भियतनामले लाओसबाट ५ हजार मेगावाट विद्युत आयात गर्ने

हनोई । औद्योगिक विकासमा तीव्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ । भियतनामको राष्ट्रिय विद्युत विकास मार्गचित्रमा सन् २०२१–२०३० सम्ममा लाओसबाट विद्युत आयात गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ । भियतनामी न्यूज एजेन्सीका अनुसार विद्युतको दर र उपयुक्त वातावरण सिर्जना भए भियतनामले आठ हजार मेगावाटसम्म विद्युत आयात गर्नेछ । पछिल्ला वर्षहरूमा भियतनामका मध्य र दक्षिणी क्षेत्रमा विद्युत माग तीव्ररूपमा बढेको छ । सन् २०३० सम्ममा भियतनामले हावा, बायोमास समेतका नवीकरणीय विधिबाट २९ हजार मेगावाट विद्युत उत्पादन गर्नेछ । साथै, फोहोर प्रशोधनबाट १ हजार १८२ मेगावाट र सर्वसाधारणका घरहरूमा जडान गरिएका सोलार प्यानलबाट १ हजार ८८ मेगावाट विद्युत उत्पादन पनि हुने गरेको छ । एजेन्सी

ताइवानमा शक्तिशाली भूकम्पपछि चार देशमा सुनामीको चेतावनी

टोकियो । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण ताइवानसँगै चीन, जापान र फिलिपिन्समा सुनामी आउन सक्ने प्रारम्भिक चेतावनी जापानको मौसम पुर्वानुमानसम्बन्धी निकायले जारी गरेको छ । ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर टाढा केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय (यूएसजीएस) ले जनाएको छ । ताइवानी अधिकारीहरूका अनुसार यो भूकम्प ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली रहेको बताएका छन् । चीनको दक्षिण-पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्युड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएका अधिकारीहरूले बताएका छन् । भूकम्पका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ । आवासीय भवनहरू भत्केका र मानिसहरूलाई उनीहरूका घर एवम् विद्यालयबाट उद्धार गर्दै गरिएका दृश्य देखिने भिडियो तथा तस्वीर स्थानीय सञ्चारमाध्यमले देखाएका छन् । ताइवानमा भूकम्पका कारण पहाडी भेगमा निकै ठाउमा पहिरो गएको बताइएको छ । जापानको दक्षिण-पश्चिमी क्षेत्रको ठूलो हिस्सामा सुनामीले ३ मिटर उचाइसम्म छाल निम्त्याउन सक्ने अनुमान गरिएको त्यहाँको मौसमसम्बन्धी निकायले जनाएपनि पछि यसलाई संशोधन गर्दै कुनै ठूलो सुनामीको जोखिम नरहेको बताएको छ । चीनको दक्षिण-पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा दुई हजार ४०० व्यक्तिको ज्यान गएको थियो । रासस/सिन्ह्वा

अमेरिकामा विद्यार्थी भिसा स्वीकृति दर ५३ प्रतिशत

काठमाडौं । अमेरिका संसारका अधिकांश देशका मानिसको सपनाको देश हो । अमेरिकामा राम्रो आम्दानी, सामाजिक सुरक्षा, सुरक्षित आवास, स्थायी बसोबासका लागि वार्षिक लाखौं मानिसले भिसा आवेदन दिने गर्छन् । अमेरिकामा नाम, दाम र बसोबास मात्र होइन त्यहाँका उत्कृष्ट कलेज र विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न संसारका लाखौं विद्यार्थीले भिसा आवेदन गरिरहेका हुन्छन् । अमेरिकी विदेश मन्त्रालयको तथ्यांकअनुसार सन् २०२३ मा विद्यार्थी भिसा आवेदन दिएकामध्ये ५२.९६ प्रतिशतको ‘एफ–१’ भिसा स्वीकृत भएको थियो । तीमध्ये ६३.७४ प्रतिशतको डिपेन्डेन्ट (आश्रित) ‘एफ–२’ भिसा स्वीकृत भएको थियो । त्यसैगरी एफ–१ भिसा आवेदन दिएकामध्ये ४७.०४ प्रतिशतको आवेदन अस्वीकृत भएको थियो भने ३६.२६ प्रतिशतको एफ–२ भिसा अस्वीकृत भएको थियो । सन् २०२२ मा ५५.४० प्रतिशत एफ–१ भिसा र ६५.०७ प्रतिशत एफ–२ भिसा स्वीकृत भएको थियो । सोही वर्ष ४४.६० प्रतिशत एफ–१ भिसा र ३४.९३ प्रतिशत एफ–२ भिसा अस्वीकृत भएको थियो । त्यसैगरी २०२१ मा ६७.६६ प्रतिशत एफ–१ भिसा र ८०.१६ प्रतिशत एफ–२ भिसा स्वीकृत भएको थियो । सोही वर्ष ३२.३४ प्रतिशत एफ–१ भिसा र १९.८४ प्रतिशत एफ–२ भिसा अस्वीकृत भएको थियो । त्यस्तै, २०२० मा ६७. १७ प्रतिशत एफ–१ भिसा र ६८.८१ प्रतिशत एफ–२ भिसा स्वीकृत भएको थियो । त्यही वर्ष ३२.८३ प्रतिशत एफ–१ भिसा र ३१.१९ प्रतिशत एफ–२ भिसा अस्वीकृत भएको थियो । सन् २०१९ मा भने ७०.३७ प्रतिशत एफ–१ भिसा र ७४.६२ प्रतिशत एफ–२ भिसा स्वीकृत भएको थियो । सोही वर्ष २९.६३ प्रतिशत एफ–१ भिसा र २५.३८ प्रतिशत एफ–२ भिसा अस्वीकृत भएको थियो । अमेरिकाले एफ–१ भिसा प्राप्त गर्ने विद्यार्थीको श्रीमान वा श्रीमती र २१ वर्षभन्दा कम उमेरका अविवाहित छोराछोरीका लागि एफ–२ भिसा दिने गर्छ । अमेरिकाले संसारभरिका योग्य लाखौं विद्यार्थीलाई एफ–१ भिसा उपलब्ध गराउँदै आएको छ । अमेरिका पढ्न जान चाहने विद्यार्थी संख्या ठूलो रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।