जापानको बेरोजगारी दर २.५ प्रतिशतमा झर्याे

काठमाडौं । जापानको बेरोजगारी दर जुन महिनामा २.५ प्रतिशत रहेको जापान सरकारले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार एक महिनाअघि २.६ प्रतिशत रहेको बेरोजगारदर केही घटेको हो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे महिनामा रोजगारीको उपलब्धता अनुपात ०.०१ प्रतिशत बिन्दुले घटेर १.३० मा झरेको जनाएको छ । यो अनुपात कामको खोजीमा प्रति १ सय मानिसको लागि १३० उपलब्ध रोजगारको बराबर छ । जुन महिनामा कूल बेरोजगारको सङ्ख्या १७ लाख ९० हजार पुगेको मन्त्रालयले जनाएको छ । तीमध्ये आफ्नै इच्छाले काम छोड्नेको सङ्ख्या १ प्रतिशतले घटेर ७ लाख १० हजारमा झरेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार कामबाट बर्खास्त हुनेको सङ्ख्या अघिल्लो महिनाको तुलनामा २ प्रतिशतले घटेर ४ लाख ७० हजारमा झरेको छ ।

अमेरिकी उत्पादन क्षेत्रमा सङ्कुचन

काठमाडौं । अमेरिकी उत्पादन क्षेत्रमा जुलाई अर्थात् नवौं महिना सङ्कुचन देखिएको मङ्गलबार सार्वजनिक एक सर्वेक्षणको तथ्याङ्कले देखाएको छ । आपूर्ति व्यवस्थापन इन्स्टिच्युट (आईएसएम)को उत्पादन सुचकाङ्क जुनमा ४६.० प्रतिशत रहेकोमा गत महिना ४६.४ प्रतिशतमा झरेको छ । र यसले संकुचनको सुस्त दरलाई सङ्केत गरेको थियो । आईएसएम सर्वेक्षण प्रमुख टिमोथी फियोरले भने, ‘माग कमजोर छ तर जूनको तुलनामा थोरै राम्रो छ, कामको कमीको कारण उत्पादन सुस्त भएको छ, र आपूर्तिकर्ताहरूसँग आपूर्ति क्षमता मजबुत छ, निकट भविष्यमा उत्पादनसँग राम्रो तालमेल गर्न थप रोजगारी कटौतीका सङ्केतहरू देखा पर्छन् ।’ फेडरल रिजर्भको मौद्रिक नीतिमा कडाइले कम्पनीको खर्चमा पनि असर पारेको छ भने वस्तुको मागले उपभोगलाई सेवातर्फ मोड्न थालेपछि यो कमजोरी आएको हो । गत वर्ष बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले मागलाई सहज बनाउन ब्याजदर घटाउँदै आएको छ र यसको कार्यले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई असर गरिरहेको छ । जुलाईको आईएसएम रिपोर्टले नयाँ अर्डरहरू र उत्पादन सूचकाङ्कहरू दुबैले केही सुधार सङ्केत गरेपनि उत्पादन सङ्कुचनमा रहेको देखिएको छ । पेट्रोलियम र कोइला उत्पादनका साथै फर्निचर र सम्बन्धित उत्पादनहरू गरी दुई उत्पादन उद्योगहरूमा जुलाईमा वृद्धि भएको छ भने अन्य १६ वटामा सङ्कुचन आएको छ । रासायनिक उत्पादन क्षेत्रका एक सर्वेक्षण उत्तरदाताले भने, ‘हाम्रो उद्योगमा बिक्री वर्षको उत्तराद्र्धसम्ममा पनि प्रगति अत्यन्तै सुस्त छ र कम्तिमा चौथो त्रैमासिकसम्म कुनै वृद्धि हुने अपेक्षा गरिएको छैन ।’ अर्का एक उत्तरदाताले चीनविरुद्ध सेमीकन्डक्टर व्यापार प्रतिबन्धले उत्तरी अमेरिकाको औद्योगिक व्यवसायमा ‘नकारात्मक प्रभाव’ पारेको उल्लेख गरे ।

मानिसको औसत आयु १२० वर्षसम्म बढ्न सक्ने

काठमाडौं । कृत्तिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि र कोभिड–१९ महामारीबाट प्राप्त ज्ञानका कारण आगामी केही दशकमा मानव आयु १२० वर्षसम्म बढ्ने अनुमान गरिएको स्वीडेनी टेलिभिजन (एसभीटी)ले आइतबार जनाएको छ । मालार्डालेन युनिभर्सिटी (एमडीयू)का अनुसन्धाता इग्नाट कुलकोभले एसभीटीसँग भने, ‘हाम्रो प्राग्ज्ञान (रोगको पुर्वानुमान) अनुसार मानिसको आयु ५० वर्षभित्र कमसेकम विकसित राष्ट्रमा १०० देखि १२० वर्षको बीचमा हुनेछ ।’ फिनल्याण्ड, फ्रान्स र संयुक्त अधिराज्य (बेलायत)का विश्वविद्यालयका सहकर्मीहरूसँग गरिएको एक अध्ययनको निष्कर्षबारे वैज्ञानिक पत्रिका ‘फ्युचर्स जर्नल’मा प्रकाशित भएको एक अध्ययनको निष्कर्षको बारेमा कुलकोभले बताए । उनले भने, ‘धेरै भन्दा धेरै मानिसहरूले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी राखिरहन शरिरमा पहिरिन योग्य उपकरणहरू लगाउनेछन् । यी उपकरणहरू चिकित्सक र अस्पतालहरूसँग जोडिनेछन् ।’ कुलकोभले प्रसङ्गलाई थप जोड्दै भने, ‘यी सेन्सरहरूमध्ये केही ‘इम्प्लान्ट’को रूपमा हुनेछन् । परिणामस्वरूप यस्ता उपकरणहरूले चिकित्सकहरूलाई प्रारम्भिक चरणमा जीवनशैली परिवर्तन गर्न स्वास्थ्यमा सुधार र लामो आयुको साथ सिफारिस गर्न सक्षम बनाउनेछ ।’ अन्य क्षेत्रमा भएको प्रगतिले पनि लामो आयुमा योगदान पु¥याउने वैज्ञानिकहरूले पत्ता लगाएका छन् कुलकोभले भने, ‘कोभिड–१९ को महामारीबाट भाइरसलाई कसरी बढी कुशलतापूर्वक पत्ता लगाउने भन्नेबारे राम्रो ज्ञान प्राप्त भएको छ। यसपहिले नै रोगहरूको छिटो निदान गर्न र नयाँ उपचारहरू विकास गर्न कृत्तिम बौद्धिकता ९एआई०को प्रयोग गरिएको छ ।’ व्यक्तिगत रूपमा तयार पारिएका औषधिसँग व्यक्तिगत औषधिले पनि स्वास्थ्यमा सुधार ल्याउन योगदान पु¥याउने अपेक्षा गरिएको उनले बताए । ‘यद्यपि, त्यहाँ नयाँ चुनौतीहरू पनि छन्,’ कुलकोभले भने । तर, जलवायु परिवर्तनले भविष्यमा मात्र नभई अहिले नै हाम्रो स्वास्थ्य सेवा प्रणाली र हाम्रो जीवनमा सबैभन्दा ठूलो प्रभाव पार्ने उनले बताए ।