मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपात : चिसोले ६ लाख पशु मरे

मङ्गोलिया । यस हिउँदमा, मङ्गोलियामा कीर्तिमानी हिमपात भएको छ । जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले मङ्गलबार जनाएको छ। यस हिउँदमा हालसम्म औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ । मङ्गोलियाका लगभग सबै प्रान्तहरूमा बारम्बार भारी हिमपात भएको छ । बारम्बार हिमपातका कारण यस हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ । देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ। सोमबारसम्म मङ्गोलियामा अत्यधिक चिसो मौसमका कारण हुने पशुको मृत्युको सङ्ख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ। मङ्गोलिया संसारको नोमाडिक देशहरूको मध्ये एक हो यहाँ लगातार कडा हिमपात, धुलो, आँधीहुरी आइरहने कठोर महाद्वीपीय जलवायुले युक्त छ । रासस

अब नेपालीले सजिलै भारतीय सीम कार्ड पाउने

काठमाडौं । अब नेपालका नागरिकले सजिलै भारतीय सीम कार्ड पाउने भएका छन् । भारतले कानुन नै संशोधन गरेर नेपाली नागरिकलाई सजिलै सीम कार्ड दिने व्यवस्था गरेको हो । यससँगै अब नेपालीले देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र लगायत विभिन्न कागजातको आधारमा सीम कार्ड उपलब्ध गराउने भएको हो । पहिलो प्राविधिक कारणले पाइँदैन थियो । यसअघि पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सीम कार्ड वितरण गरिने व्यवस्था थियो । राजदुतावासले औपचारिक अनुरोध गरेको केही सातामै भारतले उक्त निर्णय गरेको नेपाली दूतावासले बताएको छ । त्यस्तै, उक्त सीम कार्ड तीन महिनाका लागि मात्र सक्रिय हुने र त्यसपछि नवीकरण गर्नुपर्ने बताइएको छ ।

२ लाखभन्दा बढी पर्यटकहरूले गरे म्यानमारका संग्राहलय भ्रमण

याङ्गुन । सन् २०२३ को अप्रिल महिनाको सुरुदेखि सन् २०२४ को फेब्रुअरीसम्म २ लाखभन्दा बढी स्वदेशी पर्यटक र ४ हजारभन्दा बढी विदेशी पर्यटकले म्यानमारका विभिन्न संग्राहलयहरूको भ्रमण गरेका छन् । पुरातत्व विभाग र राष्ट्रिय संग्राहलयका सहायक निर्देशक विन पा पा माउले सिन्ह्वालाई यसबारे जनाकारी दिएका छन्। म्यानमारमा पुरातत्व विभाग र राष्ट्रिय संग्राहलयअन्तर्गत २९ वटा राष्ट्रिय संग्राहलय छन् । सो अवधिमा संग्राहलयहरूमा पर्यटक आगमनबाट ११० मिलियन क्याट्स (लगभग ५२ हजार ३८० अमेरिकी डलर) प्राप्त भएको थियो। यी संग्राहलयहरूमध्ये म्यानमारको राष्ट्रिय संग्राहलय (याङ्गुन), म्यानमारको राष्ट्रिय संग्राहलय (नेपी ताव), बागान पुरातात्विक संग्राहलय, मण्डले सांस्कृतिक संग्राहलयले सबैभन्दा बढी पर्यटकलाई आकर्षित गरेको उनले जानकारी दिएका छन् । विगतका वर्षको तुलनामा संग्राहलयमा धेरै पर्यटक आएकाले पर्यटनको प्रवाहमा वृद्धि हुँदा मुलुकको आम्दानीमा समेत वृद्धि भएको र संस्कृतिको संरक्षणमा टेवा पुगेको उनको धारणा छ । उनले देशको इतिहास र संस्कृतिबारे जानकारी लिन युवाहरूलाई संग्राहलय भ्रमण गर्न आग्रह गरेका छन् । एजेन्सी