इजरायल र हमासबीच गाजा शान्ति सम्झौताको पहिलो चरणमा सहमति, बन्धक र कैदीहरू मुक्त हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति गाजामा जारी दुई वर्ष लामो युद्ध अन्त्य गर्ने र बन्धकहरूलाई मुक्त गर्ने शान्ति योजनाको पहिलो चरणमा सहमत भएको घोषणा गरेका छन् । ‘सबै बन्धकहरू छिट्टै मुक्त गरिनेछन् । यो एक बलियो, स्थायी र अनन्त शान्तितर्फको पहिलो कदम हो । सबै पक्षहरूलाई न्यायपूर्ण व्यवहार गरिनेछ,’ ट्रम्पले ‘ट्रुथ सोसल’मा लेखे । यस प्रारम्भिक सम्झौताको इजरायली अधिकारी, हमास र मध्यस्थ कतारले पुष्टि गरेको छ । कतारी प्रधानमन्त्रीका प्रवक्ता माजिद अल अन्सारीले एक्स (पूरानो ट्वीटर) मा लेखेका छन् कि गाजा युद्धविराम सम्झौताका पहिलो चरण लागू गर्ने सबै सर्त र संयन्त्रमा सहमति भएको छ । जसले युद्ध रोक्ने, इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने र सहयोग सामाग्री गाजामा प्रवेश गर्न दिनेछ । थप विवरण पछि घोषणा गरिने उनले बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पलाई धन्यवाद दिँदै एक्समा लेखेका छन्, ‘योजनाको पहिलो चरण अनुमोदनसँगै हाम्रा सबै बन्धकहरू घर ल्याइनेछन् । यो इजरायलका लागि कूटनीतिक सफलता र राष्ट्रिय तथा नैतिक विजय हो ।’ रोयटर्सका अनुसार इजरायली सरकारका प्रवक्ताले शनिबारदेखि बन्धक मुक्त गर्ने प्रक्रिया सुरु हुने बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘बन्धकहरू सम्भवतः सोमबारसम्म मुक्त हुने अपेक्षा छ ।’ हमासले पनि छुट्टै वक्तव्य जारी गर्दै विवरण पुष्टि गरेको छ । ‘हामी कतार, इजिप्ट र टर्कीका मध्यस्थ दाजुभाइहरूको प्रयासको उच्च प्रशंसा गर्छौं । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि कदर गर्छौं, जसले युद्धको स्थायी अन्त्य र गाजाबाट इजरायली कब्जा फिर्ता ल्याउन प्रयासरत छन्,’ वक्तव्यमा भनिएको छ । तर अझै केही विवादास्पद विषयहरूमा कुनै प्रगति भएको छैन, जस्तै राष्ट्रपति ट्रम्पले माग गरेअनुसार हमासले आफ्नो सशस्त्र संरचना विघटन गर्ने वा युद्धग्रस्त गाजाको प्रशासन कसरी सञ्चालन हुनेछ भन्ने विषय । इजिप्टमा भएको केही दिनको वार्तापछि भएको यो सम्झौताअनुसार करिब २० जना इजरायली बन्धकहरूको सट्टामा झन्डै २ हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने अपेक्षा गरिएको छ । ट्रम्पले यस विकासप्रति आशावादी देखिँदै केही दिनभित्रै मध्यपूर्व भ्रमण गर्ने संकेत दिएका थिए । गत महिना ट्रम्पले प्रस्ताव गरेको २० बुँदे योजनाअनुसार गाजामा शान्ति ल्याउन ‘सशस्त्रीकरण अन्त्य गर्ने प्रक्रिया’ सुरु गरिने उल्लेख थियो, जसअन्तर्गत हतियारहरू स्थायी रूपमा निष्क्रिय गरिनेछ । योजनाले गाजाको शासन ‘अस्थायी, प्राविधिक र गैरराजनीतिक प्यालेस्टिनी समितिद्वारा’ सञ्चालन गरिने प्रस्ताव गरेको छ, जसले गाजाका जनताका लागि दैनिक प्रशासनिक सेवा र नगरपालिका व्यवस्थापन हेर्नेछ । गाजा युद्ध सन् २०२३ को अक्टोबरमा सुरु भएको थियो, जब हमास अतिवादीहरूले इजरायलमा आक्रमण गरी करिब १‍ हजार २०० जनाको हत्या गरेका थिए । त्यसपछि इजरायलको प्रतिशोधात्मक अभियानले ६७ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ, गाजाको ठूलो भाग ध्वस्त पारेको छ र सम्पूर्ण मध्यपूर्वलाई संकटमा पारेको छ ।

हमासलाई गाजा शान्ति योजना स्वीकार गर्न मनाउन टर्कीसँग ट्रम्पको आग्रह

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई हमासलाई गाजा युद्ध अन्त्य गर्ने आफ्नो योजना स्वीकार गर्न मनाउन मद्दत गर्न आग्रह गरेको बताएका छन् । त्यसबेलादेखि टर्कीका अधिकारीहरूले शान्ति प्रक्रियालाई समर्थन गर्न वार्तामा संलग्न भएको उल्लेख गरे ।  संयुक्त राज्य अमेरिका भ्रमणको क्रममा र आफूहरूको फोन संवादमा ट्रम्पलाई प्यालेस्टाइनमा समाधान कसरी प्राप्त गर्न सकिन्छ भनेर छलफल गरेको बताए । एर्दोगानले हमासले आजसम्म इजरायल भन्दा बढी रचनात्मक अडान देखाएको र इजरायलबाट यस्तै रचनात्मक व्यवहार नदेखिएको बताए ।  टर्कीले दुई–राज्य समाधानको आधारमा इजरायल–प्यालेस्टाइन समस्या समाधान गर्न काम गर्ने प्रतिवद्धता जनाए । एर्दोगानले गाजा प्यालेस्टिनी क्षेत्र नै रहनुपर्नेमा जोड दिँदै प्यालेस्टिनीहरूले अन्ततः गाजाको प्रशासन व्यवस्थापन गर्नु महत्वपूर्ण रहेको बताए ।    

डटकम युगपछि यस्तो चमत्कार : सेयर बजार रेकर्ड स्तरमा, एनभीडीया ४ ट्रिलियन डलर पार गर्ने पहिलो कम्पनी

काठमाडौं । अमेरिकामा अहिले डलर बाहेकका सबै एसेट्सहरू रेकर्ड स्तरमा पुगेका छन् । यसमा सेयर बजार पनि सामेल छ । हालैको तीव्र वृद्धिसँगै अमेरिकी स्टक मार्केटको क्याप–टु–जीडीपी अनुपात २२१ प्रतिशतको ऐतिहासिक स्तरमा पुगेको छ । अप्रिलको न्यूनतम स्तरदेखि यसमा ५८ प्रतिशतको वृद्धि आएको हो ।  यो २००८ को वित्तीय सङ्कटपछिको न्यूनतम स्तरभन्दा करिब ४।६ गुणा बढी हो । सन् २००० को डटकम बबलका बेला यो अनुपात १४२ प्रतिशतमा पुगेको थियो । अहिले यो १३ वर्षको औसत ८७ प्रतिशतभन्दा निकै माथि पुगेको छ । पछिल्लो समयमा अमेरिकाका ठूला कम्पनीहरूको सेयरमा उल्लेखनीय वृद्धि देखिएको छ । उदाहरणका लागि, विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको हिस्सा अहिले एमएससीआई अल–कन्ट्री वर्ल्ड इन्डेक्समा ५.०४ प्रतिशत पुगेको छ ।  यो इन्डेक्सले विश्वका इक्विटी बजारको करिब ८५ प्रतिशत हिस्सा समेट्छ जसमा ठूला र मध्यम आकारका सेयरहरू सामेल छन् । एनभीडीयाको तौल अब विश्वकै तेस्रो ठूलो सेयर बजार जापान (४.७८ प्रतिशत) भन्दा पनि बढी भएको छ । उक्त इन्डेक्समा चीनको हिस्सा ३.३३ प्रतिशत, बेलायतको ३।२३ प्रतिशत र क्यानडाको २.९२ प्रतिशत छ । एनभीडीयाको योगदान फ्रान्स र जर्मनी दुवैको संयुक्त योगदानभन्दा पनि ठूलो छ ।  एनभीडीयाको बजार पूँजीकरण अहिले ४.५०५ ट्रिलियन अमेरिकी डलर पुगेको छ — इतिहासमै पहिलोपटक कुनै कम्पनीको मार्केट क्याप ४ ट्रिलियन डलर नाघेको हो । एनभीडीयापछि माइक्रोसफ्ट (३.८९४ ट्रिलियन डलर), एप्पल (३.८०६ ट्रिलियन डलर) र अल्फाबेट (२.९७९ ट्रिलियन डलर) क्रमशः रहेका छन् ।