जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो । गोली लागेपछि उनी सडकमै ढलेको र उनी ढलेको ठाउँमा रगत देखिएको बिबिसीले उल्लेख गरेकाे छ । बेहोस रहेका उनलाई उपचारका लागि नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको बताइएको छ । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बेलायती प्रधानमन्त्री जोनसनले दिए राजीनामा
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन् । विवादमा फसेका उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। बेलायती गृहमन्त्री प्रिती पटेल र कन्जरभेटिभ पार्टीका अन्य सांसद्हरूले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजिनाम माग गरेका थिए । यसअघि बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद र एक्सचेकरका चान्सलर ऋषि सुनक जस्ता प्रमुख व्यक्तिहरू सहित लगभग ३० बेलायती सरकारी अधिकारीहरूले हालैका पूर्व उपप्रमुख सचेतक क्रिस्टोफर पिन्चरको घोटाला काण्डलाई लिएर आफ्नो राजीनामा बुझाइसकेका छन् ।
भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे
नयाँदिल्ली । बितेका केही दिनयता एसियाका केही देशमा कोरोनाका बिरामी बढेको पाइएको छ । बुधबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार ९३०, दक्षिण कोरियामा १८ हजार ५११, पाकिस्तानमा ८७२ जना मलेसियामा तीन हजार ५६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख ६६ हजार ७३९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । चौविस घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा ३५ को मृत्यु भएको छ । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ३०५ को मृत्यु भएको छ । हाल भारतमा एक लाख १९ हजार ४५७ सक्रिय सङ्क्रमित रहेका छन् । करिब चार महिनापछि गत हप्ताबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ । पछिल्लो एक दिनमा १४ हजार ६५० कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख २१ हजार ९७७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८।६१ प्रतिशत रहेको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८८ लाख डोजभन्दा बढी खोप लगाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड २० लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।