भारतमा अत्यधिक गर्मीले घट्यो डिजेलको माग, जुनमा ४ प्रतिशत गिरावट

काठमाडौं । भारतमा अत्यधिक गर्मीका कारण डिजेलको माग घटेको छ । देशका विभिन्न भागमा अत्यधिक गर्मीका कारण मानिसहरूले कम यात्रा गर्न थालेपछि डिजेलको मागमा कमी आएको बताइएको छ । चुनावको समयमा परम्परागत रूपमा वृद्धि हुने इन्धन बिक्रीले यस वर्ष यो प्रवृत्तिलाई कमजोर बनाएको बताइएको छ । यो गिरावट लोकसभा निर्वाचनपछि पनि जारी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जुन १ देखि १५ सम्म डिजेल बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९ प्रतिशतले घटेर ३९.५ लाख टनमा सीमित भएको छ । भारतमा सबैभन्दा बढी खपत हुने इन्धनको माग अप्रिलमा २.३ प्रतिशत र मार्चमा २.७ प्रतिशतले घटेको थियो । यो महिनामा भने १.१ प्रतिशतले गिरावट आएको छ । पेट्रोल र डिजेलको मूल्य पनि घट्याे मध्य मार्चमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको थियो । दर संशोधनको लगभग दुई वर्ष लामो अन्तरालपछि पनि इन्धन खपत द्दटेको बताइएको छ । गत वैशाख १ देखि १५ सम्म मासिक रूपमा पेट्रोलको बिक्री १४.७ लाख टन खपतको तुलनामा ३.६ प्रतिशतले घटेको छ । डिजेलको माग मेको पहिलो पन्ध्र दिनमा मासिक आधारमा ३५.४ लाख टनमा स्थिर रह्यो । भारतमा डिजेल सबैभन्दा बढी खपत हुने इन्धन हो, जसमा खपत हुने सबै पेट्रोलियम पदार्थको करिब ४० प्रतिशत हो । देशको कुल डिजेल बिक्रीको ७० प्रतिशत यातायात क्षेत्रको छ । यो हार्वेस्टर र ट्रयाक्टर लगायत कृषि क्षेत्रमा प्रयोग हुने प्रमुख इन्धन हो । जुन १ देखि १५, २०२४ को बीचमा हवाई इन्धनको माग वार्षिक रूपमा २.३ प्रतिशतले बढेर ३ लाख ३१ हजार टन पुगेको छ । असार १ देखि १५ सम्म खाना पकाउने ग्यास (एलपीजी) को माग वार्षिक आधारमा ०.१ प्रतिशतले बढेर १२.४ लाख टन पुगेको छ । एजेन्सी 

श्रीलंकाको अर्थतन्त्रमा सुधारको संकेत

श्रीलंका । श्रीलंका सोमबार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा संकटबाट सुधार जारी राख्दै अर्थतन्त्र अपेक्षाभन्दा धेरै बलियो बनेको जनाएको छ । जनवरीदेखि मार्चसम्ममा ५.३ प्रतिशत विस्तारले अघिल्लो तीन महिनाको तुलनामा वृद्धि देखिएको छ । गत वर्षको सोही अवधिमा अर्थतन्त्रमा १०.७ प्रतिशत सङकुचन थियो । ब्लूमबर्ग न्यूजको सर्वेक्षणमा ४.० प्रतिशतको पूर्वानुमान रहेको तर पहिलो त्रैमासिकको सुधारले अनुमान गरिएभन्दा बढी (५.३ प्रतिशत) सुधार देखिएको हो । उप–अर्थमन्त्री रञ्जित सियाम्बलापितियाले सरकारले सन् २०२४ मा समग्र वार्षिक वृद्धि २.२ प्रतिशत हुने अपेक्षा गरेको बताए । सबैभन्दा खराब आर्थिक संकटको सामना गरेको दुई वर्षपछि सकारात्मक वृद्धि हासिल गर्न सफल हनु उल्लेखनिय भएको उनले बताए । आधिकारिक तथ्यांकले सन् २०२३ को जनवरीदेखि मार्चसम्ममा २४.३ प्रतिशत सङुकुचनको तुलनामा पहिलो त्रैमासिकमा ११.८ प्रतिशतको विस्तारका साथ औद्योगिक क्षेत्रमा तीव्र सुधार देखिएको छ । सेप्टेम्बर २०२२ मा मुद्रास्फीति ७० प्रतिशतको शिखरबाट मेमा ०.९ प्रतिशतमा झरेको कारण निर्माण क्षेत्रमा पनि सुधार देखिएको छ । गत हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलंकालाई चार वर्षको २.९ अर्ब डलर कर्जा सहयोगको एक भागको रूपमा तीन करोड ३६ लाख अमेरिकी डलर प्राप्त गरेको थियो । श्रीलंका सन् २०२२ अप्रिलमा ४६ अर्ब डलरको विदेशी ऋण तिर्न नसक्दा आर्थिक संकटमा परेको थियो । सन् २०२२ मा आर्थिक संकटको चरम अवस्थामा आयातका लागि विदेशी मुद्रा समाप्त भएपछि श्रीलंकामा महिनाौँसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव देखिएको थियो । यसैको परिणामस्वरूप सुरू भएको नागरिक आन्दोलनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षको निवासमा आक्रमण गरेको र आन्दोलनले उनलाई पदबाट हट्न बाध्य बनाएको थियो । उनका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले आर्थिक संकटलाई व्यवस्थापन गर्न उदार ऊर्जा अनुदान फिर्ता लिएका थिए भने करलाई दोब्बर बनाई राज्यको राजस्व बढाउन वस्तुहरूको मूल्य बढाएका थिए । रासस

न्युजिल्याण्ड : इन्जिनमा आगलागीपछि विमानको सकुशल अवतरण

न्युजिल्याण्ड । अस्ट्रेलियाको मेलबर्नका लागि उडेको यात्रुवाहक विमानलाई न्युजिल्याण्डमा सकुशल अवतरण गराइएको छ । विमानको इन्जिनमा आगलागीपछि इन्जिन बन्द हुँदा विमानलाई एक्कासी अवतरण गराउनुपरेको हो । क्विन्सटाउनबाट उडेको करिब ५० मिनेटपछि भर्जिन अष्ट्रेलिया बोइङ ७३७–८०० जेट विमान न्युजिल्याण्डको इन्भरकार्गिल शहरमा अवतरण गरिएको हो । क्विन्सटाउन विमानस्थलकी प्रवक्ता क्याथरीन निन्डका अनुसार विमानमा सवार यात्रुको सङ्ख्या र इन्जिनमा आगलागी हुनुको कारण तत्काल थाहा हुन सकेको छैन । भर्जिन अष्ट्रेलियाले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटना विमानमा ‘चरा ठाक्किएपछि’ भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ करिब ५३ हजार जनसङ्ख्या रहेको क्विन्सटाउन न्युजिल्यान्डको दक्षिणी टापूमा स्कीइङ, साहसिक पर्यटनका लागि लोकप्रिय गन्तव्य हो । न्युजिल्यान्डको उड्डयन नियामक निकायले आफ्नो वेबसाइटमा भनेको छ, ‘न्युजिल्यान्डका विमानस्थलमा प्रति १० हजार चार चरा ठोक्किने अध्ययनले देखाएको छ ।’ चारा विमानको कुन भागमा ठोक्कियो, चराको आकार कस्तो थियो भन्ने कुरा यसको गम्भीरता फरक–फरक हुन्छ तर यसलाई विमान चालकको अनुभव र भनाइको आधारमा विश्लेषण गरिन्छ । रासस