भूकम्पका कारण हिमाली क्षेत्रमा फसेका पर्यटकको उद्धार
हुलियान । विनाशकारी भूकम्पका कारण सडक तथा सुरुङ मार्ग अवरुद्ध भएपछि ताइवानको पहाडी तथा हिमाली क्षेत्रमा केही दिनदेखि अलपत्र परेका सयौँ पर्यटक तथा सर्वसाधारणलाई हवाइ मार्गबाट उद्धार गर्न सुरु गरिएको छ । ताइवानी हेलिकप्टरले पर्यटकलाई सुरक्षित स्थानमा पुर्याउन शनिबार उडान भरेका छन् । ताइवानमा बुधबार गएको ७।४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार १०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण ठूलो पहिरो खसेको थियो जसका कारण ताइवानको पूर्वपश्चिम राजमार्गको सुरुङ र घुमाउरो सडकको लामो खण्ड अवरुद्ध भएको थियो भने पहाडी भिरालो जमिनमा कोरिएका उत्तरदक्षिण क्षेत्रका तटीय मार्ग पनि अवरुद्ध भएका थिए । राजधानी ताइपेइबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको हुलियानमा भूकम्पपछि शनिबार बिहान ५।२ म्याग्नीच्यूडसहितका ३०० भन्दा बढी परकम्प गएका छन् । तर, नेसनल एयरबोर्न सर्भिसका हेलिकप्टरहरूले तारोको राष्ट्रिय निकुञ्ज नजिकैको प्रभावित क्षेत्रमा उद्धारका लागि उडान भरिरहेका छन् । एएफपीका एक कर्मचारीले एउटा विमानमा १२ जना र अर्को उडानमा १६ जना सवार रहेको देखेका थिए । ताइवानी समाचार संस्था ‘इटी टुडे’ का अनुसार वृद्धवृद्धा, कमजोर, महिला, बालबालिका र दीर्घरोग भएका व्यक्तिलाई उद्धारका क्रममा पहिलो प्राथमिकता दिइएको छ । पहाडी क्षेत्रमा रहेको सिल्क्स प्लेस होटलबाट करिब ४०० भन्दा बढी पर्यटक र कर्मचारीहरू फसेका स्थानबाट उद्धार भएकाहरू सबै जना थकित देखिए पनि सबैले उद्धारका लागि खुशी व्यक्त गरेका छन् । उनीहरूले आफन्त तथा साथीहरू अझै माथिल्लो भागमा फसेको बताउँदै उनीहरूको उद्धारमा तदारूकता देखाउन आग्रह गरे । झोउ नाम गरेका एक पास्टरले स्थानीय सञ्चारमाध्यमसँग भने, सबुधबारको भूकम्प पछि पनि धेरै पराकम्पनहरू आएका र यसले उद्धारको पखाईमा पहाडी क्षेत्रमा रहेका पर्यटक तथा सर्वसाधारणलाई निकै निराश बनाएको बताए। परकम्प पनि निकै ठूला र भयानक महसुस गरिएको थियो । उद्धारकर्ताहरूले दुर्गम प्राथमिक विद्यालयका विद्यार्थी, शिक्षक र बासिन्दाहरूको समूहलाई खाना र आपूर्तिका बाकसहरू पनि हवाई मार्ग हुँदै ठाउँठाउँमा खसालेका थिए । अन्य क्षेत्रमा पनि इञ्जिनियरहरूले सडक र सुरुङको प्रवेशद्वारबाट ठूला ठूला ढुङ्गाहरू हटाउन चौबिसै घण्टा काम गरिरहेका स्थानीय सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् । ताइवानका नवनिर्वाचित उपराष्ट्रपति सियाओ बि–खिमले भने, ‘उद्धारकर्ताहरूले हार मानेका छैनन् । रातदिन काम गरिरहेका छन् ।’ ताइवानमा सन् १९९९ मा गएको ७’६ म्याग्नीच्युडको भूकम्पपछि बुधबारको भूकम्प सबैभन्दा शक्तिशाली भूकम्प हो । त्यस समय मृत्यु हुनेको सङ्ख्या निकै बढी थियो । सम्भवत ताइवानको इतिहासकै सबैभन्दा घातक प्राकृतिक प्रकोप थियो । उक्त भूकम्प र यसबाट सिर्जित प्रकोपका कारण करिब दुई हजार ४०० जनाको मृत्यु भएको थियो । भवन कोडहरूमा बढ्दो भूकम्पीय आवश्यकतासहित व्यापक सार्वजनिक प्रकोप जागरूकताले यस पटक अधिक गम्भीर विपत्तिबाट निकै कममात्र मानवीय क्षति भएको देखिन्छ । भूकम्पजन्य प्रकोपबाट हुने क्षतिलाई कम गर्न बनेको राष्ट्रिय निकायले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा भूकम्पका कारण ८४ वटा भवनमा ठूलो क्षति पुगेको उल्लेख छ ।
युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च
किएभ । युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति अप्रिल १ सम्म लगभग ४३.८ अर्ब अमेरिकी डलरको रेकर्डसहित उचाइमा पुगेको युक्रेनको केन्द्रीय बैंकले जनाएको छ । मार्चमा युक्रेनको विदेशी निक्षेप अन्तर्राष्ट्रिय सहायताको कारण १८ प्रतिशतले बढेको छ । युक्रेनले विदेशी साझेदारहरूबाट लगभग ९.३ अर्ब डलर प्राप्त गरेको थियो जसमा युरोपेली सङ्घबाट ४.९ अर्ब डलर तथा विश्व बैंकबाट १.६ अर्ब डलर प्राप्त गरेको छ । मार्चमा युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का लागि आफ्नो दायित्व पूरा गर्न करिब ७२ करोड ८० लाख डलर र सार्वजनिक ऋणको सेवा र भुक्तानीका लागि करिब ३६ करोड ३० लाख डलर खर्च गरेको थियो । हाल, युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति करिब ६ महिनाका लागि पर्याप्त छ । युक्रेनको विदेशी मुद्रा भण्डार सन् २०२३ मा ४०.५ अर्ब डलर रहेको छ जुन सन् २०२२ को तुलनामा ४२ प्रतिशतले बढी हो ।
हमाससँगको युद्धले इजरायलमा कामदार अभाव, कम तलबमा पनि हजारौं भारतीय जाँदै
काठमाडौं । हमाससँगको युद्धपछि इजरायलमा कामदार अभाव भएको छ । युद्धका कारण भएको क्षति कम गर्न र पूर्वाधार निर्माणका लागि भारतबाट त्यहाँ मजदुर पठाइएको छ । हरियाणाबाट ६० कामदारको पहिलो समूह इजरायल पुगेको छ । कामदार अभाव भएपछि इजरायल सरकारले भारतीय कामदार भर्ना गर्ने निर्णय गरेको थियो । दुई सरकारबीच यो सम्झौता हुँदा हरियाणा सरकारले हजारौं बेरोजगारलाई रोजगारी दिने घोषणा गरेको थियो । यसका लागि विभिन्न सहरमा शिविर आयोजना गरी भर्ना प्रक्रिया सुरु गरिएको थियो । तोकिएका भर्ती सर्तहरू पूरा गर्नेलाई अब क्रमशः इजरायल पठाइँदै छ । भर्ती प्रक्रियाको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । रोजगारी खोज्ने अधिकांश युवा उत्तर प्रदेश ९यूपी० र बिहारबाट आएका थिए । इजरायली टोली भर्ती प्रक्रियाको एक भागका रूपमा आवेदकहरूको परीक्षण गर्न आएको थियो । इजरायलबाट आएको टोलीले शटरिङ, पेन्टर र खेतबारीसम्बन्धी कामका लागि परीक्षणका आधारमा मजदुर भर्ती गरेको थियो । रोजगारी पाउनेमा यूपी, बिहार बाहेक पञ्जाब र राजस्थानका युवाहरू पनि परेका थिए । इजरायलमा ठूलो क्षति भएपछि त्यहाँको सरकारले भारतसँग सहयोग मागेको थियो । यसका लागि भारतमा भर्ना प्रक्रिया चलाएर कामदार छनोट गरिएको थियो । युद्ध हुनुअघि प्यालेस्टिनी मजदुरहरू त्यहाँ काम गर्थे । तर, हमाससँगको युद्धपछि उनीहरूको अनुमति रद्द भयो । त्यसपछि इजरायलमा कामदार अभाव भयो । यो अभाव पूर्ति गर्न सरकारसँगको सम्झौताअनुसार शिविर आयोजना गरी भर्ना गरिएको हो । आगामी दिनमा भारतबाट विभिन्न ब्याचमा थप कामदार पठाइने भएको छ । इजरायलमा तलब अन्य देशभन्दा कम मिडिया रिपोर्टका अनुसार इजरायल पठाइएका कामदारहरूसँग एक वर्षको सम्झौता गरिएको छ । समाचार एजेन्सी एपीका अनुसार इजरायल जाने भारतीय मजदुरहरूले हरेक महिना ६ हजार १ इजरायली नयाँ शेकेल मुद्रा पाउनेछन् । भारतीय रुपैयाँमा यो लगभग १ लाख ४० हजार हो । तलब बाहेक १६ हजार ५ सय १५ रुपैयाँ बोनस दिइने छ । त्यहाँ काम गर्ने मजदुरहरूलाई इजरायली सरकारले स्वास्थ्य बीमा, खाना र बासको व्यवस्था गर्दै आएको छ । तर, यूएई र अमेरिकामा कामदारहरूले यो भन्दा बढी पैसा पाउँछन् । युएई र अमेरिकामा तलब अन्तर्राष्ट्रिय मानव संशाधन संगठनका अनुसार सन् २०२३ मा युएईको औसत तलब १६ हजार ५ सय दिराम रहेको छ । भारतीय रुपैयाँमा यो लगभग ३ लाख ७५ हजार हो । यसबाहेक, अमेरिकामा कुनै पनि कामदारको औसत तलब ७.५ डलर प्रतिघण्टा छ । यदि कसैले १२ घण्टा काम गर्छ भने उसले प्रतिदिन ८८ डलर कमाउने छ। एक दिनको ७ हजार ३ सय ३६ भारु हुन्छ । प्रतिमहिना हिसाब गर्ने हो भने २ लाख २० हजार रुपैयाँ हुन्छ । एजेन्सी