काठमाडौं । अमेरिका र इरानबीच युद्धविरामको अवधि बढाउन र हर्मुज जलडमरूमा लगाइएका प्रतिबन्धहरू हटाउने विषयमा बिहीबार एक सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई स्वीकृत गर्न बाँकी नै छ । यता इरानी सरकारी सञ्चारमाध्यमले यो अझै अन्तिम रूपमा सुनिश्चित भइनसकेको जनाएका छन् ।
यस मामिलाका जानकार चार स्रोतहरूका अनुसार यो सहमतिले युद्धविरामलाई थप ६० दिनका लागि बढाउनेछ । यसका साथै वार्ताकारहरूले इरानको आणविक कार्यक्रमजस्ता जटिल मुद्दाहरू सुल्झाउँदै गर्दा यो रणनीतिक जलमार्गमा यातायात सूचारु हुन दिने जनाएका छन् ।
यदि वासिङ्टन र तेहरानका नेतृत्वले यसलाई स्वीकृति दिएमा यो गत फेब्रुअरी २८ मा द्वन्द्व सुरु भएयता शान्तितर्फको सबैभन्दा ठूलो कदम हुनेछ ।
सम्भावित सहमतिको यो खबर दुई देशबीच एकअर्कामाथि भएका शृङ्खलाबद्ध आक्रमणहरू पछि आएको हो । यसअघि अप्रिलको सुरुमा युद्धविराम लागू भएको थियो ।
ट्रम्पले हालसम्म यस सम्झौतालाई अनुमोदन नगरेको स्रोतहरूले बताएका छन् । एक्सियसले पहिलोपटक सार्वजनिक गरेको यस प्रस्तावित सम्झौताबारे इरानले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
वार्ता टोली निकट स्रोतलाई उद्धृत गर्दै इरानको तस्निम समाचार एजेन्सीले सम्झौताको मस्यौदालाई अन्तिम रूप नदिइएको वा पुष्टि नगरिएको जनाएको छ ।
‘हामी अझै त्यहाँसम्म पुगिसकेका छैनौं, तर हामी निकै नजिक छौं र यसका लागि निरन्तर काम गरिरहनेछौं,’ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वासिङ्टनमा पत्रकारहरूलाई भने ।
‘हामी त्यहाँ पुग्छौं नै भनेर म ग्यारेन्टी दिन सक्दिनँ, तर अहिलेको अवस्थामा म यसप्रति निकै सकारात्मक छु,’ उनले थपे ।
ट्रम्प प्रशासनले यसअघि पनि धेरै पटक लडाइँ अन्त्य गर्ने सम्झौता नजिक पुगेको दाबी गरेको थियो, तर इरानले ती दाबीहरूको खण्डन गर्ने वा तिनलाई कम आँक्ने गरेको थियो ।
यस सम्झौताले जलडमरू भएर हुने अनियन्त्रित ढुवानीलाई स्पष्ट पार्नेछ र अमेरिकाले इरानी बन्दरगाहहरूमा गरेको नाकाबन्दी पनि हटाउनुपर्नेछ । अमेरिकाले इरानी तेल बिक्रीमा लगाएका केही प्रतिबन्धहरू पनि हटाउनेछ ।
विश्वको झन्डै पाँच भागको एक भाग तेल र तरल प्राकृतिक ग्यास आपूर्ति हुने प्रमुख पारगमन मार्ग, हर्मुज जलडमरू पुनः खुल्न सक्ने आशामा यी रिपोर्टहरूसँगै तेलको मूल्यमा गिरावट आएको छ ।
यसअघि अमेरिकी सेन्ट्रल कमाण्डले आफ्ना सेनाले पाँचवटा इरानी आक्रमणकारी ड्रोनहरू खसालेको र बन्दरगाह सहर बन्दर अब्बासमा रहेको एउटा भूमिगत नियन्त्रण केन्द्रमा प्रहार गरेको बताएको थियो, जहाँबाट छैटौं ड्रोन प्रक्षेपण गर्ने तयारी भइरहेको थियो । त्यसपछि कुवेती सेनाले आफ्नो देशतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक मिसाइललाई बीचैमा निष्क्रिय पारेको थियो । कुवेतमा ठूलो अमेरिकी सैन्य बेस (आधार शिविर) रहेको छ ।
एक अमेरिकी अधिकारीले इरानको बुशेहर नजिक अमेरिकी विमान खसालिएको कुरा अस्वीकार गरेका छन् । यसअघि इरानको सरकारी टेलिभिजनले त्यहाँ एउटा अमेरिकी विमान खसालिएको दाबी गरेको थियो, जसलाई अमेरिकी अधिकारीले खण्डन गरेका हुन् ।
यी घटनाहरू सीमित भए तापनि यसले तीन महिना लामो युद्ध अन्त्य गर्नका लागि जारी वार्ता कति नाजुक मोडमा छ भन्ने कुरालाई उजागर गर्दछ । यो युद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने विश्वव्यापी ऊर्जा बजारलाई अस्तव्यस्त बनाएको छ ।
नाम नबताउने सर्तमा एक अमेरिकी अधिकारीले यी प्रहारहरू प्रतिरक्षामूलक र युद्धविराम कायम राख्ने उद्देश्यले गरिएका बताएका छन् ।
इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले बन्दर अब्बास आक्रमणका लागि जिम्मेवार अमेरिकी बेसलाई आफूहरूले निशाना बनाएको र यस्ता घटना दोहोरिएमा ‘अझ निर्णायक जवाफ’ दिइने बताएको तस्निम समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
कुवेतले यस आक्रमणको भत्र्सना गर्दै इरानलाई यो गम्भीर तनाव तत्काल रोक्न माग गरेको छ ।
यो हप्ताको दोस्रो ठूलो तनावको रूपमा रहेको यो हिंसा, क्षेत्रभरि मनाइँदै गरिएको मुस्लिमहरूको चाड इद–अल–अधाको समयमा भएको हो । यस द्वन्द्वमा क्षेत्रका धेरै देशहरू प्रत्यक्ष-परोक्ष रूपमा तानिएका छन् ।
मध्यस्थकर्ता पाकिस्तानले आफ्ना विदेशमन्त्री इसाक डारले शुक्रबार वासिङ्टनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन (मार्को रुबियो) सँग भेट गर्ने बताएको छ, यद्यपि उनको यो भ्रमणको महत्त्व भने अझै स्पष्ट भइसकेको छैन ।
ट्रम्पले मार्चको मध्यदेखि नै युद्धको अन्त्य नजिक रहेको पटक–पटक बताउँदै आएका छन्, यद्यपि दुवै पक्षले साझा विन्दुमा पुग्न सार्वजनिक रूपमा खासै तत्परता देखाएका छैनन् ।
इरानले प्रतिबन्धहरू हटाउन, विदेशी सम्पत्ति रोक्का फुकुवा गर्न र यस क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्न माग गरेको छ । वासिङ्टनले भने इरानलाई आफ्नो आणविक कार्यक्रम बन्द गर्न आग्रह गरेको छ, जसलाई तेहरानले शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ ।
इरानले कुनै पनि शान्ति सम्झौताका लागि अमेरिकी सहयोगी इजरायलले लेबनानमा गरिरहेको आक्रमण पनि बन्द गर्नुपर्ने सर्त राखेको छ, तर त्यो द्वन्द्व कम हुने कुनै संकेत देखिएको छैन । इजरायलले दक्षिणी सहर टायरमा इरान समर्थित हिजबुल्लाह लडाकुहरूको पूर्वाधारलाई निशाना बनाएको र राजधानी बेरुतमा पनि हवाई आक्रमण गरेको जनाएको छ।
इजरायलले हिजबुल्लाहको खोजीमा लेबनानको भित्री भागसम्म सैन्य कारबाही तीव्र पार्दा लाखौं मानिसहरू विस्थापित भएका छन् । लेबनानी सेनाले इजरायली आक्रमणमा आफ्ना एक सैनिकको मृत्यु भएको जनाएको छ ।
अमेरिकाले ओमानलाई हर्मुज जलडमरूमा शुल्क (टोल) लगाउने इरानको कुनै पनि प्रयासमा संलग्न नहुन चेतावनी दिएको छ । यी दुई देशबीच आर्थिक र सैन्य सम्बन्धको इतिहास भए तापनि ट्रम्पले बुधबार ओमानमाथि बमबारी गर्ने धम्की दिएका थिए ।
अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले ओमानका राजदूतले आफूलाई त्यस्तो शुल्क लगाउने कुनै योजना नरहेको बताएको जानकारी दिएका छन् ।
ओमानले इरानसँग जलडमरूको संयुक्त नियन्त्रण गर्ने विचारबारे कुनै उल्लेख गरेको छैन, बरु उनीहरूबीच जलयात्राको स्वतन्त्रताबारे छलफल भएको बताएको छ । तेहरानले भने ‘अमेरिकी अधिकारीहरूको धम्की’ पछि ओमानप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।
अन्य पठनीय सामग्रीहरू :
फरारीको पहिलो ईभी ‘लुचे’ सार्वजनिक, सेयर बजारमा गिरावट आउँदा ५.५ अर्ब डलर घाटा
तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति
अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार
नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन
इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू
पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत
इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति