इरानमाथिको प्रतिबन्ध ६० दिनलाई फुकुवा, सम्झौता उल्लंघन नगर्न ट्रम्पको चेतावनी
काठमाडौं । एक प्रारम्भिक शान्ति सम्झौताअन्तर्गतको पहिलो चरणको वार्तापछि अमेरिकाले सोमबारदेखि लागू हुनेगरी इरानमाथिका प्रतिबन्धहरू ६० दिनका लागि फुकुवा गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले सम्झौताको आफ्नो पक्ष पालना गरेन भने आफूले ‘जुनसुकै कदम पनि चाल्न सक्ने’ चेतावनी दिएका छन् । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्याण्डमा इरानी अधिकारीहरूसँग भएको वार्ताले अन्तिम शान्ति सम्झौताका लागि राम्रो आधार तयार पारेको बताएका छन् । यद्यपि इरानले भने आफ्नो आणविक कार्यक्रमबारे छलफल सुरु भएको कुरालाई अस्वीकार गरेको छ । मध्यस्थकर्ताहरू पाकिस्तान र कतारका अनुसार गत हप्ता हस्ताक्षर गरिएको अन्तरिम सम्झौतालाई अगाडि बढाउने प्रयासमा दुवै पक्षले कतारी स्वामित्वमा रहेको स्विस हिमाली रिसोर्ट ‘बुर्गेनस्टक’ मा भएको वार्तामा ६० दिनभित्र स्थायी सम्झौता गर्नेगरी रोडम्यापमा सहमति जनाएका छन् । उनीहरू अमेरिकी सहयोगी इजरायल र इरान समर्थित हिजबुल्लाहबीच लेबनानमा भइरहेको लडाइँ अन्त्य गर्ने संयन्त्रमा पनि सहमत भएका छन् । साथै रणनीतिक जलमार्गमा द्वन्द्व हुन नदिन ‘स्ट्रेट अफ हर्मुज’ बाट व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न एक सञ्चार संयन्त्र पनि स्थापना गरिएको छ । इरानलाई आर्थिक राहत दिने सम्झौताअन्तर्गत परिकल्पना गरिएका विभिन्न चरणहरूमध्ये पहिलो कदम स्वरूप अमेरिकी कोष विभागले अगस्ट २१ सम्मका लागि प्रतिबन्धहरू फुकुवा गर्ने घोषणा गरेको छ, जसले तेहरानलाई तेल र सम्बन्धित उत्पादनहरू बेच्न र त्यसको भुक्तानी प्राप्त गर्न अनुमति दिनेछ । क्षेत्रभरिका शत्रुतापूर्ण गतिविधिहरू अन्त्य गर्ने उद्देश्यले गरिएको यस सम्झौता अन्तर्गत अधिकारीहरूले लेबनानमा लडाइँमा निरन्तर कमी आएको रिपोर्ट गरेका छन् । यद्यपि, इजरायलले दक्षिणी लेबनानमा सुरक्षा क्षेत्र कायम राख्ने र इजरायली सैनिक तथा नागरिकहरू विरुद्धका खतराहरूलाई ‘निष्क्रिय’ पार्न कारबाही जारी राख्ने बताएको छ । सोमबारदेखि हर्मुज जलमार्ग भएर ट्याङ्करहरूको आवतजावत बढ्न थालेको छ । ओमानका परराष्ट्रमन्त्रीले यस महत्त्वपूर्ण जलमार्गको व्यवस्थापनका लागि इरानसँग भइरहेको वार्ताका क्रममा अन्तर्राष्ट्रिय कानुन र कर–मुक्त सुरक्षित आवतजावतप्रति आफ्नो देशको प्रतिबद्धता दोर्होयाएका छन् । इरानमाथि अमेरिका–इजरायलका आक्रमणहरू र लेबनानमा इजरायली हमलाका कारण हजारौं मानिसको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन् । इरान युद्धले विश्वभरका बजारहरूलाई पनि हल्लाइदिएको छ र विश्वव्यापी तेलको मूल्य बढाएको छ । सोमबार तेलको मूल्य ३ प्रतिशतले घटेर बन्द भएपछि मंगलबार कच्चा तेलको मूल्यमा थप गिरावट आएको छ । इजरायल यस शान्ति सम्झौताको पक्षधर थिएन, तर शुक्रबार उसले लेबनानमा नयाँ युद्धविरामका लागि सहमति जनाएको थियो । त्यसपछि पनि थप एक दिनसम्म भीषण लडाइँ जारी रहे तापनि शनिबार रातिदेखि यसमा कमी आएको लेबनानी अधिकारीहरूले बताएका छन् । इजरायल र लेबनानबीच मंगलबार वासिङ्टनमा नयाँ चरणको वार्ता सुरु हुने तय भएको थियो । इरानले अमेरिकासँगको आफ्नो वार्तामा लेबनानलाई पनि समेट्ने निर्णय गरेपछि यो वार्ता छायामा परेको जस्तो देखिए पनि बेरुत प्रत्यक्ष वार्तालाई अगाडि बढाउन दृढ देखिएको छ । समझदारी पत्रमा हस्ताक्षर भएदेखि नै सकारात्मक रूपमा प्रस्तुत हुँदै आएका भान्सले तेहरान आफ्नो देशमा आणविक निरीक्षकहरूलाई अनुमति दिन, विदेशमा रोक्का गरिएका आफ्ना सम्पत्तिहरूको व्यवस्थापन गर्न र युद्धविराम सञ्चालन गर्ने संयन्त्रहरू स्थापना गर्न सहमत भएको बताए । वार्तामा भाग लिएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हामीले एक सफल अन्तिम सम्झौताका लागि निकै राम्रो आधार तयार गरेका छौं ।’ तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाहीले सरकारी समाचार एजेन्सी ‘इर्ना’लाई दिएको जानकारीअनुसार इरानले हालसम्म आणविक विषयमा छलफल नगरेको वा कुनै नयाँ प्रतिबद्धता नजनाएको बताएका छन् । ट्रम्पले सोमबार ‘ट्रुथ सोसल’ मा एक पोस्ट गर्दै इरान ‘आणविक इमानदारिता’ सुनिश्चित गर्न हतियार निरीक्षणका लागि सहमत हुने बताएका छन् । ट्रम्पले पछि पत्रकारहरूसँग भने, ‘यदि इरानले आफ्नो सम्झौता पालना गरेन वा राम्रो व्यवहार देखाएन भने मैले जे गर्नुपर्ने हो त्यो गर्नेछु ।’ गत वर्ष अमेरिका र इजरायलले पहिलो चरणको हवाई आक्रमण सुरु गरेदेखि इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीद्वारा गरिने निरीक्षणलाई सीमित गरेको थियो र फेब्रुअरीमा युद्ध सुरु भएपछि त यसलाई पूर्ण रूपमा स्थगित नै गरिदिएको थियो । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जालमा तेहरानले तेल र पेट्रोकेमिकल निर्यातका लागि प्रतिबन्ध फुकुवा गराउन, विदेशमा रोक्का रहेका केही सम्पत्तिहरू फुकुवा गराउन र इरानका लागि पुनर्निर्माण तथा विकास योजना सुरु गर्न सफल भएको बताएका छन् । भान्सका अनुसार ट्रम्पका ज्वाइँ एवं ह्वाइट हाउसका दूत जारेड कुश्नरले एउटा यस्तो प्रक्रिया तयार पारेका छन् जसअन्तर्गत इरानी रकम फुकुवा हुँदा अमेरिका र कतारको त्यसमा नियन्त्रण रहनेछ र सो रकम अमेरिकी मकै, भटमास र गहुँ किन्नमा खर्च गर्न सकिनेछ । ‘त्यसैले, हामीले फुकुवा गर्ने पैसा हाम्रा किसानहरूकहाँ जानेछ,’ ट्रम्पले पत्रकारहरूलाई भने । यद्यपि इरानको तस्निम समाचार एजेन्सीका अनुसार इरानको केन्द्रीय बैंकका गभर्नर अब्दोलनासेर हेम्मतीले त्यस्तो कुनै बाध्यता नरहेको र बाँकी रहेको फुकुवा रकमको केही अंश प्रतिबन्ध नलगाइएका अन्य सामानहरू किन्न प्रयोग गर्न सकिने बताएका छन् । प्राविधिक तहको वार्ता यस हप्ताको बाँकी दिनहरूमा पनि जारी रहने तय भएको छ । ६० दिनभित्र अन्तिम सम्झौता गर्ने अमेरिका र इरानबीच सहमति
ट्रम्प र मेलोनीबीचको विवाद के हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीचको विवादले झन् जटिल रूप लिएको छ । डोनाल्ड ट्रम्पले फेरि एकपटक मेलोनीको आलोचना गरेका हुन् । ट्रम्पले अनुसार अमेरिकाले दशकौंदेखि इटालीको रक्षा गर्दै आएको छ, तर जब परीक्षाको घडी आउँछ, तब उनीहरू अमेरिकाको साथमा हुँदैनन् । डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा सोमबार लेखेका छन्, ‘नेटोमा खर्बौं डलर खर्च गरेपछि पनि इटाली र त्यहाँकी प्रधानमन्त्री इरानको आणविक खतरालाई लिएर हाम्रो साथमा उभिने सोचसमेत राख्दैनन् ।’ ‘दशकौंदेखि हामी उनीहरूको रक्षा गर्छौं, तर जब परीक्षाको समय आउँछ, तब उनीहरू हाम्रो र संसारको रक्षाका लागि उपस्थित हुँदैनन् यो राम्रो होइन,’ उनले थपे । ट्रम्प र मेलोनीबिचको यो पछिल्लो विवादलाई बुझ्नका लागि केही समय अगाडिका घटनाक्रम र दुई देशबीचको बदलिँदो भू-राजनीतिक सम्बन्धलाई हेर्नुपर्ने हुन्छ । वैचारिक रूपमा दक्षिणपन्थी विचारधाराका कारण यी दुई नेताबीच पहिले निकटता देखिने गरेको थियो, तर सत्तामा आएपछि मेलोनीले इटालीको राष्ट्रिय स्वार्थ र युरोपेली संघ (ईयू) सँगको सन्तुलित सम्बन्धलाई प्राथमिकतामा राखिन्, जसले ट्रम्पको अपेक्षा अनुसारको ‘पूर्ण समर्थन’ पाउन सकेन । ट्रम्पको लामो समयदेखिको गुनासो भनेकै युरोपेली देशहरूले नेटोमा पर्याप्त रक्षा खर्च नगरेको र अमेरिकाले सुरक्षाको बोझ बोकिरहेको भन्ने हो । यही कारणले उनले पटक–पटक इटाली जस्ता देशहरू संकटको घडीमा आफ्नो साथमा नउभिएको आरोप लगाउँदै आएका छन् । यसपटकको विवादको मुख्य कारक भने ‘फोटो डिप्लोमेसी’ बनेको छ । ट्रम्पले एउटा इटालेली टेलिभिजनमा जी–७ सम्मेलनको प्रसङ्ग कोट्याउँदै मेलोनीले आफूसँग तस्बिर खिचाउन अनुरोध/बिन्ती गरेको दाबी गरेपछि परिस्थिति एकाएक तातियो । यो टिप्पणी मेलोनीका लागि आफ्नो प्रतिष्ठामाथिको प्रहार थियो, जसका कारण उनले तुरुन्तै भिडिओ सन्देश जारी गरी ट्रम्पको दाबी ‘पूर्ण रूपमा मनगढन्ते’ रहेको भन्दै खण्डन गरिन् । यसले दुई नेताको व्यक्तिगत सम्बन्धमा मात्र नभई कूटनीतिक स्तरमै चिसोपना ल्याइदियो, जसको परिणामस्वरुप इटालीका विदेशमन्त्री एन्टोनियो तायानीले आफ्नो नियोजित अमेरिका भ्रमण नै रद्द गरे । विशेषगरी, इरानको आणविक मुद्दा र मध्यपूर्वको रणनीतिमा अमेरिकाले खोजेको जस्तो साथ युरोपेली देशहरूबाट नपाउनु नै ट्रम्पको पछिल्लो आक्रोशको वास्तविक राजनीतिक पृष्ठभूमि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
६० दिनभित्र अन्तिम सम्झौता गर्ने अमेरिका र इरानबीच सहमति
काठमाडौं । अमेरिका र इरानबीच सोमबार (आज) स्विट्जरल्याण्डमा भएको वार्ताका क्रममा ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सहमति भएको छ । यसमा लेबनानमा जारी शत्रुतापूर्ण गतिविधिको अन्त्यका लागि एउटा समिति र संयन्त्र गठन गर्ने सहमति समेत सामेल छ । मध्यस्थकर्ता मुलुकहरू कतार र पाकिस्तानले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार, ‘लेक लुसर्न शिखर सम्मेलन सकारात्मक र रचनात्मक वातावरणमा सम्पन्न भयो। थप प्राविधिक वार्ताका लागि संयन्त्र निर्माण गर्ने लगायतका विषयमा उत्साहजनक प्रगति भएको छ ।’ गत हप्ता हस्ताक्षर गरिएको समझदारी पत्रलाई आधार मान्दै दुवै पक्ष मध्यस्थताको राजनीतिक सुपरिवेक्षण गर्ने एक ‘उच्च स्तरीय समिति’ गठन गर्न सहमत भएका छन् । संयुक्त विज्ञप्ति अनुसार मुख्य वार्ताकारहरूले यस समितिलाई नियमित रूपमा प्रतिवेदन बुझाउनेछन् र आणविक, प्रतिबन्ध, तथा विवाद समाधान सम्बन्धी कार्यदलहरूको नेतृत्व गर्नेछन् । पक्षहरूले लेबनानमा सैन्य शत्रुता पूर्ण रूपमा अन्त्य भएको सुनिश्चित गर्न मध्यस्थकर्ता देशहरूको सहजीकरणमा अमेरिका, इरान र लेबनानबीच एक ‘द्वन्द्व–निवारण’ कक्ष स्थापना गर्न पनि सहमति जनाएका छन् । इरानका विदेशमन्त्री अब्बास अराघचीले यस वार्ताबाट ‘ठूलो प्रगति’ भएको उल्लेख गर्दै तेहरानले तेल र पेट्रोकेमिकल निर्यातका लागि छुट , आफ्ना बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाउने, केही रोक्का गरिएका सम्पत्तिहरू फुकुवा गर्ने र पुनर्निर्माण तथा विकास योजनाको सुरुवात गर्ने कुरा सुनिश्चित गरेको बताएका छन् । एक्समा एक पोस्ट गर्दै अराघचीले लेबनानमा भर्खरै स्थापना गरिएको द्वन्द्व–निवारण संयन्त्र सम्झौताको ‘पहिलो वास्तविक परीक्षा’ हुने बताए । यसले त्यहाँ जारी रहने हिंसाले व्यापक कूटनीतिक प्रयासलाई खतरामा पार्न सक्ने चिन्तालाई जोड दिएको छ । लजिस्टिक समस्याका कारण शुक्रबारको पूर्वनिर्धारित प्रस्थानलाई सारेर आइतबार स्विट्जरल्याण्ड आइपुगेका उपराष्ट्रपति जेडी भान्सले वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । वार्तामा संलग्न एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञले इरान वार्ताबाट बाहिरिएको भन्ने रिपोर्टहरूलाई अस्वीकार गर्दै दुवै प्रतिनिधिमण्डल वार्तामा सक्रिय रहेको र छलफल रातभर जारी रहने अपेक्षा गरिएको पत्रकारहरूलाई बताएका थिए । अमेरिकी अधिकारीले भने, ‘हामीले आणविक सम्झौताका सबै पक्षहरूमा गहन छलफल गरेका छौं । हामी यी प्रत्येक मुद्दामा काम जारी राख्ने र आजको कार्यलाई आगामी दिनमा हुने प्राविधिक वार्ताको प्रस्थान विन्दुको रूपमा प्रयोग गर्ने योजनामा छौं ।’ ‘छलफलका विषयहरूमा हर्मुज जलडमरुमध्यका बारेमा इरानबाट आएका केही भ्रमपूर्ण सन्देशहरूलाई स्पष्ट पार्ने र यो जलमार्ग पूर्ण रूपमा खुला रहने सुनिश्चित गर्न द्वन्द्व–निवारण संयन्त्र निर्माण गर्ने कुराहरू समावेश थिए। हामीले द्वन्द्व(निवारण संयन्त्र र दक्षिणी लेबनानमा युद्धविराम लागू गर्ने विषयमा पनि काम गरेका छौं,’ उनले थपे । समझदारी पत्र अन्तर्गत दुवै पक्ष हर्मुज जलडमरुमध्यलाई कम्तीमा ६० दिनका लागि महशुल–मुक्त टोल फ्री रूपमा पुनः खोल्न र लेबनान लगायतका क्षेत्रमा सबै शत्रुतापूर्ण गतिविधिहरू अन्त्य गर्न सहमत भएका छन्, जहाँ इजरायल र इरान समर्थित हिजबुल्लाहबीच लडाइँ जारी छ । बढ्दो तनावको छायाँबीच यो वार्ता अघि बढेको हो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले लेबनानमा इजरायली आक्रमणको जवाफमा शनिबार हर्मुज जलडमरुमध्य पुनः बन्द गर्ने घोषणा गरेको थियो । अमेरिकी सेनाले भने उक्त दाबीलाई अस्वीकार गर्दै यो जलमार्ग खुला रहेको र ‘इरानले हर्मुज जलडमरुमध्यलाई नियन्त्रण नगर्ने’ बताएको छ । इरानको तस्निम समाचार एजेन्सीका अनुसार इरानी अधिकारीहरूले लेबनानमा युद्धविराम नभएसम्म र इरानी तेल बिक्रीमाथिको प्रतिबन्ध नहटेसम्म यो जलडमरुमध्य बन्द नै राख्ने बताएका थिए । पछि ट्रम्पले ट्रुथ सोसलमा लेखे, ‘इरानले लेबनानमा गडबडी मच्चाउन आफ्ना उच्च पारिश्रमिक पाउने प्रोक्सीहरूलाई तुरुन्तै रोक्नुपर्छ ।’ उनले लेबनानमा रहेको इरान समर्थित लडाकु समूह हिजबुल्लाहलाई संकेत गर्दै सो कुरा लेखेका हुन् । ‘यदि उनीहरूले त्यसो गरेनन् भने, हामीले गत हप्ता गरे झैं इरानलाई फेरि कडा प्रहार गर्नेछौं, तर यस पटक झन् कडा हुनेछ,’ ट्रम्पले लेखे । यसअघि आइतबार, जलडमरुमध्य बन्द गर्ने इरानको पछिल्लो धम्कीका बावजुद भान्स वार्ताप्रति आशा व्यक्त गरेका थिए। उनले लेबनानको हिंसाको प्रभावलाई कम महत्त्व दिँदै त्यहाँ शत्रुता अन्त्य गर्ने दिशामा प्रगति भएको बताए । ‘यस्ता कुराहरू सधैं अलिकति भद्रगोलपूर्ण नै हुन्छन्,’ उनले भने । ट्रम्पको सम्भावित सैन्य कारबाहीको धम्कीका बावजुद भान्सले अमेरिकी राष्ट्रपतिले ‘हामीलाई इरानका जनतासँगको सम्बन्धलाई रूपान्तरण गर्न नयाँ अध्याय सुरु गर्न आग्रह गर्नुभएको’ बताए । भान्सले यो पनि भने कि वार्ताकारहरू इरानको संवर्धित युरेनियमको भण्डारलाई सुरक्षित गर्न केन्द्रित छन् ताकि तेहरानका लागि आफ्नो आणविक कार्यक्रम पुनर्जीवित गर्न ‘असम्भव’ होस् । उनका अनुसार यदि इरानले सम्झौता पालना गर्न असफल भएमा अमेरिकासँग अझै पनि महत्त्वपूर्ण आर्थिक दबाब दिने माध्यमहरू बाँकी छन्। पक्षहरू ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्नका लागि प्रयासरत रहँदा ब्युर्गेनस्टक रिसोर्टमा हप्ताभर प्राविधिक छलफलहरू जारी रहने अपेक्षा गरिएको छ ।