स्पेसएक्सद्वारा २३ वटा भूउपग्रह प्रक्षेपण
लस एन्जलस । संयुक्तराज्य अमेरिकाको निजी क्षेत्रको स्पेस–एक्स कम्पनीले शनिबार २३ वटाभन्दा बढी स्टारलिङ्क भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । स्पेस–एक्सका अनुसार, अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स स्टेसनबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो । कम्पनीले फाल्कन ९ नामक रकेट मार्फत् २३ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको जनाएको छ । स्टारलिङ्क भूउपग्रहहरुले पृथ्वीका दुर्गम क्षेत्र र इन्टरनेटको पहुँच कमजोर भएका क्षेत्रहरुमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको भनाई छ । रासस
चीनको औद्योगिक उत्पादनमा वृद्धि
बेइजिङ । चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलो पटक वृद्धि भएको आइतबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन वृद्धि गर्ने चिनियाँ प्रयासले सकारात्मक सङ्केत गरेको नीति निर्माताहरुले बताएका छन् । चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पिएमआई सूचाङ्क मार्च महिनामा ५०.८ देखिएको छ । चिनियाँ तथ्याङ्क ब्यूरो (एनबीएस) का अनुसार यो सूचाङ्क गत फेब्रुअरीमा ४९.१ विन्दुमा रहेको थियो । पिएआई सूचाङ्क ५० भन्दा बढी हुनु भनेको औद्योगिक उत्पादनमा वृद्धि भएको सङ्केत हो । यसअघि चीनको पिएमआई गत सेप्टेम्बरमा मात्र देखिएको थियो । ब्लूमबर्गले गरेको सर्वेक्षणले पनि मार्च महिनामा चीनको औद्योगिक उत्पाद वृद्धि हुने देखाएको थियो । कोभिड महामारीका वर्षहरुमा कडा नियम लागू गरेको चीनमा पछिल्ला वर्षहरुमा घरजग्गा कारोबारमा निरन्तर सङ्कट, उच्च युवा बेरोजगारी र मुद्राप्रदायमा दबाब समेतका समस्या देखिएका थिए । अर्कोतिर विश्वभर नै कमजोर मागका कारण चिनियाँ सामानको माग पनि घटेको थियो । बेइजिङले मार्च महिनाको सुरुमा सन् २०२४ मा वार्षिक वृद्धि पाँच प्रतिशत हासिल गर्ने लक्ष सार्वजनिक गरेको थियो, तर यो वृद्धिको लक्षलाई धेरै अर्थशास्त्रीले महत्वाकाँक्षी भन्दै चीनको आलोचना गरेका थिए । चिनियाँ अधिकारीहरुले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न उपायहरु घोषणा गरेका थिए जसबाट मिश्रित परिणामहरु हासिल भएका थिए । तर एउटा सकारात्मक पाटोका रुपमा फेब्रुअरी महिनामा उपभोग्य मूल्यमा सामान्य वृद्धि भएको थियो । चीनको गैर–औद्योगिक उत्पादनको पिएमआई सूचाङ्क भने मार्चमा सुधार भएर ५३ विन्दुमा पुगेको छ । अघिल्लो महिना यस्तो पिएमआई ५१.४ विन्दुमा रहेको थियो । गत वर्ष चीनको औद्योगिक वृद्धिमा तिब्र निराशाजनक अवस्था रहेको थियो । दशककै सबैभन्दा कमजोर अवस्थामा अर्थतन्त्रको वृद्धि भएपछि सरकारले श्रृंखलाबद्ध रुपमा आर्थिक राहत प्याकेज घोषणा गरेको थियो । आधिकारिक विवरणमा सन् २०२३ मा चीनको कूल गार्हस्थ्य उत्पादन ५.२ प्रतिशत रहेको थियो । तर यस वृद्धिलाई अर्थशास्त्रीहरुले चीनले बढाइचढाइ गरेको दाबी गरेका थिए । चीनको यो वृद्धि सन् १९९० को दशक र कोभिड महामारीका वर्षहरुपछि सबैभन्दा कमजोर थियो । रासस
भारतको विदेशी मुद्रा सञ्चिति बढेर ६४२.६३१ बिलियन अमेरिकी डलर पुग्यो
काठमाडौं । भारतको विदेशी मुद्रा विनिमय (विदेशी मुद्रा) सञ्चिति मार्च २२ मा समाप्त हप्तामा १३९ मिलियन अमेरिकी डलरले बढेर ६४२.६३१ बिलियन डलर पुगेको छ । देशको केन्द्रीय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) द्वारा जारी गरिएको तथ्याङ्कमा यसबारेमा उल्लेख गरिएको छ । यो लगातार पाँचौं हप्तामा पनि बढेको हो । गत सातामा विदेशी मुद्रा सञ्चिति ६४२.४९ अर्ब डलर रहेको थियो । आरबीआईको साप्ताहिक तथ्याङ्कले सुनको सञ्चिति ३४७ मिलियन डलरले बढेर ५१ अर्ब ४८७ अर्ब डलर पुगेको जनाएको छ भने विदेशी मुद्रा सञ्चितिको प्रमुख घटक विदेशी मुद्रा सम्पती १२३ मिलियन डलरले घटेर ५६८.२६४ अर्ब डलर पुगेको आरबीआईको साप्ताहिक तथ्यांकले देखाएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य ८३.३१ र ८३.४० को बीचमा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।