काठमाडौं । अमेरिकी अर्बपति उद्यमी एलोन मस्क विश्वकै पहिलो ट्रिलियन डलर (एक हजार अर्ब डलर) सम्पत्तिका धनी बनेका छन् । उनको कम्पनी स्पेसएक्सको सेयर बजारमा ऐतिहासिक प्रवेश (आईपीओ) पछि मस्कको कुल सम्पत्ति १.११ ट्रिलियन डलर (११ खर्ब डलर) पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्पेसएक्सले अमेरिकी नास्डाक स्टक एक्सचेन्जमा सूचीकृत हुँदै २.२ ट्रिलियन डलर मूल्यांकन हासिल गरेको छ । कम्पनीले प्रति सेयर १३५ डलर मूल्य निर्धारण गरे पनि कारोबार सुरु हुँदा मूल्य १५० डलर पुगेको थियो भने केही समयका लागि १७६.५० डलरसम्म उक्लिएको थियो । कारोबार बन्द हुँदा कम्पनीको सेयर मूल्य करिब १६१ डलर कायम भएको थियो ।
कम्पनीको आईपीओमार्फत ७५ अर्ब डलर बराबरको लगानी संकलन भएको छ । मस्कको स्पेसएक्समा ४२ प्रतिशत स्वामित्व रहेको छ, जसका कारण कम्पनीका निर्णयहरूमा उनको प्रभाव अत्यधिक रहेको विश्लेषण गरिएको छ ।
रिपोर्टअनुसार मस्कको स्पेसएक्समा रहेको सेयरको मूल्य मात्रै ७६७ अर्ब डलरभन्दा बढी पुगेको छ । यसबाहेक टेस्लामा रहेको उनको सेयरको मूल्य पनि सयौं अर्ब डलर रहेको छ ।
स्पेसएक्सको आईपीओपछि मस्कको सम्पत्ति पोल्याण्ड वा स्विट्जरल्याण्डजस्ता देशहरूको वार्षिक अर्थतन्त्रको आकार बराबर पुगेको भन्दै विश्वभर धन असमानतामाथि बहस सुरु भएको छ । अमेरिकी राजनीतिज्ञहरू तथा आर्थिक विश्लेषकहरूले अत्यधिक सम्पत्ति केही व्यक्तिमा केन्द्रित हुनु चिन्ताको विषय भएको टिप्पणी गरेका छन् ।
यद्यपि मस्कको अधिकांश सम्पत्ति कम्पनीहरूको सेयर मूल्यमा आधारित भएकाले यो ‘कागजी सम्पत्ति’ भएको र तत्काल नगदमा रूपान्तरण गर्न नसकिने विश्लेषकहरूको भनाइ छ । आईपीओपछिको नियमअनुसार उनले कम्तीमा एक वर्षसम्म स्पेसएक्सको सेयर बिक्री गर्न पाउने छैनन् ।
हाल स्पेसएक्स नाफामा नरहेको कम्पनी हो । कम्पनीले रकेट, स्टारलिङ्क इन्टरनेट स्याटेलाइट र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा ठूलो लगानी गरिरहेकाले सन् २०२५ र २०२६ मा मात्रै ९ अर्ब डलरभन्दा बढी घाटा व्यहोरेको विवरण सार्वजनिक भएको छ ।
कम्पनीले भविष्यमा चन्द्रमा र मंगल ग्रहसम्म मानव तथा सामग्री ढुवानी गर्ने ‘लुनार इकोनोमी’ निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । तर यस्तो योजना व्यावसायिक रूपमा सफल हुन्छ वा हुँदैन भन्ने विषयमा कम्पनी आफैंले अनिश्चितता रहेको स्वीकार गरेको छ ।