पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट अस्पताल सार्न आदेश

काठमाडौं । पाकिस्तानको सुप्रीम कोर्टले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्न आदेश दिएको छ । उनलाई आगामी सेप्टेम्बर १६ मा हुने अर्को सुनुवाइसम्म अस्पतालमै राखिनेछ । सुप्रीम कोर्टको तीन सदस्यीय इजलासले इमरान खानलाई अस्पताल भर्ना गराउन माग गर्दै दायर गरिएको निवेदनमाथि सुनुवाइ गरेको हो ।  इजलासको अध्यक्षता न्यायाधीश शाहिद वाहिदले गरेका थिए । न्यायाधीश नईम अख्तर अफगान र न्यायाधीश इश्तियाक इब्राहिम इजलासका सदस्य थिए । सुप्रीम कोर्टले अदियाला जेलका प्रमुखलाई अदालतको अवहेलनासम्बन्धी सूचना पनि जारी गरेको छ । अदालतले इमरान खानको स्वास्थ्य अवस्थासँग सम्बन्धित सम्पूर्ण मेडिकल रेकर्ड पेस गर्न निर्देशन दिएको छ । अदालतले इमरान खानलाई उनका परिवारका सदस्यसँग हरेक साता भेटघाट गर्न दिने व्यवस्था सुनिश्चित गर्न पनि अधिकारीहरूलाई आदेश दिएको छ । यसका साथै अदालतले इमरान खानसँग भएका सबै भेटघाटको विस्तृत विवरण तथा उनीविरुद्ध विचाराधीन सबै मुद्दाको पूर्ण जानकारी उपलब्ध गराउन पनि निर्देशन दिएको छ । इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सुप्रीम कोर्टको निर्णयको स्वागत गरेका छन् । उनले भने, ‘इमरान खानलाई शिफा इन्टरनेसनल अस्पताल पठाउने आदेश सही छ ।  यो निर्णय पहिले नै भएको भए उनको आँखाको अवस्था र स्वास्थ्य यति खराब हुने थिएन ।’

हर्मुज स्ट्रेटबाट बाहिरिने क्रममा जहाजमाथि अज्ञात प्रक्षेप्य प्रहार, एक जनाको मृत्यु

काठमाडौं । हर्मुज स्ट्रेटबाट बाहिरिने क्रममा एउटा जहाजलाई अज्ञात प्रक्षेप्यले निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ब्रिटिश मेरिटाइम ट्रेड अपरेसन्स अर्गनाइजेसन (यूकेएमटीओ) का अनुसार उक्त हमलामा जहाजको इन्जिन कक्षमा क्षति पुगेको छ भने एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । यूकेएमटीओले घटनापछि ओमान कोस्ट गार्डले जहाजमा रहेका अन्य चालक दलका सदस्यको उद्धारका लागि अभियान सञ्चालन गरिरहेको जनाएको छ । घटनाबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान गरिरहेको बताइएको छ । यो घटना हर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने जहाजको संख्या ठूलो मात्रामा घटेको समयमा भएको हो । अहिले उक्त जलमार्गबाट निकै कम संख्यामा मात्रै जहाज आवतजावत गरिरहेका छन् । अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु हुनुअघि हर्मुज स्ट्रेट हुँदै दैनिक १३० भन्दा बढी जहाज आवतजावत गर्ने गरेका थिए ।

ट्रम्पको लोकप्रियता खस्किँदै, ६४ प्रतिशत अमेरिकी असन्तुष्ट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा लगातार गिरावट देखिएको छ । ‍रोयटर्स/इप्सोसको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको स्वीकृति दर घटेर ३३ प्रतिशतमा झरेको छ । यो उनको वर्तमान कार्यकालकै सबैभन्दा न्यून स्तर हो । सर्वेक्षणमा सहभागी ६४ प्रतिशत अमेरिकी नागरिकले राष्ट्रपतिका रूपमा ट्रम्पको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन् भने ३३ प्रतिशतले मात्र उनको कामलाई अनुमोदन गरेका छन् । यसै महिनाको सुरुवातमा गरिएको सर्वेक्षणमा ट्रम्पको स्वीकृति दर ३५ प्रतिशत थियो । सर्वेक्षणअनुसार ट्रम्पको अहिलेको स्वीकृति दर उनको पहिलो कार्यकालकै न्यूनतम स्तरमा पनि पुगेको छ । पहिलो कार्यकालमा सन् २०१७ को डिसेम्बरमा पनि उनको स्वीकृति दर ३३ प्रतिशतमा झरेको थियो । सर्वेक्षणले इरानसँगको युद्धलाई लिएर अमेरिकी नागरिकको चिन्ता पनि बढेको देखाएको छ । करिब ८० प्रतिशत अमेरिकीले अमेरिका र इरानबीचको युद्ध लामो समयसम्म चल्ने आशंका व्यक्त गरेका छन् ।