काठमाडौं । भारतको बम्बई उच्च अदालतले अभिनेता इमरान खानलाई प्रदर्शनमा सहभागी भएकोमा बिना सर्त माफी माग्न निर्देशन दिएको छ ।
अभिनेता खान मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध भएको प्रदर्शनमा सहभागी भएका थिए ।
भारतमा जारी विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रियाको विरोधमा उक्त प्रदर्शन गरिएको थियो ।
लाइभ लको रिपोर्टअनुसार अदालतले इमरानलाई भविष्यमा कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धतासहितको शपथपत्रसमेत पेस गर्न भनेको छ ।
यद्यपि, अदालतले उनीविरुद्ध विदेशी क्षेत्रीय दर्ता कार्यालय (एफआरआरओ) ले जारी गरेको लिभ इन्डिया नोटिस कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
इमरानलाई उक्त सूचनाबारे आफ्नो जवाफ पेस गर्ने अवसर नदिइएसम्म यो आदेश कायम रहनेछ ।
इमरान खानले एफआरआरओ, मुम्बईले जारी गरेको उक्त सूचना खारेज गर्न माग गर्दै बम्बई उच्च अदालतमा निवेदन दिएका थिए । सूचनामा उनलाई अक्टोबर २८ भित्र भारत छाड्न भनिएको थियो ।
यसअघि भएको सुनुवाइमा एफआरआरओले सोमबारसम्म उनीविरुद्ध कुनै कारबाही नगर्ने प्रतिबद्धता जनाएको थियो ।
मुद्दाको सुनुवाइका क्रममा मुख्य न्यायाधीश महेश चन्द्र त्रिपाठी र न्यायाधीश अद्वैत सेठनाको संयुक्त इजलासले इमरानसँग बिना सर्त माफी माग्न लगाउने मौखिक टिप्पणी गरेको थियो ।
अदालतले इमरान ओसीआई (ओभरसिज सिटिजन अफ इन्डिया) कार्डधारक रहेको र एसआईआर प्रक्रियासँग उनको प्रत्यक्ष सम्बन्ध नरहेको उल्लेख गरेको छ । त्यसैले उनले यस्तो प्रदर्शनमा सहभागी हुन नहुने अदालतको भनाइ थियो ।
यस मुद्दाको अर्को सुनुवाइ डिसेम्बर ७ मा हुनेछ ।