ककरोच जनता पार्टीको बारेमा अरविन्द केजरीवालले के भने ?
काठमाडौं । दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले ककरोच जनता पार्टी (सीजेपी) का बारेमा प्रतिक्रिया दिएका छन् । अरविन्द केजरीवाललाई मंगलबार एक पत्रकार सम्मेलनमा सीजेपीका बारेमा सोधिएको थियो । यसमा उनले भने, ‘सीजेपी राम्रो पार्टी हो।’ यसअघि सोमवार अरविन्द केजरीवालले सीजेपीका संस्थापक अभिजीत दीपकेमाथि भएको कुटपिटको घटनाको पनि निन्दा गरेका थिए । केजरीवालले सामाजिक सञ्जाल सञ्जाल एक्समा लेखेका थिए, ‘म सीजेपी संस्थापक अभिजीत दीपकेमाथि भएको हमलाको कडा निन्दा गर्दछु । यदि तपाईं दीपकेसँग सहमत हुनुहुन्न भने पनि यसको मतलब यो होइन कि तपाईंलाई उनीमाथि हमला गर्ने अधिकार मिल्छ । हामी सबैलाई थाहा छ हमला गर्नेहरू कुन पार्टीसँग आबद्ध छन् र यही कारणले गर्दा उनीहरूमाथि कुनै कारबाही हुने छैन ।’ दिल्लीका पूर्वउपमुख्यमन्त्री एवं आम आदमी पार्टीका वरिष्ठ नेता मनिष सिसोडियाले पनि दीपकेमाथि भएको हमलाको निन्दा गरेका थिए ।
बैंक अफ जापानको ब्याजदर ३१ वर्षयताकै उच्च, विश्व अर्थतन्त्रमा थप अनिश्चितता
काठमाडौं । मध्यपूर्व युद्धका कारण बढ्दो मुद्रास्फीति, महँगो ऊर्जा आयात र कमजोर येनमाथिको दबाबबीच बैंक अफ जापान (बीओजे) ले मंगलबार ब्याजदर बढाएर ३१ वर्षयताकै उच्च स्तरमा पुर्याएको छ । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भए पनि विश्व अर्थतन्त्रमा अनिश्चितता कायम रहेकाले जापानले मौद्रिक नीतिलाई थप कडा बनाएको हो । जापानको केन्द्रीय बैंकले आफ्नो प्रमुख नीतिगत ब्याजदर २५ आधार विन्दुले बढाएर १.० प्रतिशत पुर्याएको छ । यो सन् १९९५ पछिको उच्चतम स्तर हो भने डिसेम्बरयताको पहिलो वृद्धि पनि हो । विश्वको चौथो ठूलो अर्थतन्त्र जापानका लागि यो निर्णयलाई मुद्रास्फीति नियन्त्रण र मुद्रा स्थिरताको प्रयासका रूपमा हेरिएको छ । मध्यपूर्वमा तीन महिनासम्म चलेको द्वन्द्वले विश्वव्यापी ऊर्जा बजारमा ठूलो असर पारेको थियो । युद्धका कारण तेलको मूल्य बढ्दा धेरै देशमा महँगी चुलिएको छ । यही पृष्ठभूमिमा गत साता युरोपेली केन्द्रीय बैंक र इन्डोनेसियाको केन्द्रीय बैंकले पनि ब्याजदर बढाएका थिए । अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च स्तरमा पुगेपछि अमेरिकी फेडरल रिजर्भले पनि आगामी दिनमा ब्याजदर वृद्धि गर्न सक्ने अनुमान बढेको छ । यद्यपि नयाँ नेतृत्वमा रहेको फेडले यस साताको बैठकमा तत्काल निर्णय गर्ने अपेक्षा गरिएको छैन । अस्ट्रेलियाको रिजर्भ बैंकले यस वर्ष तीन पटक ब्याजदर बढाइसकेको छ भने बैंक अफ इङ्गल्यान्डले पनि आगामी दिनमा कडा मौद्रिक नीति अपनाउन सक्ने विश्लेषण गरिएको छ । संयुक्त राज्य अमेरिका र इरानले सप्ताहन्तमा तीन महिना लामो मध्यपूर्व युद्ध अन्त्य गर्ने र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने सहमति गरेका थिए । विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति यही मार्गबाट हुने भएकाले उक्त सम्झौतालाई विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिएको छ । स्विट्जरल्यान्डमा शुक्रबार औपचारिक हस्ताक्षर हुने तय भए पनि विश्व व्यापार र आपूर्ति शृङ्खला सामान्य अवस्थामा फर्किन समय लाग्न सक्ने अनुमान गरिएको छ । फेब्रुअरी २८ मा युद्ध सुरु हुनुअघि जापान आफ्नो कच्चा तेल आवश्यकताको करिब ९० प्रतिशत मध्यपूर्वबाट आयातमा निर्भर थियो । तेलको मूल्यवृद्धि र जापान तथा अमेरिकाबीचको ब्याजदर अन्तरले येनमाथि थप दबाब सिर्जना गरेको छ । गत महिना येन अमेरिकी डलरको तुलनामा १६० को स्तरमा झरेपछि जापान सरकारले मुद्रा स्थिर राख्न करिब ११७ खर्ब येन अर्थात् करिब ७२ अर्ब डलर खर्च गरेको थियो । मंगलबारको निर्णयपछि येन केही बलियो बने पनि त्यसको अधिकांश लाभ टिक्न सकेन । अक्सफोर्ड इकोनोमिक्सका जापान प्रमुख अर्थशास्त्री सिगेटो नागाईले बैंक अफ जापानले नीतिगत दर वृद्धि गर्न थप ढिलाइ गर्न नसक्ने बताएका थिए । उनका अनुसार ढिलाइ भए वित्तीय बजार निराश हुन सक्थ्यो र येनको थप अवमूल्यन हुन सक्थ्यो । बैंक अफ जापानका गभर्नर काजुओ उएडा अस्पतालमा रहेका कारण उप–गभर्नर शिनिची उचिडाले निर्णयपछि सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । बीएनपी परिबासका प्रमुख अर्थशास्त्री रयुतारो कोनोका अनुसार जापानको आर्थिक जोखिम केही घटेको छ र आधारभूत मुद्रास्फीति अझ बढ्न सक्ने संकेत देखिएको छ । पेट्रोलियम तथा ऊर्जामा सरकारी अनुदानका कारण घरेलु माग पनि तुलनात्मक रूपमा मजबुत रहेको उनको भनाइ छ । यद्यपि अत्यधिक आक्रामक रूपमा ब्याजदर बढाउँदा प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारसँग मतभेद उत्पन्न हुन सक्ने विश्लेषण पनि गरिएको छ । यसबीच बीओजेभित्रै पनि मतभेद देखिएको छ । अघिल्लो बैठकमा नौ सदस्यीय बोर्डका तीन सदस्यले ब्याजदर यथावत् राख्ने निर्णयको विपक्षमा मतदान गरेका थिए । अब लगानीकर्ता र बजारको ध्यान बैंक अफ जापानले आगामी महिनाहरूमा पुनः ब्याजदर बढाउने संकेत दिन्छ कि दिँदैन भन्नेमा केन्द्रित छ । साथै, उधारो लागत कम राख्न सञ्चालन गरिरहेको विशाल बन्ड खरिद कार्यक्रमबारे बैंकको आगामी रणनीति पनि चासोको विषय बनेको छ । रासस
एलन मस्कले ३ दिनमै कमाए ५०० अर्ब डलर
काठमाडौं । स्पेसएक्सको सूचीकरण (लिस्टिङ) सँगै विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थ रकेटको गतिमा बढिरहेको छ । सोमबार कम्पनीको सेयरमा करिब २० प्रतिशतको वृद्धि भयो । यसबाट मस्कको नेटवर्थमा १६४ अरब डलर बढ्यो । ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार मस्कको नेटवर्थ अब १.२७ ट्रिलियन डलर पुगिसकेको छ । पछिल्ला तीन कारोबार सत्रमा मात्रै उनको नेटवर्थ ५०० अरब डलरभन्दा बढीले बढेको छ । मस्क र दोस्रो स्थानमा रहेका ल्यारी पेजको नेटवर्थमा अब ९५० अरब डलरभन्दा बढीको अन्तर रहेको छ । स्पेसएक्सको सेयर गत शुक्रबार सेयर बजारमा सूचीकृत भएको थियो। यस कम्पनीमा एलन मस्कको करिब ४२ प्रतिशत हिस्सेदारी छ । मस्कका कम्पनीहरू विश्वका शीर्ष १० सबैभन्दा मूल्यवान् कम्पनीहरूको सूचीमा परेका छन् । स्पेसएक्स २.५१९ ट्रिलियन डलरका साथ यस सूचीको छैटौं र टेस्ला १.५४४ ट्रिलियन डलरका साथ दशौं स्थानमा छ । को–को छन् शीर्ष १० मा ? गूगलका सह–संस्थापक (को–फाउन्डर) ल्यारी पेज ३१४ अरब डलरको नेटवर्थका साथ विश्वका धनीहरूको सूचीमा दोस्रो स्थानमा छन् । उनका साझेदार सर्गेई ब्रिन २९२ अरब डलरका साथ तेस्रो, जेफ बेजोस (२६७ अरब डलर) चौथो, ल्यारी एलिसन (२४७ अरब डलर) पाँचौं, माइकल डेल (२१८ अरब डलर) छैटौं, मार्क जुकरबर्ग (२११ अरब डलर) सातौं, जेन्सेन हुवाङ (१७६ अरब डलर) आठौं, बर्नार्ड अर्नाल्ट (१७२ अरब डलर) नवौँ र जिम वाल्टन (१४८ अरब डलर) दसौं स्थानमा छन् । भारत तथा एसियाकै सबैभन्दा धनी व्यक्ति गौतम अडानी यस सूचीको १७औं स्थानमा छन् । सोमबार उनको नेटवर्थमा २१६ मिलियन डलरको वृद्धि भयो । यस वर्ष उनको नेटवर्थ ३१ अरब डलरले बढेको छ । त्यस्तै, भारतको सबैभन्दा मूल्यवान् कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी ८७ अरब डलरको नेटवर्थका साथ यस सूचीको २५औं स्थानमा छन् । यस वर्ष उनको नेटवर्थमा २०.७ अरब डलरको गिरावट आएको छ । विश्वकै पहिलो ‘ट्रिलियनियर’ मस्क : मिहिनेतको कमाइ कि नीतिगत होल ?