चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारी निराशाजनक
काठमाडौं । अगस्ट महिनामा चीनको अर्थतन्त्रको मन्दी अझै गहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रमुख आर्थिक सूचकाङ्कहरूले अपेक्षाभन्दा कमजोर प्रदर्शन गरे । आन्तरिक माग सुस्त रह्यो र औद्योगिक क्षमता नाघ्ने अवस्थाविरुद्धको बेइजिङको अभियानले उत्पादन घटायो । राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार अगस्टमा खुद्रा बिक्री वार्षिक आधारमा ३.४ प्रतिशत बढ्यो, जुन रोयटर्स सर्वेक्षणमा विश्लेषकहरूले अनुमान गरेको ३.९ प्रतिशतभन्दा कम हो र जुलाईको ३.७ प्रतिशत वृद्धिदरभन्दा सुस्त छ । एलएसईजीका तथ्याङ्कअनुसार औद्योगिक उत्पादनको वृद्धिदर पनि जुलाईको ५.७ प्रतिशतबाट घटेर अगस्टमा ५.२ प्रतिशतमात्र भयो, जुन अगस्ट २०२४ पछि सबैभन्दा न्यून हो । अर्थशास्त्रीहरूले भने यो दर जुलाईकै जस्तै रहने अपेक्षा गरेका थिए । स्थिर सम्पत्ति लगानी (फिक्स एसेट इन्भेस्टमेन्ट) वर्षको सुरुदेखि अगस्टसम्म जम्मा ०.५ प्रतिशतमात्र बढ्यो, जुन जनवरीदेखि जुलाईसम्मको १.६ प्रतिशत वृद्धिदरभन्दा तीव्र सुस्त हो र अर्थशास्त्रीहरूको १.४ प्रतिशत वृद्धिको अपेक्षाभन्दा पनि तल हो । यस अवधिमा रियल इस्टेट लगानी १२.९ प्रतिशत घटेको छ । उत्पादन र युटिलिटी क्षेत्रमा (बिजुली, इन्धन र पानी आपूर्ति) लगानी क्रमशः ५.१ प्रतिशत र १८.८ प्रतिशत बढेको देखियो । कन्फरेन्स बोर्डको चीन सेन्टरका प्रमुख अर्थशास्त्री युहान झाङका अनुसार स्थिर सम्पत्ति लगानी प्रायः राज्य स्वामित्वका उद्यमहरूले धानेका छन्, जबकि निजी क्षेत्रको लगानी घटेको छ । उनले भने, ‘उत्पादन क्षेत्रमा लगानी ’सामान्य र असमान’ देखिएको छ, मुख्यतया पूर्वाधार, उच्च प्रविधि र औद्योगिक उन्नतिमा राज्यको नीतिगत लगानीका कारण । तर, रियल इस्टेट गतिविधि कमजोर नै छ ।’ अगस्टमा चीनको सर्वेक्षण–आधारित सहरी बेरोजगारी दर ५.३ प्रतिशत पुगेको छ, जुन जुलाईको ५.२ प्रतिशतभन्दा केही बढी हो । तथ्याङ्क ब्यूरोले यसलाई स्नातक सिजनका कारण भएको बतायो । ‘हामीलाई थाहा छ कि बाह्य वातावरणमा अझै धेरै अनिश्चितता र अस्थिरता छन्, र राष्ट्रिय अर्थतन्त्र बहुविध जोखिम र चुनौतीहरूको सामना गरिरहेको छ,’ तथ्याङ्क ब्यूरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘हामीले पूर्ण रूपमा म्याक्रो नीतिहरू लागू गर्नुपर्छ, रोजगारी, व्यवसाय र बजारको विश्वास स्थिर राख्नमा ध्यान दिनुपर्छ, सुधार र खुलापन र नवप्रवर्तनलाई गहिरो बनाउनुपर्छ, जसले स्थिर र स्वस्थ आर्थिक विकासलाई प्रोत्साहन दिनेछ ।’ अगस्टमा मोटर गाडी बाहेक खुद्रा बिक्री वार्षिक आधारमा ३.७ प्रतिशत बढ्यो । ग्रामीण क्षेत्रमा खपत वृद्धि सहरी क्षेत्रमा भन्दा छिटो रह्यो, ग्रामीण खपत वार्षिक ४.६ प्रतिशत बढेको देखियो । वक्तव्यपछि पत्रकार सम्मेलनमा एनबीएसका प्रवक्ता फु लिङहुईले उपभोक्ता मुद्रास्फीति टर्निङ पोइन्टमा पुगेको हो कि होइन भन्न गाह्रो रहेको बताए । तर उनले उपभोक्ता मूल्यहरू अस्थिर रहने अपेक्षा गरे । अगस्टमा चीनको उपभोक्ता मूल्य सूचकाङ्क वार्षिक ०.४ प्रतिशत घट्यो, जुन अपेक्षाभन्दा बढी हो र उत्पादक मूल्यहरूमा डिफ्लेशन लगातार तेस्रो वर्ष कायम रह्यो। फुले आयातजन्य मुद्रास्फीतिबारे अनिश्चितता रहेको स्वीकार गरे – जहाँ आयातित वस्तुहरूको मूल्य युआन कमजोर हुनु, विश्वव्यापी वस्तु मूल्य बढ्नु वा बढी भन्सार दरका कारण बढ्न सक्छ । उनले ‘एन्टी–इनभोलुसन’ नीतिहरूको उल्लेख गरे जसले अनावश्यक प्रतिस्पर्धा र मूल्य युद्धलाई नियन्त्रण गर्ने प्रयास गर्छ र यसले अन्ततः उपभोक्ता मूल्यहरूमा असर गर्नेछ । सबैभन्दा बढी वृद्धि भएका वस्तुहरूमा सुन, चाँदी र गहनाका बिक्री १६.८ प्रतिशत बढे, खेलकुद तथा मनोरञ्जन सामग्रीको बिक्री १६.९ प्रतिशत र फर्निचरको बिक्री १८.६ प्रतिशत बढ्यो । सबैभन्दा कमजोर खपत पेट्रोलियम, र तमाखु तथा मदिरा सम्बन्धी उत्पादनहरूमा देखियो । सेवा खपत भने बढ्दो छ, विशेष गरी यात्रा, मनोरञ्जन र यातायातमा जसले खपत बिस्तारै सेवातर्फ सर्ने संकेत गर्छ। गोल्डम्यान साक्सका चीन अर्थशास्त्री लिसेङ वाङका अनुसार खुद्रा बिक्रीमा मन्दी मुख्यतया घरेलु उपकरण र इलेक्ट्रोनिक्सको कमजोर मागका कारण हो किनकि बेइजिङको उपभोक्ता वस्तु एक्सचेन्ज अनुदानको प्रभाव मन्द हुँदै गएको छ । वाङले भने, ‘सेप्टेम्बरदेखि खपत वृद्धि अझै सुस्त हुने अपेक्षा गरिएको छ र लक्षित तथा क्रमिक सहजता आवश्यक रहनेछ ।’ चीनको सीएसआई ३०० सूचकाङ्क तथ्याङ्क सार्वजनिक भएपछि करिब १ प्रतिशत बढ्यो। पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेई झाङले भने, ‘यो मन्दी बजारका लागि आश्चर्यजनक होइन ।’ किनकि लगानीकर्ताहरूले तेस्रो त्रैमासिकमा वृद्धि सुस्त हुने अपेक्षा पहिले नै गरेका थिए । ‘बेइजिङले ५ प्रतिशत वृद्धि लक्ष्य छुट्ने खतरा देखे मात्र ठूलो प्रोत्साहन प्याकेज ल्याउने सम्भावना छ, अन्यथा हालको राजस्व नीति सानो स्तरमा मात्र सहयोगी हुनेछ,’उनले थपे । गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति
अष्ट्रेलियाले आणविक पनडुब्बी पूर्वाधार विस्तारमा ८ अर्ब डलर लगानी गर्ने
काठमाडौं । अष्ट्रेलियाले आफ्नो भावी आणविक ऊर्जाबाट सञ्चालित पनडुब्बीको निर्माण र मर्मत सम्भारका लागि पश्चिमी अष्ट्रेलियाको पर्थमा रहेको जलयान निर्माणस्थलमा प्रारम्भिक रूपमा १२ अर्ब अष्ट्रेलियन डलर (झण्डै ८ अर्ब अमेरिकी डलर) लगानी गर्ने भएको छ । यो लगानी आगामी दश वर्षभित्र गरिनेछ, जसअन्तर्गत पर्थस्थित ‘हेंडरसन सुरक्षा’ क्षेत्रलाई एक अत्याधुनिक जलयान निर्माण तथा मर्मत केन्द्रमा रूपान्तरण गरिने अष्ट्रेलियाका रक्षा मन्त्री रिचार्ड मार्लेसले जानकारी दिए । उक्त परियोजना सन् २०२१ मा बेलायत र संयुक्त राज्य अमेरिकासँग गरिएको त्रिपक्षीय सुरक्षा समझदारी ‘एयुक्यूएस’ अन्तर्गत अघि बढाइएको हो, जसको उद्देश्य अष्ट्रेलियाली नौसेनालाई आणविक पनडुब्बीबाट सुसज्जित गर्नु हो । रक्षा मन्त्री मार्लेसका अनुसार,'हेंडरसन एक महत्वपूर्ण एयुक्यूएस परियोजना हो । यहीँबाट हामीले भविष्यका पनडुब्बीहरूको मर्मत र सञ्चालनको काम गर्नेछौँ ।' उनले थप भने,'यो निर्णय अष्ट्रेलियाको वर्तमान सुरक्षा परिस्थिति तथा भविष्यमा आवश्यक पर्ने सुरक्षा संरचनाको मूल्याङ्कनका आधारमा गरिएको हो ।' आणविक पनडुब्बी मर्मतका लागि पूर्वाधार तयार हाल अष्ट्रेलियासँग आणविक पनडुब्बीको मर्मत सम्भार गर्न आवश्यक पूर्वाधार उपलब्ध छैन । त्यसैले सरकारले आगामी १५ वर्षभित्र तीनवटा भर्जिनिया–श्रेणीका पनडुब्बीहरू अमेरिका बाट ल्याउने लक्ष्य राखेको र भविष्यमा आफ्नै देशमा उत्पादन गर्ने योजना समेत बनाएको छ । संयुक्त राज्य अमेरिका आफैले पनि भविष्यमा आफ्ना आणविक पनडुब्बीहरूको मर्मत हेंडरसनमै गर्ने सम्भावना रहेको जनाइएको छ । कुल लागत अष्ट्रेलियाली डलर २५ अर्बसम्म पुग्न सक्ने अनुमान गरिएको छ । रक्षा क्षेत्रमा लगातार बढ्दो लगानी यो जलयान निर्माणस्थल विस्तार योजना अष्ट्रेलियाले हालै अघि सारेका विभिन्न रक्षा प्रविधि सुदृढीकरण कार्यक्रमहरूमध्ये एक हो । गत महिना, अष्ट्रेलियाले जापानको मित्सुबिशी हेभी इन्डस्ट्रिजबाट ११ वटा मोगामी–श्रेणीका युद्धपोत खरिद गर्ने घोषणा गरिसकेको छ । सो योजनाको लागत आगामी दस वर्षमा करिब १० अर्ब अष्ट्रेलियाली डलर रहनेछ । पहिलो तीन युद्धपोत जापानमै बनाइने भए तापनि बाँकी अष्ट्रेलियामै उत्पादन गर्ने योजना बनाइएको छ । त्यस्तै, अघिल्लो साता अष्ट्रेलियाले ‘गोष्ट शार्क’ नामक पानीमुनि सञ्चालन हुने आक्रमण यन्त्रको निर्माणमा १।७ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो, जसको पहिलो एकाइ सन् २०२६ को सुरूवातमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । आणविक सम्झौताको भविष्यमा आशावादी सरकार केही विश्लेषकहरूले अमेरिकी नौसेनाले अष्ट्रेलियाका लागि आवश्यक पनडुब्बीहरू समयमै आपूर्ति गर्न सक्दैन भन्ने शङ्का व्यक्त गरेका छन् । तर, अष्ट्रेलियाको सरकार यस सम्झौताप्रति आशावादी देखिएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले दुई हप्ताअघि रक्षा मन्त्री मार्लेसलाई व्यक्तिगत रूपमा सम्झौता अगाडि बढ्ने आश्वासन दिएको वासिङ्टन पोस्टले जनाएको छ । मन्त्री मार्लेसले भने यसबारे खुलस्त टिप्पणी गर्न चाहेनन् । तर उनले अष्ट्रेलियाको सार्वजनिक प्रसारण संस्थासँगको कुराकानीमा भने, 'ट्रम्प प्रशासनसँग भएका सबै छलफलमा ‘एयुक्यूएस’ सम्झौताले संयुक्त राज्य अमेरिकाको हितमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट सकारात्मक भावना पाइयो ।' अष्ट्रेलियाली सरकारले सन् २०२२ को मे महिनादेखि हालसम्म कूल ७० अर्ब अष्ट्रेलियाली डलर बराबरको थप रक्षा लगानी प्रतिबद्धता जनाइसकेको छ, जसमा यो जलयान निर्माणस्थल विस्तार योजना पनि समावेश छ । रासस
छोटो समयका लागि विश्वकै धनी व्यक्ति बने एलिसन
काठमाडौं । एलन मस्कले विश्वकै धनी व्यक्तिको उपाधि केही समयका लागि ओरेकलका सह(संस्थापक तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी लारी एलिसनलाई गुमाए । ब्लुमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार गत बुधबार बिहान एलिसनको कुल सम्पत्ति ३९३ अर्ब अमेरिकी डलर (२९० अर्ब यूरो) पुगेको थियो, जुन मस्कको ३८५ अर्ब डलर (२८४ अर्ब यूरो) भन्दा बढी हो । एलिसनको सम्पत्ति बढ्नुको कारण ओरेकल कम्पनीका सेयर मूल्यमा आएको ४० प्रतिशतभन्दा बढीको वृद्धि हो । यो वृद्धि ओरेकलको क्लाउड इन्फ्रास्ट्रक्चर व्यवसाय र कृत्रिम बौद्धिकता (एआई) सम्झौतामा आएको आश्चर्यजनक सकारात्मक पूर्वानुमानपछि आएको हो। तर दिनको अन्त्यतिर ओरेकलको सेयर मूल्य केही घटेपछि मस्क फेरि विश्वकै धनी व्यक्तिको स्थानमा फर्किए । मस्क यसअघि करिब एक वर्षदेखि लगातार यो उपाधिमा थिए । मस्कको विद्युतीय सवारी कम्पनी टेस्लाका सेयरहरू यस वर्ष घटेका छन् । लगानीकर्ताहरूले ट्रम्प प्रशासनले विद्युतीय सवारी प्रोत्साहन कार्यक्रमहरू खारेज गरेको र मस्कको राजनीतिक संलग्नताप्रतिको उपभोक्ता प्रतिकृयाका कारण चिन्ता व्यक्त गरेका छन् । यसैबीच, ओरेकलको व्यवसाय तीव्र गतिमा बढिरहेको छ । कम्पनीले हालै सार्वजनिक गरेको त्रैमासिक आय प्रतिवेदनमा आफ्नो क्लाउड व्यवसायबाटको आम्दानी यस वर्ष ७७ प्रतिशतले बढेर १८ अर्ब डलर पुग्ने अनुमान गरेको छ । एआई कम्पनीहरूबीच डेटा सेन्टरको माग बढेपछि ओरेकलको सेयर मूल्य अझै माथि गएको हो । कम्पनीले पछिल्लो त्रैमासिकमा बहुअर्ब डलरका चार ठूला सम्झौता गरेको र आगामी महिनामा अझ सम्झौता हुने अपेक्षा गरिएको छ । ट्रम्पसँगको सम्बन्ध र मिडिया महत्वाकांक्षा ८१ वर्षीय एलिसनले १९७७ मा ओरेकल स्थापना गरेका थिए र १९९० को दशकमा भव्य जीवनशैलीका कारण पनि चर्चामा थिए । उनी २०१४ सम्म ओरेकलका प्रमुख कार्यकारी अधिकारी रहे र अहिले अध्यक्ष तथा प्रमुख प्राविधिक अधिकारी छन् । एलिसन राष्ट्रपति ट्रम्पका निकट सहयोगी मानिन्छन् । ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्किंदा उनले ओपनएआईका स्याम आल्टम्यान र सफ्टबैंकका मासायोसी सोनसँगै अमेरिकाभित्र एआई पूर्वाधार निर्माण गर्ने ‘स्टारगेट’ परियोजनाको घोषणा गरेका थिए। ओरेकल चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक खरिद गर्न इच्छुक सम्भावित कम्पनीका रूपमा पनि देखिएको छ । जनवरीमा जब मस्कले टिकटक खरिद गर्न सक्नेबारे प्रश्न सोध्दा ट्रम्पले भनेका थिए, ‘म लारीलाई पनि यो किनोस् भन्ने चाहन्छु ।’ एलिसनका मिडिया महत्त्वाकांक्षा टिकटकमा मात्र सीमित छैनन् । उनले आफ्ना छोराद्वारा नेतृत्व गरिएको ८ अर्ब डलरको प्यारामाउन्ट (सीबीएस र एमटीभीको मालिक कम्पनी) खरिद प्रयासको मुख्य लगानी गरेका थिए । प्यारामाउन्ट र उनका छोरा डेविडको नियन्त्रणमा रहेको स्काइडान्सबीचको यो सम्झौता गत महिनामा सम्पन्न भएको हो ।