान गुमाउनेमा एक सब ईन्सपेक्टर, ४ जना सेक्युरिटी गार्ड र ४ जना आतंकवादी भएकाे शंका गरिएकाे छ ।