विश्वकप उद्घाटनसँगै विवाद, टिकटको मूल्य ३० हजार डलर
काठमाडौं । उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबीच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेकामा दक्षिण अफ्रिका र आयोजक सह–देश मेक्सिकोबीचको खेलसँगै ४८ टोली सहभागी विश्वकपको सुरुआत भएको छ । करिब छ सातासम्म चल्ने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा भइरहेको हो । प्रतियोगिताको फाइनल जुलाई १९ मा न्युजर्सीमा हुनेछ । फिफाका अनुसार यो संस्करण इतिहासकै सबैभन्दा ठूलो विश्वकप हो । प्रतियोगिताबाट करिब १३ अर्ब अमेरिकी डलर बराबरको राजस्व उठ्ने अनुमान गरिएको छ । तर प्रतियोगिता सुरु हुनुअघि नै टिकट मूल्य अत्यधिक भएको भन्दै आलोचना तीव्र बनेको छ भने अमेरिकाको कडा अध्यागमन नीतिका कारण खेलाडी, रेफ्री र समर्थकहरूलाई भिसासम्बन्धी समस्या भएको रिपोर्ट सार्वजनिक भएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मेक्सिको सिटीमा प्रतियोगिताको उद्घाटन अवसरमा बोल्दै आलोचनालाई अस्वीकार गरेका छन् । उनका अनुसार टिकट मूल्यमा विविधता राखिएको र केही खेलका लागि ६० डलरसम्मका सस्तो टिकट उपलब्ध गराइएको छ भने केही प्रिमियम टिकटको मूल्य ३० हजार डलरसम्म पुगेको छ । औसत टिकट मूल्य ५०० डलरभन्दा कम रहेको भन्दै उनले यसलाई अमेरिकी खेलकुद घटनामध्ये तुलनात्मक रूपमा सुलभ भएको दाबी गरे । भिसा विवादबारे टिप्पणी गर्दै इन्फान्टिनोले सोमाली रेफ्री ओमार आर्टनको घटनालाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । सुरक्षा चिन्ताका कारण उनलाई संयुक्त राज्य अमेरिकामा प्रवेश अनुमति नदिइएको र उनी प्रतियोगितामा सहभागी नहुने फिफाले पुष्टि गरेको छ । अमेरिकी विदेश मन्त्रालयले उनलाई ‘आतङ्कवादी सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क रहेको’ आरोप लगाएको थियो । इन्फान्टिनोले भिसा तथा सुरक्षासम्बन्धी सबै परिस्थितिमा फिफाको पूर्ण नियन्त्रण नहुने स्पष्ट पार्दै ती घटनालाई लिएर तत्काल आक्रोश व्यक्त गर्नु सधैँ समाधान नभएको बताए । उनले इरानको सहभागितालाई लिएर उठेका प्रश्नबारे पनि टिप्पणी गर्दै विभिन्न राजनीतिक तनावका बाबजुद इरानले विश्वकप खेल्न पाउनु फिफाका लागि उपलब्धि भएको उल्लेख गरे । हाल इरान र अमेरिका बीचको सैन्य तनाव जारी रहे पनि प्रतियोगितामा सहभागिता सुनिश्चित गर्न सम्भव भएको उनको भनाइ थियो । फिफा प्रमुखको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध पनि चर्चामा रहेको छ । इन्फान्टिनोले ट्रम्पको समर्थन बिना अमेरिकामा विश्वकप आयोजना गर्न कठिन हुने धारणा राखेका छन् । ट्रम्पले भने प्रतियोगिताका केही खेलमा सहभागी हुने योजना रहेको बताएका छन् । खेल मैदानतर्फ भने उद्घाटन खेलमा ८५ हजार दर्शक अट्ने एस्टाडियो एजटेकामा दक्षिण अफ्रिकाले घरेलु टोली मेक्सिकोको सामना गर्दैछ । दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुसले घरेलु समर्थकहरूको अत्यधिक आवाजलाई चुनौतीका रूपमा लिएर खेलमा ध्यान केन्द्रित गर्न आफ्ना खेलाडीहरूलाई आग्रह गरेका छन् । मेक्सिकोले अहिलेसम्म सात पटक विश्वकपको उद्घाटन खेल खेले पनि जित निकाल्न सकेको छैन । प्रशिक्षक जेभियर एगुइरेले यस पटक त्यो तथ्याङ्क तोड्ने लक्ष्य रहेको बताउँदै खेलाडीलाई विशेष प्रेरणा दिइएको उल्लेख गरे । उद्घाटन दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच गुआडालाजारामा हुनेछ । प्रतियोगिताका प्रमुख दाबेदारका रूपमा स्पेन, फ्रान्स र इङ्ल्यान्डलाई हेरिएको छ भने वर्तमान च्याम्पियन अर्जेन्टिना आफ्नो कप्तान लियोनेल मेस्सीको नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्यमा मैदानमा उत्रिनेछ । रासस
जोहानेसबर्गमा भएको गोलाबारीमा कम्तीमा १२ जनाको मृत्यु
काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोलाबारी हुँदा कम्तीमा १२ जना वयस्कको मृत्यु भएको छ, जसमा तीन महिला सामेल छन् । यस गोलाबारीमा अन्य नौ जना घाइते भएका छन्, यी सबैलाई गोली लागेको हो । उनीहरूको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको प्रहरीले जनाएको छ । यो घटना मंगलबार ढिलो राति क्लिभल्याण्डको एक सुकुम्बासी बस्ती (झुग्गी बस्ती) मा भएको हो । आक्रमणकारीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले बयानमा भनेको छ, ‘एक पेट्रोल पम्प नजिकै एउटा सेतो टोयोटा क्वान्टमबाट १० जनाभन्दा बढी संदिग्धहरू ओर्लिए । यी संदिग्धहरू यस सुकुम्बासी बस्तीका दुवै बाटोबाट भित्र पसे र त्यसलाई चारैतिरबाट घेरेर गोलाबारी सुरु गरे । संदिग्धहरूले त्यहाँका स्थानीय मानिसहरूमाथि अन्धाधुन्ध गोलाबारी गरे र फेरि त्यही गाडीमा फरार भए ।’ दक्षिण अफ्रिका, विश्वकै सबैभन्दा बढी हत्या दर भएका देशहरूमध्ये एक हो । यहाँ हरेक दिन औसतमा ६० जनाको हत्या हुन्छ । यी सुकुम्बासी बस्तीहरूमा गोलाबारीका घटनाहरू सामान्य हुन् । कतिपय अवस्थामा यी घटनाहरू ग्याङ हिंसा वा व्यक्तिगत विवादसँग जोडिएका हुन्छन् । स्थानीय प्रहरीले बताएअनुसार उनीहरूलाई मङ्गलबार राति करिब ११ः१० बजे गोलाबारीको सूचना मिलेको थियो। त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले आक्रमणको कारण भने अझै प्रष्ट भइनसकेको बताएको छ ।
प्रदर्शनकारीद्वारा मेक्सिको विश्व कप स्टेडियम जाने बाटो अवरुद्ध
काठमाडौं । प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरी मेक्सिको सिटीको एजटेका स्टेडियममा पुग्ने बाटो अवरुद्ध गरेको जनाइएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडाको सह–आयोजनामा हुन लागेको उद्घाटन खेल प्रतियोगितामा फुटबल प्रेमीहरुको आवागमन बढ्दा मेक्सिको राजधानीमा विरोध भई रहेको जनाइएको छ । मङ्गलबारको विरोध प्रदर्शनमा हजारौंले भाग लिएका थिए, एक हप्ताको प्रदर्शन पछि सिएनटिइ शिक्षक सङ्घबाट अलग भएको समूहले प्रदर्शनको नेतृत्व लिएको जनाइएको छ । प्रदर्शनकारीहरूलाई बिहीबार विश्वकपको उद्घाटन खेल आयोजना गरिएको एजटेका स्टेडियममा पुग्नबाट प्रहरीले रोकेको जनाइएको छ । हजारौँ प्रहरी अधिकारीहरू तैनाथ गरी स्टेडियम वरवरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाए पछि तीन घण्टाको सडक प्रदर्शन तोडी प्रदर्शनकारीहरू तितर बितर भएको जनाइएको छ । मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाजक्वेजले विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण भएको बताउनुभएको छ । आन्दोलनरथ सिएनटिई शिक्षक युनियनले तलब वृद्धि र पेन्सन कानुन फिर्ता लिन माग गर्दै गत हप्ता देखि प्रदर्शन गरिरहेको जनाइएको छ । आन्दोलनरथ शिक्षकहरूले मेक्सिको सिटीको जोकालो स्क्वायरमा विश्वकप फ्यान जोन नजिकै शिविर पनि स्थापना गरेका छन् । शिक्षकहरूले बिहीबार पनि प्रदर्शनको आह्वान गरेका छन् जसमा बेपत्ता व्यक्तिहरूका परिवारहरू पनि समावेश हुने जनाइएको छ । मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध खेल्ने खेल र उद्घाटन समारोहका लागि विश्वव्यापी तयारी पुरा भएको जनाइएको छ ।