अमेरिकी उद्योग पुनर्निर्माणका लागि जापानको साढे पाँच खर्ब डलर प्रतिबद्धता

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री साने ताकाइचीलाई बधाई दिएका छन् । तर टोकियोले संयुक्त राज्य अमेरिकामा गर्ने भनिएको पाँच खर्ब ५० अर्ब डलरको विशाल लगानी प्रतिबद्धता कार्यान्वयन गर्ने दबाब पनि सामना गरिरहेको छ । जुलाईमा भएको सहमतिअनुसार जापानले सन् २०२९ सम्म ‘मुख्य अमेरिकी उद्योगहरूको पुनर्निर्माण र विस्तार गर्न’ पाँच खर्ब ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो । ह्वाइट हाउसले यसबाट ‘सयौँ हजार अमेरिकी रोजगारी’ सिर्जना हुने जनाएको छ । बदलामा जापानी आयातमा लगाइने भनिएको २५ प्रतिशत भन्सार शुल्क घटाएर १५ प्रतिशतमा झारिएको थियो । राष्ट्रपति ट्रम्पले यसलाई बेसबल खेलाडीको ‘साइनिङ बोनस’ सँग तुलना गरेका थिए । अक्टोबरमा ट्रम्पको जापान भ्रमणअघि सम्भावित परियोजनाहरूको सूची सार्वजनिक गरिएको थियो । यसमा आणविक रिएक्टर, एआई डाटा सेन्टरका उपकरण, बन्दरगाह स्तरोन्नति, ढुवानी च्यानल ड्रेजिङ र मल कारखाना जस्ता क्षेत्र समेटिएका छन् । एक अज्ञात कूटनीतिज्ञले यस प्रक्रियालाई ‘सडक–स्तरको रणनीति’ जस्तै भएको टिप्पणी गरेका थिए । समझदारी ज्ञापनपत्रअनुसार प्रस्तावहरू दुई समितिको छानबिनपछि अन्तिम स्वीकृतिका लागि ट्रम्पसमक्ष पठाइनेछ । स्वीकृतिपछि जापानले ४५ कार्यदिनभित्र आवश्यक रकम उपलब्ध गराउनुपर्नेछ । अस्वीकार गरेमा उच्च भन्सार शुल्कको जोखिम रहनेछ । लगानी फिर्ता नभएसम्म नाफा अमेरिका र जापानले ५०ः५० अनुपातमा बाँड्नेछन्, त्यसपछि अमेरिकाले ९० प्रतिशत हिस्सा पाउने व्यवस्था गरिएको छ । जापानका व्यापार मन्त्री रियोसेइ अकाजावाले पाँच खर्ब ५० अर्ब डलरमध्ये एकदेखि दुई प्रतिशत मात्र प्रत्यक्ष पूँजी हुने बताएका छन् । बाँकी रकम जापान बैंक फर इन्टरनेसनल कोअपरेशनबाट बन्ड र ऋण तथा राज्य ग्यारेन्टीयुक्त क्रेडिटमार्फत जुटाइनेछ । अर्थशास्त्री मासामिची अदाचीले करदाताको पैसा प्रत्यक्ष रूपमा ट्रम्पलाई दिने नभएको स्पष्ट गरेका छन् । विश्लेषकहरूका अनुसार कार्यान्वयनमा चुनौती देखिन सक्छ, किनकि अन्तिम लगानी निर्णय निजी कम्पनीहरूले नै गर्नेछन् । प्रशासनिक प्रक्रिया, वित्तीय स्पष्टता, श्रम अभाव र जग्गा अनुमति जस्ता विषयले जापानी कम्पनीहरूलाई सावधान बनाएको छ । मार्च १९ मा तय गरिएको ताकाइचीको ह्वाइट हाउस भ्रमणअघि केही प्रारम्भिक परियोजनाहरू घोषणा हुनसक्ने अनुमान गरिएको छ । सम्भावित प्रारम्भिक सम्झौतामा करिब ४० अर्ब डलर बराबरका परियोजनाहरू समावेश हुन सक्छन्, जसमा डाटा सेन्टरका लागि ग्यास ऊर्जा उत्पादन, बन्दरगाह स्तरोन्नति र कृत्रिम हीरा उत्पादन उल्लेख गरिएको छ । विश्लेषक काजुमा मेडाले जापानले ठोस परियोजना प्रस्तुत गर्न सकेमा ह्वाइट हाउसलाई अमेरिकी मतदातासामु उपलब्धि देखाउन सहयोग पुग्ने बताएका छन् । उनका अनुसार ट्रम्प प्रशासन मध्यावधि चुनावअघिको संवेदनशील समयमा हस्ताक्षरयोग्य नीतिगत उपलब्धि खोजिरहेको छ । प्रस्थानअघि मन्त्री अकाजावाले लगानी पहलअन्तर्गत विशिष्ट परियोजनाहरूको विस्तृत छलफल भइरहेको बताउँदै ‘ट्रम्प प्रशासन निकै कडा छ’ भनेका छन् । रासस

हसिनाको अपदस्थपछि बंगलादेशमा पहिलो चुनाव, १२ करोडभन्दा बढी मतदाता मैदानमा

काठमाडौं । सन् २०२४ को जेनजी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बंगलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ । वर्षौंको राजनीतिक अस्थिरतापछि भएको यो चुनावलाई देशको लोकतन्त्रको महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ । बिहीबार बिहान ढिलो सुरु भएको मतदान मध्याह्नसम्म राजधानी ढाका र अन्य सहरका केन्द्रहरूमा उत्साहजनक सहभागितासहित अघि बढेको थियो । मतदान बिहीबारभर जारी रहनेछ भने नतिजा शुक्रबार सार्वजनिक हुने अपेक्षा गरिएको छ । पूर्वप्रधानमन्त्री हसिना देशबाट बाहिरिएपछि र उहाँको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाएपछि पहिलो पटक भएको यस निर्वाचनमा करिब १२ करोड ७० लाख मतदाता सहभागी हुन योग्य रहेका छन् । हसिना हाल भारतमा निर्वासनमा बस्दै आएकी छन्। बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का तारिक रहमान आगामी सरकार गठनका प्रमुख दावेदारका रूपमा देखिएका छन् । उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका पुत्र हुन् र १७ वर्ष लन्डनमा स्व–निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किएका थिए । उनले लोकतान्त्रिक संस्थाहरूको पुनर्निर्माण, विधिको शासन सुदृढीकरण र सङ्घर्षरत अर्थतन्त्र पुनर्जीवित गर्ने प्रतिबद्धता जनाएका थिए । उनलाई चुनौती दिने शक्तिका रूपमा जमात–ए–इस्लामीको नेतृत्वमा ११ दलीय गठबन्धन अघि आएको छ । हसिनाको शासनकालमा प्रतिबन्धित उक्त इस्लामवादी दलले पछिल्लो समय प्रभाव बढाएको छ ।  यसले विशेषगरी महिला र धार्मिक अल्पसङ्ख्यक समुदायमा चिन्ता बढाएको छ । बङ्गलादेशमा करिब ९० प्रतिशत मुस्लिम र झण्डै आठ प्रतिशत हिन्दू समुदाय बसोबास गर्छन् । जमातका प्रमुख शफिकुर रहमानले मतदानपछि ‘यो निर्णायक मोड हो’ भन्दै जनताले परिवर्तन चाहेको बताएका छन् । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले निष्पक्ष र पारदर्शी मतदान गराउने प्रतिबद्धता जनाएको छ । करिब ५०० अन्तर्राष्ट्रिय पर्यवेक्षक र विदेशी पत्रकार उपस्थित रहेको जनाइएको छ, जसमा युरोपेली सङ्घ ९इयु० र राष्ट्रमण्डलका प्रतिनिधिहरू पनि समावेश छन् । तीन सय ५० सदस्यीय संसद्मा ३०० सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् भने ५० सिट महिलाका लागि आरक्षित छन् । सांसदहरू बहुलताका आधारमा चयन हुनेछन् र संसद्को कार्यकाल पाँच वर्षको हुनेछ । एक उम्मेदवारको निधनपछि एउटा निर्वाचन क्षेत्रमा मतदान स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ । अघिल्ला वर्षहरूमा भएको हिंसा, अल्पसङ्ख्यक र प्रेसमाथिका आक्रमण तथा विधिको शासन कमजोर बनेको अवस्थापछि यो चुनाव हुँदैछ । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता पाएपछि बङ्गलादेशको राजनीति दलगत द्वन्द्व, सैन्य कू र मत हेरफेरका आरोपले प्रभावित हुँदै आएको छ । करिब ५० लाख पहिलो पटकका मतदाता यसपटक निर्णायक बन्न सक्ने अपेक्षा गरिएको छ । निर्वाचनसँगै राष्ट्रिय चार्टरअन्तर्गत प्रस्तावित संवैधानिक सुधारबारे जनमतसङ्ग्रह पनि गरिएको छ । बहुमतले समर्थन गरेमा नयाँ संसद्ले १८० कार्यदिनभित्र संवैधानिक सुधार परिषद् गठन गर्नेछ । प्रस्तावमा द्विसदनीय व्यवस्थापिका स्थापना र माथिल्लो सदनलाई संविधान संशोधनको अधिकार दिने व्यवस्था समावेश छ । बीएनपी र जमात–ए–इस्लामीले केही संशोधनपछि दस्तावेजमा सहमति जनाएका छन् । तर अवामी लिग र उसका केही पूर्व सहयोगीहरूलाई प्रक्रियाबाट बाहिर राखिएको भन्दै जनमतसङ्ग्रहको आलोचना पनि भइरहेको छ । यस चुनावले बङ्गलादेशको लोकतान्त्रिक भविष्यको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकी शुल्कले रोक्न सकेन चीनको उत्पादन रफ्तार, कारखाना र बन्दरगाह पुन: फुल क्यापसिटीमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका शुल्कले निर्यातकर्ता र ग्राहकहरूलाई तर्साएको एक वर्षपछि चिनियाँ नयाँ वर्ष (लुनार न्यू इयर) अघि चिनियाँ कारखाना र बन्दरगाहहरू पुनः गुलजारमय भएका छन्। सामान्यतया वर्षको सुरुवातमा चिनियाँ कारखानाहरूमा उत्पादन तीव्र हुन्छ किनकि उत्पादकहरू लामो चिनियाँ नयाँ वर्षको बिदा सुरु हुनुअघि अर्डर पूरा गर्न र सामान पठाउन हतारिन्छन् । ट्रम्पका शुल्कहरू जारी रहे पनि यस वर्षको बिदाअघिको चाप उस्तै बलियो देखिएको छ । ग्वाङ्डोङस्थित इलेक्ट्रोनिक्स उत्पादक कम्पनी एजिलियन टेक्नोलोजीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनो अन्जोरानले शुल्कसम्बन्धी रोकथाम र धम्कीको वर्ष बितेपछि आफ्नो कारखाना झण्डै पूर्ण क्षमतामा चलेको बताए ।  उनले भने, ‘हामी अत्यन्त व्यस्त छौं, स्थिति फेरि त्यहीँ पुगेको छ मानौं शुल्क भन्ने कुरा छैन । अमेरिकी ग्राहकहरूले अन्य देशबाट किन्नेबारे सोचिरहेका छैनन्,’ अन्जोरानले भने ।  उनका अनुसार केही ग्राहकहरूले बिदाअघि उत्पादन र ढुवानी गर्न अतिरिक्त लागतसमेत तिर्नुपरेको छ । डोङगुआन सहरमा रहेको उनको कारखानाले आधाभन्दा बढी उत्पादन अमेरिका पठाउँछ र निर्यात गत वर्ष शुल्क लागू हुनुअघिकै स्तरमा कायम छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रको तथ्याङ्क पछ्याउने चाइना बेज बुकका अनुसार कारखानाहरूले चिनियाँ नयाँ वर्षअघि अर्डर, उत्पादन र आम्दानीमा उल्लेख्य वृद्धि देखेका छन् । अनुसन्धान संस्थाको अनुमानअनुसार जनवरीमा औद्योगिक उत्पादन वार्षिक रूपमा बढेको  र घरेलु तथा निर्यात अर्डरहरू वार्षिक र मासिक दुवै आधारमा तीव्र गतिमा बढेका छन् । जनवरी–फेब्रुअरीको आधिकारिक उत्पादन तथ्याङ्क मार्चमा सार्वजनिक हुनेछ । एचएसबीसी बैंकका यातायात तथा लोजिस्टिक्स विश्लेषकहरूको टोलीका अनुसार फेब्रुअरी १ मा समाप्त भएको सातामा चीनका प्रमुख बन्दरगाहहरूले गत वर्षको तुलनामा ४० प्रतिशत बढी कन्टेनर ह्यान्डल गरेका छन् । यो १२ महिनाभन्दा बढी अवधिको सबैभन्दा तीव्र वार्षिक वृद्धि हो र २०२५ को साप्ताहिक औसत १० प्रतिशत वृद्धिभन्दा निकै माथि हो । चीनका महत्त्वपूर्ण समुद्री केन्द्रमध्ये एक निङ्बो बन्दरगाहमा टर्मिनलहरू ‘क्षमताभन्दा बढी सञ्चालन’ भएको, केही जहाजहरू २० प्रतिशतभन्दा बढी ओभरबुक भएको र कन्टेनर गेट–इनसमेत अस्थायी रूपमा रोकिएको निङ्बो चाइना इन्स्टिच्युट फर सप्लाइ चेन इनोभेसनका डिन जे गुओले बताए । गम्भीर ट्राफिक जामका कारण ट्रकिङ दर ८० प्रतिशतसम्म बढेको गुओले जानकारी दिए । उनका अनुसार धेरै कारखाना र फ्रेट फर्वार्डरहरूले शुक्रबारदेखि काम रोक्ने र अर्को बिहीबारदेखि पुनः सञ्चालन गर्नेछन् । वैश्विक सप्लाइ चेन तथा लोजिस्टिक्स विज्ञ वोल्फगाङ लेहमाकरले भने, ‘युरोप, उत्तर अमेरिका र एसियाका ढुवानीकर्ताहरूका लागि जारी परामर्शहरूले चीनबाट बिदाअघिको बुकिङ स्पष्ट रूपमा अगाडि सारिएको देखाउँछन् ।’ तर यस वर्ष लुनार न्यू इयर मध्य–फेब्रुअरीमा परेको र २०२५ मा जनवरी अन्त्यतिर परेको समय अन्तरका कारण ‘लो–बेस इफेक्ट’ ले पनि वृद्धिमा आंशिक प्रभाव पारेको उल्लेख गरिएको छ । बिदाअघि अर्डर र ढुवानी बढ्दा फ्रेट दरमा उछाल आएको छ । एचएसबीसीको फ्रेट मनिटर प्रतिवेदनअनुसार, जनवरी सुरुवातमा शाङ्घाइ कन्टेनराइज्ड फ्रेट सूचकाङ्क १ हजार ४०० देखि १ हजार ६५६ को दायरामा थियो, जुन पछिल्ला १५ वर्षको औसत १ हजार ३३७ देखि १ हजार ५६८ भन्दा माथि हो । एचएसबीसी विश्लेषकहरूका अनुसार ऐतिहासिक ढाँचाभन्दा तीन हप्ता अगावै दर उच्च बिन्दुमा पुगेकोले यस वर्ष बिदाअघिको ‘फ्रन्ट–लोडिङ’ चाँडै सुरु भएको संकेत गर्छ । प्रतिवेदनले जनवरीको अधिकांश समय र फेब्रुअरीसम्म अमेरिकातर्फ ठूला कन्टेनर ढुवानी २०२४ र २०२५ को सोही अवधिभन्दा माथि रहेको देखाएको छ । अमेरिकातर्फ र युरोपतर्फको एयर फ्रेट दरसमेत गत वर्षभन्दा उच्च थियो। फेब्रुअरी २ मा समाप्त सातामा बाल्टिक एक्सचेन्जको शाङ्घाइ पुडोङ आउटबाउन्ड सूचकाङ्क ५.३ प्रतिशतले बढ्यो । शुल्कसम्बन्धी तनाव केही कम भएसँगै कम्पनीहरूले नयाँ उत्पादन विकासलाई पनि अघि बढाएका छन् । अक्टोबरमा भएको उच्चस्तरीय भेटपछि चीनले वाशिङ्टनसँग एक वर्षे व्यापार ‘सम्झौता’ सुरक्षित गरेको थियो, जसले अमेरिकातर्फका सामानमा शुल्कलाई अपेक्षाकृत तल्लो स्तरमा राख्यो । २०२५ को अधिकांश समय चीनले अमेरिकातर्फ प्रत्यक्ष ढुवानी घटाउँदै दक्षिणपूर्वी एसिया र युरोपेली बजारतर्फ निर्यात बढाएको थियो । कारखानामा देखिएको चहलपहल आपूर्ति सञ्जाल विविधीकरणका प्रयासबीच आएको हो । धेरै बहुराष्ट्रिय कम्पनीहरूले दक्षिणपूर्वी एसियामा ‘चाइना–प्लस–वन’ रणनीति र मेक्सिको तथा युरोपका केही क्षेत्रमा ‘नियर–शोरिङ’ तीव्र पारे पनि चीनमा महत्त्वपूर्ण उत्पादन र सोर्सिङ कायम राखेका छन् । दक्षिण चीनका विभिन्न कारखाना भ्रमणपछि टाइडलवेभ सोलुसन्सका वरिष्ठ साझेदार क्यामरुन जोनसनले भने, ‘अटोमोबाइल, उपभोक्ता र खेलकुद सामग्री उत्पादकहरू निकै व्यस्त देखिए ।’ विदेशी खरिदकर्ताहरू केही अमेरिकी समेतले नयाँ अर्डर राखिरहेका छन् । ट्रम्पका व्यापक शुल्कका कारण गत वर्ष ‘प्यानिक बाइङ’ र अचानक अर्डर रोक्का जस्ता उतारचढाव देखिएका थिए । जोनसनका अनुसार व्यवसायीहरूले ‘अनिश्चितता सकिने प्रतीक्षामा सकेसम्म ढिला गरे तर अब अघि बढ्ने बाटो खोज्नै पर्ने अवस्था’ आएको छ । अन्जोरानका अनुसार नयाँ उत्पादन विकासमा अमेरिकी ग्राहकहरूको रुचि उल्लेख्य रूपमा पुनःस्थापित भएको छ । ‘धेरैले नयाँ उत्पादन योजना बनाएका थिए, तर अनिश्चितताका कारण परियोजना रोकिएका थिए,’ उनले भने, ‘अब अवस्था तुलनात्मक रूपमा स्थिर देखिन्छ ।’