५० हजारभन्दा बढी रोजगारी थपेपछि सेप्टेम्बरमा अस्ट्रेलियाको बेरोजगारी ४.१ प्रतिशतमा स्थिर

काठमाडौं । अस्ट्रेलियाको बेरोजगारी दर सेप्टेम्बरमा ४.१ प्रतिशतमा स्थिर रहेको छ । अर्थव्यवस्थाले ५० हजारभन्दा बढी रोजगारी थपेसँगै बेरोजगारी ४.१ प्रतिशतमा स्थिर रहेको हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित आधिकारिक श्रम शक्ति डेटाले सेप्टेम्बरमा बेरोजगारी ४.१ प्रतिशत रहेको देखाएको छ । अर्थव्यवस्थाले अगस्ट र सेप्टेम्बरमा ६४ हजार एक सय जागिरहरू थपेको छ । जसमा ५१ हजार ६ सय पूर्ण–समय कामहरू समावेश छन् । इतिहासमा पहिलो पटक सेप्टेम्बरमा अस्ट्रेलियामा पूर्ण–समय काम गर्ने मानिसहरूको संख्या १० मिलियन नाघेको छ । रोजगारी–जनसङ्ख्या अनुपात अगस्टमा ६४.३ प्रतिशतबाट बढेर सेप्टेम्बरमा ६४.४ प्रतिशतको समान रेकर्ड उच्चमा पुगेको छ । रोजगारीमा रहेका वा सक्रिय रूपमा कामको खोजीमा रहेका काम गर्ने उमेरको जनसंख्याको अनुपात मापन गर्ने सहभागिता दर ६७.२ प्रतिशतको नयाँ रेकर्ड उच्चमा पुगेको छ । अगस्ट र सेप्टेम्बरको बीचमा अस्ट्रेलियालीहरूले काम गर्ने कुल घण्टाको संख्या ०.३ प्रतिशतले बढेर १.९६८ बिलियन पुगेको छ । तथ्याङ्कको जवाफ दिँदै कोषाध्यक्ष जिम चाल्मर्सले हालको सरकारले २०२२ मा सत्तामा आएदेखि १० लाख रोजगारी सिर्जना गरेको तथ्याङ्कले देखाएको बताए ।

एयर न्यूजील्याण्डको विमानमा बमको धम्की

सिड्नी । सिड्नी एयरपोर्टमा एयर न्यूजील्याण्डको विमानमा बमको धम्की आएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएको छ । स्काई न्यूज अष्ट्रेलियाका अनुसार, १४० यात्रु बोकी वेलिङ्गटनबाट सिड्नीका लागि प्रस्थान गरिएको एयर न्युजिल्याण्डको उडानमा यस्ता धम्की प्राप्त भएको थियो । फ्लाइट एनजेड-२४७ बेलुका ५ः४० बजे वेलिङ्गटनबाट विमान सकुशल अवतरण भएको रिपोर्ट गरिएको छ । रिपोर्टका अनुसार, विमानलाई टार्माकमा रोकिएपछि एयर न्यूजील्याण्डले सुरक्षा खतराको सम्भाव्यताको बारेमा सचेत रहेको पुष्टि गर्यो । ‘हामी स्थानीय अधिकारीहरूसँग काम गरिरहेका छौं र त्यस्ता घटनाहरूका लागि स्थापित मानक प्रोटोकलहरू पछ्याउँदैछौं,’ एयरलाइनका सुरक्षा अधिकारी क्याप्टेन डेभिड मोर्गनले एक विज्ञप्ति मार्फत उल्लेख गरे । एजेन्सी

सुडानमा ३० लाख भन्दाबढी मानिसहरू हैजाको जोखिममा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरू हैजाको जोखिममा रहेको जनाएको छ । युनिसेफले पाँच वर्ष मुनिका ६ लाख बालबालिकासहित करिब ३० लाख मानिसहरू हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्स मार्फत जनाएको हो । युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ । द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरू बन्द रहेको तथा अग्रपङ्क्तिमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई महिनौंदेखि तलब भुक्तानी नगरिएको युनिसेफले जनाएको छ । आन्तरिक द्वन्द्व सुरु भएदेखि हैजा, मलेरिया, र डेङ्गु ज्वरोजस्ता महामारी रोगहरू फैलिदा सयौँको मृत्यु भएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिँदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो । एजेन्सी