पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत

अडानीविरुद्ध लगाइएको आपराधिक ठगी मुद्दा पनि फिर्ता हुनसक्ने सम्भावना ।

काठमाडौं । भारतीय अर्बपति गौतम अडानी र उनका भतिजा सागर अडानीले ठगीसम्बन्धी आरोपमा अमेरिकी प्रतिभूति तथा विनिमय आयोग (एसईसी) सँग भएको सम्झौताअन्तर्गत १ करोड ८० लाख डलर तिर्न सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी प्रतिभूति तथा विनिमय आयोगले बिहीबार भारतीय अर्बपति गौतम अडानी र उनका भतिजा सागर अडानीविरुद्ध लगाइएको लगानीकर्तालाई भ्रममा पारेको आरोपसम्बन्धी नागरिक मुद्दामा भएको सम्झौतालाई अदालतबाट अनुमोदन गराउन माग गरेको हो ।

सम्झौताअनुसार गौतम अडानीले ६० लाख डलर र सागर अडानीले १ करोड २० लाख डलर तिर्नेछन् ।

भारतीय नवीकरणीय ऊर्जा कम्पनी अडानी ग्रीन इनर्जीले भारतीय सेयर बजारमा दर्ता गराएको विवरणअनुसार दुवैले ‘नागरिक उजुरीमा लगाइएका आरोप स्वीकार वा अस्वीकार नगरी अन्तिम फैसला लागू गर्न’ तथा जरिवाना तिर्न सहमति जनाएका हुन्।

कम्पनीले आफू यी कानुनी प्रक्रियाको हिस्सा नभएको र ‘यसविरुद्ध कुनै आरोप नलगाइएको’ पनि स्पष्ट पारेको छ ।

एसईसीले गौतम र सागर अडानीसँगै अजुर पावर ग्लोबलका कार्यकारीहरूविरुद्ध दायर गरेको नागरिक उजुरी भारत सरकारद्वारा प्रदान गरिएका सौर्य ऊर्जा ठेक्कासँग जोडिएको घुसकाण्डसम्बन्धी आरोपमा केन्द्रित थियो ।

धेरै सञ्चारमाध्यमका अनुसार अमेरिकी न्याय विभागले अडानीविरुद्ध लगाइएको आपराधिक ठगी मुद्दा पनि फिर्ता लिन सक्ने सम्भावना छ ।

सन् २०२४ नोभेम्बरमा न्यूयोर्कको संघीय अदालतले गौतम अडानीसहित अन्य सात जनाविरुद्ध कथित घुसखोरी र ठगी योजनासम्बन्धी आपराधिक अभियोग दर्ता गरेको थियो ।

अदालतका कागजातअनुसार अभियोजनकर्ताहरूले प्रतिवादीहरूले भारतीय सरकारी अधिकारीहरूलाई २५ करोड डलरभन्दा बढी घुस दिएको, लगानीकर्ता तथा बैंकहरूलाई भ्रममा पारेर अर्बौं डलर उठाएको तथा न्याय प्रक्रियामा अवरोध सिर्जना गरेको आरोप लगाएका थिए ।

अभियोगको केन्द्रमा रहेको गतिविधि भारतमा भए पनि रकम संकलनको प्रक्रिया अमेरिकामा भएकाले उनीहरूलाई ब्रुकलिन संघीय अदालतमा मुद्दा चलाइएको थियो ।

अडानी ग्रुपले अमेरिकी अधिकारीहरूले लगाएका आरोपलाई ‘आधारहीन’ भन्दै अस्वीकार गर्दै आएको छ ।

गत महिना वाशिङ्टनस्थित अमेरिकी न्याय विभागको मुख्यालयमा भएको बैठकमा अडानी पक्षका कानुनी टोलीका प्रमुख रोबर्ट जे. गिउफ्रा जुनियरले अभियोजनकर्तासँग ‘आधारभूत प्रमाण नै नभएको तर्क राखेका थिए, जुन कुरा बिहीबार द न्यू योर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टअनुसार भारतीय व्यवसायी अडानीले अमेरिकी अर्थतन्त्रमा १० अर्ब डलर लगानी गर्ने र १५ हजार रोजगारी सिर्जना गर्ने प्रस्ताव पनि गरेका थिए ।

भारतको अडानी समूहका अध्यक्ष गौतम अडानीले बन्दरगाह, ऊर्जा तथा पूर्वाधारसम्म फैलिएको विशाल व्यापारिक साम्राज्य सञ्चालन गर्छन् । यो समूहअन्तर्गत ११ वटा सार्वजनिक रूपमा सूचीकृत कम्पनीहरू छन्, जसमा अडानी परिवारको धेरैमा बहुमत स्वामित्व रहेको छ ।

सन् २०२३ मा छोटो अवधिका लगानीकर्ता संस्था हिन्डरबर्ग रिसर्चले सार्वजनिक गरेको प्रतिवेदनपछि पनि समूहमाथि लेखा ठगी र सेयर मूल्य हेरफेरको आरोप लाग्दै आएको छ । अडानी समूहले ती आरोपहरू पनि बारम्बार अस्वीकार गर्दै आएको छ ।

Share News