काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बाँकी आणविक कार्यक्रम अमेरिकी सेनाले १० मिनेटमै ध्वस्त पार्न सक्ने दाबी गरेका छन् । शनिबार फ्लोरिडाको पाम बीचमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
ट्रम्पले इरानका थप दुईवटा आणविक केन्द्रलाई नष्ट गर्न अमेरिका इच्छुक रहेको बताए । उनले भने, ‘हामीले अझै एक वा दुई स्थानमा कारबाही गर्न बाँकी छ । तर, यो काम हामी १० मिनेटमै गर्न सक्छौं ।’
उनले ‘पिकएक्स माउन्टेन’ को पनि उल्लेख गर्दै त्यसका लागि अमेरिकासँग योजना रहेको बताए ।
यसअघि शनिबार बिहान ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गरेका थिए । द वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने योजना बनाइरहेका बेला दुई नेताबीच कुराकानी भएको थियो ।
ट्रम्पले वरिष्ठ सैन्य कमान्डरहरूसँग पनि सैन्य अभियान पुनः सुरु गर्ने विषयमा छलफल गरेका थिए । छलफलमा मध्यपूर्वमा अमेरिकी सैन्य अभियान सञ्चालन गर्ने सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपर, रक्षामन्त्री पिट हेगसेथ र अमेरिकी संयुक्त सैन्य प्रमुख समितिका अध्यक्ष जनरल डान केन सहभागी थिए ।
अमेरिकी गुप्तचर निकायहरूको अनुमानअनुसार इरानले पिकएक्स माउन्टेन क्षेत्रमा सम्भावित रूपमा आणविक सामग्री भण्डारण गरेको छ । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले अहिलेसम्म यस क्षेत्रमा आक्रमण गरेको छैन ।
इरानमाथि थप आक्रमण गर्ने सम्भावनाबारे ट्रम्पले त्यहाँ अझै एक वा दुई स्थानमा कारबाही गर्न बाँकी रहेको बताए । तीमध्ये पिकएक्स माउन्टेन पनि रहेको उनको भनाइ छ ।
‘हामी यो काम १० मिनेटमै गर्न सक्छौं । हामीसँग त्यसका लागि योजना पनि छ । यसलाई निकै छिटो कार्यान्वयन गर्न सक्छौं, ’ उनले भने ।
इरान सम्झौता गर्न चाहन्छ : ट्रम्प
ट्रम्पले इरानसँग भइरहेको वार्ताबारे पनि चर्चा गरे । उनका अनुसार तेहरान अमेरिकासँग सम्झौता गर्न चाहन्छ ।
‘कुराकानी सकारात्मक रूपमा अघि बढिरहेको छ । तर, उनीहरूमाथि पूर्ण विश्वास गर्न सकिँदैन । उनीहरू सम्झौता गर्छन् र फेरि पछि हट्छन् । उनीहरू सम्झौता गर्न चाहन्छन् । अब उनीहरूले वास्तवमै त्यसमा हस्ताक्षर गर्छन् कि गर्दैनन्, हेरौं,’ ट्रम्पले भने ।
यसैबीच, इरानका विदेशमन्त्रीले कतारको मध्यस्थतामा दोहामा वार्ता भएको बताएका छन् । उक्त वार्ताको उद्देश्य युद्ध अन्त्य गर्ने र त्यसबाट बाहिरिने उपाय खोज्नु रहेको उनको भनाइ छ ।