श्रीलङ्कालाई एफडिआईको रूपमा ५२३ मिलियन अमेरिकी डलर प्राप्त
एजेन्सी । श्रीलङ्काले यस वर्षको पहिलो छ महिनामा ५२३ मिलियन अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्राप्त गरेको एक छ। श्रीलङ्काका लगानी बोर्ड (बीओआई) का वरिष्ठ अधिकारी निरोसानीले यो सरकारले तोकेको वार्षिक लक्ष्यको ५२.३ प्रतिशत रहेको बताएकी छन् । निरोसानीले बीओआई अन्तर्गत एक हजार ५५० कम्पनी दर्ता भएकाले ५ लाखभन्दा बढी रोजगारी सृजना भएको समेत उल्लेख गरेकी छन् । श्रीलङ्काले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न १५ वटा स्वतन्त्र व्यापार क्षेत्रहरू बनाएको छ र सरकारले देशलाई थप लगानीमैत्री बनाउन केही कानूनहरू पुनरावलोकन गर्न खोजिरहेको बताएकी छन् । उनका अनुसार सन् १९७८ देखि २०२२ को मध्य सम्ममा श्रीलङ्काले २०।६ बिलियन अमेरिकी डलर एफडीआईको रूपमा प्राप्त गरेको छ।
कम्बोडियालाई एडिबीको पाँच करोड डलर ऋण
कम्बोडिया । मनिलास्थित एसियाली विकास ब्याङ्क एडीबीले कम्बोडिया सरकारलाई देशको अर्थतन्त्रलाई विविधीकरण गर्न तथा विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता बढाउन पाँच करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । महामारीपछिको आर्थिक पुनरुत्थानलाई प्रवद्र्धन गर्न ब्याङ्कले उक्त रकम ऋणस्वरुप प्रदान गर्ने निर्णय गरेको हो । कम्बोडियाको आर्थिक पुनरुत्थानमा सघाउन, लगानी तथा व्यापारिक वातावरण वृद्धि गर्न,लघु,मध्यम र साना उद्यमको विकासमा टेवा दिन, व्यापार नीति एवम् व्यापार सहजीकरणमा सुधार गर्न ऋण उपलव्ध गराउने निर्णय भएको ब्याङ्कले एक विज्ञप्ति निकालेर आज जनाएको हो । कोरोना महामारीले कम्बोडियाली अर्थतन्त्रका प्रमुख क्षेत्र गार्मेन्ट, जुत्ता, कपडा उत्पादन, पर्यटन र निर्माण क्षेत्रमा गम्भीर असर पारेको एडिबीका वरिष्ठ अर्थशास्त्री सायन एल मोर्टनले बताएका छन् । ऋण सहायताबाट कम्बोडियाको आन्तरिक एवम् बाह्य व्यापार प्रवद्र्धनका निम्ति अनुकूलन वातावरण बनाउन मद्दत पुग्ने,लघु,मध्यम र साना उद्यमको विकास र विविधीकरण, वित्तमा उनीहरूको पहुँच सुधार तथा उत्पादनहरूका निम्ति नयाँ बजारहरू सृजनामा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । सहुलियतपूर्ण उक्त ऋण सहयोगले कम्बोडियालाई क्षेत्रीय व्यापार सम्झौता कार्यान्वयनमा सुधार तथा औद्योगिक उत्पादन निर्यात गर्न थप अवसर प्रदान गर्नका साथै व्यापार सहजीकरण एवम् समन्वयलाई सहज बनाउन मद्दत गर्ने अपेक्षा ब्याङ्कले गरेको उनले बताएका छन् । रासस
नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो
एजेन्सी । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । त्यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ । त्यहाँको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिइएको हो । उक्त विज्ञप्तिमा वायु प्रदुषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सतर्कता अपनाउन आग्रह पनि गरिएको छ । सो प्रतिवेदनमा नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा गम्भीर तहमा पुगेकाले यसलाई कम गर्नका लागि आवश्यक सबै प्रकारका उपायहरु अपनाउन सरकारसँग आग्रह पनि गरिएको छ । सो आयोगको आइतबार अपराह्न ४ बजेको रिपोर्टमा वायु प्रदुषणको मात्रा (एक्युआई) गम्भीर तह अर्थात् चार सय सातमा पुगेको देखाइएको छ । यो एक्युआई तह दुई सय एक देखि तीन सयसम्म कमजोर अर्थात् खराब, तीन सय एकदेखि चार सयसम्म झन् खराब र चार सय एकदेखि माथि पाँच सयसम्मलाई गम्भीर तह अर्थात घातक मानिएको छ । नयाँ दिल्लीमा प्रायः जाडो समय (नोभेम्बरदेखि फेब्रुअरी) सम्म वायु प्रदुषणको मात्रा बढ्ने गरेको पाइन्छ । यसवर्ष अहिले नै त्यहाँको प्रदुषणको मात्रा गम्भीर तहमा पुगेकाले यस मौसममा वायु प्रदुषणको मात्रा निकै नै बढ्ने संकेत देखिएको हो ।