दुर्घटनामा टर्किएमा छ जना आप्रवासीको मृत्यु

एजेन्सी । टर्किएको दक्षिणपूर्वी सानलिउर्फा प्रान्तमा शुक्रबार एउटा मिनीबस सिँचाइ नहरमा खस्दा कम्तीमा छ जना गैरकानुनी आप्रवासीको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका स्थानीय गभर्नरले बताएका छन्। घाइते आप्रवासीहरूको उपचार भइरहेको छ र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको गभर्नर सालिह आयहानले बताएका छन् । मिनिबसबाट केही घाइते आफैं बाहिर निस्केका थिए भने केहीको घटनापछि स्थानीयको सहयोगमा उद्धार गरिएको गभर्नरले जानकारी दिएका छन् । मिनिबसमा जम्मा ३१ जना आप्रवासी सवार रहेको बुजीएको छ । घटनास्थलबाट भाग्न खोज्ने गाडीका चालकलाई स्थानीय अधिकारीहरूले समातेर हिरासतमा राखेका छन् । आठ करोडभन्दा बढी जनसङ्ख्या भएको टर्किएले ४० लाखभन्दा बढी शरणार्थीहरूलाई आप्रवासन सुविधा दिएको छ । केही आप्रवासीहरू वरपरको क्षेत्रको द्वन्द्वबाट भागेर टर्किएमा आउँछन् भने कोही टर्किएबाट युरोप जाने उद्देश्यले आउने गर्छन् । टर्कीको आन्तरिक मन्त्रालयले यस महिनाको शुरुमा सार्वजनिक गरेको जानकारी अनुसार हालसम्म सन् २०२२ मा दुई लाख १९ हजार ४५५ अनियमित आप्रवासीलाई पक्राउ गरेको छ।

विहारमा विषाक्त मदिरा सेवनबाट बाइस जनाको मृत्यु

विहार । विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिइ स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्रीवितरणविरुद्ध अभियान चलाएपछि विहार राज्यमा सन् २०१६ मा मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको थियो । प्रहरीका अनुसार अस्पताल भर्ना भएका २० मध्ये धेरैले आँखाको ज्योति गुमाएका छन् । गैरकानुनीरूपमा मदिरा बिक्री गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । सारण जिल्ला राज्यको राजधानी पटनाबाट करिब ६० किलोमिटर उत्तरमा अवस्थित छ । अवैधरूपमा बनाइएको मदिरा सेवनबाट हुने मृत्युलाई भारतमा सामान्य मानिन्छ । अवैधरूपमा उत्पादन हुने मदिरालाई कडा बनाउन कीटनाशकलायत रसायन प्रयोग गरिन्छ । यसरी उत्पादित मादक पदार्थ कम मूल्यमा बिक्री हुने गरेको छ । कर छलेर अवैध तरिकाले उत्पादन गर्ने यो व्यवसाय लाभदायक उद्योग भएको छ । यो वर्षको प्रारम्भमा विषाक्त मदिरा पिउँदा पश्चिम भारतको गुजरात राज्यमा कम्तीमा २८ जनाको मृत्यु भएको थियोभने ६० जना बिरामी भएका थिए । गुजरातमा पनि मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ । सन् २०२० मा भारतको उत्तरी पञ्जाब राज्यमा पनि विषाक्त मदिरा पिएर एक सय २० जनाले ज्यान गुमाएका थिए । रासस

विश्वकप फाइनलमा फ्रान्सको प्रवेशसँगै देशभर हर्षोल्लास, मोरक्कोको प्रशंसा

काठमाडौं । कतारमा जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न शहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले पराजित मोरक्को टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा पनि गरेका छन् । बुधवार भएको खेलमा २–० गोलले मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अफ्रिकी देश मोरक्कोको अभूतपूर्व उपलब्धिको उनीहरूले सराहना गरेका छन् । विश्वकपको इतिहासमा पहिलोपटक अफ्रिकी मुलुक मोरक्को सेमिफाइनलमा पुगेर फ्रान्ससँग आमनेसमाने भएकामा उनीहरू हर्षित थिए । ‘फ्रान्ससँग पराजित भए पनि मोरक्कन फाइनलमा हामीसँगै हुनेछन्, यो जित सबै फ्रान्सेली भाषीको हो,’ मध्यप्यारिसको बास्टिल स्क्वायर नजिक विजय उत्सवमा सहभागी २२ वर्षीय एड्रिन भिग्नाउले ‘डिफेन्डिङ च्याम्पियन’ क्रोएसियालाई हराएर सेमिफाइनलमा मोरक्को पुग्नु ठूलो उपलव्धि भएको उल्लेख गर्दै भने । मोरक्कन टोलीको आँसु उनीहरूको उत्कृष्ट प्रदर्शनले पुछेको उनले बताए । फ्रान्स र अर्जेन्टिनाबीचको फाइन खेलको व्यग्र प्रतीक्षामा आफू रहेको बताउँदै उनले अर्जेन्टिनी ‘स्टार’ खेलाडी लियोनल मेस्सीको प्रहार र प्रस्तुति पनि रोचक हुनेमा आफू ढुक्क रहेको जनाए । प्रतिद्वन्द्वी भएपनि उनको प्रहार गर्ने शैली आकर्षक रहेको उनले बताए ।