तौल घटाउने औषधिमा भारतको चेतावनी
काठमाडौं । तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्र रूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले औषधि प्रयोगमा अनियमितता बढ्न सक्ने भन्दै निगरानी र कार्यान्वयन कडा बनाएको जनाएको छ । ओजेम्पिक र वेगोवी जस्ता औषधिमा प्रयोग हुने सक्रिय तत्व सेमाग्लुटाइडको पेटेन्ट मार्च २० मा समाप्त भएसँगै भारतमा यसको जेनेरिक उत्पादन तीव्र रूपमा बजारमा आएको छ । विश्वकै सबैभन्दा ठूलो जेनेरिक औषधि आपूर्तिकर्ता मानिने भारतमा यसले मूल्य घटाउँदै पहुँच बढाएको छ । जीएलपी–१ वर्गका यी औषधिहरूले रगतमा ग्लुकोजको स्तर र भोक नियन्त्रण गर्ने हर्मोनलाई प्रभाव पार्ने भएकाले मोटोपनाविरुद्ध प्रभावकारी मानिन्छन् । तर स्वास्थ्य मन्त्रालयले यस्ता औषधि चिकित्सकको सिफारिसबिना प्रयोग गर्दा गम्भीर साइड इफेक्ट देखिन सक्ने चेतावनी दिएको छ । मन्त्रालयका अनुसार हाल बजारमा विभिन्न जेनेरिक भेरियन्टहरू उपलब्ध भएसँगै खुद्रा औषधि पसल, अनलाइन प्लेटफर्म, थोक विक्रेता र वेलनेस क्लिनिकमार्फत अनियन्त्रित रूपमा बिक्री हुने जोखिम बढेको छ । 'उचित चिकित्सकीय निगरानी बिना प्रयोग गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ', मन्त्रालयले स्पष्ट पारेको छ । यसैसँगै भारतको औषधि नियामक निकायले निरीक्षण कडा बनाउँदै उत्पादकहरूलाई भ्रामक प्रचार र औषधिको गलत प्रयोगलाई प्रोत्साहन गर्ने गतिविधिमा प्रतिबन्ध लगाएको जनाएको छ । विश्व मोटोपना महासङ्घका अध्यक्ष साइमन बार्केराले औषधिले मात्र मोटोपनाको समस्या समाधान नहुने बताउनुभयो । उहाँका अनुसार मोटोपना जटिल र दीर्घकालीन रोग भएकाले स्वस्थ जीवनशैली र रोकथामका उपाय उत्तिकै आवश्यक हुन्छन् । भारतमा तौल घटाउने औषधिको बजार पछिल्ला पाँच वर्षमा तीव्र रूपमा बढेको छ । सन् २०२६ सम्ममा यसको कारोबार १५ करोड ३० लाख डलर पुगेको छ भने सन् २०३० सम्ममा आधा अर्ब डलर नाघ्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वको कुपोषणको एक तिहाइ हिस्सा अझै भारतमै रहेको भए पनि बढ्दो आय र सहरी जीवनशैलीका कारण मोटोपनाको दर तीव्र रूपमा बढिरहेको छ । सरकारी तथ्याङ्कअनुसार भारतमा २४ प्रतिशत महिला र २३ प्रतिशत पुरुष अधिक तौल वा मोटोपनाको समस्यामा छन् । यसअघि यस्ता औषधिको मासिक खर्च १५ हजारदेखि २२ हजार भारतीय रुपैयाँसम्म पर्ने भएकाले प्रयोग सीमित थियो । तर पेटेन्ट सकिएपछि जेनेरिक सेमाग्लुटाइड औषधिको मूल्य घटेर एक हजार ३०० देखि चार हजार २०० रुपैयाँसम्म पुगेको छ, जसले प्रयोगको दायरा विस्तार गरेको छ । यद्यपि सस्तो मूल्यसँगै अनियन्त्रित प्रयोगको जोखिम बढेकाले भारतले औषधिको सुरक्षित प्रयोगमा विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ । रासस
कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु
काठमाडौं । कोलम्बियामा सेनाको विमान दुर्घटना हँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । कोलम्बियाका अधिकारीहरूका अनुसार देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको हो । वायु सेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले जानकारी दिएअनुसार विमानमा सेनाका ११४ जवान र ११ जना क्रू सदस्य सवार थिए । यो अमेरिका निर्मित सी- १३० हरक्युलिस विमान थियो, जसको प्रयोग सैनिकहरूको आवतजावतका लागि गरिन्छ । यो विमान पुटुमायो प्रान्तको पुएर्तो लेगुइजामो सहर नजिक दुर्घटनाग्रस्त भएको हो । घटनास्थलमा पठाइएका आपतकालीन उद्धारकर्मीहरूले विमानको भग्नावशेषमा जीवित बचेकाहरूको खोजी गरिरहेका छन् । कोलम्बियाका रक्षामन्त्री पेद्रो सान्चेजले पेरू सीमाना नजिक भएको यस घटनालाई ‘देशका लागि अत्यन्त दुःखद’ भएको बताएका छन् । सान्चेजले पछि जानकारी दिँदै विमानमा आगलागी भएपछि त्यसभित्र रहेको गोलाबारुद विस्फोट भएको बताएका छन्। एक सैन्य स्रोतले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार दुर्घटनामा कुल ६६ जनाको मृत्यु भएको छ । यो घटना कोलम्बियाली वायु सेनाको हालैको इतिहासकै सबैभन्दा घातक दुर्घटनामध्ये एक हो । स्थानीय सञ्चारमाध्यमहरूले घाइते सैनिकहरूलाई स्थानीय बासिन्दाहरूले साना मोटरसाइकलमार्फत अस्पताल पुर्याइरहेको दृश्य पनि देखाएका छन् । राष्ट्रपति गुस्ताभो पेत्रोले एक्समा लेखेका छन्, ‘यो भयानक दुर्घटना हुनु हुँदैनथ्यो ।’ यद्यपि, उनले दुर्घटनाको कारण स्पष्ट गरेका छैनन् । सेनाले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत जनाएको छ, ‘पुएर्तो लेगुइजामोमा भएको हरक्युलिस विमान दुर्घटनापछि घाइतेहरूको सहयोगका लागि हाम्रा सैनिकहरू घटनास्थलमा पुगेका छन् ।’ सेनाले आफ्नो पोस्टमा विभिन्न तस्वीरहरू सार्वजनिक गर्दै घाइतेहरूलाई विशेष उपचारका लागि सारिँदै गरेको जानकारी दिएको छ । सेनाले भनेको छ, ‘हामी सम्पूर्ण कोलम्बियाली जनताको एकता र उद्धार, सुरक्षा तथा राहत कार्यमा सहयोग गर्ने संस्थाहरू प्रति कृतज्ञ छौं ।’ यसैबीच, समाचार एजेन्सी रोयटर्सले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ कि सोमबार कोलम्बियाली वायु सेनाको एउटा विमान, जसमा १२५ जना सवार थिए, देशको दक्षिणी अमेजन क्षेत्रमा उडान भरेलगत्तै दुर्घटनाग्रस्त भएको हो ।’
थप १२ देशले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने, अप्रिल २ देखि ५० राष्ट्रमा लागू हुने
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले कम्बोडिया, इथियोपिया र जर्जियासहित थप १२ देशका विदेशीहरूले भिसा प्राप्त गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने बताएको छ । अमेरिकी विदेश मन्त्रालयले भनेको छ, ‘पछिल्लो निर्णयले ट्रम्प प्रशासनको ‘भिसा बन्ड कार्यक्रम’ अप्रिल २ देखि लागू हुने गरी ५० राष्ट्रहरूमा ल्याउनेछ ।’ यो कार्यक्रम, जुन छोटो अवधिको व्यापार र पर्यटन भिसा दुवैमा लागू हुन्छ, गत वर्ष अवैध आप्रवासनमाथि ट्रम्प प्रशासनको सामूहिक दमनको एक भागको रूपमा ‘भिसा अनुमतिभन्दा बढी’ समय बस्ने विदेशीलाई त्यसो गर्नबाट रोक्नका लागि सुरु गरिएको हो । यदि आवेदकले सबै भिसा सर्तहरू पालना गरेमा रकम फिर्ता गरिनेछ । यदि आवेदक समय सीमा भन्दा धेरै समय संयुक्त राज्य अमेरिकामा रहेमा रकम जफत गरिनेछ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको तथ्य पत्रमा भनिएको छ, ‘यस कार्यक्रम अन्तर्गत करिब एक हजार विदेशीहरूलाई भिसा जारी गरिएको छ र सर्तमा बाँधिएका ९७ प्रतिशत यात्रीहरू समयमै अमेरिकाबाट स्वदेश फर्किएका छन् ।’ कम्बोडिया, इथियोपिया, जर्जिया, ग्रेनाडा, लेसोथो, मौरिसस, मङ्गोलिया, मोजाम्बिक, निकारागुआ, पपुवा न्युगिनी, सेसेल्स र ट्युनिसिया गरी नयाँ राष्ट्रहरु यस कार्यक्रममा थपिएका छन् । अन्य ३८ देशमा अल्जेरिया, अङ्गोला, एन्टिगुवा र बार्बुडा, बङ्गलादेश, बेनिन, भुटान, बोत्सवाना, बुरुन्डी, काबो भर्दे, मध्य अफ्रिकी गणतन्त्र, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका र फिजी रहेका छन् । यो समूहमा गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोमे, प्रिन्सेपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, तुभालु, युगान्डा, भानुआटु, भेनेजुएला, जाम्बिया र जिम्बावेलाई पनि समावेश गरिएको थियो ।