आइएमएफले इसीएफको दोस्रो किस्ता वापतको ७ अर्ब रुपैयाँ दिने
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई दिने भनिएको ७ अर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गर्ने निर्णय गरेको छ । नेपाललाई विस्तारित कर्जा सुविधा (इसीएफ)अन्तर्गतको ५ करोड २८ लाख अमेरिकी डलर अर्थात् ६ अर्ब ९० करोड रुपैयाँ नेपाललाई उपलब्ध गराउन सहमत भएको हो । अमेरिकाको वासिङ्टन डिसीमा बसेको आइएमएफ बोर्ड बैठकले नेपाललाई सो कर्जा सुविधा दिने निर्णय गरेको हो । कोषले विस्तारित कर्जा सुविधा लिँदा गरेको प्रतिबद्धतालाई समीक्षा गर्दै दोस्रो किस्ता प्रदान गर्ने निर्णय गरेको हो । आइएमएफले नेपाललाई उपलब्ध गारउने भनिएपनि १ वर्षदेखि दोस्रो किस्ताको रकम रोकिएको थियो । अर्थमन्त्री डा. प्रकाश शरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिँदा गरेका प्रतिबद्धता अनुसार नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएपछि दोस्रो किस्ता वापतको रकम निकासा गर्ने निर्णय गरेको हो । योसँगै नेपालले सुविधावापत १५ करोड ७४ लाख अमेरिकी डलर खर्च गर्न प्राप्त गर्ने भएको छ । यसअघि पहिलो किस्ता बापत ११ करोड अमेरिकी डलर प्राप्त गरिसकेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आईएमएफसँग वि.सं. २०७८ पुस २८ गते विस्तारित कर्जा सुविधाअन्तर्गत ३९ करोड ८८ लाख अमेरिकी डलर प्रदान गर्न सम्झौता गरेका थिए ।
जापानमा ९४.५ प्रतिशत व्यक्तिले महसुस गरे मूल्यवृद्धिको असर
टोकियो । बैंक अफ जापानले हालै गरेको एक सर्वेक्षणअनुसार जापानमा ९४.५ प्रतिशतले एक वर्ष अघिको तुलनामा मूल्यवृद्धि भएको महसुस गरेका छन् । त्यसैगरीे ६२.८ प्रतिशतले मूल्य वृद्धि भएको तर यसलाई आफूले व्यवस्थापन गर्न सकेको बताएका छन् । फेब्रुअरी ३ देखि मार्च १ सम्म गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा २० वर्ष वा सोभन्दा बढी उमेरका एक हजार ९८१ उत्तरदातालाई सहभागी गराइएको थियो । त्यसको ५६ प्रतिशत उत्तरदाताले लगातार तेस्रो त्रैमासिकसम्म महङ्गीको महशुस गरेको बताएका छन् ५० प्रतिशतभन्दा बढीले अत्यधिक मूल्य बढेको बताएका छन् । पछिल्ला तीन सर्वेक्षणमा सहभागीमध्ये आधाले आफ्नो आम्दानी उस्तै रहेको बताएका छन् भने मानिसहरुको सङ्ख्यामा क्रमिक वृद्धिले खर्चको लागत बढेको बताएका छन् । हरेक तीन महिनामा गरिने सर्वेक्षणमा अधिकांश उत्तरदाताले खाना, त्यसपछि दैनिक उपभोग्य वस्तु र विद्युतीय उपकरणमा खर्च बढेको देखाएको छ । रासस/सिन्ह्वा
चट्याङ लागेर पश्चिम बङ्गालमा १५ जनाको मृत्यु
नयाँदिल्ली । मेघगर्जन र चट्याङसँगै पश्चिम बङ्गालमा बिहीबार भएको भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ । चट्याङ लागेर घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । भारतीय मौसम विज्ञान विभागले आगामी चौविस घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ । सरकारी तथ्याङ्कअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सात जनाको मृत्यु भएको थियो ।