अमेरिकी अदालत भन्छ- ट्रम्पको ट्यारिफ गैरकानुनी

काठमाडौं । अमेरिकाको एक संघीय अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफलाई गैरकानुनी ठहराएको छ । अदालतले ट्रेड घाटा र सिमाना मुद्दालाई ‘राष्ट्रिय आपतकाल’ भनेर आफ्नो अधिकारको दुरुपयोग गरेको जनाएको छ ।  अदालतले भनेको छ कि हालका लागि ट्यारिफ लागू रहिरहनेछन् । ट्रम्प प्रशासनसँग सर्वोच्च अदालतमा अपील गर्ने मौका छ । अर्थात् व्यापारी, उपभोक्ता र चीन, भारतलगायतका देशहरू अझै लागू ट्यारिफको असरमा छन् । तर ट्रम्पमाथि दबाब बढिसकेको छ । अमेरिकी संसदको विदेश मामिलाको समितिले ट्रम्पको ट्यारिफमा कदम चाल्न सक्छ । ट्यारिफ ट्रम्पको सबैभन्दा ठूलो नेगोसिएसन हतियार थियो । उनी देशहरूलाई उच्च शुल्कको धम्की दिएर सम्झौता गराउँथे । यदि अदालतले यो हतियार खोस्यो भने ट्रम्पको शक्ति घट्छ र विश्वले अमेरिकी दबाबलाई बेवास्ता गर्न सक्छ । विशेष गरी यस्तो समयमा जब अमेरिकी ट्यारिफबाट पीडित धेरै देशहरू आपसमा नजिक हुँदैछन् । जुलाईसम्म अमेरिका यस ट्यारिफबाट १५९ अर्ब डलर संकलन गरिसकेको छ । यदि सर्वोच्च अदालतले यसलाई अवैध ठहरायो भने यो पैसा फिर्ता गर्नु पर्न सक्छ । न्याय विभागले चेतावनी दिएको छ कि यस्तो भए देशले ‘आर्थिक विनाश’ भोग्न सक्छ । ट्रम्पले सर्वोच्च अदालत जाने घोषणा गरेका छन् । उनले चेतावनी दिएका छन् कि यदि फैसला उनीविरुद्ध आयो भने यसले अमेरिका ध्वस्त पार्न सक्छ । यदि सर्वोच्च अदालत ट्रम्पको पक्षमा छ भने ट्यारिफ कायम रहिरहनेछ । नभए अरबौं डलर फिर्ता गर्नु पर्नेछ र अमेरिका नयाँ व्यापार नीति बनाउन बाध्य हुनेछ । ट्रम्पको अदालतमा हार पछि पनि ट्यारिफ बढाउने विकल्पहरू हुनेछन्, तर ती सीमित हुनेछन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले मोदीलाई भने– ‘ड्रागन र हात्ती मिल्नु धेरै जरुरी’

काठमाडौं । चीनका राष्ट्रपति सी ‍जिनपिङले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटमा ड्रागन र हात्तीको साथ आउनु धेरै जरुरी रहेको बताएका छन् । सी चिनफिङले भने, ‘विश्व परिवर्तनतर्फ अघि बढ्दैछ । चीन र भारत संसारका दुई सबैभन्दा पुराना सभ्यताहरू हुन् । हामी दुवै संसारकै सबैभन्दा बढी जनसंख्या भएका देश हौं र ग्लोबल साउथको हिस्सा हौं ।’ चीनी राष्ट्रपतिले भने, ‘दुवै देश मित्र बनेर रहनु, राम्रो छिमेकी हुनु र ड्रागन र हात्तीको सहकार्य हुनु धेरै जरुरी छ ।’ यसअघि प्रधानमन्त्री मोदीले पनि सोही बैठकमा भारत र चीनका सम्बन्धलाई एक सकारात्मक दिशा मिलेको बताएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार तियानजिन पुगेका हुन् । २०१८ पछि प्रधानमन्त्री मोदीको यो पहिलो चीन भ्रमण हो । गत वर्ष भारत र चीनबीचको द्विपक्षीय व्यापार करिब १२७.७ अर्ब अमेरिकी डलरको रहेको थियो । चीनको तियानजिनमा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म शाङ्घाई को–अपरेसन अर्गनाइजेशन (एससीओ) को बैठक भइरहेको छ । यसमा मोदी र सी जिनपिङसँगै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी भएका छन् ।

थाइल्याण्डमा कार्यवाहक प्रधानमन्त्रीको नियुक्ति, नयाँ सरकारको दिशा तय गर्ने तयारी

काठमाडौं । थाइल्याण्डको मन्त्रिपरिषद्ले शनिबार उपप्रधानमन्त्री फुमथम वेचायाचाईलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन् । यो निर्णय अदालतको निर्णय पछिको कदम हो । प्रधानमन्त्री कार्यालयका मन्त्री चुसक सिरिनिलले विशेष मन्त्रिपरिषद बैठकको दौरान यो नियुक्ति घोषणा गरेका थिए । सो बैठकमा प्रमिन लेर्टसुरीलाई प्रधानमन्त्रीको सचिवालयको प्रमुखको रूपमा नियुक्त गरिएको छ । चुसकले यस अवसरमा  मन्त्रिपरिषद्ले संक्रमणकालीन अवधिमा सरकारको कार्यलाई स्थिर राख्नका लागि एक कडा ढाँचा स्वीकृत गरेको जनाएको छ । अदालतको निर्णयपछि यो कदम अनिवार्य थियो, जसअनुसार हालको मन्त्रिपरिषद्ले नयाँ प्रशासन गठन नभएसम्म एक कार्यवाहक सरकारको रूपमा कार्य गर्नुपर्नेछ । यस सन्दर्भमा, संसद सचिवालयले ३ सेप्टेम्बरदेखि ५ सेप्टेम्बरसम्म संसद सदस्यलाई बैठकको लागि आह्वान गरेको छ ।