चीनद्वारा पानीमुनि ‘ऊर्जा-सक्षम’ डाटा सेन्टर परीक्षण
काठमाडौं । अत्यधिक ऊर्जा खपत गर्ने डाटा सेन्टरहरू तातो भइरहने भएकाले एक चिनियाँ कम्पनीले समुद्रमुनि सर्भर राख्ने प्रयोगमार्फत कम्प्युटिङ क्षेत्रको ऊर्जा सङ्कटलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यस योजनाअन्तर्गत साङ्घाईको नजिक समुद्रभित्र विशेष क्याप्सुल डुबाइनेछ, जसले प्रविधिगत दृष्टिले नवीन भए पनि यसको पारिस्थितिक प्रभाव र व्यावसायिक उपयोगिताबारे प्रश्न उठाइरहेको छ । सहर नजिकैको घाटमा ठूलो पहेँलो रङको क्याप्सुल तयारीको अन्तिम चरणमा पुगेको देखिन्छ । यसलाई पानीमुनि राखेर वैकल्पिक प्रविधि परीक्षण गर्ने तयारी भइरहेको हो । विश्वभरका वेबसाइट र एपहरू सञ्चालनका लागि डाटा सेन्टरहरू अपरिहार्य भइसकेका छन् र कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारले तिनीहरूको माग झनै बढाइरहेको छ । ‘पानीमुनि सञ्चालनका आफ्नै फाइदा हुन्छन्,’ समुद्री उपकरण निर्माण गर्ने कम्पनी हाइल्यान्डरका उपाध्यक्ष याङ येले भने । उनको कम्पनीले राज्य–स्वामित्वमा रहेका अन्य संस्थाहरूसँग मिलेर साङ्घाई परियोजनालाई अघि बढाइरहेको छ । भूमिगत सर्भरहरूलाई समुद्रको प्राकृतिक चिसो प्रवाहले स्वाभाविक रूपमा चिस्याउन सक्छ, जसका लागि सामान्य डाटा सेन्टरहरूले ऊर्जा–गहन वायु शीतलन वा पानी वाष्पीकरण प्रणाली प्रयोग गर्नुपर्ने हुन्छ । यसअघि सन् २०१८ मा माइक्रोसफ्टले स्कटल्यान्डको तटमा यस्तै प्रविधि परीक्षण गरेको थियो । तर चीनमा अक्टोबरको मध्यतिर डुबाइने यो परियोजना विश्वकै पहिलो व्यावसायिक स्तरको सेवा मानिनेछ । यसमार्फत चीन टेलिकम र राज्य–स्वामित्वमा रहेको एआई कम्प्युटिङ कम्पनीजस्ता संस्थाहरूलाई सेवा पु¥याइनेछ । यसैसँगै, डाटा सेन्टरहरूको कार्बन उत्सर्जन घटाउन सरकारको बढ्दो दबाबलाई सम्बोधन गर्ने प्रयास पनि गरिएको छ । हाइल्यान्डरका उपाध्यक्ष याङका अनुसार पानीमुनि सञ्चालन हुने सुविधाले चिसो गर्न चाहिने ऊर्जाको झन्डै ९० प्रतिशत बचत गर्न सक्छ । तर विज्ञहरूले भने अहिले यस्ता योजनाहरू मुख्यतः प्राविधिक सम्भाव्यता देखाउन केन्द्रित रहेको बताउँछन् । क्यालिफोर्निया विश्वविद्यालय, रिभरसाइडका अनुसन्धानकर्ता साओलेई रेनका अनुसार यस्ता परियोजनाहरूले ठूलो स्तरमा व्यावसायिक प्रयोगमा आउनुअघि अझै धेरै चुनौती पार गर्नुपर्नेछ । माइक्रोसफ्टले आफ्नो पोड सन् २०२० मा पुनः प्राप्त गरेपछि परीक्षणलाई सफल भने पनि, त्यसलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गरेको थिएन । समुद्रको पिँधमा डाटा सेन्टर सञ्चालन गर्नुअघि निर्माण–सम्बन्धी गम्भीर चुनौती र वातावरणीय प्रभावका प्रश्न समाधान गर्नुपर्ने आवश्यकता अझै छ । चीनमा भने सरकारी सहयोगले यसलाई प्रोत्साहन दिइरहेको छ । उदाहरणका लागि, हाइल्यान्डरले सन् २०२२ मा हाइनान प्रान्तमा गरिएको समान परियोजनाका लागि ४ करोड युआन (करिब ५६ लाख २० हजार अमेरिकी डलर) अनुदान प्राप्त गरेको थियो, जुन अझै सञ्चालनमा रहेको छ । साङ्घाई परियोजनामा संलग्न इन्जिनियर झो जुनका अनुसार पानीमुनिको डाटा सेन्टर निर्माण सुरुमा अपेक्षाभन्दा निकै जटिल रहेछ । समुद्रमा राख्नुअघि यसको कम्पोनेन्टहरू तटमा नै अलग–अलग बनाएर संयोजन गरिन्छ । यस संरचनाले नजिकैका अपतटीय पवन फार्मबाट लगभग सम्पूर्ण ऊर्जा प्राप्त गर्ने योजना छ, जसमा ९५ प्रतिशतभन्दा बढी ऊर्जा नवीकरणीय स्रोतबाट आउनेछ । तर समुद्री संरचनाको सबैभन्दा ठूलो चुनौती भनेको यसको सामग्रीलाई नुनिलो पानीले क्षय हुनबाट जोगाउनु हो । यसलाई समाधान गर्न हाइल्यान्डरले स्टिलको क्याप्सुललाई गिलास फाइबर भएको विशेष सुरक्षात्मक तहले ढाकेको छ । साथै, मर्मतका लागि पोडलाई पानीमाथि उठाउन सकिने लिफ्ट प्रणाली पनि जोडिनेछ । विज्ञ रेनका अनुसार समुद्रमुनिको डाटा सेन्टरलाई मुख्य भूमि इन्टरनेटसँग जडान गर्नु परम्परागत सर्भरहरूभन्दा बढी जटिल हुन्छ । थप रूपमा, अमेरिकाको फ्लोरिडा विश्वविद्यालय र जापानको युनिभर्सिटी अफ इलेक्ट्रो–कम्युनिकेसनका अनुसन्धानकर्ताहरूले पानीमुनि सञ्चालित यस्ता केन्द्रहरू ध्वनि तरङ्गद्वारा आक्रमणको जोखिममा पर्न सक्ने निष्कर्ष निकालेका छन् । प्राविधिक अवरोध मात्र नभई पारिस्थितिक प्रभाव पनि महत्त्वपूर्ण प्रश्न बनेको छ । समुद्रमुनि स्थायी रूपमा डाटा सेन्टर राख्दा वरपरको पानीको तापक्रम परिवर्तन हुनसक्ने र त्यसले समुद्री जीवहरूको व्यवहारमा असर पार्नसक्ने अनुमान गरिएको छ । हल विश्वविद्यालयका समुद्री पारिस्थितिकीविद् एन्ड्र्यु वान्टका अनुसार उत्सर्जित गर्मीले कतिपय प्रजातिलाई आकर्षित गर्न सक्छ भने कतिपयलाई टाढा भगाउन सक्छ । हाइल्यान्डरले भने सन् २०२० मा झुहाई नजिक गरिएको परीक्षण परियोजनाको स्वतन्त्र मूल्याङ्कनले पानीको तापक्रम स्वीकार्य सीमाभन्दा तल नै रहेको देखाएको बताएको छ । तर रेनले भने ठूलो स्तरमा यसलाई विस्तार गर्दा उत्सर्जित गर्मी झनै बढ्नसक्ने चेतावनी दिए । उनका शब्दमा, ‘मेगावाट–स्तरका पानीमुनि डाटा सेन्टरहरूको हकमा थर्मल प्रदूषणबारे अझ गहिरो अध्ययन अनिवार्य छ ।’ विज्ञहरूको धारणा अनुसार यस्तो किसिमको अपतटीय सुविधा पारम्परिक डाटा सेन्टरलाई पूर्णतः प्रतिस्थापन गर्न नसके पनि पूरक स्वरूपमा उपयोगी हुन सक्छ । विशेष क्षेत्रमा अतिरिक्त सेवा आवश्यक परेमा पानीमुनिका डाटा सेन्टरहरूले महत्त्वपूर्ण योगदान पु¥याउन सक्ने अपेक्षा गरिएको छ ।
पाकिस्तानको पञ्जाबमा अक्टोबर ७ सम्म भारी वर्षा हुने, २७ जिल्लामा बाढी आउने
काठमाडौं । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का महानिर्देशक इरफान अली काठियाले शनिबार हालैको बाढीबाट भएको क्षतिको मूल्याङ्कनका लागि सर्वेक्षण कार्य जारी रहँदा पञ्जाबमा आगामी दिनमा थप भारी वर्षा हुने पूर्वानुमान गरिएको बताएका छन् । पाकिस्तानभरि जुन महिनादेखि जारी मनसुन वर्षाका कारण अहिलेसम्म कम्तीमा १ हजार ३७ जनाको ज्यान गएको छ । प्रमुख नदीहरू भरिएपछि तिनका किनारमा रहेका ग्रामीण बस्तीहरूमा ठूलो क्षति पुगेको छ । पञ्जाब प्रान्तमै चार हजार सात सय गाउँका करिब ४७ लाख जनसङ्ख्या प्रभावित भएको डन पत्रिकाले जनाएको छ । लाहोरमा आयोजित पत्रकार सम्मेलनमा काठियाले पञ्जाबभरि आइतबार बिहानदेखि वर्षा सुरु हुने र विशेषगरी उत्तरी भागहरूमा अक्टोबर ७ (मङ्गलबार) सम्म जारी रहने अनुमान गरिएको जानकारी दिए । रावलपिन्डीदेखि लाहोरसम्मको उत्तर तथा उत्तरपूर्वी भागमा औसत ३० देखि ३५ मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको छ भने दक्षिणी पन्जाबमा पाँचदेखि १० मिलिमिटर वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिए । अक्टोबर ६ र ७ मा वर्षाको तीव्रता अझै बढ्ने चेतावनी दिँदै उनले भने, ‘उत्तरी र उत्तरपूर्वी पञ्जाबमा ५० देखि ७० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ र यसको प्रभाव केही मध्य जिल्लामा पनि देखिन सक्छ ।’ काठियाले चिनाब नदीको हेड मारालामा हाल २० हजार क्युसेक पानी मापन गरिएको उल्लेख गरे । साथै उनले पाकिस्तान प्रशासित काश्मीरमा रहेको दुल हस्ती जलविद्युत् परियोजनामा आगामी ४८ घण्टामा वर्षा र सिल्ट फ्लसिङका कारण पानीको बहाव १ लाखदेखि १ लाख ५० हजार क्युसेकसम्म बढ्न सक्ने ‘अनौपचारिक स्रोत’ हरूको आधारमा जानकारी दिए । यसैबीच, रावलपिन्डी र इस्लामाबादमा शुक्रबार हल्कादेखि भारी वर्षा भइसकेको र तल्लो भू–भाग जलमग्न भएको डनले उल्लेख गरेको छ । पाकिस्तानको मौसम विभागले पनि अक्टोबर ३ देखि तीव्र हुँदै गएर अक्टोबर ७ सम्म सक्रिय रहने चेतावनी जारी गरेको छ । काठियाका अनुसार चेनाब, रावी र सतलज नदीको किनारमा फैलिएको बाढीपछिको क्षति मूल्याङ्कनका लागि पञ्जाबका २७ जिल्लामा सर्वेक्षण जारी छ । सेप्टेम्बर २७ बाट सुरु भएको यो सर्वेक्षण एक महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ, जसमा ६९ तहसिल समेटिएका छन् । ृृनका अनुसार हालसम्म बाढीबाट ४७ लाख मानिस प्रभावित भएका छन्, २६ लाख ३० हजार मानिस र २१ लाख १० हजार गाईवस्तुहरू सुरक्षित स्थानमा सारिएको छ । पञ्जाबमा मृत्युको सङ्ख्या १३४ पुगेको छ, यद्यपि पूर्ण सर्वेक्षणपछि यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजको निर्देशनमा २७ जिल्लाका ११ हजार ५ सय सर्वेक्षणकर्मी २ हजार २१३ टोलीमार्फत फिल्डमा खटिइरहेका छन् । गणनाको पारदर्शिता सुनिश्चित गर्न पाकिस्तानी सेना, सहरी एकाइ, कृषि तथा पशुधन विभागका कर्मचारी र जिल्ला प्रशासनका प्रतिनिधिहरू संयुक्त रूपमा समावेश छन् । केही टोलीहरू अझै पनि पानीमुनिका क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेको काठियाले स्वीकार गरे । तर, उनले मुख्यमन्त्री मरियम नवाजसहित सबै सरोकारवाला अधिकारीहरूले सर्वेक्षणलाई वास्तविक समयमा निगरानी गरिरहेको र तथ्याङ्क गणना भएलगत्तै प्रान्तीय आपत्कालीन सञ्चालन केन्द्रमा पठाउने व्यवस्था गरिएकोमा जोड दिए । उनले बहुस्तरीय प्रमाणीकरण प्रक्रियाबारे पनि स्पष्ट पारे । तहसिल र जिल्ला तहमा प्रारम्भिक जाँचपछि तथ्याङ्क अर्बन युनिटमा पठाइन्छ र त्यसपछि पञ्जाब सूचना प्रविधि बोर्ड (पिआइटिबी) द्वारा प्रमाणीकरण गरिन्छ । पहिलो चरणमा राष्ट्रिय डाटाबेस तथा दर्ता प्राधिकरण (एनएडिआरए) द्वारा नागरिकताको प्रमाणीकरण (सिएनआइसी) जाँच गरिन्छ । त्यसपछि पशुधन खोप रेकर्डसँग तथ्याङ्क क्रस–म्याच गरी शुद्धता सुनिश्चित गरिन्छ । यससँगै, गैर–मालिकहरूको समावेश रोक्न र वास्तविक लाभार्थी छुट्न नदिन पञ्जाब ल्यान्ड रेकर्ड अथोरिटी (पिएलआरए) डाटाबेससँग पनि परामर्श गरिन्छ । पिआइटिबीले अन्तिम चरणमा आफ्नै आन्तरिक जाँच गरेपछि मात्र तथ्याङ्क वित्तीय वितरणका लागि खाली हुन्छ । काठियाले भने, ‘लाभार्थीहरूका लागि बैंक अफ पञ्जाब (बिओपी) काउन्टरहरू स्थापना गरिनेछ, उनीहरूलाई क्षतिपूर्ति सङ्कलन गर्नुपर्ने मिति र स्थानको सूचना सन्देशमार्फत दिइनेछ र आवश्यक परे यातायातको व्यवस्था पनि मिलाइनेछ ।’
हमास शान्ति वार्ताका लागि तयार, आक्रमण रोक्न इजरायललाई ट्रम्पको आग्रह
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा आक्रमण रोक्न गरेको आव्हानको स्वागत गर्दै हमासले गाजामा युद्धको अन्त्य गर्न र बन्धकहरूलाई मुक्त गर्न तत्काल वार्ता सुरु गर्न तयार रहेको शुक्रबार बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा ट्रम्पको शान्ति प्रस्तावले लामो द्वन्द्व र शत्रुता रोक्न, ७२ घण्टा भित्र बन्धकहरूको रिहाइ गर्ने गाजाबाट क्रमिक इजरायली फिर्ती र हमासको निशस्त्रीकरणको आह्वान गरेको छ । योजनाले हमास र अन्य गुटहरूको ‘गाजामा कुनै भूमिका छैन’ भन्ने कुरामा जोड दिँदै यस क्षेत्रको प्रशासन ट्रम्पको नेतृत्वमा रहेको युद्धको संक्रमणकालीन अवस्था पछि सम्बन्धित निकायले लिने जनाएको छ । गाजा पट्टीमा इजरायली आक्रमणको तत्काल अन्त्यबारे राष्ट्रपति ट्रम्पको शान्ति योजना उत्साहजनक रहेको हमासका प्रवक्ता ताहेर अल-नुनुलाई उदृत गर्दै एएफपीले जनाएको छ । हमास कैदी आदान-प्रदान गर्न, युद्धको अन्त्य गर्न र गाजा पट्टीबाट (इजरायली) सेनाको फिर्ती सुनिश्चित गर्न तुरुन्तै वार्ता सुरु गर्न तयार रहेको उनले बताए । नेतान्याहुको कार्यालयले जवाफमा इजरायलले सबै बन्धकहरूको रिहाइका लागि ट्रम्पको योजनाको पहिलो चरणको तत्काल कार्यान्वयनका लागि तयारी गरिरहेको जनाएको छ । राष्ट्रपति ट्रम्पको दृष्टिकोणसँगको समन्वयमा इजरायलले तय गरेको सिद्धान्त अनुसार युद्ध अन्त्य गर्न पूर्ण सहयोगी भुमिका खेल्नै नेतान्याहुको कार्यालयले जनाएको छ । संक्षिप्त भिडियो सन्देश जारी गर्दै ट्रम्पले गाजा वार्तामा सबै पक्षलाई निष्पक्ष व्यवहार गरिने भन्दै यो घटनाक्रम भएको दिनलाई विशेष दिनको रूपमा प्रशंसा गरे । शुक्रबारको घटनाक्रमले अन्तर्राष्ट्रिय समुदायबाट आशावादी बनाई प्रतिक्रियाको लागि आकर्षित गरेको छ । प्रमुख मध्यस्थकर्ता कतार र इजिप्ट दुवैले हमासको बयानलाई स्वागत गर्दै यसले द्वन्द्वको अन्त्य सुनिश्चित गर्न मद्दत गर्ने आशा व्यक्त गरेका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले “सबै पक्षलाई यो अवसरको उपयोग गर्न आग्रह गरेको उहाँका प्रवक्ताले बताए । फ्रान्सका इमानुएल म्याक्रोन, जर्मनीका फ्रेडरिक मेर्ज र बेलायतका कीर स्टारमर सबैले यसलाई शान्तितर्फको ठूलो कदमका रूपमा स्वागत गरेका छन् । टर्कीले हमासको प्रतिक्रियाले गाजामा तत्काल युद्ध विराम स्थापना गर्ने अवसर प्रदान गरेको बताएको छ ।