‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं । बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न सफल भएका छन् । बक्सिङ खेल क्षेत्रमा ‘हिमालय चितुवा’बाट विश्वपरिचित उनी ‘के वान क्रस’ को उपाधि दुई पटक चुमेर नयाँ विश्व कीर्तिमान कायम गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।        जापानको टोकियो सहरमा शनिबार भएको सो प्रतियोगितामा हिमालय चितुवाले जापानका प्रतिस्पर्धी रिकुलाई नकआउटमा पराजित गर्दै पुनःदोस्रोपटक ‘टाइटल बेल्ट’को उपाधि रक्षा गरेका हुन् । ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’लाई बक्सिङ खेल क्षेत्रको सर्वोच्च प्रतियोगिता मानिन्छ ।  हिमालय चितुवाका पिता एवं बक्सर देव घिमिरेले दिएको जानकारीअनुसार अविरलले उक्त प्रतियोगिताको तेस्रो राउण्डको दोस्रो मिनेटमा जापानी खेलाडी रिकुले नकआउट गर्न सफल भएका थिए ।      कियो नागोयास्थित विश्व प्रसिद्ध एवं प्रतिष्ठित ‘हिट किक बक्सिङ  क्लब’मार्फत  हिमालय चितुवाले खेल्दै आएका छन् । हालसम्म उनीले तीनपटक हिट किकबक्सिङ तीनपटक टाइटल डिफेन्स गर्दै चार पटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का) टाइटल र केवान क्रस १७५ टाइटल जित हासिल गरिसकेका छन् ।       साथै हालसम्म २५  अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिँदै १९ मा जित निकाल्ने क्रममा १८ वटामा नकआउट गरी जित आफ्नो पक्षमा ल्याउने उनी पहिलो नेपाली बक्सर हुन् । साथै  हालसम्म यस्ता उपाधि हासिल गर्ने उनीले पहिलो नेपाली बक्सर भएर नयाँ इतिहास कायम गरेका छन् । रासस    

युरोपतर्फ लैजाँदै गर्दा लाखौँ चकलेट चोरी

काठमाडौं । स्विट्जरल्याण्डस्थित बहुराष्ट्रिय खाद्य कम्पनी ‘नेस्ले’ ले करिब १२ टन अर्थात् ४ लाख १३ हजारभन्दा बढी किटक्याट चकलेट चोरी भएको जनाएको छ । यी चकलेटहरू इटालीमा उत्पादन भएर पोल्याण्डतर्फ लैजाँदै गर्दा बाटोमै हराएका हुन् । कम्पनीका अनुसार चकलेट बोकेको सवारीसाधनसहित सम्पूर्ण सामान अझै फेला परेको छैन । उक्त चकलेटहरू युरोपभर वितरणका लागि पठाइएका थिए, तर बीच बाटोमै हराएपछि ती अवैध बजारमार्फत बिक्री हुन सक्ने आशङ्का गरिएको छ । कम्पनीले प्रत्येक चकलेटमा रहेको विशेष ब्याच नम्बरमार्फत ती सामान पहिचान गर्न सकिने जनाएको छ । उपभोक्ता, खुद्रा विक्रेता र थोक व्यापारीहरूले उक्त नम्बर स्क्यान गरेर चोरी भएको चकलेट हो वा होइन भनेर सजिलै थाहा पाउन सक्नेछन् । कम्पनीले यस्तो प्रकारको ढुवानी चोरी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यो घटना सार्वजनिक गरेको जनाएको छ । उनीहरूका अनुसार पछिल्लो समय सङ्गठित रूपमा गरिने चोरीका तरिकाहरू झन् जटिल हुँदै गएका छन्, जसले ठूला मात्र होइन साना व्यवसायहरूलाई पनि असर पारिरहेको छ । रासस  

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

काठमाडों । मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गर्न अष्ट्रेलियाली सरकारले नयाँ इन्धन सुरक्षा उपाय अन्तर्गत इन्धन आयातमा ग्यारेन्टी दिने भएको छ । उक्त घोषणा प्रधानमन्त्री एन्थोनी अल्बानेसले शनिबार गरेका हुन् ।  अल्बानेस र ऊर्जामन्त्री क्रिस बोवेनले सिड्नीमा पत्रकारहरूलाई जानकारी दिँदै सोमबारदेखि सङ्घीय संसदमा नयाँ विधेयक प्रस्तुत गरिने बताए । यस विधेयकले निजी क्षेत्रद्वारा इन्धन, मल तथा अन्य आवश्यक वस्तुहरूको खरीदमा विद्यमान निर्यात क्रेडिट एजेन्सीमार्फत सरकारी ग्यारेन्टी प्रदान गर्न अनुमति दिनेछ । अल्बानेसले भने, 'सरल भाषामा भन्नुपर्दा, हामी इन्धनको किचनमा आपूर्ति थप्ने बखत सरकारी ग्यारेन्टी दिनेछौं । यो सरकारको सहयोग सामान्य व्यापार जस्तो हुने छैनस यो अन्तर्राष्ट्रिय बजारमा उपलब्ध अतिरिक्त आपूर्तिका लागि मात्र हुनेछ ।' उनले नयाँ उपायहरूले अतिरिक्त आपूर्ति सुनिश्चित गर्ने आयातकर्ताहरूको आर्थिक जोखिम कम गर्ने बताए । यो घोषणा अष्ट्रेलियामा इन्धन मूल्य आकाशिएको र क्षेत्रीय क्षेत्रमा व्यापक अभाव रहेको समयमा आएको हो । बोवेनले शनिबारसम्म राष्ट्रिय भण्डारणमा पेट्रोल ३९ दिनको, डिजेल ३० दिनको र जेट इन्धन ३० दिनको आपूर्ति रहेको जानकारी दिए । रासस