जोहानेसबर्गमा भएको गोलाबारीमा कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोलाबारी हुँदा कम्तीमा १२ जना वयस्कको मृत्यु भएको छ, जसमा तीन महिला सामेल छन् ।

यस गोलाबारीमा अन्य नौ जना घाइते भएका छन्, यी सबैलाई गोली लागेको हो । उनीहरूको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको प्रहरीले जनाएको छ ।

यो घटना मंगलबार ढिलो राति क्लिभल्याण्डको एक सुकुम्बासी बस्ती (झुग्गी बस्ती) मा भएको हो । 

आक्रमणकारीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बयानमा भनेको छ, ‘एक पेट्रोल पम्प नजिकै एउटा सेतो टोयोटा क्वान्टमबाट १० जनाभन्दा बढी संदिग्धहरू ओर्लिए । यी संदिग्धहरू यस सुकुम्बासी बस्तीका दुवै बाटोबाट भित्र पसे र त्यसलाई चारैतिरबाट घेरेर गोलाबारी सुरु गरे । संदिग्धहरूले त्यहाँका स्थानीय मानिसहरूमाथि अन्धाधुन्ध गोलाबारी गरे र फेरि त्यही गाडीमा फरार भए ।’

दक्षिण अफ्रिका, विश्वकै सबैभन्दा बढी हत्या दर भएका देशहरूमध्ये एक हो । यहाँ हरेक दिन औसतमा ६० जनाको हत्या हुन्छ ।

यी सुकुम्बासी बस्तीहरूमा गोलाबारीका घटनाहरू सामान्य हुन् । कतिपय अवस्थामा यी घटनाहरू ग्याङ हिंसा वा व्यक्तिगत विवादसँग जोडिएका हुन्छन् ।

स्थानीय प्रहरीले बताएअनुसार उनीहरूलाई मङ्गलबार राति करिब ११ः१० बजे गोलाबारीको सूचना मिलेको थियो। त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले आक्रमणको कारण भने अझै प्रष्ट भइनसकेको बताएको छ ।

Share News