ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई नजरबन्दमा राख्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई हाउस अरेस्ट (घरमै नजरबन्द) गर्न आदेश दिएको छ । बोल्सोनारोमाथि अवैधानिक सत्ता कब्जाको आरोपमा मुद्दा चलाइएको छ । बोल्सोनारोले आफू अवैधानिक सत्ता कब्जाको कथित योजनामा संलग्न नरहेको दाबी गरेका छन् । न्यायाधीश एलेक्जेन्डर डी मोरेसले भने अनुसार यो निर्णय त्यसकारण लिइएको हो किनभने बोल्सोनारोले गत महिनामा आफूमाथि लगाइएको प्रतिबन्धको उल्लंघन गरेका थिए । यस विषयमा बोल्सोनारोको कानुनी टोलीले प्रतिबन्धको उल्लंघन गरिएको दाबी अस्वीकार गरेको छ र उक्त आदेशविरुद्ध अपील गर्ने बताएका छन् । अमेरिकाले भने ब्राजिलको सर्वोच्च अदालतको उक्त आदेशको निन्दा गरेको छ । ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो सन् २०१९ देखि २०२२ सम्म राष्ट्रपति पदमा रहेका थिए । उनले आफ्नो कार्यकालको अन्त्यतिर ब्राजिलमा राजनीतिक रूपमा अत्यन्त विभाजित वातावरण सिर्जना गरेका थिए । २०२३ को जनवरीमा बोल्सोनारोका समर्थकहरूले चुनावमा हार स्वीकार नगरी ब्राजिलको संसद, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेका थिए ।  बोल्सोनारोमाथि त्यस घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नताको आशंका गर्दै ब्राजिलको सर्वोच्च अदालतले अनुसन्धान अगाडि बढाएको छ । यही सन्दर्भमा उनलाई गत महिना राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाइएको थियो, जसको उल्लंघन गरेको आरोपमा अब उनलाई घरमै नजरबन्द गर्न आदेश दिइएको हो ।

चरासँग ठोक्किएर क्षति पुगेपछि आइबेरियाको उडान म्याड्रिड फर्कियो

काठमाडौं । चरासँग ठोक्किएर क्षति पुगेपछि आइबेरियाको उडान म्याड्रिड फर्किएको छ ।  म्याड्रिडको एडोल्फो–सुआरेज–बाराजास विमानस्थलबाट पेरिस ओर्ली विमानस्थलका लागि उडेको आइबेरियाको उडान उडेको केही समयपछि नै चराले ठक्कर दिएको थियो । त्यसपछि विमानस्थल फर्किएको हो ।  ठोक्किएपछि विमान सुरक्षित अवतरण गर्न सफल भयो । विमानको अगाडिको भागमा क्षति पुगेको छ भने विमानको एउटा इन्जिनमा पनि क्षति पुगेको छ ।   

ट्रम्पको धम्कीपछि पनि रुसी तेल किन्न जारी राख्ने भारतको सङ्केत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बावजुद भारतले रुसबाट तेल किन्न जारी राख्ने सङ्केत गरेको छ । भारतीय विदेश मन्त्रालयले रुससँगको आफ्नो सम्बन्ध 'स्थिर र समयद्वारा परीक्षित' भएको र यसलाई तेस्रो देशको चश्माबाट हेर्नु नहुने बताएको छ । शुक्रबार साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बजारमा तेलको उपलब्धता र विद्यमान विश्वव्यापी परिस्थितिबाट आफ्नो ऊर्जा आवश्यकता सुरक्षित गर्न भारतको व्यापक दृष्टिकोण निर्देशित भएको बताए । नयाँदिल्लीले रुसी तेल खरिद गरेको कारण भारतबाट आउने सामानमा २५ प्रतिशत भन्सार शुल्क र अतिरिक्त आयात कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि यो टिप्पणी आएको हो । यो धम्की अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा युद्धविराम सहमति गर्न असफल भएकोमा रुसप्रति बढ्दो असन्तुष्टता देखाएको र प्रगति नभएमा नयाँ आर्थिक प्रतिबन्धहरूको धम्की दिनुभएको समयमा आएको हो । भारतले सन् २०२२ जनवरीमा रूसबाट प्रतिदिन ६८ हजार ब्यारेल कच्चा तेल खरिद गरेको थियो, तर सोही वर्षको जुनमा तेल आयात प्रतिदिन ११ लाख २० हजार ब्यारेल पुगेको थियो ।  दैनिक आयात सन् २०२३ मे महिनामा २१ लाख ५० हजार ब्यारेल पुगेको थियो र त्यसबेलादेखि फरक-फरक रहेको छ। प्रेस ट्रस्ट अफ इन्डियाले डाटा एनालिटिक्स कम्पनी केप्लरको तथ्याङ्क उद्धृत गर्दै रिपोर्ट गरेअनुसार आपूर्ति एक समयमा भारतको आयातको झण्डै ४० प्रतिशतसम्म पुगेको थियो, जसले मस्कोलाई नयाँदिल्लीको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता बनाएको थियो । भारतको दैनिक तेल खपत लगभग ५५ लाख ब्यारेल रहेको छ र त्यसमध्ये झण्डै ८८ प्रतिशत आयातबाट पूरा हुन्छ । देशले ऐतिहासिक रूपमा आफ्नो अधिकांश कच्चा तेल मध्यपूर्वबाट किनेको छ, तर सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि यो परिवर्तन भएको छ । चीन र अमेरिकापछि विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले पश्चिमी देशहरूले मस्कोलाई सजाय दिन त्यसलाई बहिष्कार गरेपछि छुटमा उपलब्ध रुसी तेल किन्न थालेको हो ।