अदालतको एक फैसलाले मस्क मालामाल, नेटवर्थ ७०० अर्ब डलर पार गर्ने पहिलो व्यक्ति

काठमाडौं । हाल विश्वमा एक व्यक्तिमाथि अपार धन वर्षा भइरहेको छ । सम्पत्ति यति तीव्र गतिमा बढिरहेको छ कि उनी प्रायः हरेक दिन नयाँ कीर्तिमान बनाइरहेका छन् । ती व्यक्ति हुन्- एलन मस्क । रोयटर्सका अनुसार एलन मस्क इतिहासकै पहिलो व्यक्ति बनेका छन्, जसको नेटवर्थ ७०० अर्ब अमेरिकी डलर नाघेको छ । इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लामा मस्कलाई दिइएको ठूलो पारिश्रमिक प्याकेज अदालतको निर्णयबाट पुनः बहाल भएपछि उनको सम्पत्तिमा यसरी भारी वृद्धि भएको हो । गत हप्ता डेलावेयर सुप्रीम कोर्टले मस्कलाई सन् २०१८ मा दिइएको पारिश्रमिक प्याकेजसँग सम्बन्धित स्टक अप्सन पुनः बहाल गरिदिएको हो । यसअघि एक तल्लो अदालतले ती स्टक अप्सन रद्द गरेको थियो । यस निर्णयपछि मस्कको अनुमानित सम्पत्ति बढेर करिब ७४९ अर्ब डलर पुगेको छ । ती स्टक अप्सनको मूल्य अहिले करिब १३९ अर्ब डलर पुगेको छ, जुन पहिलो पटक सम्झौता स्वीकृत हुँदा रहेको ५६ अर्ब डलरको तुलनामा धेरै बढी हो । उच्च अदालतले एलन मस्कको पारिश्रमिक प्याकेज रद्द गर्ने अघिल्लो निर्णय गलत र अनुचित रहेको ठहर गरेको छ । अदालतले सन् २०२४ मा गरिएको त्यो फैसला उल्ट्याएको हो, जसमा उक्त सम्झौतालाई ‘अविश्वसनीय’ भनिएको थियो । प्याकेज पुनः बहाल भएपछि मस्कको सम्पत्तिमा अभूतपूर्व वृद्धि भयो र उनी ठूलो अन्तरसहित विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । गत नोभेम्बरमा टेस्लाका शेयरधारकहरूले एलन मस्कका लागि १ ट्रिलियन डलर बराबरको नयाँ पारिश्रमिक योजना स्वीकृत गरेका थिए । यो कुनै पनि कर्पोरेट कार्यकारीलाई अहिलेसम्म दिइएको सबैभन्दा ठूलो पारिश्रमिक प्याकेज हो । यसले टेस्लालाई केवल इलेक्ट्रिक कारमै सीमित नराखी कृत्रिम बौद्धिकता ९एआई० र रोबोटिक्स क्षेत्रमा पनि अगुवा बनाउने मस्कको योजनाप्रति लगानीकर्ताको बलियो समर्थन देखाउँछ । एलन मस्कका महँगा परियोजना टेस्लासम्म मात्र सीमित छैनन् । उनी स्पेशएक्सका संस्थापक तथा सीईओ हुन्, जुन पुनः प्रयोग गर्न मिल्ने रकेट र स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाका लागि चर्चित छ । उनका परियोजनामध्ये न्यूरालिंक पनि पर्छ, जसले ब्रेन(कम्प्युटर इन्टरफेस विकास गरिरहेको छ । उनी बोरिङ कम्पनीसँग पनि आबद्ध छन्, जसले सुरुङ निर्माण र नयाँ यातायात प्रणालीमा काम गर्छ । मस्क एक्स कर्प डटका प्रमुख पनि हुन्, जुन पहिले ट्वीटर भनेर चिनिने सामाजिक सञ्जाल प्लेटफर्मको प्यारेन्ट कम्पनी हो । साथै उनी एक्सएआई नामक एआई अनुसन्धान कम्पनीको पनि नेतृत्व गरिरहेका छन्। फोर्ब्सको सूचीअनुसार एलन मस्कको सम्पत्ति अहिले उनका सबैभन्दा नजिकका प्रतिस्पर्धी गुगलका सह–संस्थापक ल्यारी पेजभन्दा करिब ५०० अर्ब डलरले बढी छ । यसै हप्ताको सुरुवातमा मात्र मस्कको नेटवर्थ पहिलो पटक ६०० अर्ब डलर नाघेको थियो । स्पेसएक्सको आईपीओ आउने पनि कुरा छ जसले भविष्यमा उनको सम्पत्ति अझ बढ्न सक्ने संकेत गरेको छ ।

प्रविधि युद्धमा अमेरिकाको दबदबा, चीन अझै पछाडि

काठमाडौं । अमेरिका र चीनबीच लामो समयदेखि व्यापार युद्ध चलिरहेको छ । प्रविधिको दुनियाँमा अमेरिकाको दबदबा छ र चीन यस क्षेत्रमा उसलाई कडा चुनौती दिन चाहन्छ । तर संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनका लागि यो काम सजिलो भने छैन ।  यसको कारण के हो भने अमेरिकामा वार्षिक नेट नाफा १ अर्ब डलरभन्दा बढी हुने ६२ वटा प्रविधि कम्पनी छन् । चीनमा भने यस्ता कम्पनी केवल १५ वटा मात्र छन् । यसले स्पष्ट देखाउँछ कि चीनले अझै लामो बाटो तय गर्न बाँकी छ । चीन, जापान, ताइवान र युरोजोनका शीर्ष प्रविधि कम्पनीहरूलाई समेत जोड्दा पनि अमेरिका एक्लै यी सबैभन्दा अगाडि देखिन्छ । यी देशहरूमा वार्षिक नाफा १ अर्ब डलरभन्दा बढी हुने जम्मा ४१ वटा प्रविधि कम्पनी छन् ।  संसारका १० ठूला कम्पनीमध्ये ८ वटा अमेरिकाका प्रविधि कम्पनी हुन् । तीमध्ये एनभीडीया, एप्पल, अल्फाबेट, माइक्रोसफ्ट, अमेजन, मेटा प्लेटफर्म्स, टेस्ला र ब्रडकम पर्छन् । यी सबै कम्पनीहरूको बजार पुँजीकरण १ ट्रिलियन डलरभन्दा बढी छ । त्यसैगरी, संसारका सबैभन्दा बढी इनोभेटिभ १० कम्पनीमध्ये ८ वटा अमेरिकाकै हुन् । यस सूचीमा सर्विसनाओ पहिलो स्थानमा छ। त्यसपछि वर्कडे, सेल्सफोर्स, टेस्ला, अमेजन, नेटफ्लिक्स र इनसाइट पर्छन् । यी सबै अमेरिकी कम्पनीहरू हुन् ।  भारतको हिन्दुस्तान युनिलिभर यस सूचीमा आठौं र दक्षिण कोरियाको नेभर नवौं स्थानमा छन् । अमेरिकाकै फेसबुक यस सूचीमा दशाैं स्थानमा छ । यदि शीर्ष २५ इनोभेटिभ कम्पनीहरू हेर्ने हो भने तीमध्ये १८ वटा अमेरिकाकै छन् ।

डीभी कार्यक्रम बन्द गर्ने अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ (डाइभर्सिटी भिसा) योजना स्थगित गरेको छ । ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त योजना तत्कालका लागि रोक्ने निर्णय गरेका हुन् । ब्राउन युनिभर्सिटी गोलीकाण्डका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए । उनी सन् २०१७ मा डाइभर्सिटी इमिग्रेन्ट भिसा कार्यक्रम (डीभी) मार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेका थिए । अमेरिकी होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार ग्रीन कार्ड लटरी योजना स्थगित गरिएको जानकारी दिइन् । अब कुनै पनि अमेरिकी नागरिकलाई हानि नहोस् भन्ने सुनिश्चित गर्न यस्तो निर्णय लिइएको उनको भनाइ छ । अमेरिकी अधिकारीहरूका अनुसार नेभेस भालेन्तेले यसै हप्ता पोर्चुगिज मूलका म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक नुनो लुरेइरोको समेत हत्या गरेको आशंका गरिएको छ । डाइभर्सिटी भिसा कार्यक्रमअन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका देशका आवेदकहरूमध्येबाट चिठ्ठा प्रणालीमार्फत प्रत्येक वर्ष अधिकतम ५० हजार भिसा प्रदान गरिँदै आएको छ । यस कार्यक्रममार्फत नेपालीहरू पनि डीभी परेर अमेरिका जाने र ग्रीन कार्ड प्राप्त गरी बसोबास गर्ने गरेका छन् ।