थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई एक वर्ष जेल सजाय, अदालतको फैसला स्वीकार
काठमाडौं । थाइल्यान्डको सर्वोच्च अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा अघिल्लो सजायअनुसार एक वर्षको जेल सजाय भोग्नुपर्ने निर्णय सुनाएको छ । एक न्यायाधीशका अनुसार थाक्सिनको सजायको कार्यान्वयन ठीकसँग भएको थिएन, त्यसैले बैङ्ककको प्रहरी अस्पतालमा गरिएको नजरबन्दलाई जेल सजायको रूपमा गणना गरिएको थिएन । एक दशकभन्दा बढी समय स्व–निर्वासनमा बिताएपछि थाइल्यान्ड फर्केका थाक्सिन जेलमा एक दिनभन्दा कम समय बिताएपछि स्वास्थ्य कारण देखाएर अस्पतालमा भर्ना भएका छन् । उनको आठ वर्षको सजायलाई राजा महा भाजिरालोङ्गकोर्नले एक वर्षमा कम गरिदिए र अस्पतालमा छ महिना बिताएपछि उनी प्यारोलमा मुक्त भए । सो घटनाले उनलाई विशेष सुविधा दिइएको हो कि होइन भन्ने प्रश्न उठ्यो, साथै उनी साँच्चै बिरामी थिए किन थिएनन् भन्ने विषयमा पनि शङ्का प्रकट भयो । अदालती कार्यवाहीपछि थाक्सिनलाई बैङ्कक रिमान्ड जेल पठाइयो । फैसलापछि उनको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको सन्देशमा थाक्सिनले अदालतको निर्णय स्वीकार गरेको जनाउँदै लेखेका छन्, 'म भविष्यप्रति ध्यान दिन चाहन्छु, चाहे कानूनी कार्यवाही होस् वा मसँग सम्बन्धित द्वन्द्वहरू । आजदेखि, म स्वतन्त्र भए पनि, देश र जनताको हितका लागि विचारको स्वतन्त्रता राख्छु ।' फैसला आउनुअघि थाक्सिन आफ्ना दुई छोराछोरी, पिन्टोङ्टा सिनावात्रा र पूर्वप्रधानमन्त्री पेटोङटार्न सिनावात्रासहित अदालत पुगेका थिए। गत महिना अदालतले पेटोङटार्नलाई कम्बोडियाली सिनेट अध्यक्षसँगको राजनीतिक सम्झौतासम्बन्धी फोन कललाई नैतिक उल्लङ्घन मानेर पदबाट हटाएको थियो । फैसलापछि पेटोङटार्नले राजाले थाक्सिनको सजाय कम गरिदिएकोमा धन्यवाद दिँदै भने, 'म बुबाको बारेमा चिन्तित छु, तर गर्व पनि छ कि उहाँले देशका लागि धेरै ऐतिहासिक क्षण सिर्जना गर्नुभएको छ । यो कठिन समय हो, तर हामी अझै राम्रो भावनामा छौँ।' थाक्सिन सन् २००१ देखि २००६ मा सैन्य कूले उनलाई अपदस्थ नगरेसम्म प्रधानमन्त्री थिए । उनको निष्कासनपछि थाइल्यान्डमा करिब दुई दशक लामो राजनीतिक ध्रुवीकरण सुरु भयो, जसले उनका समर्थकलाई सहरी बासिन्दा, उत्साही राजावादी र सेना समर्थकहरूसँग आमनेसामने बनायो । सन् २००८ मा थाक्सिन आरोपहरूको सामना गर्न थाइल्यान्ड फर्किए तर जमानत छोडेर फेरि विदेशतिर लागे र एक दशकभन्दा बढी समय निर्वासनमा रहे । कार्यालय छाडेपछि उनले राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै थुप्रै मुद्दा र आपराधिक अभियोगको सामना गरे । गत महिना, एक आपराधिक अदालतले उनलाई शाही मानहानि (लेज–माजेस्टे) आरोपबाट निर्दोष ठहर गरेको थियो । उक्त आरोपमा दोषी ठहर भएको भए उनलाई १५ वर्षको जेल सजाय हुन सक्थ्यो ।
चीनको निर्यात वृद्धिदर ६ महिनाकै न्यूनतम, अमेरिकमा निर्यात ३३ प्रतिशतले घट्यो
काठमाडौं । अगस्ट महिनामा चीनबाट अमेरिकामा निर्यात ३३ प्रतिशतले घट्दा समग्र निर्यात वृद्धिदर पनि गत ६ महिनाकै कमजोर स्तरमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रान्ससिप्मेन्ट’ (तृतीय मुलुकमार्फत पठाइने सामान) लक्षित गर्ने नीतिका कारण र व्यवसायिक अघिल्लो अग्रिम गतिविधि सुस्ताएको प्रभाव यसमा देखिएको हो । अमेरिकाबाट चीनले गरेका आयात पनि अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले घटेको चीनको भन्सार तथ्याङ्कले देखाएको छ । चीनको कुल निर्यात अगस्ट महिनामा अघिल्लो वर्षको तुलनामा अमेरिकी डलरमा ४.४ प्रतिशतले बढेको देखिएको छ, जसले फेब्रुअरीयताकै न्यूनतम वृद्धिदर देखायो । यो वृद्धिदर रोयटर्स सर्वेक्षणले अनुमान गरेको ५.० प्रतिशतभन्दा कम रह्यो । यो वृद्धिदर गत दुई महिनाभन्दा सुस्त देखिएको हो, जुन अघिल्लो वर्षको उच्च आधार (हाई बेस) प्रभावका कारण पनि हो । त्यसबेला चीनको निर्यात करिब डेढ वर्षकै उच्चतम गतिमा बढेको थियो । अगस्टमा आयात अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले बढ्यो, तर रोयटर्सको अनुमानित ३ प्रतिशतभन्दा कम रह्यो । आयात लगातार तेस्रो महिनामा बढेको भए पनि अचल सम्पत्ति (रियल स्टेट) क्षेत्रमा आएको मन्दी, बढ्दो रोजगारी असुरक्षा लगायतका कारण अझै कमजोर देखिएको छ । अमेरिकी राष्ट्रपतिको व्यापार नीतिले अमेरिकी बजारतर्फ पठाइने सामानमा दबाब बढाएपछि चीनले दक्षिण–पूर्वी एसिया, युरोपेली संघका मुलुकहरू, अफ्रिका र ल्याटिन अमेरिकालाई विकल्पका रूपमा प्रयोग गर्दै आएको छ । यद्यपि कुनै पनि देशले अमेरिकी बजारलाई प्रतिस्थापन गर्न सकेको छैन । अमेरिकी बजार अझै पनि चीनको सबैभन्दा ठूलो एकल व्यापार साझेदार रहँदै आएको छ । यस वर्ष अगस्टसम्म अमेरिकाले चीनका २८३ अर्ब डलर बराबरका सामान आयात गर्यो । त्यही अवधिमा युरोपेली संघतर्फ निर्यात ५४१ अर्ब डलर पुगेको थियो । अगस्ट ११ मा बेइजिङ र वाशिङ्टनबीच भएको सहमतिअनुसार दुवै पक्षले थप ९० दिनका लागि शुल्क युद्धविराम बढाएका थिए । यसअन्तर्गत अमेरिकी आयातमा करिब ५५ प्रतिशत अमेरिकी शुल्क र अमेरिकी सामानमा चीनले ३० प्रतिशत कर कायम गर्ने सहमति भएको पिटर्सन इन्स्चिच्युट फर इन्टरनेशनल इकोनोमिक्सका अनुसार बताइएको छ । तर, दुवै पक्षबीचको वार्ताले ठोस उपलब्धि हासिल गर्न सकेको छैन । अगस्ट अन्त्यतिर चीनका प्रमुख व्यापार वार्ताकार ली चेंगगाङको वाशिङ्टन भ्रमण पनि निष्कर्षविहीन रह्यो । चिनियाँ निर्यातकर्ताले अमेरिकी शुल्क चुकाउनबाट बच्न तेस्रो मुलुकमार्फत सामान पठाउने रणनीति अपनाउँदै आएका छन् । तर, अमेरिकी प्रशासनले यस्ता ‘ट्रान्ससिप्मेन्ट’ माथि निगरानी कडा गरेपछि यो रणनीति प्रभावकारी हुने वा नहुने अनिश्चितता बढेको छ । जुलाईमा अमेरिकाले ट्रान्ससिप्मेन्ट ठहरिएका सामानमा ४० प्रतिशतसम्मको अतिरिक्त शुल्क लगाउने घोषणा गरेको थियो । निजी क्षेत्रको निर्यातमुखी सर्वेक्षण रेटिङडग पर्चेसिङ म्यानेजर्स इन्डेक्सले अगस्टमा चीनको उत्पादन गतिविधि अपेक्षाभन्दा बलियो देखाएको जनाएको छ । नयाँ निर्यात अर्डरमा सुधार देखिएकोले बाह्य माग अझै स्थिर रहेको संकेत गरेको छ । यसै हप्तामा चीनले दुई प्रमुख मुद्रास्फीति सूचकाङ्कहरू— उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) र उत्पादक मूल्य सूचकाङ्क (पीपीआई) सार्वजनिक गर्ने तयारी गरेको छ। गोल्डम्यान स्याच्सको अनुमानअनुसार पीपीआई मुद्रास्फीति अझै ‘गहिरो नकारात्मक’ रहन सक्नेछ, वार्षिक रूपमा २.९ प्रतिशतले घट्ने सम्भावना छ । तर मासिक आधारमा भने बेइजिङले अत्यधिक मूल्य कटौती नियन्त्रण गर्ने ‘एन्टी– इनभोलुसन’ नीति तथा कच्चा पदार्थको बढ्दो मूल्यको कारण सकारात्मक हुन सक्नेछ । यसैगरी, गोल्डम्यान स्याच्सले सीपीआई मुद्रास्फीति पनि ‘सामान्यतया नकारात्मक’ हुने अपेक्षा गरेको छ, जुन गत वर्षको तुलनामा अगस्टमा ०.२ प्रतिशतले घट्ने सम्भावना रहेको बताइएको छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित) इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज
ग्रिक प्रधानमन्त्रीले सार्वजनिक गरे २०२६ को लागि १.६ अर्ब युरोको आर्थिक योजना
काठमाडौं । ग्रिक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले २०२६ को लागि १.६ अर्ब युरो (१.८८ अर्ब अमेरिकी डलर) को आर्थिक प्याकेज घोषणा गरेका छन् । जसमा व्यापक कर कटौती र परिवार र युवा कामदारहरूको लागि लक्षित सहयोग समावेश छ । ८९ औं थेस्सालोनिकी अन्तर्राष्ट्रिय मेलामा बोल्दै मित्सोटाकिसले यी उपायहरूले सार्वजनिक वित्त स्थिर राख्दै जनसांख्यिकीय दबाब र बढ्दो जीवनयापन लागत कम गर्ने लक्ष्य राखेको बताए । प्रमुख चरणहरूमा सबै करदाताहरूको लागि आयकरमा स्थायी दुई प्रतिशत–बिन्दु कटौती, वार्षिक २० हजार युरोसम्म कमाउने २५ वर्ष मुनिका कामदारहरूको लागि शुन्य कर र बच्चाहरू भएका घरपरिवारहरूको लागि महत्वपूर्ण राहत समावेश छ । चार वा सोभन्दा बढी बच्चाहरू भएका परिवारहरूले कुनै आयकर तिर्ने छैनन् । मध्यम आय भएकाहरूले पनि घटाइएको कर दरबाट लाभ उठाउनेछन् ।