इन्डोनेसियाका राष्ट्रपतिको यो निर्देशनले रोकिँदैछ राज्यको ४५ ट्रिलियन घाटा

काठमाडौं । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले अवैध टिन खानी बन्द गर्न निर्देशन दिएका छन् । सोमबार देशको प्रमुख टिन उत्पादन गर्ने क्षेत्र सुमात्रा टापुको बङ्गका बेलितुङ प्रान्तमा करिब १ हजार अवैध टिन खानी बन्द गर्न आदेश दिएका हुन् ।  राष्ट्रपति प्रबोवोको यो कदमले २०२६ सम्ममा ४५ ट्रिलियन (लगभग २.८ बिलियन अमेरिकी डलर) सम्मको राज्यको घाटा रोक्ने अनुमान गरिएको छ । ‘बङ्गका बेलितुङबाट हुने टिन उत्पादनको करिब ८० प्रतिशत साना डुङ्गादेखि यात्रु डुङ्गासम्म विभिन्न च्यानल मार्फत विदेशमा तस्करी भइरहेको छ,’ राष्ट्रपति प्रबोवोले भने । सबै तस्करी मार्गहरू हाललाई बन्द गरिएको बताउदै तस्करीको लागी कुनै बाटो नरहेको र डुङ्गाबाट तस्करी गर्न नसक्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।  अवैध उत्खननलाई रोक्न र राज्यको राजस्वलाई सुदृढ पार्ने आफ्नो प्रशासनको दृढतालाई उल्लेख गदै प्रबोवोले खनिजहरू पहिचान गर्न मद्दत गर्न रसायन शास्त्री भर्ती गर्न भन्सार महानिर्देशनालयलाई निर्देशन दिए ।

ह्वाइट हाउसमा हुने गाजा शान्ति वार्तामा नेतान्याहुलाई दबाब दिने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सोमबार ह्वाइट हाउसमा गाजा शान्ति सम्झौता गर्ने उद्देश्यले उच्चस्तरीय वार्ताका लागि स्वागत गर्ने कार्यक्रम तय भएको छ । गत हप्ता अरब र मुस्लिम नेताहरूसँगको वार्ता पछि युद्ध अन्त्य गर्ने, बन्धक मुक्त गर्ने र प्यालेस्टिनी उग्रवादीहरूलाई निशस्त्र बनाउने सम्झौता प्रभावकारी रूपमा सम्पन्न भएको ट्रम्पले बताएका छन् । द टाइम्स अफ इजरायल र अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार ट्रम्पको योजनाले तत्काल युद्ध विराम,  इजरायली सेनाको फिर्ती र बन्धकहरूलाई ४८ घण्टा भित्र रिहा गर्न आह्वान गरिएको छ । त्यस पछि इजरायलले १ हजार भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने तयारी गरेको जनाइएको छ । तथापि, नेतान्याहू भने गाजा सहरमा इजरायली सैन्य आक्रमण रोक्न तयार नभएको जनाइएको छ ।   गत जनवरीमा ट्रम्पको शासनकाल सुरु भए पछि नेतान्याहुको यो चौथो ह्वाइट हाउस भ्रमण हो । गाजामा बन्दी बनाइएका इजरायली बन्धकहरूका परिवारले ट्रम्पलाई आफ्नो गाजा प्रस्तावलाई समर्थन गर्न खुला पत्र मार्फत आग्रह गरेका छन् । विज्ञहरुले नेतान्याहुको युद्ध जारी राख्ने र हमासलाई पराजित गर्ने स्पष्ट प्राथमिकतामा ट्रम्पले कति टाढासम्म धकेल्न सक्नुहुन्छ भन्ने विषयमा निर्भर हुने  बताएका छन् । यसका लागि ट्रम्पको पेचिलो दबाब र स्पष्ट तथा दिगो रणनीति चाहिने उनीहरुको दाबी रहेको छ । ​​​​​​​​​​​​गाजाका नागरिकरुहरुले भने भने ह्वाइट हाउस बैठक अघि आशा, थकान र अविश्वास व्यक्त गरेका छन् । 

चीनका पूर्व कृषि मन्त्रीलाई घुसकाण्डमा मृत्युदण्डको फैसला

काठमाडौं । चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा आइतबार दुई वर्षको स्थगनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । यस बारेको जानकारी उत्तर पूर्वी जिलिन प्रान्तस्थित चाङ्चुन जन अदालतले एक विज्ञप्तिमार्फत् सार्वजनिक गरेको हो । अदालतका अनुसार ताङले सन् २००७ देखि २०२४ सम्म करिब २ अर्ब ६८ करोड युआन (अन्दाजी ३ करोड ८० लाख अमेरिकी डलर) बराबरको नगद र सम्पत्ति घुसस्वरुप लिएको प्रमाणित भएको छ । फैसलामा भनिएको छ, ‘यस घुस काण्डले राज्य र जनताको हितमा अत्यन्त गम्भीर क्षति पुर्‍याएको छ, त्यसैले मृत्युदण्डको सजाय आवश्यक ठहरिन्छ ।’ अदालतले भने पनि ताङले आफ्नो अपराध स्वीकार गरी पश्चाताप देखाएकाले सजायलाई दुई वर्षका लागि स्थगित गरिएको हो । यो फैसला राष्ट्रपति सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानअन्तर्गतको पछिल्लो कदम हो । सो अभियानका समर्थकहरूले यसले स्वच्छ शासनलाई सबल बनाएको बताउँछन् भने आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यमका रूपमा व्याख्या गर्ने गरेका छन्। ताङ रेन्जियानले यसअघि गान्सु प्रान्तका गभर्नर र दक्षिणी स्वायत्त क्षेत्र गुआङ्सीका उपाध्यक्षका रूपमा समेत सेवा गरेका थिए ।  उनको पतन हालैका वर्षमा भ्रष्टाचार अनुसन्धानमा परेका अन्य वरिष्ठ अधिकारी पूर्व रक्षा मन्त्री ली साङ्फु र वेइ फेङ्घेसँगै जोडिएको मानिन्छ । लीलाई पदभार ग्रहण गरेको ७ महिनामै हटाइएको थियो र पछि घुसखोरी लगायतका अपराधका कारण चिनियाँ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको राज्य सञ्चारमाध्यमहरूले जनाएका थिए । अहिले उनका उत्तराधिकारी डोङ जुन पनि भ्रष्टाचारको आरोपमा अनुसन्धानमा परेका छन् ।