संकटमा अमेरिकी अर्थतन्त्र : चीनको कदमले बढायो विश्व अर्थतन्त्रमा त्रास
काठमाडौं । अमेरिकाको बढ्दो ऋण अब ठूलो चिन्ताको विषय बन्दै गएको छ । चीनले अमेरिकी ऋणबाट दूरी बनाउन थालेको छ र यो विषय विश्व अर्थतन्त्रका लागि डरलाग्दो संकेत मानिएको छ । यसले विश्व अर्थतन्त्रमा ठूलो हलचल ल्याउन सक्छ । यसको असरले अमेरिकी डलरको स्थिति कमजोर पार्ने अनुमान गरिएको छ । यस्तै अवस्थामा एक महत्त्वपूर्ण प्रश्न उठेको छ — जब विश्वको सबैभन्दा ठूलो ऋणी देश आफ्नो ऋण फिर्ता गर्न असफल हुन थाल्छ, तब के हुन्छ ? विश्लेषकका अनुसार यो प्रश्नले चाँडै नै विश्व अर्थतन्त्रको रूपरेखा नै बदल्न सक्छ । किनभने ठूला देशहरूले अमेरिकाबाट आफ्नो पूँजी फिर्ता लिन थालेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चेतावनी दिएको छ कि अमेरिकी ऋणको जालो अब नियन्त्रणबाहिर गइसकेको छ । अमेरिकामाथि युरोप, अफ्रिका र दक्षिण अमेरिकाको संयुक्त जीडीपीभन्दा बढी ऋण छ । प्रत्येक अमेरिकी नागरिकमाथि १ लाख डलरभन्दा बढी ऋण परेको छ । यो चेतावनी आईएमएफले अमेरिकाको संघीय ऋण ३६ ट्रिलियन डलर पुगेको पछिल्लो तथ्यांक सार्वजनिक गरेपछि आएको हो । यो ऋण मुख्यतः २००८ को आर्थिक संकटपछिका बेलआउट प्याकेज, अभूतपूर्व रक्षा खर्च र कोभिड महामारीका बेला दिइएका प्रोत्साहन योजनाका कारण बढ्दै गएको हो । अहिले अमेरिकाका सबैभन्दा ठूला ऋणदाता देशहरूले आफ्नो पैसा फिर्ता लिन थालेका छन् । चीन, जापान, बेलायत र क्यानडा जस्ता देशहरूले शान्तिपूर्वक अमेरिकी ट्रेजरी बन्डहरू (सरकारी प्रतिभूति) बेच्न थालेका छन् । विश्लेषकहरूका अनुसार अमेरिकाको सबैभन्दा ठूलो ऋणदाता चीनले यो प्रक्रिया सुरु गरिसकेको छ। जापान पनि सोही बाटोमा छ । निवेशकहरूलाई आकर्षित गर्न अमेरिकाले ब्याजदर बढाउँदैछ, तर यसले संकटलाई झन् गहिरो बनाइरहेको छ । अहिले अमेरिकाको वार्षिक ब्याज भुक्तानी १ ट्रिलियन डलरभन्दा माथि पुगेको छ, जुन अमेरिकी रक्षा विभाग (पेन्टागन) को बजेटभन्दा पनि बढी हो । विश्व पूँजी प्रवाहमा पनि परिवर्तन देखिन थालेको छ — विभिन्न मुलुकका केन्द्रीय बैंकहरू अहिले सुनतर्फ आकर्षित भइरहेका छन् र उदीयमान बजारहरूमा चिनियाँ युआनले व्यापारिक मुद्राको रूपमा स्थान पाउँदैछ । विश्लेषकहरूले धनी वर्गमाथि कर बढाउने सुझाव दिएका छन् । उनीहरूको भनाइमा रक्षा, स्वास्थ्य र सामाजिक कल्याणका क्षेत्रमा खर्च कटौती गर्ने प्रयासले देशभित्र आर्थिक तथा सामाजिक अस्थिरता निम्त्याउन सक्छ । उनीहरूका अनुसार सम्भावित विकल्पका रूपमा आयातमा शुल्क (ट्यारिफ) बढाउने र आप्रवासन (इमिग्रेशन) घटाउने नीति मात्र बाँकी देखिन्छ । तर यस्ता कदमले अमेरिकालाई अन्तर्राष्ट्रिय स्तरमा झन् एक्ल्याउने जोखिम समेत रहन्छ । विश्लेषकहरूले यदि वर्तमान आर्थिक अवस्थाको समाधान चाँडै खोजिएन भने अमेरिकी डलरको अवमूल्यन सुरु हुन सक्ने र यसको असर विश्व अर्थतन्त्रमै पर्न सक्ने चेतावनी दिएका छन् । टिकटकदेखि दुर्लभ खनिजसम्म : ट्रम्प–सी बीचको ‘ट्रेड वार’ झन् गहिरिँदै मन्सा मुसा : विश्व इतिहासका सबैभन्दा धनी राजा जसको सम्पत्ति आज पनि एलन मस्कभन्दा धेरै
झडपमा ५८ पाकिस्तानी सैनिक मारिएको तालिबानको दाबी
काठमाडौं । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानको आक्रमणको जवाफमा गरिएको कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको बताएका छन् । काबुलमा आइतबार पत्रकार सम्मेलनको क्रममा जबिहुल्लाह मुजाहिदले यस्तो बताएका हुन् । उनका अनुसार जवाफी कारबाहीमा २० पाकिस्तानी चौकीमा कब्जा गरिएको थियो, तर झडप सकिएपछि ती फिर्ता गरिएका थिए । जबिहुल्लाह मुजाहिदको दाबीमा अहिलेसम्म पाकिस्तानको कुनै प्रतिक्रिया आएको छैन । यद्यपि गृहमन्त्री मोहसिन नकवीले शनिबार राति दाबी गरेका थिए कि अफगानिस्तानको कारबाहीको प्रभावकारी जवाफ दिइएको छ । प्रवक्ताले झडपको क्रममा ९ जना तालिबानका सदस्य मारिएको र २० भन्दा बढी घाइते भएको पनि पुष्टि गरेका छन् । जबिहुल्लाह मुजाहिदले आरोप लगाएका छन् कि आईएसआईएसको प्रमुख पाकिस्तानमा छ र यो संगठन हाल पनि खैबर पख्तूनख्वाह र बलुचिस्तान प्रान्तहरूमा सक्रिय छ । उनले अफगानिस्तानबाट आईएसआईएस नरहेको दावीसमेत गरे । आईएसआईएसका प्रशिक्षण केन्द्र पाकिस्तानमा स्थापित रहेकाले अन्तर्राष्ट्रिय समुदायले यसमा ध्यान दिनु आवश्यक रहेको उनले बताए । उनले अफगानिस्तानका विदेशमन्त्रीको भारत यात्रा कुनै देशको विरोधमा नभएको र यसमा आपत्ति जनाउन पनि नहुने बताए ।
जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपिन जोशी
काठमाडौं । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपिन जोशी पनि रहेका छन् । उनको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ । गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनामध्ये कति जीवित छन् भन्ने अझै स्पष्ट छैन । तिनै बन्धकमध्ये एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि हुन् । उनलाई जीवित रहेको विश्वास गरिएको छ । चौबिस वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुगेका थिए । उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए । कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपीन जोशी घाइते भएर अपहरणमा परेका थिए । विपीनका परिवारका अनुसार उनी गाजामा जीवित रहेको हुनसक्छ भन्ने विश्वास अझै बलियो छ । उनीकी १७ वर्षीया बहिनी पुष्पा जोशीले आफ्ना दाजुको रिहाइका लागि अहोरात्र प्रयास गरिरहेका छन् । अधिकारीहरू र कूटनीतिक निकायहरूसँग भेट गरी दाजुको रिहाइका लागि आवाज उठाउन सकियोस् भनेर उनी पश्चिम नेपालको आफ्नो गाउँबाट प्रत्येक हप्ता काठमाडौं आउन आठ–आठ घण्टाको बस यात्रा गरे । गत अगस्टमा जोशी परिवारले राष्ट्रपति आइज्याक हर्जोगलाई भेट्न र तेल अभिवको ‘होस्टेज स्क्वायर’ मा बन्धक परिवारहरूले आयोजना गर्ने प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा पनि गरेको थियो । उनीहरूले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग पनि जोशीको उद्धारका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै आएका छन् । विपीन जोशी अहिले पनि गाजामा जीवित रहेको विश्वास इजरायली अधिकारीहरूले राखेका छन् । उनका साथीहरूले विपीन अध्ययनशील, मिलनसार र सहयोगी स्वभावका युवा रहेको बताएका छन् । विपीनले आफ्नो भविष्य कृषि विकासमा योगदान गर्ने सपनासँग इजरायल यात्रा गरेका थिए । इजरायलले युद्धविराम सुरु भएपछि बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने आशा व्यक्त गरेको छ । यसको बदलामा करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी भइरहेको छ । विपीनको परिवार भने आशाको झिल्को निभ्न नदिई, दाजु–छोरा फर्किने दिनको प्रतीक्षा गर्दै अझै पनि प्रतीक्षामा छ । परिवारका अनुसार ‘विपिन फर्किए त्यो केवल हाम्रो परिवारको जित होइन, यो नेपाल र मानवताकै जित हुनेछ ।’ रासस