बेइजिङमा मुशलधारे बर्षाका कारण पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु
बेइजिङ । भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ । बेइजिङका उपमेयर जिया लिनमाओले एक पत्रकार सम्मेलनमा उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेको जानकारी दिए । मुख्यतया, गत हप्ता परेको बर्षापछि आएको बाढी र घर भत्किएका कारण उनीहरूका ज्यान गएको हो । जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो । बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो । वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस र करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पु¥याएको छ । जियाका अनुसार, सम्पत्ति र भौतिक क्षतिको आँकलन भइरहेको र घोषित मृतक सङ्ख्यामा वृद्धि हुने सम्भावना देखिएको छ । मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ, ५०७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ, २७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ भने ३४२ गाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ । बर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २५६ वटा गाउँमा यातायात सञ्चालनमा समस्या भएको छ अथक उद्धार र पुनस्थापना प्रयासहरू जारी रहेको र अधिकांश गाउँहरूमा सफलतापूर्वक बिजुली आपूर्ति, खानेपानी, दूरसञ्चार सेवा र यातायात बहाल भएको छ । बेइजिङले प्रभावित जनसङ्ख्याका लागि अत्यावश्यक दैनिक आवश्यकता, आपतकालीन आपूर्ति र चिकित्सा उपचार उपलब्ध भएको सुनिश्चित गरेको छ र विपद्पछिको महामारी रोकथाम कार्य सुरु गर्न द्रूत कदम चालेको उपमेयरले बताए । ‘बेइजिङ शहरले पुनरुत्थान र पुनर्निर्माण योजना बनाएको छ र यसको कार्यान्वयनलाई गति दिनेछ,’ जियाले भने । सिचुवानमा बाढीका कारण सात जनाको मृत्यु चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा बुधबार आएको बाढीमा परी सात जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सरकारी प्रसारक सीसीटीभीले सात जनाको मृत्यु भएको र अन्य चार जनालाई पानीबाट उद्धार गरिएको उल्लेख गर्दै ‘स्थानीय सार्वजनिक सुरक्षा, अग्नि नियन्त्रक र अन्य विभागहरूले खोजी र उद्धार कार्य जारी राखेको’ जनाएको छ । प्रान्तीय राजधानी छेन्दुको दक्षिणपश्चिममा रहेको तटबन्ध नजिकै बिहान १० बजे अप्रत्यासित आएको बाढीले १० जनाभन्दा बढी मानिसलाई बगाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बाढीआउँदा फोटो खिचिरहेका ती व्यक्ति स्थानीय एक लोकप्रिय स्थलको भ्रमण गर्ने पर्यटकहरू थिए । सीसीटीभीले शेयर गरेको भिडियोमा शक्तिशाली धारले पानीलाई तल धकेलेको र पानीको किनाराबाट मानिसहरू चिच्याएका कारण धेरै मानिसहरु आफ्नो टाउको पानीमाथि राख्न सङ्घर्ष गरिरहेको देखिएको छ । जलप्रलयको कारण तत्काल स्पष्ट हुन सकेको छैन । रासस
चिनियाँ उपभोक्ता मूल्यमा गिरावट
बेइजिङ । चीनको उपभोक्ता मूल्यमा दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक गत महिना सङ्कुचन आएको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । मुद्रास्फीतिको मुख्य मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क जुलाईमा ०.३ ले घटेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.४ प्रतिशतले गिरावट आउने अनुमान गरेका थिए । चिनियाँ उत्पादनको विश्वव्यापी माग घट्दै जाँदा गत महिना चीनको निर्यात तीन वर्षयताकै सबैभन्दा तीव्र गतिमा घटेको समाचार सार्वजनिक भएको एक दिनपछि यो आँकडा सार्वजनिक भएको हो । कमजोर आन्तरिक मागका कारण आयात पनि लगातार नवौं महिना घटेको छ । वस्तुको मूल्यमा आएको गिरावट क्रयशक्तिका लागि फाइदाजनक देखिए तापनि अपस्फीतिले अर्थतन्त्रका लागि व्यापक खतरा उत्पन्न गर्छ किनभने उपभोक्ताहरू थप कटौतीको आशामा खरीद स्थगित गर्छन् । मागको कमीले कम्पनीहरूलाई उत्पादन घटाउन, रोजगारी कम गर्न वा रोक्न र कामदारहरूलाई हटाउन बाध्य पार्छ, साथै उनीहरूको भण्डार बेच्न नयाँ छुट दिन तयार हुन्छ । लागत समान हुँदाहुँदै पनि लाभप्रदतामा तौल गर्दछ । चीनले सन् २०२० को अन्त्य र सन् २०२१ को सुरुमा छोटो अवधिको अपस्फीतिको अनुभव गरेको थियो, जसको मुख्य कारण सुँगुरको मासुको मूल्यमा गिरावट आएको थियो । चीनमा सबैभन्दा बढी खपत हुने सुँगुरको मासु हो । रासस
बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ‘एरिस’ काे जोखिम बढ्दै
काठमाडौं । बेलायतमा फेरि एकपटक कोराना भाइरसको जोखिम बढेको छ । कोरोनाको नयाँ भेरियन्ट एरिसले स्वास्थ्य विभागलाई चिन्तित बनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार नयाँ भेरियन्ट एरिसको वैज्ञानिक नाम ईजी.५.१ हो र यो ओमिक्रोनबाट उत्पन्न भएको हो । बेलायतमा यो भेरियन्ट जुन महिनामा पत्ता लागेको थियो । त्यसदेखि यताको समयमा दैनिक नयाँ–नयाँ समस्याहरु सार्वजनिक भैरहेका छन् । ३१ जुलाईमा यसलाई नयाँ भेरियन्टको रुपमा वर्गीकृत गरिएको थियो । युके हेल्थ सेक्युरिटी एजेन्सीले कोभिड संक्रमण भएका हरेक सात जनामध्ये एकजनालाई ईजी.५.१ संक्रमण देखिएको बताएको छ । एसियामा संक्रमण बढ्दै गएकाले बेलायतमा पनि यो समस्या बढेको बताइएको छ । तर, एसियाका कुन–कुन देशहरुमा नयाँ संक्रमण देखिएको छ भन्ने बारेमा भने एजेन्सीले उल्लेख गरेको छैन । विश्व स्वास्थ्य संगठनले भ्याक्सिन लगाएका मानिसहरु सुरक्षित रहेको तर सतर्क हुनुपर्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनले दुई साता अगाडि कोभिडको नयाँ संस्करणको विषयमा अनुगमन सुरु गरेको थियो । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनोम गेबियसले खोपका कारण मानिसहरु सुरक्षित रहेको बताएका छन् । एजेन्सीको रेस्पिरेटरी डाटामार्ट प्रणालीबाट रिपोर्ट गरिएका चार हजार तीन सय ९६ वटा नमूना मध्ये ५ दशमलब ४ प्रतिशतमा कोरोना संक्रमण देखिएको जनाइएको छ । जबकी पछिल्लो समयमा चार हजार चार सय तीन नमूनामा परीक्षण गर्दा तीन दशमलब सात प्रतिशतमा मात्रै कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समयमा अस्पताल भर्ना हुने संख्यामा पनि वृद्धि भइरहेको छ । ताजा तथ्यांकअनुसार प्रत्येक एक लाख आवादी भएको ठाउँमा एक दशमलब ९७ प्रतिशत कोभिड विमारी अस्पताल भर्ना भएका छन् । जसमध्ये अधिकांश वृद्धवृद्धा रहेका छन् । एजेन्सीकाे सहयाेगमा ।