सुरतका हीरामा ट्रम्पको ट्यारिफ संकट, २५ लाखभन्दा बढी कामदार प्रभावित

काठमाडौं । भारतको गुजरात स्टेटको सुरतस्थित हीरा उद्योगका व्यापारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफका कारण चिन्तित छन् । सुरत संसारभर हीरा काट्ने र पोलिस गर्ने केन्द्रको रूपमा परिचित छ, तर अहिले यसै उद्योगमा भर पर्नेहरू जोखिममा छन् । अमेरिकाले लगाएको ५० प्रतिशत ट्यारिफले यस क्षेत्रका व्यापारीसँगै श्रमिकहरूलाई समेत चिन्तित बनाएको छ । हिरा उद्योगसँग जोडिएका २५ लाखभन्दा बढी कामदार प्रभावित हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाउँदा यसको सबैभन्दा ठूलो असर सुरतको हीरा उद्योगमा परेको छ किनकि यो उद्योग अमेरिकामा हुने निर्यातमै धेरै भर पर्छ । कसैकसैको धारणा छ– यदि ट्यारिफ घटाइएन भने धेरै व्यापारी उद्योगबाट बाहिरिनेछन्, कामदारले रोजगारी गुमाउनेछन् र गहिरो मन्दी आउनेछ । तर अर्कोतर्फ सुरत डायमन्ड एसोसिएसन र साउथ गुजरात चेम्बर अफ कमर्सजस्ता संस्थाहरू भने अमेरिकी ट्यारिफले केही मन्दी ल्याउने भए पनि समयसँगै अवस्था स्थिर हुने बताउँछन् । उनीहरूको भनाइमा भारतलाई जति हीरा उद्योग चाहिन्छ, अमेरिकामा पनि त्यत्तिकै माग छ । त्यसैले त्यहाँका व्यापारीहरू समेत समाधान खोजिरहेका छन् । सुरतका कारखानामा ट्रम्पको ट्यारिफको असर सुरतका सडकमा बिहान बेलुकी ट्राफिक जाम हुनु सामान्य कुरा हो, किनकि त्यही बेला कालिगढहरू काममा जाने वा फर्किने गर्दछन् । सहरका सयौं साना फ्याक्ट्रीहरूमा २० देखि २०० सम्म श्रमिकहरू काम गर्छन् । कतिपयमा यो संख्या ५०० सम्म पुग्छ । सुरतमा हजारौं यस्ता कारखाना छन् । कतारगामस्थित एक हीरा पालिस गर्ने क्षेत्रमा धुलो जमेको छ, पोलिस गर्ने चक्की धेरै दिनदेखि बन्द छ । केवल छ जना मात्र काम गरिरहेका छन् । त्यहाँका एक कालिगढ भन्छन्, ‘पहिले यहाँ कालिगढहरूको भीड लाग्थ्यो । भर्खरै धेरैलाई कामबाट निकालियो । अब हाम्रो भविष्य के हुन्छ भन्ने थाहा छैन ।’ यो अवस्था सुरतका धेरै साना–ठूला कारखानामा देखिएको छ । २० वर्षअघि शैलेश मंगुकियाले एउटा पोलिसिङ चक्कीबाट व्यवसाय सुरुवात गरेका थिए । विस्तारै व्यापार बढ्दै गयो, श्रमिक संख्या ३ बाट ३०० पुग्यो । तर अहिले उनको कारखानामा केवल ७० मात्र बाँकी छन् । बीबीसी गुजरातीसँग उनले भने, ‘सबै अर्डर रद्द भएका छन् । मजदुरलाई काम छैन भन्नुपरेको छ । यो धेरै पीडादायी अवस्था हो, किनकि कसलाई राख्ने, कसलाई निकाल्ने भन्ने नै थाहा छैन । सबै परिवारका सदस्यजस्तै छन् । तर अर्डर नभएकाले काम छैन, काम नभएकाले तलब दिनसक्ने स्थिति छैन ।’ गत वर्ष अगस्टमा महिनामा करिब २ हजार हीरा प्रोसेस हुन्थे, यो वर्ष मात्र ३०० मा झरेको छ । यदि यस्तो नै रह्यो भने कारखाना बन्द गर्नुपर्ने डर उनी व्यक्त गर्छन् । सुरेश राठौरजस्ता श्रमिकहरू भन्छन्, ‘साधारणतया जन्माष्टमीमा हामीलाई दुई दिन बिदा मिल्थ्यो । यसपालि भने १० दिन तलबबिनाको बिदा दिइयो । मालिक के गर्ने ? अर्डर नै छैन ।’ सुरत डायमन्ड पालिसर्स युनियनका उपाध्यक्ष भावेश टांक भन्छन्, ‘धेरै कालिगढहरूले तलब कटौती वा रोजगारी गुम्ने गुनासो गरिरहेका छन् ।’ उनका अनुसार धेरै फ्याक्ट्रीले अगस्ट १ अघि नै माल पठाइसकेका थिए । त्यसैले नयाँ अर्डर पाइएन र हजारौं मजदुरको आम्दानी घट्यो । निर्यातकर्ताहरू समेत अनिश्चिततामा छन् । उद्योग जगतले एउटा विशेष ‘डायमन्ड टास्क फोर्स’ बनाएर समाधान खोज्ने कोसिस गरिरहेको छ । दक्षिण गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष निखिल मद्रासी भन्छन्, ‘अमेरिकी बजारमा अत्यधिक निर्भरता भएकाले दीर्घकालीन असर ठूलो हुनेछ । पुराना अर्डर त पुरा भए, तर नयाँ अर्डरको भविष्य अनिश्चित छ । सरकारले तत्काल सहयोग गर्नुपर्छ ।’ कतिपय व्यापारी मध्यपूर्व र युरोपतिर ढोका खोजिरहेका छन्, कोही बाइपास मार्ग प्रयोग गरेर अमेरिकासम्म सामान पुर्याउने प्रयासमा छन् । जेम एण्ड ज्युवलरी एक्सपोर्ट प्रमोशन काउन्सिल (जीजेईपीसी) का गुजरात अध्यक्ष जयन्तीभाइ सावलिया भन्छन्, ‘अब अमेरिकामाथिको निर्भरता घटाएर दुबई, अस्ट्रेलिया, युरोपजस्ता बजारमा ध्यान दिनुपर्ने बेला आएको छ । यदि अर्डर पाइएन भने मजदुरको तलब र रोजगारीमा प्रत्यक्ष असर पर्छ ।’ ‘हाल अमेरिकालाई हुने कुल निर्यात करिब १२ अर्ब डलर छ । यसमध्ये आधा मात्र अरू मुलुकमा सार्न सकियो भने सुरतको हिरा उद्योग जोगिन सक्छ,’ उनले थपे । सुरत डायमन्ड एसोसिएसनका अध्यक्ष जगदीश खुंट भन्छन्, ‘अमेरिका भारतीय हीराबिनाको कल्पना गर्न सक्दैन । विश्वका १५ मध्ये १४ वटा हीरा गुजरातमै कलात्मक बनाइन्छ । त्यसैले त्यहाँका व्यापारी पनि समाधान खोजिरहेका छन् ।’ गत वर्षमात्र अमेरिकाले भारतबाट करिब ११.५८ अर्ब डलर मूल्यका हीरा आभूषण आयात गरेको थियो । यसमध्ये ५.६ अर्ब डलर पालिस गरिएका हीरा थिए । गत वर्षसम्म पालिस गरिएका हीरामा कुनै कर थिएन, तर अहिले बढेको करले सम्पूर्ण व्यापार हल्लाएको छ । सुरतका कारखानामा अहिले डर र असमञ्जसको वातावरण छ । दैनिक ज्याला मजदुरी गर्नेका लागि तलब कटौती वा बिनातलबको बिदा सहन कठिन भइरहेको छ। व्यापारी नयाँ बजार खोज्दैछन् भने मजदुरहरू रोजगारी गुम्ने त्रासमा छन् । शैलेश मंगुकिया आँखाभरि आँसु पारेर भन्छन्, ‘यहाँको चमक बिस्तारै मन्द हुँदै गइरहेको छ... र यो फेरी फर्केर आउला कि आउँदैन, थाहा छैन।’ बीबीसी हिन्दीबाट अनुदित तथा सम्पादित सामग्री अमेरिकी करको मारले कोरियाली अर्थतन्त्र संकटमा एनभीडीयाको आम्दानी ५६ प्रतिशत वृद्धि, तर सेयर किन घट्दैछ ?  

पिटर नवारोको आरोप– भारतले रुसलाई वित्तीय सहयोग गरिरहेको छ

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोले भारतले रूसको युद्धलाई वित्तीय सहयोग गरिरहेको आरोप लगाएका छन् । साथै उनले यस युद्धलाई ‘मोदीको युद्ध’ समेत भने । नवारोले बुधबार ब्लूमबर्ग टेलिभिजनको कार्यक्रममा भनेका छन्, ‘यदि भारतले रूसी तेल किन्ने काम बन्द गर्छ भने उसले २५ प्रतिशत छुट पाउन सक्छ ।’ ‘मोदी एक महान नेता हुन्, भारत एक परिपक्व लोकतन्त्र हो, तर पनि उनीहरू हामीलाई सिधा हेरी भन्छन् कि उनीहरूको देशमा विश्वकै सबैभन्दा बढी ट्यारिफ छैन, जबकि वास्तविकता त्यस्तो छैन,’ उनले थपे । पिटर नवारोले रुसले  भारतको पैसा आफ्नो युद्ध मेसिन चलाउन प्रयोग गर्ने र बढी युक्रेनी मारिने पनि बताए । साथै उनले अमेरिका र युरोपकोमा आएर युक्रेनले पैसा माग्ने पनि बताए । ‘यसरी अमेरिकी जनतालाई नोक्सान हुन्छ किनभने हामी मोदीको युद्धलाई फन्ड गर्न बाध्य हुन्छौं,’ उनले भने । ‘जब भारतले सस्तो रूसी तेल किन्छ र भारतीय रिफाइनरीहरूले रूसी रिफाइनरीसँग मिलेर त्यसलाई विश्वका अन्य ठाउँमा महँगो मूल्यमा बेच्छन्, तब प्रत्येक अमेरिकी नागरिकको नोक्सान हुन्छ,’ उनले थपे ।

एनभीडीयाको आम्दानी ५६ प्रतिशत वृद्धि, तर सेयर किन घट्दैछ ?

काठमाडौं । एनभीडीयाले बुधबार आय र आम्दानी दुबै क्षेत्रमा विश्लेषकहरूको अनुमानभन्दा राम्रो नतिजा सार्वजनिक गर्‍यो । यस त्रैमासिकमा बिक्री वृद्धि ५० प्रतिशतभन्दा माथि रहने अनुमान गरिएको छ, जसले वाल स्ट्रिटलाई कृत्रिम बौद्धिकता (एआई) पूर्वाधारको माग अझै पनि उच्च रहेको संकेत दिएको छ । तर, २०२४ मा करिब तीन गुणा बढेको र यस वर्षमात्रै ३५ प्रतिशत उकालो लागेको सेयर विस्तारित कारोबारमा घट्यो, किनभने कम्पनीको डेटा सेन्टर आम्दानी लगातार दोस्रो त्रैमासिकमा अपेक्षाभन्दा कम रह्यो । विश्लेषकहरूको अनुमानसँग तुलना गर्दा कम्पनीको नतिजा  प्रति सेयर आम्दानी (ईपीएस) : १.०५ (समायोजित) र १.०१ (अनुमानित) आम्दानी ४६.७४ अर्ब र ४६.०६ अर्ब (अनुमानित) एनभीडीयाले यो त्रैमासिकमा ५४ अर्ब डलर आम्दानी हुने अनुमान गरेको छ (२ प्रतिशत वृद्धिदर), तर यसमा चीनतर्फ एचटुओ चिपको ढुवानी समावेश गरिएको छैन । विश्लेषकहरूले ५३.१ अर्ब आम्दानी हुने अनुमान गरेका थिए । २०२६ को दोस्रो त्रैमासिक नतिजाले एनभीडीयाको डेटा सेन्टर व्यवसाय विश्वव्यापी एआई विस्तारको केन्द्रमा रहेको पुष्टि गरेको छ । वित्त प्रमुख कोलेट क्रेसले भनेअनुसार दशकको अन्त्यसम्म एआई पूर्वाधारमा ३ देखि ४ ट्रिलियन डलरसम्म खर्च हुने अनुमान छ । आम्दानी वृद्धि एनभीडीयाको कुल आम्दानी गत वर्षको ३०.०४ अर्बबाट ५६ प्रतिशत बढेर ४६.७४ अर्ब पुगेको छ । लगातार नौ त्रैमासिकदेखि वार्षिक आम्दानी वृद्धि ५० प्रतिशत माथि छ, जुन सन् २०२३ को मध्यदेखि जेनेरेटिभ एआईको माग बढ्न थालेयता देखिएको हो । तर, यस अवधिमा यो सबैभन्दा सुस्त वृद्धि भएको त्रैमासिक हो । सीईओ जेन्सेन हुआङले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि एनभीडीयाले चीनतर्फ एचटुओ चिप पठाउन अमेरिकी अनुमति पाउने अपेक्षा गरेको थियो । तर यो प्रोसेसर वाणिज्यिक (व्यवसायिक ढंगले बजारमा बिक्री वा कारोबार गर्न मिल्ने अवस्था) रूपमा उपलब्ध नभएको कारण कम्पनीलाई ४.५ अर्बको घाटा भयो र करिब ८ अर्ब आम्दानी गुम्यो । यस त्रैमासिकमा चीनलाई एचटुओ चिप पठाउन नसके पनि चीनबाहिरका एक ग्राहकलाई १८० मिलियन बराबरको एचटुओ स्टक बेचेको कम्पनीले जनाएको छ । क्रेसका अनुसार यदि भूराजनीतिक परिस्थिति अनुकूल भए एनभीडीयाले यस त्रैमासिकमा २ देखि  ५ अर्बसम्म एचटु‌ओ चिप पठाउन सक्छ । शुद्ध नाफा ५९ प्रतिशत बढेर २६.४२ अर्ब (प्रति सेयर १.०५) पुगेको छ, जुन गत वर्षको १६.६ अर्ब (प्रति सेयर ६७ सेन्ट) थियो । डेटा सेन्टर व्यवसाय एनभीडीयाको डेटा सेन्टर व्यवसाय जसले जीपीयू र त्यसलाई जोड्ने/चलाउने अन्य उत्पादनहरूमा केन्द्रित छ, गत वर्षको तुलनामा ५६ प्रतिशत बढेर ४१.१ अर्ब पुगेको छ, तर विश्लेषकहरूको ४१.३४ अर्ब अनुमानभन्दा कम रह्यो । ३३.८ अर्ब जीपीयू चिप बिक्रीबाट (गत त्रैमासिकको तुलनामा १ प्रतिशत घटेको) ७.३ अर्ब नेटवर्किङ पार्ट्स बिक्रीबाट (गत वर्षको भन्दा लगभग दोब्बर) ठूला क्लाउड प्रदायकहरू (मेटा, अल्फाबेट, माइक्रोसफ्ट, अमेजन) एनभीडीयाको डेटा सेन्टर बिक्रीको करिब आधा हिस्सा बनाउँछन् । उनीहरूले अहिले कम्पनीको नयाँ ब्लाकवेल चिप खरिद गरिरहेका छन् । ब्लाकवेल चिप बिक्री गत त्रैमासिकको तुलनामा १७ प्रतिशत बढेको छ । मे महिनासम्म नयाँ प्रोडक्ट लाइनले २७ अर्ब आम्दानी गरेको थियो, जसले कुल डाटा सेन्टर आम्दानीको ७० प्रतिशत हिस्सा ओगटेको छ । अन्य व्यवसायहरू गेमिङ डिभिजन : ४.३ अर्ब आम्दानी, गत वर्षभन्दा ४९ प्रतिशत वृद्धि  रोबोटिक्स डिभिजन : ५८६ मिलियन आम्दानी, वार्षिक आधारमा ६९ प्रतिशत वृद्धि कम्पनीले अतिरिक्त ६० अर्ब मूल्यको सेयर पुन: खरिद योजनालाई स्वीकृति दिएको छ, जसको समयसीमा छैन । यस त्रैमासिकमा मात्र कम्पनीले ९.७ अर्ब बराबरको आफ्नै सेयर पुन: खरिद गरेको छ । चीनको कडाइपछि एनभीडीयाको एच २० चिप उत्पादन संकटमा, ४.५ अर्ब डलर बराबरको स्टक घाटा