ताइवानमा ७.३ म्याग्निच्युडको भूकम्पपछि करिव सय वटा पराकम्प

काठमाडौं । ताइवानमा गएको ७.३ म्याग्निच्युडको भूकम्पपछि कुल ९६ वटा पराकम्प गएको छ । पराकम्प ४ रेक्टर स्केलकारहेको बताइएको छ । ७.३ म्याग्निच्युडको भूकम्प बिहान ७ः५८ मा चीनको ताइवानको हुआलियननजिकैको समुन्द्री क्षेत्रमा गएको थियो । बुधवार नौ जनाको ज्यान गएको थियो भने एक हजारभन्दा बढी घाइते भएका छन् । बिहान १२ बजेसम्म जम्मा १०१ जना भूकम्पमा फसेका छन् भने ३४ जना बेपत्ता भएका छन् ।

अल्स्टमले बेलायतमा सयौंको संख्यामा रोजगारी कटौती गर्ने

लण्डन । फ्रान्सेली रेल निर्माता कम्पनी अल्स्टमले बेलायतको सबैभन्दा ठूलो रेल कारखानाका सयौं कर्मचारीलाई हटाउने तयारी गरेको छ । डेली टेलिग्राफ पत्रिकाले अल्स्टमको डर्बीस्थित ‘सेन्ट्रल इङ्ल्यान्ड प्लान्ट’मा उपनगरीय रेल स्टकका लागि नयाँ सम्झौताका लागि रोकिएको सरकारी वार्ताको प्रभावका कारण रोजगारी कटौती हुने जनाएको छ । ‘द टेलिग्राफ’ ले स्रोतलाई उद्धृत नगरिकन लेखेको समाचारमा बेलायतको लामो योजनापछि आउने अपेक्षा गरिएको नयाँ उच्च गतिको रेलवे एचएस–२ मा थप सम्भावित ढिलाइको बारेमा चिन्ता पनि बढ्दै गएको उल्लेख छ । अल्स्टमका प्रवक्ताले एएफपीलाई डर्बी साइटको भविष्यको बारेमा कुनै निर्णय नलिइएको तर बेलायती सरकारसँग वार्ता ‘अझै जारी’ रहेको बताए । बेलायती प्रधानमन्त्री ऋषि सुनकले गत वर्ष विवादास्पद रूपमा एचएस–२ को उत्तरी इङ्ल्यान्डको एक महत्वपूर्ण रेल सेवालाई हटाएपछि यो रिपोर्ट आएको हो । अल्स्टमले आफूलाई बेलायत र आयरल्याण्डमा नयाँ रेलहरूको अग्रणी निर्माता र रेलवे पूर्वाधारको शीर्ष आपूर्तिकर्ताको रूपमा वर्णन गर्दछ । यसले बेलायत र आयरल्याण्डमा मुख्यगरी डर्बी क्षेत्रसहितका ३७ स्थानहरूमा ६ हजार मानिसहरूलाइ रोजगार दिएको छ । एजेन्सी

चिनियाँ विकास बैंकले कृषिका लागि ऋण सहयोग दोब्बर बनायो

बेइजिङ । चीनको प्रमुख नीतिगत बैंकको रुपमा रहेको चाइना विकास बैंक (सिडिबी) ले यस वर्ष देशभर कृषि विकास र संरक्षणका साथै उत्पादकत्व सुधारका लागि आर्थिक सहयोग बढाएर दोब्बर बनाएको छ । बैंकले यस वर्षको पहिलो चौमासिकमा कृषि क्षेत्रको विकासका लागि ३६ करोड ५० लाख अमेरिकी डलर बराबरको विशेष ऋण जारी गरेको छ । जुन ऋण एक वर्ष अघिको समान अवधिमा जारी गरिएको ऋण रकमको दोब्बर भन्दा बढी हो । खाद्य सुरक्षा तथा कृषि उत्पादनको सहज आपूर्तिलाई सुनिश्चित गर्न बैंकले हालका वर्षहरूमा चीनका प्रमुख १३ वटा अन्न उत्पादन क्षेत्रहरूमा उच्च–मानक सहितको खेतीको विकास र उन्नयनका लागि मध्यम र दीर्घकालीन वित्तीय सहयोग प्रदान गरेको छ । अर्को चरणमा, बैंकले ग्रामीण क्षेत्रमा पूर्वाधार र कृषि क्षेत्रमा विज्ञान–प्रविधि नवप्रवर्तन जस्ता प्रमुख क्षेत्रहरूमा समावेशी वित्तीय सहयोगलाई सुदृढ पार्ने योजना राखेको छ । रासस