सम्झौताको संघारमा अमेरिका र इरान, हर्मुजको नियन्त्रण र आणविक भविष्य अझै पेचिलो
काठमाडौं । मध्यपूर्वको तनाव कम गर्ने सम्भावित अमेरिका–इरान सम्झौता आइतबार हस्ताक्षर हुन सक्ने संकेत देखिएपछि कूटनीतिक गतिविधि तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता सम्पन्न भएलगत्तै रणनीतिक महत्त्वको हर्मुज जलघाँटी ‘सबैका लागि खुला’ हुने दाबी गरेका छन् । यद्यपि इरानले हस्ताक्षरको समयसीमाबारे अझै सावधानीपूर्ण धारणा व्यक्त गरेको छ । हप्तौंदेखि जारी युद्ध र अवरुद्ध वार्तापछि दुवै पक्ष तथा मध्यस्थकर्ताहरूले समाधानको सम्भावना बढेको संकेत दिएका छन् । प्रमुख मध्यस्थकर्तामध्ये एक पाकिस्तानले सम्झौता पहिलेभन्दा धेरै नजिक पुगेको जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले शनिबार सामाजिक सञ्जाल एक्समार्फत आगामी २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप लिन सक्ने बताए । उनका अनुसार सम्झौतामा विद्युतीय हस्ताक्षर गरिनेछ भने अर्को साता प्राविधिक तहको वार्ता पनि जारी रहने अपेक्षा गरिएको छ । पाकिस्तानी विदेश मन्त्रालयले समेत आइतबार हस्ताक्षरको योजना रहेको पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भनेका छन् छ, ‘यो सम्झौता भोलि हस्ताक्षर हुने तय भएको छ र हस्ताक्षर भएसँगै हर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ।’ यद्यपि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले हस्ताक्षरको मिति अझै अन्तिम नभएको स्पष्ट पार्दै ‘यो भोलिपल्ट नहुन सक्छ, तर आगामी दिनमा सम्भावनालाई अस्वीकार गर्न सकिँदैन’ भनेका छन् । अप्रिल ८ मा भएको युद्धविरामले भीषण लडाइँ रोक्न मद्दत गरे पनि त्यसयता स्थायी राजनीतिक समाधानको प्रयास जारी छ । राष्ट्रपति ट्रम्पले पटकपटक सम्झौता नजिक पुगेको दाबी गर्दै आएका छन्, तर वार्ता विभिन्न चरणमा अवरुद्ध पनि हुँदै आएको छ । सम्झौताको सम्भावनाबीच हर्मुज जलघाँटीको विषय अझै विवादको केन्द्रमा छ । विश्वको महत्त्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्ग मानिने यस जलमार्गमाथि इरानले युद्ध सुरु भएदेखि नियन्त्रण कडा बनाएको छ । तेहरानले जहाजहरूलाई आफ्ना सुरक्षाकर्मीबाट अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ भने निरीक्षण र शुल्क व्यवस्थापनका लागि नयाँ निकाय पनि स्थापना गरेको छ । यसको प्रत्युत्तरमा अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नै नाकाबन्दी लागू गरेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबार इरानले व्यावसायिक जहाजहरूलाई लक्षित गरी एकतर्फी ड्रोन आक्रमणको प्रयास गरेको आरोप लगाउँदै ती सबै ड्रोन खसालिएको जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार राज्य टेलिभिजनसँगको अन्तर्वार्तामा प्रस्तावित सम्झौतामा अमेरिकी नाकाबन्दी हटाउने विषय समावेश रहेको बताएका थिए । उनले हर्मुज जलमार्गलाई इरानको ‘प्रतिरोधको प्रमुख साधन’मध्ये एक भएको उल्लेख गर्दै यसको व्यवस्थापन पहिले जस्तो नहुने संकेत दिएका थिए। तर अमेरिकाले इरानलाई जलघाँटीमाथि पूर्ण नियन्त्रण दिन नसकिने स्पष्ट गर्दै आएको छ । ट्रम्पको पछिल्लो अभिव्यक्तिमा पनि शुल्क वा नयाँ प्रशासनिक व्यवस्थाबारे कुनै उल्लेख गरिएको छैन । सम्झौताको अर्को संवेदनशील विषय इरानको आणविक कार्यक्रम हो । विशेषगरी इरानसँग रहेको उच्च संवर्धित युरेनियम भण्डारको भविष्यबारे अझै मतभेद कायम छ । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ, तर अमेरिका, इजरायल तथा पश्चिमी राष्ट्रहरूले इरानले आणविक हतियार विकास गर्न खोजेको आशंका व्यक्त गर्दै आएका छन् । विदेशमन्त्री अराघचीले इरानको समृद्ध युरेनियमको व्यवस्थापन गर्ने सबैभन्दा उपयुक्त उपाय देशभित्रै त्यसलाई कम घनत्वमा रूपान्तरण गर्नु रहेको बताएका छन् । अर्कोतर्फ राष्ट्रपति ट्रम्पले यसअघि युरेनियम हटाएर नष्ट गरिने बताइसकेका थिए । शनिबारको आफ्नो सन्देशमा ट्रम्पले ‘सबै शान्त भएपछि हामी आणविक धुलो सङ्कलन गरेर त्यसलाई नष्ट गर्नेछौं, चाहे त्यो इरानमा होस् वा संयुक्त राज्य अमेरिकामा’ भनेका छन् । उनले प्रक्रिया छिटो र सहज रूपमा सम्पन्न हुने आशा व्यक्त गर्दै आवश्यक परे ‘अन्तिम विकल्प’ प्रयोग गर्न सकिने चेतावनीसमेत दिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ट्रम्पले कुनै पनि सम्झौतामा संवर्धित आणविक सामग्री हटाउने प्रतिबद्धता जनाएको दाबी गरेका छन् । यद्यपि तेहरानका सर्वसाधारणमा भने सम्झौताप्रति अझै शंका कायम देखिएको छ । ४९ वर्षीय सईद सादेगीले आफूले छिट्टै कुनै सम्झौता हुने विश्वास नगरेको बताउँदै नेताहरूका आश्वासनप्रति अविश्वास व्यक्त गरे । इरानी समाचार संस्था फार्सले सार्वजनिक गरेको भिडियोमा तेहरानस्थित विदेश मन्त्रालय बाहिर दर्जनौं प्रदर्शनकारीले सम्भावित सम्झौताको विरोध गरेको देखिएको छ । प्रदर्शनमा सहभागीहरूले झण्डा बोकेर सरकारको वार्ता नीतिविरुद्ध नाराबाजी गरेका थिए । यसरी युद्धविरामपछि मध्यपूर्वमा स्थायी शान्तिको आशा पलाए पनि हर्मुजको नियन्त्रण र इरानको आणविक कार्यक्रमजस्ता जटिल मुद्दाले अन्तिम सम्झौताको मार्ग अझै पूर्ण रूपमा सहज बनाएको छैन । अन्य सामग्रीहरू : इरानमा ट्रम्प र नेतन्याहूको रणनीति किन फेल खाँदैछ ? अमेरिकी आक्रमणपछि इरानको प्रतिकार, अस्थायी शान्ति सम्झौताको सम्भावना झन् टाढा इरान युद्धको १०० दिन : विश्वव्यापी बजार र अर्थतन्त्र कसरी प्रभावित भए ? इजरायल र लेबनानबीच युद्धविरामको सहमति, के इरानसँग पनि सम्झौता होला ? मध्यपूर्वको लामो युद्धले विश्व अर्थतन्त्र संकटमा, मन्दी र उच्च मुद्रास्फीतिको चेतावनी इरान र अमेरिका युद्धविरामको सहमति नजिक तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति
अमेरिका-इरान शान्ति सम्झौता २४ घण्टाभित्र सम्भव भएको पाकिस्तानको दाबी
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न ‘२४ घण्टाभित्र’ सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले शनिबार (आज) जनाएको छ । यस क्षेत्र र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको महिनौं लामो युद्धमा स्ट्रेट अफ हर्मुजमा नयाँ झडपका बाबजुद द्वन्द्वरत पक्ष र मध्यस्थकर्ताहरूले लामो समयदेखि प्रतिक्षा गरिएको सम्झौता अन्तिम चरणमा रहेको दाबी गरेका हुन् । अप्रिल ८ मा भएको युद्धविरामपछि शान्ति सम्झौताका लागि हप्तौँको वार्ता अहिलेसम्म सफल हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयसम्म युद्धविराम लम्ब्याउन मात्र यो सम्झौता सहमतिको नजिक छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शनिबार एक्समा लेखेका छन्, ‘पहिलेभन्दा धेरै बिषयमा सहमति जुटेको छ र स्थायी शान्तिका लागि सम्झौता गर्न हामी सफलता नजिक छौं ।’ ‘अर्को २४ घण्टाभित्र अन्तिम रूप दिने अपेक्षा गरिएको छ, पाकिस्तानले शान्ति सम्झौताको लागि तुरुन्तै इलेक्ट्रोनिक पत्रमा हस्ताक्षरको तयारी गरिरहेको छ र त्यसपछि अर्को हप्ता प्राविधिक स्तरको वार्ता हुनेछ ।’
एलन मस्क बने विश्वकै पहिलो ट्रिलियनेयर
काठमाडौं । अमेरिकी अर्बपति उद्यमी एलोन मस्क विश्वकै पहिलो ट्रिलियन डलर (एक हजार अर्ब डलर) सम्पत्तिका धनी बनेका छन् । उनको कम्पनी स्पेसएक्सको सेयर बजारमा ऐतिहासिक प्रवेश (आईपीओ) पछि मस्कको कुल सम्पत्ति १.११ ट्रिलियन डलर (११ खर्ब डलर) पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्पेसएक्सले अमेरिकी नास्डाक स्टक एक्सचेन्जमा सूचीकृत हुँदै २.२ ट्रिलियन डलर मूल्यांकन हासिल गरेको छ । कम्पनीले प्रति सेयर १३५ डलर मूल्य निर्धारण गरे पनि कारोबार सुरु हुँदा मूल्य १५० डलर पुगेको थियो भने केही समयका लागि १७६.५० डलरसम्म उक्लिएको थियो । कारोबार बन्द हुँदा कम्पनीको सेयर मूल्य करिब १६१ डलर कायम भएको थियो । कम्पनीको आईपीओमार्फत ७५ अर्ब डलर बराबरको लगानी संकलन भएको छ । मस्कको स्पेसएक्समा ४२ प्रतिशत स्वामित्व रहेको छ, जसका कारण कम्पनीका निर्णयहरूमा उनको प्रभाव अत्यधिक रहेको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार मस्कको स्पेसएक्समा रहेको सेयरको मूल्य मात्रै ७६७ अर्ब डलरभन्दा बढी पुगेको छ । यसबाहेक टेस्लामा रहेको उनको सेयरको मूल्य पनि सयौं अर्ब डलर रहेको छ । स्पेसएक्सको आईपीओपछि मस्कको सम्पत्ति पोल्याण्ड वा स्विट्जरल्याण्डजस्ता देशहरूको वार्षिक अर्थतन्त्रको आकार बराबर पुगेको भन्दै विश्वभर धन असमानतामाथि बहस सुरु भएको छ । अमेरिकी राजनीतिज्ञहरू तथा आर्थिक विश्लेषकहरूले अत्यधिक सम्पत्ति केही व्यक्तिमा केन्द्रित हुनु चिन्ताको विषय भएको टिप्पणी गरेका छन् । यद्यपि मस्कको अधिकांश सम्पत्ति कम्पनीहरूको सेयर मूल्यमा आधारित भएकाले यो ‘कागजी सम्पत्ति’ भएको र तत्काल नगदमा रूपान्तरण गर्न नसकिने विश्लेषकहरूको भनाइ छ । आईपीओपछिको नियमअनुसार उनले कम्तीमा एक वर्षसम्म स्पेसएक्सको सेयर बिक्री गर्न पाउने छैनन् । हाल स्पेसएक्स नाफामा नरहेको कम्पनी हो । कम्पनीले रकेट, स्टारलिङ्क इन्टरनेट स्याटेलाइट र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा ठूलो लगानी गरिरहेकाले सन् २०२५ र २०२६ मा मात्रै ९ अर्ब डलरभन्दा बढी घाटा व्यहोरेको विवरण सार्वजनिक भएको छ । कम्पनीले भविष्यमा चन्द्रमा र मंगल ग्रहसम्म मानव तथा सामग्री ढुवानी गर्ने ‘लुनार इकोनोमी’ निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । तर यस्तो योजना व्यावसायिक रूपमा सफल हुन्छ वा हुँदैन भन्ने विषयमा कम्पनी आफैंले अनिश्चितता रहेको स्वीकार गरेको छ ।