पपुवा न्युगिनीमा ५.० म्याग्निच्युडको भूकम्प
काठमाडाैं । पपुवा न्युगिनीको मध्य भागमा शुक्रबार ५.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प २१:३४ जिएमटीम रेकर्ड गरिएको थियो । ६६ किलोमिटर (४१ माइल भन्दा बढी) तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ । पपुवा न्युगिनी भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जसलाई रिङ अफ फायर भनिन्छ र यहाँ नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्दछ।
ओमिक्रोनको सङ्क्रमित बढेपछि इटालीमा भेलाहरु प्रतिबन्ध
राेम । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका सङ्क्रमण बढेको पाइएको छ । यहाँ प्रतिदिन यस्तो सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ र यहाँका अधिकारीहरुले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने नियम बनाएका छन् । पछिल्लो समयमा क्रिसमसका कार्यक्रमहरुमा बढी नागरिकहरुको आवतजावत र जम्मा हुने भएकाले त्यसमा कडाई गरिएको बताइएको छ । इटालीको मन्त्री परिषदले यहाँ क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन पनि प्रतिबन्ध लगाइएको छ । त्यसैगरी नागरिकहरु सार्वजनिक रुपमा भेला हुने कार्यमा पनि कडाई गरिएको यहाँको सरकारले जनाएको छ । यहाँका प्रतिबन्धहरुमा रात्रि क्लबहरु र डिस्कोमा आगामी जनवरी ३१ सम्मका लागि प्रतिबन्ध लगाइएको छ । त्यस्तै दिउँसोको समयमा पनि धेरै जना व्यक्ति भेला हुन नपाउने नियम बनाइएको छ । यहाँ प्रत्येक दिन नयाँ भेरियन्ट ओमिक्रोनका सङ्क्रमितहरु देखिने गरेका छन् । साथै पछिल्लो समयमा डेल्टा भेरियन्टको प्रकोप पनि बढ्दो देखिएको बताइएको छ । रासस/सिन्ह्वा
अमेरिकामा ओमिक्रोनका सङ्क्रमित बढ्दै, क्रिसमसका कार्यक्रम रद्द गर्न डब्लुएचओकाे आग्रह
न्युयोर्क । अमेरिकामा ओमिक्रोनका सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन यसका सङ्क्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको कोरोनाको सङ्क्रमणमा सबैभन्दा धेरै सङ्क्रमण ओमिक्रोनका कारणले हुन लागेको देखिएको बताएका छन् । अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा पनि ओमिक्रोनको सङ्क्रमण सर्न सक्ने बताउनुभएको छ ।यसअघि पनि अमेरिकाको सेन्टर्स् फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन् । अमेरिकाका अधिकारीहरुले विश्वका अरु देशका तुलनामा ओमिक्रोन भाइरस अमेरिकाका निकै नै दू्रत गतिमा फैलिएको जनाएका छन् । उनीहरुले गएको डिसेम्बर १ मा मात्र अमेरिकामा पहिलो सङ्क्रमित देखिएकामा अहिले आएर यहाँका करिब ४८ राज्यमा नै यो सङ्क्रमण फैलिएको जनाएका छन् । उता कोभिडको ओमिक्रोन भेरिअन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षाका लागि भन्दै आफ्ना छुट्टीका कार्यक्रमहरु तथा योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य संगठनले आग्रह गरेको पनि गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कठिन परिस्थिति भएकाले यस्तो कठिन निर्णय गर्न पनि पछि हट्न नहुने सुझाव पनि सबैलाई दिएका छन् । उनले ओमिक्रोन डेल्टा भेरिअन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य पत्ता लागेको भन्दै यो क्रिसमसका बेला हुने ओहारदोहोरले अझ धेरै असर गर्नेतर्फ सबैजना सचेत हुनुपर्ने बताए । क्रिसमसका बेला हुने यात्राले कोभिडको नयाँ भेरियन्ट फैलाउने अमेरिकी विज्ञको पनि भनाई यसअघि नै आएको थियो । फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागु गर्नुका साथै नयाँ भेरिअन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध पनि लगाइरहेका छन् । रासस/सिन्ह्वा