चिपको दुनियाँमा मस्कको ‘इन्ट्री’ गिगाफ्याक्ट्री होइन, ‘टेराफ्याब’ को पालो

काठमाडौं । एलन मस्कले शनिबार आफ्नो कम्पनी टेस्लाको कृत्रिम बौद्धिकता (एआई) चिप निर्माण गर्ने ‘टेराफ्याब’ परियोजना सात दिनभित्र सुरु हुने बताएका छन् । मस्कले गत वर्ष नै टेस्लाले एआई चिप बनाउन ‘अत्यन्त ठूलो चिप कारखाना’ निर्माण गर्नुपर्ने सम्भावना रहेको बताएका थिए । टेस्लाले आफ्नो स्वचालित प्रविधि योजनालाई अघि बढाउन पाँचौं पुस्ताको एआई चिप डिजाइन गरिरहेको छ । गत वर्ष कम्पनीको वार्षिक बैठकमा मस्कले सम्भावित उत्पादन योजनाबारे पनि जानकारी दिएका थिए । त्यस समयमा उनले विद्युतीय सवारी निर्माता टेस्लाले इन्टेलसँग सहकार्य गर्न सक्ने सम्भावना रहेको बताएका थिए । उनले भनेका थिए, ‘सायद हामी इन्टेलसँग केही काम गर्न सक्छौं ।’ तर हालसम्म कुनै सम्झौता भने भइसकेको छैन । ‘हामीले कुनै सम्झौता गरेका छैनौं, तर इन्टेलसँग यस विषयमा छलफल गर्नु उपयुक्त हुन सक्छ,’ उनले भनेका थिए । मस्कले यसअघि पनि एआई ५ नामक चिपबारे संकेत दिएका थिए । साथै टेस्लाले ताइवानको टीएसएमसी र दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्ससँग पनि साझेदारी गरिरहेको बताएका छन् । यी एआई चिपहरू टेस्लाको स्वचालित ड्राइभिङ प्रणाली, विशेषगरी फुल सेल्फ ड्राइभिङ सफ्टवेयर सञ्चालनका लागि प्रयोग हुन्छन्। गत वर्ष टेस्लाको वार्षिक साधारणसभामा मस्कले भनेका थिए, ‘हामीले आपूर्तिकर्ताबाट सम्भावित सबैभन्दा राम्रो अवस्थाको चिप उत्पादनको अनुमान लगाए पनि त्यो पर्याप्त हुँदैन ।’ सम्भवतः हामीले ‘टेस्ला टेराफ्याब’ बनाउनुपर्ने हुन्छ। यो ‘गिगा’ भन्दा पनि धेरै ठूलो हुनेछ। हामीलाई आवश्यक पर्ने चिपको मात्रा उत्पादन गर्न अर्को कुनै उपाय देखिँदैन। त्यसैले अत्यन्त ठूलो चिप कारखाना बनाउनैपर्छ,’ उनले थपे ।

चीन र उत्तर कोरिया जोड्ने ‘मैत्री पुल’ मा ६ वर्षपछि गुड्यो रेल

काठमाडौं । करिब ६ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको छ । प्योङयाङबाट छुटेको रेल करिब २३ घण्टाको यात्रापछि शुक्रबार बिहान बेइजिङ आइपुगेको छ, जसले महामारीका कारण बन्द भएको दुई देशबीचको रेल आवागमन पुनः सुरु भएको संकेत दिएको छ । प्योङयाङबाट प्रस्थान गरेको के २८ नम्बरको रेल शुक्रबार बिहान ८ः३७ बजे (००३७ जिएमटी) बेइजिङ आइपुगेको बताइएको छ । कोरोना महामारीका बेला कडा सीमा बन्द गरिएपछि सन् २०२० देखि पूर्वी एसियाका यी दुई छिमेकीबीच रेल सेवा स्थगित भएको थियो । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा चिनिन्छ । त्यस्तै पृथक मानिने आणविक राष्ट्र उत्तर कोरियाका लागि चीन कूटनीतिक, आर्थिक तथा राजनीतिक समर्थनको महत्त्वपूर्ण स्रोतसमेत मानिन्छ । रेल सेवा पुनः सुरु हुनुलाई उत्तर कोरियामा विदेशीहरूको सीमित पहुँच पुनः खुल्न थालेको सङ्केतका रूपमा पनि हेरिएको छ । हालसम्म उत्तर कोरियाले सीमित व्यवस्थाअन्तर्गत केही रूसी नागरिकबाहेक अन्य विदेशी पर्यटकका लागि कडा प्रतिबन्ध लगाएको पर्यटन एजेन्सीहरूले बताएका छन् । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीका अनुसार बिहीबार उक्त रेल चीन र उत्तर कोरियालाई जोड्ने यालु नदीमाथिको चीन–कोरिया मैत्री पुल पार गरेको देखिएको थियो । यही नदीले उत्तर कोरियाको सिनुइजु सहर र चीनको उत्तरपूर्वी सहर डान्डोङलाई छुट्याउँछ । बिहीबार बेइजिङबाट प्योङयाङतर्फ प्रस्थान गरेको के २७ नम्बरको रेलमा सवार एएफपीका पत्रकारहरूले उत्तर कोरिया जाने यात्रुका लागि मात्र केही डिब्बा आरक्षित गरिएको देखेको बताएका छन् । ती डिब्बाहरू डान्डोङमा अर्को रेलसँग जोडेर सीमापार सिनुइजुतर्फ पठाइन्छ, जसबारे टुर एजेन्सीहरूले जानकारी दिएका छन् । सिनुइजु पुगेपछि ती डिब्बाहरू उत्तर कोरियाली घरेलु रेलका अन्य डिब्बासँग जोडेर प्योङयाङतर्फ जाने तेस्रो रेलमार्फत अन्तिम यात्रामा पठाइने व्यवस्था गरिएको बताइएको छ ।

किन १४ वर्षअघि नै पृथ्वी फर्कियो नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ ?

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाको एक अन्तरिक्षयान अपेक्षाभन्दा धेरै वर्ष पहिला नै पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गरेको छ । नासाका अनुसार ‘भान एलेन प्रोब–ए’ नामक अन्तरिक्षयान बुधबार बिहान ६ बजेर ३७ मिनेटमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो ।  यो अन्तरिक्षयान सन् २०१२ को अगस्टमा प्रक्षेपण गरिएको थियो र करिब १४ वर्षपछि वायुमण्डलमा फर्किएको हो। उक्त अन्तरिक्षयानलाई यसको जुम्ल्याहा अन्तरिक्षयान ‘भान एलेन प्रोब–बी’ सँगै पृथ्वी वरिपरि रहेको भान एलेन विकिरण घेराको अध्ययन गर्न पठाइएको थियो ।  अमेरिकी अन्तरिक्ष बलका अनुसार ‘भान एलेन प्रोब–ए’ प्रशान्त महासागरको पूर्वी भागमाथि वायुमण्डलमा पुनःप्रवेश गरेको हो । पृथ्वीको वायुमण्डल हुँदै प्रवेश गर्दा अन्तरिक्षयानको अधिकांश भाग जलेर नष्ट भएको अनुमान गरिएको छ, यद्यपि केही भाग बाँकी रहन सक्ने सम्भावना पनि रहेको नासाले जनाएको छ । यी अन्तरिक्षयानहरूले सन् २०१२ देखि २०१९ सम्म सक्रिय रूपमा काम गर्दै पृथ्वीको विकिरण घेरासम्बन्धी तथ्यांक सङ्कलन गरेका थिए । यस अभियानका क्रममा वैज्ञानिकहरूले तीव्र सौर्य गतिविधिका बेला अस्थायी रूपमा तेस्रो विकिरण घेरा बन्न सक्ने नयाँ तथ्यसमेत पत्ता लगाएका थिए । सन् २०१९ मा दुवै अन्तरिक्षयानको इन्धन समाप्त भएपछि अभियान समाप्त गरिएको थियो । त्यस बेला वैज्ञानिकहरूले ती अन्तरिक्षयान सन् २०३४ तिर पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गर्ने अनुमान गरेका थिए । तर हालको सौर्य चक्रमा अपेक्षाभन्दा बढी सौर्य गतिविधि भएका कारण वायुमण्डलीय घर्षण बढ्यो र अन्तरिक्षयानको कक्ष चाँडै घट्दै जाँदा यो अपेक्षाभन्दा पहिले नै पृथ्वीमा फर्किएको हो । नासाका अनुसार यस अभियानबाट संकलित तथ्यांकले अन्तरिक्ष मौसम र त्यसले उपग्रह, अन्तरिक्ष यात्री तथा पृथ्वीका सञ्चार, नेभिगेसन र विद्युत् प्रणालीमा पार्ने प्रभावबारे बुझ्न अझ सहयोग पुर्‍याइरहेको छ । नासाले ‘भान एलेन प्रोब–बी’ भने सन् २०३० भन्दा पहिले पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश नगर्ने अनुमान गरिएको जनाएको छ ।