युक्रेनी ड्रोन आक्रमणबाट दक्षिण रुसी इन्धन भण्डारमा भीषण आगलागी

मस्को । युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोमा आगो लागेपछि प्रोलेटार्स्क सहरमा बाक्लो कालो धुवाँ र आगोको मुस्लो निस्किएको स्थानीय गभर्नरले बताएका छन् । ‘रोस्तोभ क्षेत्रको दक्षिणपूर्वमा हवाई सुरक्षाले एउटा ड्रोन आक्रमणलाई विफल बनाएको छ, प्रोलेटार्स्कमा औद्योगिक भण्डार केन्द्रहरूको क्षेत्रमा ड्रोन खसेपछि डिजेल इन्धनमा आगो लाग्यो,’ गभर्नर भासिली गेलबेभले टेलिग्राममा भने, ‘स्थानीय समयानुसार बिहान पाँच बजेर ३५ मिनेनमा अर्को ड्रोन आक्रमणका कारण प्रोलेटार्स्कमा औद्योगिक सुविधामा अग्नि नियन्त्रण निलम्बित गरिएको थियो ।’ पछि उनले आक्रमणमा कोही पनि घाइते नभएको र आगो निभाउने प्रयास केही बेरपछि पुनः सुरु भएको बताए । प्रोलेटार्स्क युक्रेनी सीमाबाट करिब २ सय ५० किलोमिटर र युक्रेनी सीमामा लडिरहेका किएभको नियन्त्रणमा रहेको क्षेत्रबाट करिब ३ सय ५० किलोमिटर टाढा छ । रुसी रक्षा मन्त्रालयले रातभरमा ‘विमान–प्रकार’ का पाँच युक्रेनी ड्रोनलाई खसाएको बताएको छ । ती ड्रोनमध्ये दुई वटा रोस्तोभ क्षेत्रमा थिए । सन् २०२२ मा द्वन्द्व सुरु भएयता किएभले आफ्नो सीमाहरूबाट करिब सयौँ किलोमिटर टाढा रुसमा तेल र ग्यास सुविधाहरूमा बारम्बार निशाना बनाएको छ । यसलाई युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा आक्रमणको ‘उचित’ प्रतिशोध भनेको छ । यसै महिनाको प्रारम्भमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गरेकामा आफ्ना सेनाको प्रशंसा गर्दै आक्रमणले द्वन्द्वलाई ‘उचित अन्त्य’ गर्न मद्दत पुग्ने बताएका थिए । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा अभूतपूर्व सीमापार आक्रमण गरेपछि ड्रोन आक्रमणहरू भएका हुन् । युक्रेनले कुर्स्क क्षेत्रमा ८० भन्दा धेरै बस्ती नियन्त्रण गरेको दाबी गरेको छ ।

चीनको युवा बेरोजगारी दर बढ्यो

बेइजिङ । चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको आधिकारिक तथ्यांकले देखाएको छ जुन यस वर्षकै सबैभन्दा उच्च हो । राष्ट्रिय तथ्याङ् विभागको तथ्यांक अनुसार १६-२४ वर्ष उमेर समूहका मानिसहरूको बेरोजगारी दर जुन महिनामा १३.२ प्रतिशत रहेको थियो । युवाहरूमा बढ्दो बेरोजगारी विश्वको अर्थतन्त्रले सामना गरिरहेको अवरोधहरू मध्ये एउटा हो । एनबीएसले सार्वजनिक गरेको तथ्यांक अनुसार देशमा २५/२९ वर्ष उमेरका युवामा बेरोजगारी दर अघिल्लो महिना ६.४ प्रतिशतबाट बढेर जुलाईमा ६.५ प्रतिशत पुगेको छ । यसै सन्दर्भमा राष्ट्रपति सी जिनपिङले मे महिनामा बढ्दो युवा बेरोजगारीको अवस्थालाई ‘शीर्ष प्राथमिकता’ राखेर अगाडि बढ्नुपर्ने बताएका छन् । जुन महिनामा ११.८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेसँगै रोजगार बजारमा अझै प्रतिस्पर्धा बढेको छ ।

भारतले रुससँग किन्यो पौने ३ अर्ब डलरको कच्चा तेल

काठमाडौं । भारत आफ्नो कच्चा तेलको आवश्यकता परिपूर्तिका लागि आयातमा निर्भर छ । उसले आफ्नो आवश्यकताको ८० प्रतिशत आयात गर्छ । कच्चा तेल खरिद गर्ने हिसाबले भारत तेस्रो ठूलो देश हो। भारतले सबैभन्दा बढी तेल रुसबाट खरिद गरेको छ । विश्वको तेस्रो ठूलो तेल उपभोक्ता तथा आयातकर्ता भारतले जुलाईमा रुसबाट २ अर्ब ८० करोड अमेरिकी डलरको कच्चा तेल खरिद गरेको छ । रुसबाट तेल आयात गर्नेमा भारत चीनपछि दोस्रो स्थानमा छ । एक रिपोर्टका अनुसार रुसमा भारत कच्चा तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ताको रूपमा उभिएको छ। यो तेल रिफाइनरीहरूमा पेट्रोल, डिजेल जस्ता इन्धनमा परिणत हुन्छ । फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेपछि केही युरोपेली देशहरूले रुसबाट खरिद नगरेपछि रुसी तेल छुटमा उपलब्ध भएको थियो। युक्रेन युद्धअघि रुसबाट कच्चा तेल आयात कुल आयातित तेलको एक प्रतिशतभन्दा कम थियो। यो अहिले भारतको कुल तेल खरिदको करिब ४० प्रतिशत हो। सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए) ले एक प्रतिवेदनमा चीनले रुसको कच्चा तेल निर्यातको ४७ प्रतिशत, भारत ३७ प्रतिशत, युरोपेली संघ ७ प्रतिशत र टर्कीले ६ प्रतिशत खरिद गरेको उल्लेख छ । तेल मात्र होइन, चीन र भारतले रुसबाट कोइला पनि किनेका छन् । प्रतिवेदन अनुसार ५ डिसेम्बर २०२२ देखि जुलाई २०२४ को अन्त्यसम्म चीनले रुसको कुल कोइला निर्यातको ४५ प्रतिशत किनेको छ । त्यसपछि भारत १८ प्रतिशत, टर्की १० प्रतिशत, दक्षिण कोरिया १० प्रतिशत र ताइवानले ५ प्रतिशतले खरिद गरेका छन् । एजेन्सी