बेइजिङ-अबुधाबी सिधा उडान सुरु, सन् २०२६ मा पहिलो नयाँ अन्तर्राष्ट्रिय सेवा

काठमाडौं । चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी बीचको सिधा हवाई मार्ग सुरु गरिएको छ । यो चिनियाँ एयरलाइन्सद्वारा संचालित दुई राजधानीहरू बीचको पहिलो सीधा सम्पर्क हो । बोकेर एयर चाइनाको बोइङ ७८७ विमानले २७८ यात्रु लिएर गरेको पहिलो उडान शनिबार राति अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । प्रत्येक हप्ता चार ‘राउन्ड ट्रिप’ गर्ने गरी स्थापित यो मार्ग सन् २०२६ मा एयर चाइनाको पहिलो नयाँ अन्तर्राष्ट्रिय सेवा हो । मार्गको सुरुवातले चीन र युएई बीचको उड्डयन नेटवर्कलाई अझ बढाउँछ र यसले दुई देशहरू बीचको मानव आदानप्रदान, आर्थिक र व्यापार सहयोग र सांस्कृतिक अन्तरक्रियाको लागि अधिक कुशल र सुविधाजनक हवाई मार्ग प्रदान गर्दछ। एयर चाइनाका एक अधिकारीले यात्रुलाई सुरक्षित, आरामदायी र सुखद यात्रा अनुभव प्रदान गर्न एयरलाइन्सले पूर्ण तयारी गरेको बताए । विमान कम्पनी स्रोतका अनुसार यो मार्गको सुरुवातले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को रूपरेखा अन्तर्गत दुई देशबीचको व्यावहारिक सहकार्यलाई नयाँ गति दिनेछ। 

चीनमाथिको निर्भरता घटाउन अमेरिकाको रणनीति, दुर्लभ खनिज कम्पनीमा १.६ अर्ब डलर लगानी

काठमाडौं । अमेरिकी सरकारले ओक्लाहोमा रहेको उत्खनन कम्पनी यूएसए रेयर अर्थमा १.६ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । यसबापत सरकारले कम्पनीको १० प्रतिशत हिस्सेदारी प्राप्त गर्नेछ ।  फाइनान्सियल टाइम्स (एफटी) ले शनिबार यस विषयमा जानकारी भएका स्रोतहरूलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको हो । रिपोर्टअनुसार सरकारी लगानीसँगै १ अर्ब डलरको छुट्टै निजी वित्तीय सम्झौता पनि सोमबार सार्वजनिक गरिने तयारी छ । यस विषयमा ह्वाइट हाउस र यूएसए रेयर अर्थले तत्काल जवाफ दिएका छैनन् । एफटीका अनुसार सरकारले दुर्लभ खनिज कम्पनीमा १६.१ मिलियन सेयर प्राप्त गर्नेछ । साथै थप १७.६ मिलियन सेयर खरिद गर्न सकिने वारेन्ट पनि पाउनेछ । दुवैको मूल्य प्रति सेयर १७.१७ डलर तोकिएको छ । गत वर्ष डिसेम्बरमा वासिङ्टनले राष्ट्रिय सुरक्षा प्रयोजनका लागि आवश्यक लिथियम, दुर्लभ खनिज तथा अन्य खनिजहरूको घरेलु उत्पादन बढाउन र चीनमाथिको निर्भरता घटाउन अमेरिकी उत्खनन क्षेत्रमा थप ‘ऐतिहासिक सम्झौता’ गर्ने योजना रहेको जनाएको थियो । चीनले व्यापार वार्तामा आफ्नो खनिज क्षमतालाई दबाबका रूपमा प्रयोग गर्दै आएको छ । गत वर्ष अमेरिकी प्रशासनले एमपी मटेरियल्स, लिथियम अमेरिकाज र ट्रिलोजी मेटल्समा पनि हिस्सेदारी लिएको थियो । यूएसए रेयर अर्थसँगको सम्झौता ‘सेमिकन्डक्टर आपूर्ति शृंखला र अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक तथा रणनीतिक खनिजलाई देशभित्रै उत्पादन गर्ने (अनशोरिङ) मा केन्द्रित’ रहेको अमेरिकी वाणिज्य विभागअन्तर्गतको चिप्स कार्यालयका एक अधिकारीलाई उद्धृत गर्दै एफटीले जनाएको छ । उक्त कार्यालयले अमेरिकामा लगानी र उपकरणका लागि प्रोत्साहन प्रदान गर्दछ । एफटीका अनुसार कम्पनीले थप १ अर्ब डलरभन्दा बढी नयाँ इक्विटी उठाउने प्रयासको नेतृत्व गर्न लगानी बैंक तथा ब्रोकरेज फर्म क्यान्टर फिट्जगेराल्डलाई पनि समावेश गरेको छ । उक्त संस्थाका अध्यक्ष ब्रान्डन लुटनिक हुन्, जो अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकका छोरा हुन् । यूएसए रेयर अर्थले टेक्सासको सिएरा ब्लान्कामा खानी विकास गर्दै आएको छ भने ओक्लाहोमाको स्टिलवाटरमा नियो म्याग्नेट उत्पादन गर्ने कारखाना निर्माण गरिरहेको छ । उक्त कारखाना २०२६ को पहिलो छ महिनामा व्यावसायिक रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । ३.४५ अर्ब डलरको बजार पुँजीकरण भएको यो कम्पनी अमेरिकाका ठूला नियो म्याग्नेट उत्पादकहरूमध्ये एकका रूपमा उदाएको छ । (रोयटर्सबाट अनुदित तथा सम्पादित)  

एआई चिप विवादबीच चीन जाँदै जेन्सेन हुआङ, बजार जोगाउने प्रयास ?

काठमाडौं । एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ फेब्रुअरीको मध्यतिर पर्ने चन्द्र नववर्ष (लुनार न्यू इयर) अघि आउने केही दिनमै चीन भ्रमण गर्ने तयारीमा छन् । यस विषयमा जानकारी भएका दुई स्रोतले सीएनबीसीलाई उक्त कुरा बताएका हुन् । यो भ्रमण यस्तो समयमा हुन लागेको हो, जब अमेरिकी चिप निर्माता एनभीडीयाले चिनियाँ बजारमा बिक्री गर्न सक्ने क्षमताबारे प्रश्नहरू कायमै छन् । एक समय एनभीडीयाको डेटा सेन्टर व्यवसायबाट आउने कुल आम्दानीको कम्तीमा पाँचौं हिस्सा चीनबाटै आउँथ्यो । अमेरिकी निर्यात प्रतिबन्धका कारण एनभीडीयाले आफ्ना सबैभन्दा उन्नत चिपहरू चीनमा बिक्री गर्न पाएको छैन । अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) विकासमा प्रयोग हुने चिप्समा बेइजिङमाथि आफ्नो अग्रता कायम राख्ने उद्देश्यले वाशिङ्टनले यी प्रतिबन्ध लगाएको हो । एक स्रोतका अनुसार हुआङ सोमबार बेइजिङमा आयोजना हुने एनभीडीयाको कम्पनी पार्टीमा सहभागी हुने अपेक्षा गरिएको छ ।  यात्रा योजनाबारे प्रत्यक्ष जानकारी भएको व्यक्तिका अनुसार हुआङले चीनका सम्भावित खरिदकर्ताहरूसँग भेटघाट गर्ने र अमेरिकी स्वीकृत एनभीडीया चिप्स चिनियाँ बजारमा आपूर्ति गर्दा देखिएका पछिल्ला प्राविधिक तथा आपूर्ति–सम्बन्धी चुनौतीहरूबारे छलफल गर्नेछन् । ‘द इन्फर्मेसन’ ले गत साता स्रोतहरूलाई उद्धृत गर्दै चीनले एनभीडीयाको एच २००  एआई चिप्स स्थानीय रूपमा किन्ने अनुमति अनुसन्धानजस्ता सीमित प्रयोजनका लागि मात्रै दिने जनाएको थियो । उक्त रिपोर्टबारे बिहीबार सोध्दा चीनको वाणिज्य मन्त्रालयले यस विषयमा आफूलाई जानकारी नभएको बताएको छ । ब्लूमबर्गले यस साता सुरुमा नै हुआङको चीन भ्रमणको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो । यद्यपि, एनभीडीयाले कार्यकारी तहको यात्रा योजनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । हुआङले गत वर्ष मुख्यभूमि चीन कम्तीमा तीन पटक भ्रमण गरेका थिए, जसमा जनवरीमा चन्द्र नववर्षको अवसरमा गरिएको भ्रमण पनि समावेश छ । अमेरिकाले सन् २०२२ को अक्टोबरमा पहिलो पटक चीनतर्फ उच्चप्रदर्शन कम्प्युटिङ र एआई चिप निर्यातमा कडा प्रतिबन्ध लगाएको थियो । तत्कालीन राष्ट्रपति जो बाइडेन प्रशासनअन्तर्गत अमेरिकी वाणिज्य मन्त्रालयले राष्ट्रिय सुरक्षा कारण देखाउँदै यस्तो निर्णय गरेको हो । त्यसपछि सन् २०२३ र २०२४ मा प्रतिबन्ध थप कडाइ गरिँदै लगियो । एनभीडीयाले चीनका लागि छुट्टै रूपमा विकास गरेका ए ८०० र एच ८०० जस्ता चिपहरू पनि पछिल्ला संशोधित नियमले प्रतिबन्धको दायरामा पारे । यसै क्रममा सन् २०२५ को अन्त्यतिर अमेरिकी सांसदहरूले एनभीडीया जस्ता कम्पनीलाई चीनमा शक्तिशाली एआई चिप बिक्री पूर्ण रूपमा रोक्ने उद्देश्यसहित थप कानुनी पहल अघि बढाए । यद्यपि ती प्रस्तावहरू कानुन बने/नबने पनि, व्यवहारमा निर्यात लाइसेन्स नपाउने अवस्था झन् जटिल बन्यो । उता सन् २०२६ को जनवरीमा चीनले पनि प्रतिक्रिया स्वरूप एनभीडीयाका एच २००जस्ता उन्नत एआई चिपहरूको आयातमा अवरोध सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी पक्षबाट सीमित अनुमति भए पनि चिनियाँ भन्सार र नियामक निकायले ती चिपहरू भित्रिन नदिएको बताइएको छ । एनभीडीया सन् १९९३ अप्रिल ४ मा स्थापना भएको हो । यो कम्पनी अमेरिकी इन्जिनियर जेन्सेन हुआङ र उनका दुई सह–संस्थापकले सुरु गरेका थिए । सुरुआतमा गेम खेल्न प्रयोग हुने ग्राफिक्स चिप बनाउने कम्पनी एनभीडीया अहिले एआई र डेटा सेन्टरका लागि अत्याधुनिक चिप बनाउने विश्वकै अगुवा कम्पनी बनेको छ । एनभीडीयाले सन् १९९९ मा अमेरिकी सेयर बजार नासडाकमा सूचीकृत हुँदै सर्वसाधारणका लागि सेयर कारोबार सुरु गरेको थियो । हाल एआई प्रविधिको माग तीव्र रूपमा बढेसँगै एनभीडीयाको व्यापार र सेयर मूल्यमा ठूलो उछाल आएको छ । सन् २०२६ को सुरुवातसम्म एनभीडीयाको बजार पूँजीकरण ९मार्केट क्याप० करिब ४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसले एनभीडीयालाई विश्वका सबैभन्दा मूल्यवान कम्पनीहरूमध्ये एक बनाएको छ ।