इराकद्वारा १०३ मिलियन ब्यारेल बढी कच्चा तेल निर्यात

एजेन्सी । इराकले जनवरीमा १०३ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ । इराकले जनवरीमा १०३.५ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो । जसबाट ८.०२५ बिलियन अमेरिकी डलर राजस्व जम्मा भएको छ । जनवरीमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ७७.५३ डलर थियो । मन्त्रालयले स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको प्रारम्भिक तथ्याङ्कलाई उदृत गर्दै बताएको छ । मध्य र दक्षिणी इराकका तेल क्षेत्रहरूबाट बसराको बन्दरगाहबाट करिव १० करोड ब्यारेल र उत्तरी प्रान्त निनेवेहको कय्यारा तेल क्षेत्रबाट करिव १० लाख ब्यारेल निर्यात गरिएको थियो भने यस महिनामा ४ लाख ६४ हजार ३०६ ब्यारेल छिमेकी जोर्डनमा पठाइएको थियो । इराकको अर्थतन्त्र कच्चा तेलको निर्यातमा धेरै निर्भर छ । जसले देशको राजश्वको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

थाई भाट चोरीको अभियोगमा दैलेखका सुनार विमानस्थलबाट पक्राउ

काठमाडौं । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई बिहीबार पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमको लोडरका रूपमा कार्यरत दैलेख महावु गाउँपालिका-३ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३५ वर्षीय देवबहादुर सुनारलाई बिहीबार दिउँसो पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ । याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात् सिसिटिभि अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा सुनारको गतिविधि शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजले उक्त थाई भाट चोरी गरेको खुलेको हो । निजको शरीर र लकर खोजी गर्दा विभिन्न दरका थाई भाट १९ हजार चार सय बरामद गरिएको प्रहरीले जनाएको छ । सुनारलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस

भारतले बढायो नेपाललाई दिने सहयोग, ११ अर्ब २० करोड विनियोजन

काठमाडौं । भारत सरकालेले नेपाललाई दिने बजेटरी अनुदान बढाएको छ । बिहीबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसदमा प्रस्तुत गरेकाे बजेटमा आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) नेपालका लागि विनियोजन गरिएकाे छ । भारतले वित्त वर्ष २०२३/२४ मा नेपालका लागि ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको थियो । भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) पुर्‍याएको छ ।