भारतमा चुनावअघि भारतीय कांग्रेसको बैंक खाता रोक्का

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैङ्क खाता रोक्का गरेको शुक्रबार जनाएको छ । काङ्ग्रेस प्रवक्ता अजय माकनले पत्रकार सम्मेलनमा भने, ‘हामीलाई हाम्रो दलको खाता रोक्का गरिएको जानकारी दिइएको छ ।’ माकनका अनुसार भारतको आयकर विभागले आर्थिक वर्ष २०१८/०१९ का लागि आयकर दाखिला गरेको अनुसन्धानको क्रममा दुई अर्ब १० करोड भारु (दुई करोड ५३ लाख अमेरिकी डलर बराबर)को भुक्तानी माग गरेको थियो । पार्टीले त्यस्तो जरिवाना रकम तिर्न कुनै कदम नचालेको भन्दै चुनावअघि नै पार्टीलाई किनारा लगाउने उद्देश्यले यस्तो कदम चालेको उनले दावी गरे । उनले भने, ‘राष्ट्रिय चुनावको घोषणा हुनुभन्दा दुई हप्ताअघि नै प्रमुख प्रतिपक्षी दलको खाता रोक्का गरिएको छ, के तपाईंलाई लाग्छ कि हाम्रो देशमा लोकतन्त्र जीवित छ ? आलोचक र अधिकारवादी समूहहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई लक्षित गर्न कानून प्रवर्तन एजेन्सीहरूको प्रयोग गरेको आरोप लगाएका छन् । भारतीय राजनीतिमा दशकौंदेखि प्रभुत्व जमाएका कांग्रेस नेता राहुल गान्धीलाई गत वर्ष मोदीको पार्टीका एक सदस्यको उजुरीपछि आपराधिक मानहानीको अभियोगमा दोषी ठहर गरिएको थियो । उनको दुई वर्षको जेल सजायले उनलाई उच्च अदालतले फैसला निलम्बन नगरेसम्म केही समयका लागि संसद्बाट अयोग्य घोषित गरेको थियो । निलम्बनले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रजातान्त्रिक मुलुकको लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रश्नचिन्ह खडा गरेको थियो । यद्यपि, अदालतको विपक्षी नेताको पक्षमा देखिएको फैसलापछि उक्त आरोप स्वतः निस्प्रभावी भएको थियो ।

भारतले पहिलो पटक हेलिकोप्टर आकस्मिक चिकित्सा सेवा सुरु गर्ने

काठमाडौं । भारत सरकारले बिहीबार उत्तरी राज्य उत्तराखण्डबाट देशकै पहिलो हेलिकोप्टर आपतकालीन चिकित्सा सेवा सुरु गर्ने घोषणा गरेको छ । संघीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले सामाजिक सञ्जालमा यस सेवाको तयारीबारे जनाकारी दिएका छन् । ‘म उत्तराखण्डका जनतालाई जानकारी दिन चाहन्छु– यस किसिमको आकस्मिक सेवा यही राज्यबाट सुरु हुनेछ र त्यसका लागि हेलिकोप्टर परिचालन गर्ने र त्यसको प्रमाणीकरण गर्ने काम भइरहेको छ,’ मन्त्री ज्योतिरादित्य सिन्धियाले उल्लेख गरे । सिन्धियाका अनुसार, ऋषिकेशको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा हेलिकोप्टर राखिनेछ र यसले १५० किलोमिटर आसपासका जनतालाई आवश्यक सेवा पुर्याउने छ । यस सेवाले टाढाका मानिसहरूलाई पनि ट्रमा केयर सेवाहरू प्रदान गर्न हेलिकोप्टरहरू प्रयोग गर्ने सरकारको पहलको रूपमा सहयोग गर्ने छ । यस सेवाको उद्देश्य आकस्मिक दुर्घटना पीडित र पहाडी भूभागका बिरामीहरूलाई समयमै उपचारका निम्ति यातायात उपलब्ध गराउने उद्देश्य रहेको उनले उल्लेख गरेका छन् । एजेन्सी

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति १३ मिलियन अमेरिकी डलरले बढ्यो

इस्लामावाद । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति १ करोड ३० लाख अमेरिकी डलरले बढेको जनाएको छ। फेब्रुअरी ९ मा समाप्त भएको सातामा बैंकको कुल विदेशी मुद्रा सञ्चिति करिब ८ अर्ब डलर पुगेको एसबीपीले बिहीबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वाणिज्य बैंकहरूसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब १ करोड डलर पुगेको केन्द्रीय बैंकले जनाएको छ । एसबीपीका अनुसार देशमा कुल तरल विदेशी मुद्रा करिब १३.१ अर्ब डलर रहेको छ । एजेन्सी